याकूबको पत्र- भाग ५

 याकूबको पत्र



याकूब २:१४-२६

१४. मेरा भाइ हो, यदि कोही मानिसले "मसित विश्वास छ" भन्छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र? 

हाम्रो विश्वास कार्यमा प्रकट हुनुपर्छ। साँचो विश्वासले आज्ञापालन ल्याउँदछ।
अब हामीले बुझ्नुपर्छ कि यस खण्डहरुमा याकूबले कामलाई अलिक बढि जोड दिएको कारण विश्वासभन्दा काम बढि महत्वपूर्ण भएको आभाष हुन सक्छ तर त्यसो कदापि होइन। यी दुवै एक अर्काको परिपूरक हुन र एउटाको अनुपस्थितिमा अर्को सधैँ अधुरो हुन्छ। 


याकूब २:१४ को अर्थ के हो?
यो पद एक विरोधाभास खण्ड जस्तो देखिन्छ र यसलाई अक्सर गलत बुझिन्छ। यहाँ, याकूबले ख्रीष्टमाथिको साँचो विश्वासले इशाईहरूको कार्यमा साँचो परिवर्तन ल्याउँछ भन्ने कुरालाई प्रस्तुत गर्दछन्। सतहमा, यो वास्तवमै त्यस्तो कट्टरपन्थी विचार होइन। परमेश्वर सत्य, असल र शक्तिशाली हुनुहुन्छ भन्ने विश्वास गर्नेहरूले स्वाभाविक रूपमा उहाँको आज्ञा पालन गर्नेछन्। अरूको आवश्यकता पूरा गर्नका लागि परमेश्वरले बोलाउनुभएको हो भन्ने विश्वास गर्नेहरूले स्वाभाविक रूपमा त्यसो गर्ने तरिकाहरू खोज्नेछन्।

साथै यो खण्ड एफिसी २:८-९ खण्डसँग बाझिएको जस्तो लाग्न सक्छ जहाँ लेखिएको छ, "किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ-- र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो-कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।" 
याकूबको यो खण्ड पावल र नयाँ नियमका अन्य लेखकहरूको शिक्षासँग विरोधाभास भएको जस्तो देखिन्छ। याकूबको प्रश्नले कामबिना मानिसलाई बचाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठेको देखिन्छ।

वास्तवमा याकूबले सोधेको कुरा त्यो होइन। यो याद गर्न महत्त्वपूर्ण छ कि, मूल ग्रीकमा, याकूबले "त्यो विश्वास" को लागि "हे पिस्टिस"  hē pistis वाक्यांश प्रयोग गर्दछ। "हे" शब्द महत्त्वपूर्ण छ, किनकि यसले याकूबले के संकेत गरिरहेको छ त्यसको दायरालाई संकुचित गर्दछ। यस अवस्थामा, यसले पहिले नै वाक्यांशमा भनिएको कुरालाई अंकित गर्दछ। याकूबले एक व्यक्तिलाई निर्दिष्ट गर्दछ जसले "आफुसँग विश्वास छ भन्छ तर काम छैन।" याकूबले प्रश्न गर्छ कि त्यो विश्वास - जसले असल कामहरु परिणाम दिदैन - बचाउन सक्छ कि सक्दैन। यसैले धेरै अनुवादहरूले यसलाई "यस विश्वास," वा "यस्तो विश्वास" भनेर अनुवाद गर्छन्।

याकूबले कहिल्यै सुझाव दिँदैनन् कि हामी हाम्रा कामहरूद्वारा बचाइएका छौं। नत्र त हामी ख्रीष्टमाथिको विश्वासलाई त्यागेर असल कामहरु गर्न थाल्छौं। यस पदले विश्वासको बचत मूल्यमा प्रश्न गर्दैन। बरु, यसले "तथाकथित- त्यस्ता विश्वास" को बचत मूल्य वा कामहरू उत्पादन नगर्ने एक मात्र विश्वासमाथि प्रश्न गर्दछ। याकूबको आलोचना विशेष गरी त्यस्ता विश्वासको विरुद्धमा हो जसले जीवन परिवर्तन गर्दैन।

याकूबले यहाँ के भनेका छन यसको पूर्ण सन्दर्भ हेर्नु आवश्यक छ। उसले "विश्वास" को सबै परिभाषाहरूमा प्रश्न उठाइरहेको छैन। विश्वासले मात्र बचाउँछ भन्ने कुरामा उनी विवाद गर्दैनन्। उनले कामले बचाउने दाबी गर्दैनन् । याकूबले पक्कै पनि भनिरहेका छन् कि त्यो साँचो विश्वास जसले बचाउँछ र हामीलाई उद्धार दिन्छ, यसको स्वभावैले  असल कामहरू उत्पादन गर्दछ। कामहरू मुक्तिको प्रमाण हुन्, तर कामहरु मुक्तिको स्रोत भने होइन।

१५. यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्यसलाई दिनहुँको भोजनको अपुग छ, 
१६. र तिमीहरूमध्ये कसैले त्यसलाई, "शान्तिसँग जाऊ, न्यानो गरी बस, पेटभरि खाऊ" मात्र भन्छ, तर त्यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्यसबाट के लाभ हुन्छ र? 
यहाँ याकूबले साँचो आवश्यकतालाई प्रश्तुत गरेका छन्। साँचो आवश्यकता चाहिँ ऋण तिर्न नसक्नु, बाईक गाडि चढ्न नसक्नु, आइफोनको किस्ता तिर्न नसक्नु होइन। धर्मशास्त्रलाई ध्यान दिनुहोस्, तपाईले थाहा पाउनुहुनेछ कि गरिबी र साँचो आवश्यकता चाहिँ मानिसहरुसँग दैनिक भोजन र शरीरको लागि लत्ताकपडा नहुनु हो। यो भाई वा बहिनी साँचो खाँचोमा छ। तर केहि गर्नुको सट्टा, हामी मध्ये एकले न्यानो भएर बस्नु र खाना खानु मात्र भन्छ भने याकूबले प्रश्न गर्छन्, त्यसको औचित्य छ र? त्यसबाट के लाभ? 
यो खाली, खोक्रो र बेकार विश्वासको उदाहरण हो। मौखिक बयान साँचो विश्वास होइन। केवल शब्दहरु उच्चारण गर्नु विश्वास होइन। याकूबले भनिरहेका छन् चाहे तपाई जे सुकै बोल्नुहोस त्यो विश्वास होइन। 
प्रियहरु! यो हामीले बुझ्न महत्वपूर्ण छ। तपाईले मलाई भन्न सक्नुहुन्छ कि तपाई येशूलाई कति धेरै प्रेम गर्नुहुन्छ तर तपाईका शब्दहरु विश्वास होइनन्। याकूब भन्छन्, साँचो विश्वास कार्यमा प्रकट हुन्छ। 
यदि हाम्रो प्रेम, विश्वास, हाम्रो बुद्धि ज्ञान हाम्रो व्यवहार र कार्यमा देखिँदैन भने त्यो कस्तो प्रेम हो? त्यो कस्तो विश्वास हो? 
हाम्रा ती मीठा-मीठा शब्दहरु केवल खोक्रो शब्दहरु मात्र हुन। 
यसकारण ख्रीष्टले पनि भन्नुभयो, "तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।" यूहन्ना १४:१५

१७. यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो। 
१८. तर कसैले भन्ला, "तिमीसित विश्वास छ, मेराचाहिँ कामहरू छन्।" कामविनाको तिम्रो विश्वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्नो विश्वास तिमीलाई देखाउनेछु। 
१९. तिमीहरू विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ। त्यो असल हो। भूतात्माहरू पनि विश्वास गर्छन् र थरथर काम्छन्। 
२०. मूर्ख हो, कामविनाको विश्वास व्यर्थ हुन्छ भन्ने कुराको प्रमाण चाहन्छौ? 
विश्वास र काम एउटै सिक्काको दुई पाटो हुन। यी दुई एक अर्काको परिपूरक हुन। विश्वासको प्रमाणीकरण हाम्रो जीवनको कार्यहरुले हुन्छ। यदि हामी म ख्रीष्टलाई विश्वास गर्छु भन्छौ तर हामीमा प्रेमको कार्यहरु, आज्ञाकारीता, विश्वास अनुसारको व्यवहार र जीवन र बोलीचाली छैन भने हाम्रो विश्वास व्यर्थ छ। त्यसरी नै विश्वास गर्न छोडेर अरुको सेवामा मात्रै परोपकारी बन्दै धर्मकर्म गरि हिडँछौं भने विश्वासबिनाको कामको कुनै अर्थ छैन। 
याकूबले यो कुरालाई अझै बुझाउन दुष्टात्माहरुको बारेमा अवलोकन गरेर प्रमाणित गर्छन्। हामी परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गर्छौं। भुतात्माहरुले पनि परमेश्वर एउटै हुनुहुन्छ भनि विश्वास गर्छन्। भूतहरुमा पनि केहि विश्वासहरु छन्। भूतहरुले पनि ईश्वरको आधारभूत सिद्धान्तहरुमा विश्वास गर्छन्। तिनीहरुको विश्वासले तिनीहरुलाई कम्तिमा थरथर काप्ने र डराउने बनाउँदो रहेछ। यसको मतलब के तिनीहरुले यस विश्वासको आधारमा उद्धार पाउँला त? NO
अब हामीले कार्य बिनाको विश्वासले हामीलाई बचाउँला भनेर सोच्नु आफैमा मुर्खतापूर्ण कुरा हो। 
जब हामीले ख्रीष्टमाथि विश्वास गर्छौं, यो विश्वासले हाम्रो आत्मामा काम गर्नुपर्छ। हाम्रो विश्वासले हाम्रो जीवनलाई रुपान्तरण गरेको हुनुपर्छ। हाम्रो विश्वास आज्ञाकारीतामा झल्किनुपर्छ। 
त्यहाँ कति मानिसहरु छन जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ, मेरो जीवनको प्रभु र उद्धारकर्ता हुनुहुन्छ भनि विश्वास त गर्छन तर त्यो विश्वास कार्यमा उतार्दैनन्। त्यस्तो विश्वास बेकारको छ र मरेतुल्य छ। त्यस प्रकारको विश्वासले आत्मामा अनन्त जीवन ल्याउँदैन। यस्तो किसिमको विश्वासले हामीलाई बचाउन सक्दैन। 

२१. जब हाम्रा पुर्खा अब्राहामले आफ्नो छोरो इसहाकलाई वेदीमा अर्पण गरे, तब तिनी कामद्वारा नै धर्मी ठहरिएनन् र? 
२२. तिमी देख्तछौ, कि तिनका कामहरू सँगसँगै विश्वास क्रियाशील थियो, र कामद्वारा नै विश्वास पूर्ण भएको थियो। 
२३. पवित्रधर्मशास्त्रको यसो भन्ने वचन पूरा भयो, "अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो," र उनी परमेश्वरका मित्र कहलिए। 
२४. तिमीहरू देख्तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्वासद्वारा मात्र होइन। 

यस खण्डमा उल्लेख गरिएको "काम" शब्दलाई ग्रीकमा 'इर्गोन' भनिन्छ जसको अर्थ पवित्रशास्त्रमा आज्ञा गरिए अनुसार परमेश्वर र अरु मानिसहरुप्रतिको दायित्व हो। यो दायित्व त्यहि मानिसले पुरा गर्छ जसमा साँचो विश्वास, शुद्ध हृदय, परमेश्वरको अनुग्रह र ख्रीष्टलाई प्रसन्न पार्न चाहने इच्छा हुन्छ। 
ख्रीष्टमाथि विश्वास गरेपश्चात परमेश्वरले हामीलाई केहि विशेष दायित्वहरु दिनुभएको छ। हामीले यो भन्न सक्दैनौं "मैले त ख्रीष्टमाथिको मेरो विश्वासले उद्धार पाइसके यसकारण मैले केहि गर्नु आवश्यक छैन्।"

मत्ती १५:५ मा ख्रीष्टले शास्त्री र फरिसीहरुलाई ढोंगी भनि गाली गर्नुभयो किनकि उनीहरुले आफैलाई म परमेश्वरको निम्ति 'कोर्बान' हुँ भनेर आफूले गर्नुपर्ने दायित्वहरुबाट आफैलाई वञ्चित गराउँथे। त्यस समयमा यदि कसैले कुनै थोक परमेश्वरलाई चढाउँथे भने उनीहरुले 'यो परमेश्वरको लागि कोर्बान हो' भन्थे र त्यो सरसामान केवल परमेश्वरको सेवामा मात्र प्रयोग गरिन्थ्यो। शास्त्री र फरिसीहरुले हामी परमेश्वरको सेवाको निम्ति चढाइएको कोर्बान हौं यसकारण हामीले केवल सेवा गर्नुपर्छ भनेर आफ्नै आमाबुबाको देखरेख गर्ने दायित्व पनि पुरा गर्दैन थिए। 
यसकारण यदि हामी पनि म सँग विश्वास छ भन्छौ तर हाम्रो दायित्वहरु पुरा गर्दैनौ भने हामी पनि शास्त्री र फरिसीहरु जस्तै खोक्रो विश्वास बोकेर हिँडिरहेका छौ।
अब्राहाम केवल विश्वासद्धारा मात्र होइन न त कामद्धारा मात्र तर उनको विश्वास कार्यमा प्रकट भएको कारण धर्मी ठहरिए (उत्पत्ती २२) । जब परमप्रभुले अब्राहामलाई तिनको पुत्र इसहाकलाई मोरियाहको डाँडामा बलि दिन आज्ञा दिनुभयो तब अब्राहामले यस कठिन आज्ञालाई पनि शिरोपर गरि आज्ञापालन गरेका छन्। उनले परमप्रभुलाई किन? भनि प्रश्न समेत गरेनन। परमेश्वर हामीमा अब्राहामको जस्तै विश्वास भएको चाहनुहुन्छ। धेरै पटक हामी अब्राहामको जस्तै उन्नति, सफलता र धार्मिकताको जीवन चाहन्छौं तर अब्राहामको जस्तै त्याग र बलिदान गर्न चाहदैनौं। परमप्रभु हाम्रो खराब बानीलाई त्याग भन्नुहुन्छ, हामी हाम्रो पुरानो स्वभावलाई पकडेर बस्छौं। परमप्रभु मेरो सेवाको निम्ति दंशाश भेटी ढुकुटीमा ल्याओ भन्नुहुन्छ, हामी लोभ गर्छौं। परमप्रभु हाम्रो विश्वास आज्ञाकारीतामा प्रकट भएको चाहनुहुन्छ।

२५. त्यसै गरी राहाब वेश्याले पनि, जब तिनले गुप्तचरहरूलाई सत्कार गरेर अर्कै बाटो पठाइदिइन्, तब कामहरूबाट तिनी धर्मी ठहरिएकी होइनन् र? 
२६. जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ।

राहाब अन्यजाति पृष्ठभूमिकी एक पापिनी स्त्री थिईन् जसले इस्राएलका परमेश्वरलाई स्वर्ग र पृथ्वीका साँचो परमेश्वरको रुपमा विश्वास गरिन (यहोशू २)। तिनको विश्वाले उनलाई परमेश्वरका जातीहरुको पक्षमा खडा हुन प्रेरित गरेको छ। उनले इस्राएलका गुप्तचरहरुलाई यरीहोका सेनाहरुबाट लुकाइ भगाएकी थिइन। यदि उनमा परमेश्वरप्रतिको विश्वास नहुँदो हो त उनले यी कामहरु गर्ने थिएनन्। तिनले पृथ्वीको शासकको डर भन्दा पनि सारा ब्रहमाण्डको सृष्टिकर्ता परमप्रभुको भय मान्ने कुरालाई रोजेकी छिन। 

Comments