याकूब ४ अध्याय
१. तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र?
शारीरिक अभिलाषा
२. तिमीहरू इच्छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ।
याकूब आफ्ना इशाई पाठकहरुलाई संसारिक बुद्धि अनुसार जीवन बिताएकोमा गाली गर्छन्। तिनीहरू डाह र इर्ष्याद्धारा चलेका र कुनै पनि मूल्यमा सफल हुने महत्वकांक्षी थिए। आफूले चाहेको कुरा पाउनका लागि तिनीहरु आपसमा झगडासमेत गर्दै आएका थिए। मण्डली त्यतिबेला कमजोर छ भनेर बुझ्नुपर्छ जतिबेला मण्डलीमा झैझगडा र कलह सुरु हुन थाल्छ। मण्डली आर्थिक अभावले कमजोर हुँदैन, न त सतावटले न त खुब पढेलेखेका पाष्टर नभएकोले मण्डली कमजोर हुन्छ। मण्डली त्यति बेला कमजोर हुन्छ जति बेला विश्वासीहरुमा कसैको डर हुँदैन न त परमेश्वरको दण्डको भय हुन्छ र गति छाडा भएर आपसमा झगडा गर्न थाल्छ।यो तस्बिर साह्रै दुख लाग्दो हुन्छ। प्रियहरु! यसले त मुटु साह्रै जल्दछ। यस्तो हुनुहुँदैन।आफू केन्द्रित स्वार्थी अभिलाषाले परमेश्वर र एकअर्काबिचको सम्बन्ध टुट्छ। त्यहाँ निरन्तर शरीर र आत्माको संघर्ष भइरहेको छ।याकूबले २ खण्डमा, दुखकासाथ यस्तो खराब इच्छाको परिणामहरू वर्णन गर्दछन।
याकूब प्रार्थनाको महत्व र शक्तिको विषयमा बताउँछन। हामी धेरैपटक हाम्रो आवश्यकताहरुको लागि परमेश्वरमा भरोसा गर्न सक्दैनौ जसकारण हामी उहाँसँग प्रार्थना गर्दैनौं। हामी आफू केन्द्रित भएको कारण हामीले परमेश्वरको सट्टा आफैलाई स्रोत बनाएका छौं। हामी आफैमाथि निर्भर हुन्छौ। यसले गर्दा हामी प्रार्थनालाई इन्कार गर्छौ।
३. तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि आफ्ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्छौ।
प्रार्थना नगर्ने समस्यालाई सम्बोधन गरेपछि याकूब स्वार्थी प्रार्थनाबारे बोल्छन। हामीले बुझ्नुपर्ने कुराचाहिँ हाम्रो प्रार्थनाको उद्धेश्य परमेश्वरलाई उहाँको अनिच्छाको कुरा गराउनु होइन तर हाम्रो प्रार्थनाको उद्धेश्य उहाँको इच्छालाई हाम्रो जीवनमा पुरा गर्नुहोस् भनी अनुरोध गर्नु हो (मत्ती ६:१०)। कति लामो प्रार्थना गर्छौं भन्दा पनि कस्तो हृदयकासाथ प्रार्थना गर्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ। आफु केन्द्रित स्वार्थी प्रार्थनाहरू परमेश्वरको इच्छा होइन्।
४. व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।
यो पुरानो नियमको शब्दावलीमा प्रस्तुत गरिएको हप्की हो। जब इस्राएलीहरु मूर्तिपूजातिर आकर्षित भए तब परमप्रभूले तिनीहरुलाई यसरी नै हप्काउनुभयो (यर्मिया ३:८-९; इजकिएल ६:९, १६:३२, २३:३७; होशे ३:१)। हामीलाई प्रेरित पावलले पनि २ कोरिन्थी ६:४ मा भनिसकेका छन कि "अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ...।" यसको अर्थ के हो? के यसको अर्थ प्रेरित पावल र याकूबले संसारका मानिसहरुसँग मित्रता नगर, उनीहरुलाई प्रेम होइन घृणा गर, उनीहरुसँग कुनै प्रकारको सम्बन्धहरू नराख भनेका हुन त? कदाचित होइन्। हामी उनीहरुको सिद्धान्त र जीवनबाट प्रभावित हुने कुराबाट जोगिनुपर्छ। तिनीहरुले साँचो परमेश्वरलाई नचिनेको कारण उनीहरुको सिद्धान्त, जीवनशैली, मूल्यमान्यता, सोचविचार र व्यवहार अबाईबलिय हुन्छ र यदि त्यसको प्रभाव हामी इशाईहरुमा पर्यो भने हामी जोखिममा हुन्छौ। यसकारण हो, हामीले तिनीहरुलाई प्रेम गर्नुपर्छ र ख्रीष्टमा डोर्याउने भरमग्दूर कोसिस गर्नुपर्छ तर केही सतर्कता भने अवश्य अपनाउनुपर्छ। तिनीहरुसँग साझेदार गर्नु भनेको परमेश्वरलाई धोखा दिनु हो।
तीन युवकहरुले एउटा पसल लुटने योजना बनाउँछन्। जब रातको समयमा तिनीहरु पसलको ताल्चा फोडिरहेका हुन्छन्। अचानक पसलका साहु देखा पर्छन र युवक अत्तालिएर आफ्नो हातमा भएको पेस्तोलले साहुलाई गोली हान्छ। साहुको त्यहि मृत्यु हुन्छ। पछि जब पुलिसहरुले ती युवकहरुलाई समातेर अदालत लान्छ तब ती तीन युवकहरुमध्ये जसले साहुमाथि गोली हानेका थिए, ती नाबालक ठहर हुन्छ जसले गर्दा तिनले पाँच साल कारागारमा बिताउनुपर्ने हुन्छ भने बाकिँ दुई युवकहरु जसले पेस्तोल छोएका समेत थिएनन तर डकैतीमा संलग्न मात्र थिए, तिनीहरुलाई मृत्यु दण्ड दिइन्छ।
५. के तिमीहरू यो सम्झन्छौ, कि पवित्र-धर्मशास्त्रले व्यर्थमा यसो भन्दछ, हामीमा परमेश्वरले राख्नुभएका आत्माको निम्ति उहाँ तीव्र डाह राख्नुहुन्छ,
जब परमप्रभुले पहिलो मानिस आदमलाई बनाउनु भयो तब यसरी लेखिएको छ, "तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।" उत्पत्ति २:७
जीवनको सासको निम्ति प्रयोग भएको हिब्रू शब्द रुवेकको (ruach) अर्थ आत्मा हो। जब रुवेक मानिसको शरीरमा प्रवेश गर्यो तब मानिस नेफेस (nephes) अर्थात जीवित प्राणी बनेको छ। तर मानिसको आत्माले इतिहासदेखि नै स्वभाविक रुपमा परमेश्वरलाई बारम्बार धोखा दिएको छ र संसारको सुखविलासको तिव्र चाहना गरेको छ। पहिलो मानव आदम र हव्वाले पनि आफ्नो अभिलाषा पुरा गर्न शैतानको प्रलोभनमा परी परमप्रभुलाई धोखा दिएका थिए।
येशू ख्रीष्टले आफ्नो क्रूशकोप्रयोग नद्धारा हामीलाई पवित्र आत्मा दिनुभयो। उहाँले भन्नुभयो, "..र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।" यूहन्ना १४:१६
यदि पवित्र आत्मा प्राप्त गरेपश्चात पनि हामी परमेश्वरलाई धोखा दिन्छौं र संसारसँग सम्झौतामा जिउँछौ भने त हामीले ख्रीष्टको बलिदानलाई इन्कार गरेका छौं र पवित्र आत्माको अपमान गरेका छौं।
सम्झौतामा जिउनु चाहिँ परमेश्वरको विरुद्धमा जिउनु हो। परमेश्वर हामी पूर्ण रुपमा उहाँप्रति वफादार भएको चाहनुहुन्छ।
प्रस्थान २०:५
... किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ।
पुरानो नियममा कैयौं खण्डहरुले परमप्रभु डाहि परमेश्वर हुनुहुन्छ भनि पुष्टि गर्दछ (व्यवस्था ३२:१६,२१ ; प्रस्थान ३४:१४; जकरिया ८:२)।
परमेश्वर हामी पूर्ण रुपमा उहाँप्रति समर्पित र इमान्दार भएको चाहनुहुन्छ। उहाँ हामीलाई प्रेम गर्ने कुरामा कहिल्यै चुक्नुभएन। उहाँले हामीलाई पूर्ण विश्वासयोग्यता र वफादारिताकासाथ प्रेम गर्नुभयो र उहाँ हामीबाट पनि त्यहि वफादारिता चाहनुहुन्छ।
६. तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्छ? यसैकारण पवित्र-धर्मशास्त्र यसो भन्दछ, "परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।"
अब याकूब हामीलाई आश्वासन दिन्छन। हामीले विद्रोह जीवन बिताइरहेका भए पनि, हामीले निरन्तर परमेश्वरलाई धोखा दिएता पनि हामीले उहाँको अनुग्रह पाउन सक्छौं। यो अनुग्रह ख्रीष्टमा भरोसा गर्ने सबैको लागि दिइएको छ। हाम्रो पाप गम्भीर विनाशकारी र दुष्ट छ, तर परमेश्वरले थप अनुग्रह दिनुहुन्छ।
याकूब हितोपदेश ३:३४ खण्डलाई उदृत गर्छन्।हितोपदेश ३:३४
अभिमानी गिल्ला गर्नेहरूलाई उहाँले गिल्लामा उड़ाउनुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।
परमेश्वरमाथिको हाम्रो भरोसालाई हटाएर हामी आफैमाथि निर्भर हुन खोज्नु घमण्ड हो। हामी आफ्नो जीवनको इश्वर आफै बन्न खोजिरहेका छौं। हामीले त्यसो गर्दा परमेश्वरले मायालु, ईर्ष्यासाथ हाम्रो विरोध गर्नुहुनेछ तर उहाँले हामीलाई अस्विकार गर्नुहुन्न।
यसकारण हामी त्यो अनुग्रहलाई प्राप्त गर्न चाहन्छौ भने परमेश्वर अघि हामीले आफैलाई नम्र बनाउनुपर्ने हुन्छ।
घमण्डले पतन ल्याउँदछ। यसको जल्दो बल्दो उदाहण शैतान दियाबलस हो यसकारण हामीलाई पतन गराउन हाम्रो जीवनमा घमण्डलाई कसरी प्रयोग गर्ने यसलाई थाहा छ।
७. यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ।
ख्रीष्टले शैतानको विरोध वचनद्धारा गर्नुभयो। हामी वचन र प्रार्थनामा जिएको इशाई हुनुपर्छ। विरोध दुई ग्रीक शब्दबाट आएको छ: खडा र विरोध।
८. परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।
परमेश्वरको नजिक आओ... यसले परमेश्वरसँगको घनिष्ट सम्बन्धको लागि निमन्त्रणालाई जनाउँदछ। यहाँ हामी पुरानो र नयाँ नियमको भिन्नतालाई देख्न सक्छौं। पुरानो नियममा, परमेश्वरले मोशालाई जलिरहेको पोथ्राको नजिक नआउन र जुत्ता फुकाल्न भन्नुभयो। नयाँ नियममा परमेश्वरले पापीलाई भन्नुहुन्छ, "मेरो नजिक आओ, र म तिमीहरूका नजिक आउनेछु"। अब परमेश्वर र पापी बिचको जमीन येशूको रगतले छर्किएको छ, र हामी त्यो रगतको आधारमा परमेश्वरको नजिक आउन सक्छौं।
९. दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्द खिन्नतामा परिणत होस्।
१०. प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ।
हाम्रो विद्रोह र धोखाको निम्ति हामीले पक्षताप गर्नुपर्छ।

Comments
Post a Comment