याकूबको पत्र

 याकूबको पत्र 


  • याकूबको परिचय 
धेरै बाइबल विद्धानहरु यस पुस्तकका लेखक येशू ख्रीष्टका भाई याकूब हुन भनि विश्वास गर्दछन्। येशू ख्रीष्ट पृथ्वीमा हुँदा याकूबले उहाँ नै मसिह हुनुहुन्छ भनि विश्वास गरेनन (मर्कूस ३:२१-३५;यूहन्ना ७:५) तर येशूको पुनरुत्थान भएको शरीरको साक्षी भएपछि (१ को. १५:७), याकूब यरुशलेम मण्डलीका अगुवाहरुमध्येको एक भए। प्रेरित पावललेपनि याकूब पहिलो शताब्दी मण्डलीको एक खम्बा भएको बताउँछन (गलाती २:९)।

परमेश्वर र प्रभु (kurios मालिक) येशू ख्रीष्टको सेवक (doulos दास) याकूबबाट : ठाउँ -ठाउँमा छरपष्ट भएका बाह्र कुललाई अभिभादन। (१) 
याकुबले आफैलाई ख्रीष्टको भाइको रुपमा होइन तर एक दासको (Bond Servant) रुपमा आफैलाई परिचित गराउँछन्। ग्रीकमा यसलाई डोउलोस भनिएको छ जसको अर्थ "जो आफ्नो मालिकप्रति पूर्ण रुपमा समर्पित" छ। रोमन समयमा, एक दासचाहिँ मालिकको सम्पत्ति हुने गर्थ्यो। दासको कुनै अधिकार हुँदैनथ्यो र आफ्नो मालिकद्धारा मारिन पनि सक्थ्यो। पुरानो नियममा एउटा दासले छ वर्षसम्म  पूर्ण समर्पित भई आफ्नो मालिकको सेवा गर्नुपर्थ्यो र सातौं वर्षमा ऊ स्वतन्त्र हुने गर्थ्यो तर यदि उसले चाहेको खण्डमा आफ्नो मालिकको आजिवन दास बन्न सक्थ्यो (प्रस्थान २१:५-६)
भलै याकूबले येशू ख्रीष्ट शारिरिक रुपमा यस पृथ्वीमा हुनुहुँदा उहाँलाई विश्वास गरेनन तर उहाँको स्वर्गरोहन पश्चात उनले आफैंलाई ख्रीष्टमा समर्पण गरेका छन्। याकूब एक प्रार्थनाका योद्धा थिए। प्रारम्भिक मण्डली इतिहासले बताउँछ कि उनको घुडाँचाहि प्रार्थना गरिरहने भएका कारण ऊँटको जस्तो ठूलो, बाक्लो र साह्रो थियो। याकूबलाई मन्दिरको उचाईबाट खसालियो तर उनी नमर्दा उनलाई मरुन्जेल कुटियो तर त्यस्तो अवस्थामा पनि उनलाई कुटनेहरुको निम्ति उनले तिनीहरुको निम्ति प्रार्थना गरिरहेका थिए। 

मेरा भाई हो, तिमीहरुमाथि विभिन्न किसिमका आपत्-विपत आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ। (२) 
अंग्रेजी संस्करणमा यदि होइन तर जब भन्ने शब्द प्रयोग गरिएको छ। यसकारण इशाई जीवनमा हामी सतावट र आपत्-विपतबाट वञ्चित छैनौं। अहिले नभए पनि एक न एक दिन हामीले यस कठिन यात्रा तय गर्नै पर्ने छ। तर आपत्-विपदलाई हेर्ने हाम्रो दृष्टिकोण फरक हुनुपर्छ - यसलाई हामीले आनन्दको रुपमा हेर्नुपर्छ। तर कसरी सजावट, बाँधा र आपत्-विपत हाम्रो लागि आनन्द हुन सक्छ? 
"आपत् विपदलाई पुरा आनन्दको कुरा सम्झ..." भन्नुको अर्थ आपत्-विपद साह्रै आनन्दमय हुन्छ भन्न खोजिएको होइन न त यो आनन्ददायी नै हुन्छ। अवश्य पनि यो कष्टकर हुन्छ। तर यसलाई हेर्ने हाम्रो दृष्टिकोण भिन्न हुनुपर्छ भन्न खोजिएको हो। यो कष्ट र समस्याहरुबाट पनि परमेश्वर मेरो जीवनमा भलाई ल्याउनुहुनेछ भन्ने विश्वास हामीमा हुनुपर्छ। 

किनकि तिमीहरु जान्दछौं, तिमीहरुको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। (३)
धैर्यता ग्रीक प्राचिन शब्द हुपोमोन (hupomon) हो। यो शब्दले निष्क्रिय पर्खाइको वर्णन गर्दैन तर सक्रिय सहनशीलतालाई वर्णन गर्दछ। यस किसिमको धैर्यता तपाईले एक धावकमा भेट्टाउनुहुनेछ। यदि सुरुवातमै धावक हत्तारिदैं अत्तालिएर दौडन्छ भने ऊ छिट्टै थकित भएर दौडन सक्दैन तर सहनशील र धैर्यवान भई ऊ निरन्तर दौडन्छ भने उसले दौडलाई पुरा गर्न सक्छ। बाँधाहरुको बिच हामी अत्तालिने होइन तर हामीले हाम्रो विश्वासहरुमा कदम चाल्नुपर्ने हुन्छ। 
यस प्राचिन शब्द हुपोमोन दुईवटा शब्दहरुले बनेको छ: हुपो : मुनि र मेनो : बस्नु, रहनु।
यसको मूल शब्दको अर्थ मुनि रहनु हो। यसले हामीलाई यस्तो तस्बिर प्रदान गर्छ, कुनै व्यक्ति भारी बोझ मुनि छ तर ऊ भाग्नुको सट्टा त्यसलाई सहेर त्यहि बस्न रोज्दछ। दार्शनिक फिलोले धैर्यतालाई "गुणहरुको रानी" भन्छन्। 
धैर्यता पवित्र आत्माको फल पनि हो (गलाती ५:२२)। हाम्रो विश्वास परमेश्वरले दिने आशिषहरुमा होइन तर परमेश्वरमा हुनुपर्छ। हामी सबैलाई स्वस्थ हुनु मनपर्छ, हामी सबै निरोगी हुन चाहन्छौं तर अस्वस्थ र रोगले ग्रसित हुँदै गर्दा हाम्रो विश्वास कस्तो हुन्छ? के हामी भन्न सक्छौं प्रभु चाहे म रोगले ग्रसित हु वा यस रोगले मर्नै किन नपरोस म तपाईमा निरन्तर विश्वास गरिरहन सकुँ। त्यो बोझलाई बोक्नुपर्दा पनि के हामी निरन्तर उहाँमा भरोसा गर्न सक्छौं त? 
साँच्चै परमेश्वर कतिपटक हामीमा यो फल फलाउनको निम्ति हामीलाई विभिन्न जाँचहरुबाट गुज्राउनुहुन्छ। जुन रुखले आँधीबेहरीलाई सहेको हुन्छ त्यहि रुखको जरा बलियो रुपमा गडेको हुन्छ। 

धैर्यलाई त्यसको पूरा काम गर्न देओ,ताकि तिमीहरुमा कुनै कुराको अभाव नभएर तिमीहरु परिपक्व र पूर्ण होओ। (४) 
आपत्-विपदहरुद्धारा विश्वास जाँचिन्छ तर आपत्-विपदले विश्वास उत्पन्न हुँदैन। जाँचले हामीभित्र कस्तो विश्वास छ भनी प्रकट गर्दछ तर हुँदै नभएको विश्वासलाई यसले उत्पादन गर्दैन। 
हरेक बहूमूल्य थोक जाँचिएझैं हाम्रो विश्वास बहूमूल्य भएको कारण जाँचिनुपर्छ। 
"मुटु शरीरको लागि नभई नहुने अंग भएझैं, विश्वास मुक्तिको लागि नभई नहुने कारक हो: यसकारण पनि शत्रुका भालाहरु यो आवश्यक अनुग्रहमा लक्षित छन्।" स्पर्जन 
शैतान हाम्रो विश्वासमा प्रहार गर्न चाहन्छ किनकि यदि हाम्रो विश्वासलाई हामीले गुमायौं भने शैतानले युद्ध जित्नेछ। 
यदि जाँचले विश्वास जन्माउँदैन भने केले विश्वास ‌उत्पन्न गर्छ? रोमी १०:१७ लेभन्दछ "जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।" 
जब हामी परमेश्वरको वचन दिन्छौं, बुझ्छौं, विश्वास गर्छौ र पालना गर्छौं, यसले हामीमा विश्वास निर्माण गर्दछ। जाँचले विश्वास उत्पन्न गर्दैन तर जब हामी यसलाई  विश्वाससाथ ग्रहण गर्छौं, यसले हामीभित्र धैर्यतालाई उत्पन्न गर्दछ। तर यदि हामीले आपत्-विपतलाई अविश्वास, गनगन र गुनासोकासाथ ग्रहण गर्यौ भने यसले तित्तता र निराशा उत्पन्न गर्न सक्छ। यसकारण याकूबले पुरा आनन्दकासाथ यसलाई ग्रहण गर्न भन्छन्। 
.....तिमीहरुमा कुनै कुराको अभाव नभएर तिमीहरु परिपक्व र पूर्ण होओ।
शैतान हामीलाई हत्तारिएको चाहन्छ। हामी हत्तारमा धैरै कुरा बिगारि पठाउँछौं। 
तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ। तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ। 

त्यस्तो मानिसले यो नसम्झोस्, कि उसले प्रभुबाट केही पाउनेछ। किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ। (५-८) 
हामीलाई जाँचको समयमा बुद्धिको खाँचो पर्छ। धेरै पटक हामीलाई बुद्धिको खाँचो छ भनि हामी जान्दैनौं। तर बाइबलले भन्दछ, "मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्।" होशे ४:६
धेरै पटक हामी बुद्धि प्राप्त गर्न पुस्तककहाँ धाउँछौ, मानिसहरुकहाँ जान र विभिन्न तालिममा जान तयार हुन्छौं तर परमेश्वरकहाँ गइरहेका हुँदैनौं। तर हामीले प्रभुसँग माग्दै गर्दा शंका गर्छौं भने त्यो हाम्रो प्रार्थनाको सबैभन्दा ठूलो बाधँक बन्दछ। 
यदि हामीसँग विश्वास नभएको भए हामी माग्ने थिएनौं। यदि हामीसँग अविश्वास नभएको भए हामीसँग शंका हुन्थेन। तर यी दुई विश्वास र अविश्वासको बिचमा हुनुचाहिँ दोहोरो मन हुनु हो। 
"दुई आत्माको मानिस जसको एउटा आत्मा पृथ्वीको लागि र अर्को स्वर्गको लागि छ; जसले दुवै संसारलाई सुरक्षित गर्न चाहन्छ; उसले पृथ्वी त्याग्न चाहँदैन र स्वर्गलाई त्याग्न सक्दैन।" क्लर्क
मर्कूस ९:२४ मा, "म विश्वास गर्दछु। मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्।" भन्ने बाबु चाहिँ दोहोरो मनको थिएनन किनकि उसको विश्वास कमजोर थियो तर ऊ विश्वास गर्न चाहन्थ्यो। धेरै पटक हामी वचन सुन्छौं तर प्रार्थनामा परमेश्वरसँग माग्दैनौं किनकि कहि न कहि हामीलाई के लाग्छ भने प्रार्थना गरेर काम ‌छैन आखिर मैले पाउने होइन क्यारे। कस्तो दोहोरो मन। 
हामीले विश्वास गरेको परमेश्वरमा हामी शंका गरिरहेका हुन्छौं। 

दीन अवस्थाको भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्, र धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्तै ओइलिजानेछ। किनभने डढ़ाउने गर्मीसँग सूर्य उदाउँछ, र घाँसलाई ओइलाइदिन्छ। फूल झर्छ र त्यसको शोभा नष्ट हुन्छ। त्यसरी नै धनी मानिस पनि आफ्नै कामधन्धामा नष्ट भएर जान्छ। (९-११) 
गरिब मानिसको दुख केहि समयको लागि हो र धनीको धन क्षणिक हुन्छ किनकि मानिस चाहिँ केहि समयको लागि मात्रै यस पृथ्वीमा छ। इस्राएलमा त्यस्ता धेरै फुलहरु हुन्छ जुन पानी परेको बेला जिवन्त हुन्छ तर तिनीहरु केही समयमै ओइलाइहाल्छ। हाम्रो जिवन पनि त्यहि फुल जस्तै हो यसकारण गरिबले आफ्नो दुखपिडालाई बिर्सिएर त्यो ख्रीष्टमा पाइने अनन्त सुख सम्झिएर आनन्दित होस र धनीले आफ्नो धनमा घमण्ड गर्ने होइन किनकि स्वर्गमा यसको कुनै औचित्य हुँदैन। 
यदि मानिस यस पृथ्वीमा मात्र धनी छ भने उसले आफ्नो धन छोडेर जान्छ तर यदि ऊ परमेश्वरको नजरमा धनी छ भने ऊ आफ्नो धनकहाँ जानेछ। 
एकपटक ख्रीष्टले एक धनी शासकलाई यसरी भन्नुभयो, "धन-सम्पत्ति हुनेहरूलाई परमेश्वरको राज्यभित्र प्रवेश गर्नु अति गाह्रो छ, किनभने धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।"  लूका १८:२४
यो खण्ड धनको विरुद्धमा छैन न त बाइबलले धनी हुनु पाप हो नै भन्दछ। 
येशू ख्रीष्टले भन्नुभएको सियोको नाथ्री पहिला फारसीहरुले प्रयोग गर्ने गर्थे। तिनीहरुले असम्भव कुरालाई जनाउन बरु सियोको नाथ्रीबाट हात्ती छिर्छ भन्थे त्यहि उखानलाई पछि यहूदीहरुले ऊँटको रुपमा चलाउन थाले किनकि प्यालेस्टाइनमा सबैभन्दा ठूलो जनावर ऊँट थियो। हाम्रो विश्वास के मा छ, हामीले पहिलो प्राथमिकता के लाई दिएका छौं। त्यस धनी शासकले पनि एउटा इशाईले गर्नुपर्ने सबै कर्तव्य पुरा गरेको थियो (लूका १८:२१) तर जब आफ्नो धनलाई गरिबहरुकहाँ बाँडिदेऊ भन्दा उसले आफ्नो धनप्रतिको भरोसालाई त्याग्न सकेको छैन। धेरैचोटि हामी त्यो धनी शासक जस्तै जीवन जिइरहेका हुन्छौं। 

Comments

Post a Comment