प्रार्थनाको महत्व
कति लामो प्रार्थना गर्छौ भन्दा पनि कसरी प्रार्थना गर्छौ भन्ने कुरा महत्वपूर्ण हुँदछ। हामी परमेश्वरलाई आकर्षित पार्न प्रार्थना गर्दैनौं। हामी धेरै शब्दहरुलाई उच्चारण गरेर सुनिदैनौं। हाम्रो मिठो र वजनदार शब्दहरुले परमेश्वर प्रसन्न हुनुहुन्न। प्रार्थनालाई काव्यात्मक भाषा र गहकिला संस्कृत शब्दहरु प्रयोग गरेर नाटकिय ढंगमा प्रश्तुत गरिन आवश्यक छैन। तपाई जस्तो हुनुहुन्छ, परमेश्वरको उपस्थितिमा त्यस्तै आउनुहोस्। तपाईको हृदयमा जे छ परमेश्वरसामु त्यहि पोख्नुहोस्।
यदि हामी हाम्रो बुबासँग बोल्न र संवाद गर्न सक्छौं भने हाम्रो स्वर्गिय पितासँग पनि सहजै बोल्न सक्छौं।
प्रार्थना के हो?
प्रार्थना परमेश्वरलाई उहाँको इच्छाविपरित कार्य गर्न बाध्य तुल्याउने कार्य होइन। प्रार्थना हाम्रो आफ्नै इच्छाको उच्चारण अथवा हाम्रो आफ्नै चाहना पुरा होस् भनि परमेश्वरमा गरिने पुकार वा बिन्ति होइन। प्रार्थनामा परमेश्वरको आत्मासँग हाम्रो आत्मा एक हुन जान्छ। हामी उहाँको हृदयसँग हाम्रो हृदयको मिलन हुन जान्छ। अब हामी उहाँको इच्छा, योजना, विचारमा जिउन थाल्दछौं।
- प्रार्थमा माग्नु भन्दा गहिरो कुरा हो।
- प्रार्थना परमेश्वरसँगको हाम्रो सहकार्य र संगती हो।
- प्रार्थना एक विश्वासीको ओठमूखबाट निस्कने परमेश्वरको इच्छाहरुको उच्चारण हो; यो परमेश्वरको अघि उहाँले आफ्नो इच्छा पुरा गर्नुभएको होस् भनि विश्वासीहरुको बिन्ति हो।
- प्रार्थना परमेश्वरसँगको हाम्रो घनिष्ट सम्बन्ध हो।
- प्रार्थना परमेश्वरप्रतिको हाम्रो निर्भरता र उहाँमाथिको भरोसा हो। (१ पत्रुस ५:६-७)
- प्रार्थना परमेश्वरसँगको हाम्रो दोहोरो वार्तालाप हो।
बिल्लि ग्राहम, "प्रार्थना परमेश्वर र मानिसबिचको आत्मिक संचार हो, एक दोहोरो सम्बन्ध जहाँ मानिस मात्र परमेश्वरसँग बोल्ने होइन तर उहाँलाई पनि सुन्नु पर्छ।
परमेश्वरलाई गरिने प्रार्थना एउटा बुबासँग बालकले गर्ने कुराकानी जस्तै हो, उसलाई आवश्यक थोक बुबालाई माग्ने कुरा प्राकृतिक हो। "
किन प्रार्थना गर्नुपर्छ?
परमेश्वर सर्वज्ञानी र सर्वशक्तिशाली हुनुहुन्छ। त्यसो भए, किन हामीले प्रार्थना गरेपश्चात मात्र उहाँ कार्य गर्नुहुन्छ? यद्यपी उहाँ सबै कुरा जान्नुहुन्छ, किन हामीले उहाँलाई हरेक थोक भन्नुपर्छ (फिल्लिप्पी ४:६)? यद्यपी उहाँ सर्वशक्तिमान हुनुहुन्छ, किन उहाँ आफै केहि गर्नुहुन्न? किन उहाँलाई हाम्रो प्रार्थना चाहिन्छ? किन प्रार्थना गर्नेले मात्र प्राप्त गर्छ, र खोज्नेले मात्र भेट्टाउँछ र ढकढक्याउनेको निम्ति मात्र ढोका उघारिन्छ (मत्ती ७:७)? किन परमेश्वरले "तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ।" (याकूब ४:२) भन्नुभयो?
हामीले नढकढक्याएसम्म परमेश्वरले उहाँको आफ्नै इच्छा बमोजिम किन ढोका खोल्नुहुन्न? उहाँलाई सबै थाहा छ। यदि हामीलाई खुल्ला ढोकाको आवश्यकता छ भनि उहाँ जान्नुहुन्छ भने हामीले नढकढक्याएसम्म उहाँ किन चुप लागि बस्नुहुन्छ? हामीले किन ढकढक्याउनै पर्ने?
हामी यहाँ परमेश्वर कसरी कार्य गर्नुहुन्छ भन्ने कुराको सिद्धान्तलाई देख्न सक्छौं। यस सिद्धान्तले बताउँदछ कि परमेश्वर कार्य उत्रिनको निम्ति उहाँको जनहरुले प्रार्थना गर्नु पर्छ।
येशू ख्रीष्टले भन्नुभयो, "तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ।" मत्ती ६:८
यति भनेर उहाँले यसकारण तिमीहरुले प्रार्थना गरिराख्न आवश्यक छैन भन्नुभएन तर उहाँले यसपछि भन्नुभयो,
"तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: 'हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्..." मत्ती ६:९
यसरी उहाँले त हामीलाई थप प्रार्थना गर्ने नमुना सिकाउनुभयो।
परमेश्वरको इच्छा उहाँको मानिसहरुद्धारा पूरा हुन्छ। विश्वासीहरुको प्रार्थनाले परमेश्वरको इच्छा पुरा गर्छ। परमेश्वर आफ्नो इच्छा एक्लै पुरा गर्नुहुन्न ; जब उहाँका मानिसहरु उहाँसँग प्रार्थनामा एक हृदयको भएर आउँछन तब मात्र उहाँले आफ्नो इच्छा पुरा गर्नुहुन्छ।
यदि त्यसो हो भने, प्रार्थना परमेश्वरसँगको विश्वासीको सहकार्य हो। प्रार्थना परमेश्वरको इच्छासँग विश्वासीको इच्छाको मिलन हो।
यसकारण येशू ख्रीष्टले भन्नुभयो, "साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ। फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ" मत्ती १८:१८-१९
यस खण्डले प्रार्थना र परमेश्वरको कार्यको सम्बन्धलाई उजागर गर्दछ। स्वर्गमा परमेश्वरले त्यहि कुराहरु बाँध्नुहुनेछ र फुकाउनुहुनेछ जुन उहाँका सन्तानहरुले पृथ्वीमा बाँध्छन र फुकाउँछन्।
१ राजा १७:१ खण्डमा, हामी एलिशाको प्रार्थनाद्धारा शक्तिशाली घटना घटेको पाउँछौ।
अब गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, "परमप्रभु इस्राएलका परमेश्वर जसको सेवा म गर्दछु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्दछु, कि मेरो वचनविना आगामी केही वर्षहरूभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ।"
यहाँ दुईवटा मूख्य कुराहरु
पहिलो, एलिशाले परमप्रभुको नाउँमा प्रार्थना गरे।
दोस्रो, उनले भने 'परमप्रभुको वचन' अनुसार होइन तर मेरो वचनअनुसार।
अनि एलिशाको प्रार्थना अनुसार नै वचनले भन्दछ तीन वर्ष छ महिनासम्म पृथ्वीमा पानी परेन (याकूब ५:१७)।
आज हामीलाई पनि परमेश्वरले त्यहि अधिकार र नियन्त्रण दिनुभएको छ। वचनले भन्दछ,
"एलिया पनि त हामीहरूको जस्तै स्वभाव भएका मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्म पृथ्वीमा पानी परेन।
तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्जनी दियो।" याकूब ५:१७-१८

Comments
Post a Comment