याकूबको पत्र-भाग ३
मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ। २०. किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन।
हामी धेरै जना यसको ठिक विपरित छौं: सुन्नमा ढिलो, बोल्नमा छिटो र रिसाउन हतार। हामी अरुलाई सुन्न चाहँदैनौ तर आफ्नो राय राख्न हत्तातिन्छौं।
संचारको लागि सुन्नु उत्तिक्कै महत्वपूर्ण छ जति बोल्नु।
बोल्नमा ढिलो : जिब्रोमा लगाम लगाउनु
reference : २६औं खण्ड, ३:५-६
"जब कुरा बढ्ता गरिन्छ, पापको अभाव हुँदैन, तर जसले आफ्नो जिब्रोलाई वशमा राख्छ, त्यो बुद्धिमान् हो।" हितोपदेश १०:१९
रिसाउनमा धीमा: रिसमाथि नियन्त्रण
"मानिस धैर्यवान् हुनु लड़ाका योद्धा हुनुभन्दा उत्तम हो, आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो।" हितोपदेश १७:२७
रिसालु आत्मा सुन्ने आत्मा हुँदैन। रिसले हामीलाई सुन्न र सिक्नबाट रोक्छ। रिसालु आत्मा चाहिँ घमण्डी आत्मा पनि हो किनकि उसले चाहेकै जस्तो हुनुपर्छ भन्ने उसको मानसिकता हुन्छ। यदि उसले चाहेको कुरा हुँदैन भने ऊ आक्रोशित बन्छ। ऊ आफ्नै कुरामा जिद्दी हुन्छ र अरुको कुरा सुन्न चाहँदैन। रिसले मानिसको हृदय कठोर बनाउँछ।
बाइबलले यसरी भन्दछ,
क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्,र दियाबलसलाई मौका नदेओ। (एफिसी ४:२६-२७)
यहाँ प्रेरित पावल स्पष्ट छन, त्यहाँ क्रोधित हुने एउटा तरिका छ जुन पापपूर्ण छैन्। हामी स्पष्ट हुनुपर्छ प्रेरित पावलले बताएको क्रोध पवित्र छ, त्यसमा स्वार्थ, अस्वस्थ प्रतिस्पर्धा, डाह, कपट र घमण्ड हुँदैन। हामीले पवित्र रिस अपनाउन सिक्नुपर्छ जस्तो ख्रीष्टमा थियो।
ख्रीष्टले परमेश्वरको आदरको निम्ति पवित्र र धार्मिक क्रोध प्रदर्शन गर्नुभयो। जब ख्रीष्टले मन्दिरमा मानिसहरुले परमेश्वरको पवित्रतामाथि खेलवाड र हेलचेक्रयाई गरेर व्यापार गरेको देख्नुभयो तब उहाँ क्रोधित हुनुभयो। हामी पनि पापप्रति क्रोधित हुनुपर्छ। परमेश्वरको अनादर हुन्छ भने यसप्रति क्रोधित हुनुपर्छ। मानिसहरुको आत्मा मरिरहेको देखेर रिसाउनुपर्छ। त्यो परमेश्वरलाई मनपर्ने क्रोध हो।
ध्यान दिनुहोस्, याकूबले क्रोध गर्दै नगर भनेका छैनन् तर रिसाउनमा धीमा होओ भनेका छन्। किनकि रिस हाम्रो मानवको प्राकृतिक गुण हो। यसलाई कसरी सदुपयोग गर्ने हामीले सिक्नुपर्छ। हाम्रो रिस आगो जस्तै हो जबसम्म यो हाम्रो नियन्त्रणमा हुन्छ यसले हामीलाई फाइदा पुर्याउँछ तर जब यो हाम्रो नियन्त्रणभन्दा बाहिर हुने बित्तिकै यसले ठूलो दुर्घटना निम्त्याउँछ।
तपाईको रिस र प्रतिक्रियाबिच लामो दुरी हुनुपर्छ। यस दुरीमा तपाईले परमेश्वरबाट सरसल्लाह र अगुवाई खोज्नुपर्छ र निर्णय लिनु अघि तपाईको रिस मरिसकेको हुनुपर्छ। अधार्मिक रिसले परमेश्वरको महिमा हुँदैन तर यसले हामीलाई पापमा फसाउँछ।
सिमाबिनाको क्रोध धेरै विनाशकारी हुन सक्छ।
रिसाउन छोड र क्रोधलाई त्याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्काउँछ। भजन. ३७:८
रिसाहा मानिसले मूर्ख कामहरू गर्छ, र धूर्त मानिस घृणित हुन्छ। हितोपदेश १४:१७
परमेश्वरको क्रोध : परमेश्वरको गुण
परमेश्वरको क्रोध दुष्टताप्रतिको प्रतिक्रिया हो (रोमी १:१८-२:११)।
उहाँको क्रोध कहिल्यै भ्रामक हुँदैन। परमेश्वर रिस र क्रोधलाई ठीकसँग निर्देशित गर्न सक्षम हुनुहुन्छ।
मानिस अपूर्णता (imperfect) प्राणी भएका कारण ऊ यति सक्षम छैन। प्रायः मानिसको रिस र क्रोध भ्रामक हुन्छ। के तपाई कहिल्यै कुनै कुरामा रिसाउनुभएको र पछि पछुताउनुभएको छ?
२१. यसैकारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ।
"यसैकारण" शब्द १८औं पदको निष्कर्ष हो। उहाँले आफ्नै इच्छाले सत्यको वचनद्वारा हामीलाई जन्म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्टिको एक अगौटे फलजस्तो बन्न सकौं। (१८)
त्यो हाम्रो आत्मामा परमेश्वरको वचनको बिऊको प्रारम्भिक रोपण थियो। अब यस पदले हामीलाई हाम्रो प्रारम्भिक मुक्तिभन्दा बाहिर परमेश्वरको वचनले के गर्नेछ भनि बताउँछ। हामी विश्वासीहरु आत्मिक जन्मको बीऊ वाला चरणभन्दा बाहिर जान आवश्यक छ।
हामीले परमेश्वरको वचनको शक्तिद्धारा मुक्ति पाएका छौं। वचनको शक्तिले हामीलाई बचाईराखेको छ अर्थात पवित्र बनाइराखेको छ र अन्तत: वचनको शक्तिद्धारा हामी पूर्ण रुपमा बचाइनेछौं अर्थात महिमित पारिनेछौं। - जोन म्याकअर्थर
"तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।" भजन. ११९:११
२२. तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ। २३. कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने, त्यो एउटा यस्तो मानिसजस्तो हुन्छ, जसले आफ्नो अनुहार ऐनामा हेर्छ,
२४. किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ, र त्यो आफै कस्तो थियो, त्यो तुरुन्तै बिर्सिहाल्छ।
२५. तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्दछ र त्यसैमा लागिरहन्छ, अनि सुनेर बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफूले गरेको काममा आशिष् पाउनेछ।
विन्स्टन चर्चिलले यसरी भनेका छन्, "मानिसहरु कहिलेकाहीँ सत्यमा ठक्कर खान्छन्, तर तिनीहरुमध्ये धेरैले आफैंलाई उठाउँछन र केहि नभएको जस्तो गरी हत्तारसँग जान्छन्।"
आज हामी एउटा नमिठो सत्यतासँग ठोक्किएका छौं कि हामी धेरै जना सुन्ने व्यक्तिहरु छौं, हामी ध्यान सँग सुन्छौं, दिलोज्यानले सुन्छौं तर गराईमा हामी पछि छौं। गर्ने कुरामा हामी चुक्छौं। वचन आज्ञापालनलाई हामी खिलाचीको रुपमा लिन्छौं। हामी परिवर्तन हुन आवश्यक छ।
सुन्नु र गर्नु दुई भिन्न पाटो हो। सुन्नेले गर्छ भन्ने ग्यारेन्टी छैन तर गर्ने व्यक्तिले अवश्य सुनेको थियो। वचन सुन्ने कुरालाई आज्ञापालनले पछ्याएको हुनुपर्छ। वचनको आज्ञाकारीताको यो निरन्तर कार्यले विश्वासीहरुलाई धार्मिकताको जीवनशैली बाँच्न प्रेरित गर्छ (रोमी १:१६-१७)। हामी सुन्न त सुन्छौं तर पालना गर्दैनौं। हाम्रो हृदयमा रोपिएको वचनको बिऊ हुर्कनु पर्छ र फल फलाउनु पर्छ। एउटा किसानले खेतमा बिऊ रोपेर हात बाँधी चुपचाप बस्दैन तर हरेक दिन त्यस बिऊ हुर्कोस भनि मेहेनत गर्छ। उसले खेतमा मलजल गर्छ, पानी लगाउँछ, वरिपरिका झारपातहरु उखेल्छन्, जीवजनावर र पशुपक्षीबाट सुरक्षा दिन्छ।
प्रियहरु! हामीले वचनको बिऊबाट फल प्राप्त गर्न मेहेनत र परिश्रम गर्नुपर्ने हुन्छ। वचन सुन्नु चाहिँ तपाईले आफ्नो हृदयको माटोमा बिऊ रोप्नु जस्तै हो तर यसले फल फलाउँछ कि फलाउँदैन भन्ने कुराचाहिँ तपाईको कार्य गराईमा निर्भर हुन्छ।
मलाई लाग्छ हामी विश्वासीले जति धेरै वचन अरु कसैले सुनेको छैन। हामी हरेक हप्ता शनिबार सेवामा वचन दिन्छौं, हरेक हप्ता घरेलु संगति, विभिन्न तालिम-सेमिनार, युट्युब र अन्य माध्यम मार्फत हरेक दिन वचन सुन्छौं तरै पनि हाम्रो जीवनमा परिवर्तन छैन किन? किनकि हामी सुन्न त सुन्छौं तर वचन पालन गर्दैनौं।
अध्ययनले देखाएको छ कि हामीले सुनेको र सिकेको कुरालाई एक घण्टाको अन्तरालमा ५०% भुलिसक्छौ र दिनको अन्तमा २/३ भुलिसक्छौं।
भुल्ने हाम्रो पुरानो आदत हो। हामी धेरै जना सुनेको कुरा छिट्टै भुल्छौं। हामी वचन सुन्छौं अनि त्यसलाई पालना गर्न भुल्छौं।
"तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।" यूहन्ना १४:१५
अब याकूब यहाँ आफ्नो पाठकहरुलाई बुझाउन एउटा दृष्टान्त (analogy) प्रयोग गर्छन।
यदि हामी ऐना हेर्छौ र आफ्नो दाँतमा केहि थोक अडकेको देख्छौं भने के गर्छौ? अथवा हाम्रो गालामा कुनै किसिमको फोहोर दाग देख्यौं भने के गर्छौ? के हामी एेनामा आफ्नो बिग्रिएको कपाल देखेर त्यतिकै छाडिदिन्छौं?
याकूबले एेनामा हेरेर त्रुटिहरु देख्ने व्यक्तिको चित्रण गर्छन, तर सुधार गर्नुको सट्टा आफू कस्तो देखिन्थ्यो भनेर बिर्सेर हिँडछ। याकूब एक हास्यास्पद र मूर्ख व्यक्तिको पात्र चित्रण गर्छन जसले त्रुटिहरु देख्छ तर सुधार गर्दैन। के हामी आफैँलाई एेनामा हेरेर हाम्रो अनुहारमा भएको त्रुटिहरुलाई त्यतिकै छाडदिन्छौं? धेरै पटक हामी "म जे छु ठिक छु, ममा कुनै किसिमको खराबी छैन" भनि आफैंलाई धोखा दिरहेका हुन्छौं।
आत्म-छल अथवा धोखाको पासोबाट बँच्ने एउटै उपायचाहिँ सिद्ध व्यवस्थातिर हेर्नु र यसद्धारा बाँधिनु हो। याकूबले पहिले "सत्यको वचन" (१:१८) र "हृदयमा रोपिराखेको वचन" (१:२१) भनेर बोलाइएको कुरालाई यहाँ "स्वतन्त्रता दिने शुद्ध वचन" भन्छन्। अर्को शब्दमा,"मृत्यु ल्याउने पाप" (१:१५) बाट मुक्ति दिने श्रोत चाहिँ सत्य हो। स्वतन्त्रताको वचन पालना गर्नु भनेको सुनेको सत्यलाई आफ्नो जीवनमा उतार्नु बराबर हो अर्थात विश्वासको हिँडाइ मार्फत वचन बाँच्नु हो।
आशिष पूर्ण रुपमा वचन पालना गर्ने कुरासँग जोडिएको छ।
२६. यदि कोही मानिसले आफूलाई धर्मी सम्झन्छ, र आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थ हुन्छ।
२७. परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।

Comments
Post a Comment