हाम्रो दिवाईले कस्तो हुनुपर्छ? कसरी दिने?




- हाम्रो दिवाई पहिलो फल हुनुपर्छ। 

परमप्रभुले इस्राएलीहरुलाई पहिलो फल दिने आज्ञा दिनुभयो। 

लेवीहरू २३:१० "इस्राएलीहरूलाई भन्: 'मैले तिमीहरूलाई दिने देशमा पुगेर जब त्यहाँको बाली काटौला, तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू। 

यो इस्राएलीहरुको आज्ञाकारिता र परमेश्वरप्रति श्रद्धा देखाउनको लागि थियो। यसले इस्राएलीहरु आफ्नो परिवारलाई खुवाउन परमेश्वरले पर्याप्त बालीहरु उपलब्ध गराउनुहुनेछ भनि उहाँमाथि भरोसा राखेको कुरालाई देखाउथ्यो। 

हितोपदेश ३:९

आफ्नो धन-सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर..। 

परमेश्वरले यी आज्ञाहरु केवल हामीलाई मात्र पालना गर्न छाड्नुभएन तर उहाँ स्वयम यसको उदाहरण हुनुहुन्छ। उहाँले आफ्नो पहिलो, एक मात्र र केवल एकलौटे पुत्र येशु ख्रीष्ट हामीलाई दिनुभयो। 

दिनु आराधनाको अभिन्न अंग हो। 

जब हामी परमेश्वरलाई बचेकुचेकोबाट दिन्छौं, यसले उहाँको आदर हुँदैन। जब महिना मरेपछि तपाई तलब  बुझ्नुहुन्छ, तब पहिलो विचार के आउँछ? यदि सबै कुराको निम्ति खर्च गरेर अन्तमा परमेश्वरलाई छुट्टयाउनुहुन्छ भने अब हामीले हाम्रो दिवाईलाई बदल्नुपर्छ। यदि दंशाश दिने बानी छैन भने आजैबाट सुरुवात गर्नुहोस्। पहिलो चोटी कठिन हुनेछ, दोस्रो पटक गाह्रो हुनेछ र तेस्रो पटकदेखि तपाई परमेश्वरको आशिषलाई अनुभूति गर्न थाल्नुहुन्छ र दिने कुरा तपाईको निम्ति बोझ हुँदैन। 

नदिएका कारण धेरै आशिषका ढोकाहरू बन्द हुन्छ। 


- बलिदानी भई दिनु 

हामी धेरैलाई सुन्न मननपर्ने कुरा चाहिँ दिनु सहज छैन तर पनि दिनु बाइबलिय हो। परमेश्वरको अर्थतन्त्रमा बलिदान गरिएको रकमले सधैं दिइएको रकमलाई जित्छ। तपाईले कति दिनुभयो भन्दा पनि कति बलिदानी भई दिनुभयो भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। 

तपाईको दिवाई कसरी बहूमूल्य बन्छ?

तपाईले परमेश्वरलाई दिने थोक तपाईले कति खर्च गर्नुभयो यसले होइन तर यसको निम्ति कति मूल्य चुकाउनुभयो भन्ने कुराले बहूमूल्य बन्छ। 


एउटा आमालाई आफ्ना दुई छोराको उपहार

कान्छा छोरा सहर गएर पढेर उतै जागिर खाने गरेकाले ऊ राम्रै स्थानमा हुन्छ। सम्पत्ति जोडेर शहरमा आरामले व्यापार गरिरहेको हुन्छ। तर जेट्ठो छोरो गाऊँमै आमासँग बसेर आमाको स्याहारसुसार गर्ने घरको रेखदेख गर्ने, मेलापात धाउने, खेतीपाती गर्ने र त्यसैबाट जीविकोपार्जन गर्ने गर्थे। उनीहरु दुवैले आमाको जन्मदिनमा आमालाई उपहार दिने योजना बनाउँछन। 

उनीहरु बजार जान्छ, बजारमा कान्छो छोरोले आमाको लागि महंगो-महंगो सारि हेर्छ र अन्तमा १५००० रुपैयाँको राम्रो सारि खरिद गर्छ। जेट्ठो छोरोले सालभर आमाको जन्मदिनको लागि भनेर पैसा जोहो गरेको थियो। खेतीपाती र मेलापातबाट २० रुपैया, ५० रुपैया, १०० रुपैया जोगाएर उसले सालभरमा २१७५ रुपैया जोहो गरेका थिएँ र आमाको आँखा कमजोर भएकाले आमालाई धेरै गाह्रो भएकाले चस्मा किनिदिने सोच्छन। एउटा राम्रो चस्मा पसलमा चस्मा हेर्छन र चस्माको दाम सोध्छ। चस्माको दाम रु २५०० हुन्छ तब उनले आफ्नो भाइबाट अपुग रकम ऋणको रुपमा लिई आमाको लागि चस्मा खरिद गर्छ। 


एउटा विश्वासीको खल्तीमा दश हजार रुपैयाँ हुन्छ र उसैको छेऊमा बस्ने अर्को इशाई मित्रसँग केवल सय रुपैयाँ मात्र हुन्छ। जब भेटीको समय हुन्छ तब दश हजार रकम भएको विश्वासीले गर्वसाथ खल्तीबाट पाँच सयको नोट झिकेर भेटीको डालोमा हाल्छ। उसैको छेऊको विश्वासीले आफ्नो खल्तीमा भएको सय रुपैयाँको नोटलाई डालोमा हाल्दछन्। 

अब यी दुई बिच कसले ठूलो रकम भेटीमा चढायो? अवश्य पनि यी दुईबिच पहिलो व्यक्तिले नै बढी भेटी चढायो जसले पाचँ सयको नोट भेटीमा चढायो

यी दुई बिच कसले ठूलो बलिदान दियो?

दोस्रो विश्वासी जसले आफुसँग भएको सबै थोक (सयको नोट) चढायो। 

दाऊदले यो कुरालाई बुझेका थिए। यसकारण २ शमूएल २४ अध्यायमा परमप्रभुको निम्ति वेदी बनाएर बलिदान चढाउने बेला अरौना आएर दाऊद राजालाई भन्छन,वेदी बनाएर परमप्रभुलाई बलिदान चढाउन मेरो खेत, होमबलिको निम्ति गोरु र दाउरा सबै लानुहोस्।

तर दाऊद राजाले अरौनालाई भने, "होइन, म ती तिमीबाट किन्नेछु। पैसा नपरेको चीज (सित्तैको) लिएर परमप्रभु मेरा परमेश्वरलाई म बलिदान चढ़ाउनेछैनँ।" २ शमूएल २४:२४

जब हामी बलिदानी भई दिन्छौं, त्यस किसिमको हाम्रो दिवाईमा हामी परमेश्वरलाई भनिरहेका हुन्छौं, "प्रभु!मेरो निम्ति यी थोकहरुभन्दा महत्वपूर्ण तपाई हुनुहुन्छ। तपाईको खातिर यी थोकहरुलाई म कुर्वान गर्न पनि पछि पर्दिन।"

परमेश्वर हामीबाट यस किसिमको दिवाई चाहनुहुन्छ।  जब हामी बलिदानी नभई दिन्छौं, त्योचाहिँ सित्तैको थोक दिएजस्तो हो जुन मूल्य बिहिन हुन्छ। दाऊदले अरौनाको खेत र गोरु लिएर त्यसमा वेदी बनाई होमबलि चढाएको भए पनि हुन्थ्यो तर त्यसको निम्ति उसले कुनै मेहेनत, परिश्रम र त्याग नगरेको हुनाले त्यसलाई गुमाउँदा उसलाई केहि फरक पर्दैन थियो जसकारण उसको दिवाईको कुनै मूल्य हुदैनथ्यो।


- आनन्दसाथ दिनु 

माकेडोनियाको मण्डलीको उदाहरण 

२ कोरिन्थी ८:१-२

भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौं। कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए। 


दिनुचाहिँ प्रेमको प्रकटिकरण हो। यदि हामी परमेश्वरलाई साँचो प्रेम गर्छौ भने उहाँको निम्ति दिने कुरा हाम्रो निम्ति बोझ होइन तर आनन्द बन्छ। 

गनगन र गुनासो पोख्दै दिने व्यक्तिबाट कसैले आनन्दसाथ उपहार ग्रहण गर्दैन। उपहार दिने व्यक्तिले आनन्द र खुशीमा दिएको छैन भने उपहार लिने व्यक्तिले खुशीसाथ ग्रहण गर्न सक्दैन्।

मानिलिनुहोस् तपाई छिमेकीको छोरोको जन्मोत्सवमा हुनुहुन्छ र उसको निम्ति तपाईले उपहार किन्नुभएको छ तर दिने समयमा गनगन र गुनासो गर्नुहुन्छ भने कस्तो हुन्छ होला? के उपहार ग्रहण गर्ने व्यक्तिले खुशी र कृतज्ञतापूर्वक उपहार ग्रहण गर्न सक्ला त?

 परमेश्वर त्यस्तो दिवाई चाहनुहुन्न। यसकारण २ कोरिन्थी ९:७ ले भन्छ, "अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।"

प्रियहरु! प्रफुल्लता र आनन्दतासाथ दिने कुराले वास्तविकता र बलिदान भईरहेको तथ्यलाई वेवास्ता गर्दैन् किनकि अवश्य नै दिने कुरा कठिन र गाह्रो छ तर यसले तत्काल नतिजा र परिणामलाई बेवास्ता गरेर अनन्तको परिणामतर्फ हेर्दै बलिदानको बिचमा खुशी खोज्छ। 

कहिलेकाहिँ मानिसहरुले परमेश्वरको काममा नदिनको लागि कारणहरु खोजी रहेका हुन्छन्, किनभने तिनीहरुले दिनको फाइदालाई बुझ्दैनन्। माकेडोनियाको मण्डलीले यो कुरा बुझेका थिए। 

२ कोरिन्थी ८:३-४

"किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए। तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे।"

आज धेरै मण्डलीहरुले दिन नजानेका कारण सेवकहरुले सेवा छोडिरहेको छ। जब सेवकले आफ्नो पेट पाल्न, परिवारको आवश्यकतालाई आपूर्ति गर्न, छोराछोरीहरुलाई हुर्काउन पैसाको जोहो गर्न भौतारिनुपर्छ तब बिस्तारै सेवाकाईप्रति सेलाउँदै जान्छ अनि यस्तो समय आउँछ कि सेवाकाईप्रति उसको हृदय मर्छ। यसकारण बाइबलले यसरी भन्दछ,

गलाती ६:६

"वचनको शिक्षा पाउने हरेकले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ।"

माकेडोनियाको मण्डलीले सन्तहरुको आवश्यकताहरुमा दिन सकौं भनि प्रेरित पावलसँग बिन्ति गरेको कुराले उनीहरुको हृदय कति ठूलो थियो भनि हामी बुझ्न सक्छौं। 

कृतज्ञतापूर्वक दिनुहोस्।

Comments