"सानो कार्य, ठूलो प्रभाव"
सानो कार्यको प्रभाव र शक्तिलाई कहिल्यै कम नठान्नुहोस्।
पानीको हरेक थोपाले समुद्र बन्दछ।
जकरिया ४:१०
“साना कुराहरूको दिनलाई कसले तुच्छ ठान्छ? यरुबाबेलको हातमा तिनीहरूले साहुल (मापन उपकरण) देख्दा मानिसहरू रमाउनेछन्।”
इस्राएलीहरु बेबिलोनको कैदबाट फर्केर आए पछि जब उनीहरुले यरुशलेमको पुननिर्माण गर्न थाले, छिट्टै उनीहरु निराशाको सिकार हुन पुगे। मानिसहरु निरुत्साहित भएका थिए किनभने तिनीहरु थोरै थिए र तिनीहरुका पुर्खाहरुका विगतको उपलब्धिहरुको तुलनामा तिनीहरुको प्रयास सानो देखिन्थ्यो। जब तिनीहरुले आफ्नो योगदान कति थोरै र नगण्य हुनेछ भन्ने देखे तब उनीहरुले पुननिर्माणको काम गर्न छाडे।
परमेश्वर थोरै कुराले धेरै गर्न सक्नुहुन्छ यसकारण तपाई थोरै कुरामा इमान्दार हुनुपर्छ। सानो जिम्मेवारीमा पनि उत्तिक्कै विश्वासयोग्य हुनुहोस्। तपाईको सानो भन्दा सानो जिम्मेवारीलाई इमान्दारसाथ पुरा गर्नुहोस् ।
परमेश्वर तपाईले ठूलो र महान कार्य गरेको भन्दा पनि तपाईले सानो कामलाई पूर्ण इमान्दारीताकासाथ पुरा गरेको चाहनुहुन्छ।
प्रियहरु! तपाईले गर्ने सानो भन्दा सानो कार्य उत्तिकै महत्वपूर्ण छ। तपाईको सानो-सानो जिम्मेवारीहरुलाई बेवास्ता र अवहेलना नगर्नुहोस्।
निरुत्साहित :
धेरै पटक सानो कार्यहरु गर्दैगर्दा अनि कुनै परिणाम नदेख्दा हामी छिट्टै निराश हुन्छौं। हामीलाई लाग्न सक्छ 'के म यति मात्र गर्न बोलाइएको हुँ, म त ठूलो कार्य गर्न चाहन्छु, आफैलाई यति सानो जिम्मेवारीमा सिमित राख्न चाहन्न' तर प्रियहरु! म तपाईलाई बताउन चाहन्छु यदि तपाई त्यहि सानो काममा त्यहि सानो जिम्मेवारीमा निरन्तर समर्पित भई अन्तसम्म इमान्दार र विश्वासयोग्य हुनुभयो भने परमेश्वरले तपाईलाई सहि समयमा उठाउनुहुनेछ।
जब दाऊद शमूएल अगमवक्ताद्धारा इस्राएलको राजाको रुपमा अभिषेक भए तब सायद उनले सोचे होला 'अब त म भेँडा गोठालो रहिन.... मैले ठूलो जिम्मेवारी पाएको छु..मलाई मेरो दाजुभाईले हेप्न पाउनेछैनन्.. । तर भोली पनि कुनै परिवर्तन देख्दैन त्यहि भेडाँको हेरचाह गर्नुपरेको छ, पर्सी पनि त्यहि। दाऊदले इस्राएलको राजाको रुपमा राजगद्दी प्राप्त गर्न १५ वर्ष प्रतिक्षा गरे। तर यो अवधिभर उनी इमान्दार र विश्वासयोग्य भइरहे।
एक सैनिकले यसरी भनेका थिए, "तपाई जिवनमा कति सफल बन्नुहुन्छ, त्यो तपाईको दैनिक दिनचर्यामा आधारित हुन्छ। यदि तपाई बिहान सबेरै उठेर तपाईको ओछ्यानलाई मिलाउनुहुन्छ भने तपाई पहिलो कुरामा सफल हुनुभयो।"
धेरैचोटी हामी स-सानो कुराहरुलाई सहजै बेवास्ता गरिदिन्छौं। हामी एकैचोटी ठूलो कुराको अपेक्षा गर्छौ। तर बाइबलले भन्दछ, “जो थोरै कुरामा ईमानदार हुन्छ, त्यो धेरैमा पनि ईमानदार हुन्छ, र जो अति सानो कुरामा बेईमान हुन्छ, त्यो धेरैमा पनि बेईमान हुन्छ।" - लूका १६:१०
येशूख्रीष्टले प्राय सधैं सानो-सानो कुराहरुमा आफ्नो ध्यान केन्द्रित गर्नुभयो। उहाँले भन्नुभयो,
“परमेश्वरका राज्यको तुलना केसँग गरौं? अथवा कुन दृष्टान्तमा यसको व्याख्या गरौं?
यो त रायोको बीउको दाना जस्तो छ, जो जमिनमा छरिन्छ। पृथ्वीभरिमा सबै बीउहरूमा साना भए तापनि
जब त्यो रोपिन्छ, तब त्यो बढ्छ, र सबै सागपातहरूभन्दा त्यो ठूलो हुन्छ, र त्यसले ठूला-ठूला हाँगाहरू हाल्छ, र आकाशका पक्षीहरूले त्यसका छहारीमा गुँड़ लाउँछन्।” - मर्कूस ४: ३०-३२
तपाईले गर्ने सानो कार्य र तपाईको सानो जिम्मेवारी चाहिँ बिऊ जस्तै हो। हेर्दा सानो र कुनै मूल्य नभएको जस्तो देखिएतापनि समयको पूर्णतामा यसले कल्पनै गर्न नसकिने फल फलाउँदछ। हुन सक्छ तपाईले गर्दै गरेको कार्य मानिसको नजरमा निक्कै सानो जिम्मेवारी, नगण्य काम हुन सक्छ तर परमेश्वर तपाई त्यहि नगण्य जिम्मेवारीमा इमान्दार र विश्वासयोग्य भएको चाहनुहुन्छ।
विधवाले चढाएको भेटी अरुको नजरमा नगण्य- कुनै पनि मोलको थिएन तर यो सानो कार्य ख्रीष्टको नजरबाट लुक्न सकेन्। किनकि बाइबलले भन्दछ, "जो रुँदै-रुँदै बीउ बोकेर छर्न जान्छ, त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्कनेछ।"- भजनसंग्रह १२६:६
आज इमान्दारसाथ छर्नुहोस् र भोली तपाईले आनन्दकासाथ कटनी गर्नुहुनेछ।
तपाईले इमान्दारसाथ गर्ने सानो कार्यको प्रभाव निक्कै ठूलो हुनेछ। तपाई अरुको निम्ति एक उदाहरण बन्नुहुनेछ। तपाईको समय, पैसा, वरदानहरुमा इमान्दार हुनुहोस्। तपाई जे पनि गर्नुहुन्छ, त्यसमा पुरा समर्पणता, इमान्दारीता, विश्वासयोग्यता, कृतज्ञता र भरोसाको लायक भएर काम गर्नुहोस्। कसैलाई नठग्नुहोस्। धोखा नदिनुहोस् ।
हामी नुन हुन बोलाइएका हौं। नुन धुलोको कणसरी हुँदछ तर पनि यसको प्रभाव र असर आज हरेकलाई आवश्यकता छ। नुन निक्कै सानो हुन्छ तर यसको प्रभाव ठूलो हुन्छ। बाइबलले भन्दछ,
“तिमीहरू पृथ्वीका नून हौ, तर नूनको स्वाद गयो भने त्यो केले फेरि नुनिलो पारिने र? त्यो त बाहिर फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।"- मत्ती ५:१३
रोमी सिपाहीहरुलाई मासिक तलब नुनमा भुक्तानी गरिन्थ्यो। वास्तवमा हाम्रो अंग्रेजी शब्द 'Salary' ल्याटिन शब्द 'Salarium' बाट आएको हो जसको अर्थ 'नुन-पैसा' हो। बाइबलको समयमा नुन निक्कै दुर्लभ र महंगो वस्तु थियो। यो सानो तर निक्कै आवश्यक कुरालाई हेरेर ख्रीष्टले भन्नुभयो कि तिमीहरु पृथ्वीका नुन हौं।
सानो कुराको बेवास्ता र नजरअन्दाज गर्दा इतिहासले ठूलो मूल्य चुकाउनु परेको थियो।
The great Sparrow Campaign :
१९५८ मा चीनमा माओत्से तुङद्धारा The great Sparrow Campaign अभियान सुरु गरियो जसमा हरेक चीन नागरिकहरुलाई भंगेरा मार्ने आदेश दिइयो। चिनीयाहरुले भंगेराले धेरै अन्नको बिऊ खाने गरेको र यस चराको प्रकृतिमा कुनै महत्वपूर्ण योगदान नरहेको साथै यसको लोपबाट प्रकृतिमा खासै असर नहुने भन्दै भटाभट भंगेरा मार्न थाले। यस अभियानमा करोडौं भंगेराहरु मारियो। तर यस अभियानको असर १९६० बाट स्पष्ट हुन थाल्यो। भंगेराहरुले अन्नको बिऊ मात्र खाँदैनथे तर बाली नष्ट गर्ने किराहरुलाई पनि खान्थे। जब भंगेरा लोप भयो तब किराहरुको संख्या उग्र र तीव्र रुपमा वृद्धि भयो।
छिट्टै मानिसहरुको सम्पूर्ण बाली नष्ट भयो। तीन वर्षको अन्तरालमा चीनमा भोकमरी र अनिकालले यति विकराल रुप लियो कि यो दौरान लगभग ७ करोड मानिसको ज्यान गयो।
जब हामी सानो कुराहरुलाई नजरअन्दाज गर्न थाल्छौं तब हामी ठुलो कुरामा चुक्छौं।


Comments
Post a Comment