विश्वासमा कदम चाल्नु
"किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन।" २ कोरन्थी ५ः७
विश्वासचाहिँ परमेश्वरको विश्वासयोग्यतामाथि राखिएको भरोसा हो। विश्वास के हो? यो त परमेश्वर जे भन्नुहुन्छ, त्यो सत्य हो, साथै उहाँले जे कुरा प्रतिज्ञा गर्नुहुन्छ, त्यो कुरा अवश्य पूरा गर्नुहुनेछ भन्ने सम्बन्धमा सुदृढ़ र सुनिश्चय हुनु हो।
विश्वास सम्भावनाहरूभित्र सीमित रहँदैन, तर सम्भव हुने सबै कुराहरू नाघेर त्यसले असम्भव हुने कुराहरूको क्षेत्रमा प्रवेश गर्छ। जब तपाई परमेश्वरमा विश्वास गर्नुहुन्छ, उहाँले भन्नुभएको र गर्नुभएको प्रतिज्ञाहरूलाई आँखा बन्द गरेर भरोसा गर्नुहुन्छ भलै त्यो कुरा असम्भव जस्तो देखिएला तर त्यसमा तपाई त्यसमा दृढ भई खडा हुनुहुनेछ।
हिब्रू ११ः१ "अब विश्वासचाँहि आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो।"
आशा र विश्वासको महत्वपूर्ण भिन्नताचाहिँ आशा कुनै कुरामा बाँधिएको हुँदैन। तपाईं जीवनमा सफल हुने आशा गर्न सक्नुहुन्छ, रोगबाट निको हुने आशा गर्न सक्नुहुन्छ, पदोन्नति हुने आशा गर्नुहुन्छ, र आदिइत्यादी । तर यो इच्छापूर्ण सोच भन्दा बढी होइन। धेरै मानिसहरू चीजहरूको लागि आशा र इच्छा गर्छन्। यो केवल चाहना मात्र हो।
तर विश्वासले यो आशालाई सार्थक बनाउँछ। विश्वास परमेश्वरको वचनसँग जोडिएको हुनुपर्छ। जब हामीले आशा गरेको कुरालाई परमेश्वरको वचनमा बाँध्छौं, तब हामी विश्वस्त र निश्चित हुन्छौं कि उहाँले जे गर्नुहुनेछ भनी भन्नुहुन्छ त्यो गर्नुहुनेछ। बाइबलले हामीलाई बताउँछ कि परमेश्वरले आफ्नो मन परिवर्तन गर्नुहुन्न (गन्ती २३:१९) र उहाँले कहिल्यै झूट बोल्नुहुन्न (तीतस १:२)। त्यसोभए जब हामीले हाम्रो आशालाई परमेश्वरको वचनद्वारा प्रमाणित गर्छौं, हामी विश्वस्त हुन सक्छौं कि उहाँले यसलाई पूरा गर्नुहुनेछ।
विश्वास भनेको परमेश्वरले जे गर्नुहुनेछ भनी भन्नुभएको छ त्यो अवश्य गर्नुहुनेछ भन्ने विश्वस्तता हो।
विश्वास भनेको हामीले देख्न नसक्ने कुराको बाइबलीय प्रमाण हो।
विश्वास भनेको तपाईंले आफ्नो इन्द्रियहरूद्वारा प्रमाणित गर्न नसक्ने कुराहरू सत्य र वास्तविक रूपमा बुझ्नु हो।
विश्वासद्धारा हामी अदृश्य कुराहरूलाई देख्छौं।
संसारका मानिसहरूको भनाइ छः 'देख्नु नै विश्वास हो।’ तर परमेश्वर भन्नुहुन्छः ‘विश्वास गरेर देखिन्छ।’ प्रभु येशूले मार्थालाई यसो भन्नुभयौं: ‘तिमीले विश्वास गर्यौ भने, तिमीले देख्नेछौं’ (यूहन्ना ११:४०)। आत्मिक कुराहरूको सम्बन्धमा पहिले विश्वास आउँछ, त्यसपछि मात्र हामी बुझ्न थाल्छौं र अन्तमा छरलङ्ग बुझ्नेछौं। जब हामी जीवनमा कुनै विकल्प देख्दैनाै, जब सबै ढोकाहरू बन्द हुन्छ, जब हामी केहि पनि गर्न नसक्ने अवस्थामा पुग्छाैं र जब हाम्रो सबै योजनाहरू विथोलिन्छ तब त्यस्तो अवस्थामा पनि विश्वासले थपथपाउँदै भन्छ सबै कुरा ठिक हुनेछ किनकि मेरो जीवनमा परमेश्वरको महान योजना छ यसकारण यो नै मेरो अन्त होइन...।
विश्वासविना परमेश्वरलाई खुशी पार्नु असम्भव छ। हामीसँग थुप्रै असल कामहरू होला तर तिनैले हाम्रो विश्वासको अभाव पूर्ति गर्न सक्दैनन्। जे भने पनि, जति काम गरे पनि, अन्तमा मानिसले परमेश्वरमाथि विश्वास गर्न मान्दैन भने त्यसले परमेश्वरलाई झूटा तुल्याउँछ। ‘जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झूट तुल्याएकै छ’ (१ यूहन्ना ५:१०)। अनि परमेश्वरलाई झूट भन्ने मानिसहरूसँग उहाँ कसरी खुशी हुनुहुन्छ, तपाईं आफै भन्नुहोस्!
धेरै पटक हामी मानिसहरूलाई रिझाउने र खुशी पार्ने चक्करमा परमेश्वरलाई खुशी पार्न भुलिसकेका हुन्छाैं। तर हामी ख्रीष्टमाथिको हाम्रो विश्वासद्धारा परमेश्वरलाई खुशी पार्न सक्छाैं।
अब्राहाम कल्दीहरूको ऊरमा बस्थे; अनि हुन सक्छ त्यस समय उनी मूर्तिपूजा गर्ने मानिस थिए होलान्। एक दिन परमेश्वर उनीकहाँ देखा पर्नुभयो; अनि उहाँले तिनलाई ‘यहाँबाट निस्केर आऊ’ भन्ने आज्ञा गर्नुभयो। उनले आफ्नो घर र आफ्नो देश छोड़े, अनि कहाँ जाने हो, सो आफ्नो गन्तव्य-स्थलको विषयमा केही नजानीकन उनी हिँड़े। उनमा विश्वासको आज्ञाकारिता थियो। निस्सन्देह, उनका कुटुम्ब र साथीहरूले उनलाई मूर्ख सम्झेर उनलाई खिसी गरे। तर ;सायद उनको मन्तव्य यस प्रकारको थियो होलाः
"एकलै उज्यालोमा हिँड्नुभन्दा
म बरु परमेश्वरको साथमा अँध्यारोमा हिँड्न राजी छु।
एकलै आँखाको भरमा हिँड्नुभन्दा
म बरु परमेश्वरको साथमा विश्वासको भरमा हिँड्नेछु।"
-हेलन एन्निस कास्टरलाइन
एक्लिन नडराउनुहोस्। कतिपटक विश्वासको यात्रामा मानिसले तपाईलाई छाड्नेछन, तपाईको खिस्सी गर्नेछन्, तपाईको आलोचना गर्नेछन्, तपाईको विरोध गर्नेछन् तर अब्राहामले जस्तै जोखिम उठाउनुहोस्।
विश्वासको भरमा हिँड्ने मानिस धेरैजसो अरूको दृष्टिमा मूर्ख र दुस्साहसी देखिन्छ; तर परमेश्वरलाई चिन्ने मानिस आफ्ना आँखाहरूमा पट्टी बाँधिएको अवस्थामा अर्थात् आफ्नो अगाड़ि आफू हिँड्नुपर्ने बाटोको बारेमा केही निश्चित ज्ञान नभएको अवस्थामा पनि परमेश्वरको अगुवाइमा हिँड्न पाएकोमा ढुक्कै हुन्छ।
विश्वासले हामीलाई धैर्य बनाउँछ।
धैर्यता विश्वासको ठूलो भाग हो। धेरैजसो चीजहरू रातारात हुने छैनन्, र विश्वासको महत्वपूर्ण भागचाँहि हामीले हरेस नखाई वा नअत्तालि परमेश्वरको तोकिएको समयको प्रतीक्षा गर्न आवश्यक छ। धैर्य भनेको एउटा मनोवृत्ति हो जसले भन्छ, "म शान्त रहि विश्वास गर्छु र परमेश्वरमा प्रतिक्षा गर्छु कि उहाँले जे गर्नेछु भनी भन्नुभएको छ अवश्य गर्नु नै हुनेछ।"
लूका ५ः१-७ सिमोन पत्रुसले माछा पक्रेकाे उदाहरण
जब हामी विश्वासका साथ आज्ञाकारीताको जीवन जिउँछाैं, हामी परमेश्वरको उदेकपूर्ण कार्यहरूलाई देख्छाैं। तर दुखपूर्ण कुरा चाँहि हामी विश्वासबिना आश्चर्य र चमत्कारलाई देख्न चाहन्छाैं। सिमोन पत्रुस जसले आफ्नो सारा जीवन मछुवाराको रूपमा बिताएका थिए, उनले येशू ख्रीष्टलाई विश्वास गरेर उहाँको आज्ञा पालना गर्दै भन्छन्, "गुरूज्यू, हामीले रातभरि मेहेनत गरेर पनि केहि फेला पारेनाैं, तापनि तपाईंको वचनअनुसार म जाल हान्नेछु।" लूका ५ः५
याकूब भन्छन्, "किनकि तिमीहरू जान्दछाै, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ।" (१ः३)
हरेकको विश्वास कठोर जाँचबाट भएर गुज्रनै पर्छ। हाम्रो अवस्थाहरू बदलिनेछ, हाम्रो शरीरमा बदलाव र उत्तारचढाव आउनेछ, हाम्रो परिवार र व्यत्तिगत जीवनमा विभिन्न अवरोधहरू आउनेछ, हामीले प्रेम गर्ने नजिकका व्यक्तिहरूले हामीलाई धोखा दिनेछन् त्यस्तो अवस्थामा हामी परमेश्वरमा कति धैर्यवान हुन्छाैं होला? त्यस समय तपाई कति परमेश्वरमा भरोसा गर्नुहुनेछ?
हुन सक्छ त्यस दिनहरूमा तपाईले रातदिन प्रार्थना गर्नुहुन्छ, तर पनि कुनै परिवर्तन देख्नुहून्न। तपाई आफ्नो हातको छालाका पत्राहरू उक्किने गरि परिश्रम गर्नुहुन्छ तर कुनै उपलब्धि हासिल हुँदैन तब के गर्नुहुन्छ?
यदि ती दिनहरूमा तपाईले आफ्नो विश्वास गुमाउनुभएन तर परमेश्वरमा भरोसा गरिरहनुभयो र धैर्य भई उहाँको समयको प्रतिक्षा गर्नुभयो भने मत्ती २४ः१३ ले भने झैं तर "आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ।"

Comments
Post a Comment