किन हामी प्रभु-भोजमा सामेल हुन्छौं?
प्रभु-भोजको उद्धेश्य के हो?
ख्रीष्टको बलिदानको सम्झना :
तपाई कसको निम्ति आफैलाई बलिदान गर्न सक्नुहुन्छ?
सायद हामी आफैलाई बलिदान गर्ने कुरो कल्पनासम्म पनि गर्न सक्दैनौँ। हामी आफूले निक्कै प्रेम गर्ने व्यक्तिको निम्ति आफ्नो पैसा, स्रोतसाधन, समय र शक्तिलाई बलिदान गर्न सक्छौं तर आफैलाई सक्दैनौं। किनकि हाम्रो प्रेम पनि स्वार्थपूर्ण छ। तर येशूले ख्रीष्टले आफैलाई सारा मानवजातीको निम्ति बलिदान गर्नुभयो किनकि उहाँले तपाई र मलाई निस्वार्थ अगापे प्रेम गर्नुभयो।
प्रभु-भोजमा सामेल भएर हामीले यस बलिदानलाई ग्रहण गर्दछौं। जब हामी प्रभु-भोजमा सामेल हुन्छौं, हामी ख्रीष्टको बलिदानप्रति कृतज्ञ हुन्छौं। प्रभु-भोजलाई ग्रीकमा युकेरिस्ट (Eucharist) भनिन्छ जसको अर्थ धन्यवादी हुनु अथवा कृतज्ञता पनि हो।
इश्वरशास्री तथा पाष्टर जोन पाइपर भन्नुहुन्छ, "प्रभु-भोजको उद्धेश्य ख्रीष्टबाट पोषण, शक्ति, आशा र आनन्द प्राप्त गर्नु हो। "
मत्ती २६:२६-२८
तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।”
तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।
किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बहाइन्छ।
रोटी र दाखमधलाई रोटी र रगतको रुपमा उल्लेख गरेर येशूले प्रतिकात्मक रुपमा आफैलाई मानव जातीको पापको निम्ति बलिदानको रुपमा अर्पण गर्दै हुनुहुन्थ्यो। यसरी येशू ख्रीष्टले दर्शाउनु भएको नि:स्वार्थ प्रेम र बलिदानको यो कार्य इशाई विश्वासको केन्द्रीय सिद्धान्त हो। हामी इशाईहरुमा नम्रता, आदर, प्रेम र अरुप्रतिको सेवाको हृदय हुने कारण चाहिँ हामी येशू ख्रीष्टलाई पछयाउँदछौ। हामी प्रेम गर्दछौं किनकि सर्वप्रथम ख्रीष्टले हामीलाई प्रेम गर्नुभयो । पवित्र धर्मशास्त्रले भन्दछ कि हामी सबै पापी थियौं (रोमी ३:२३) र पापको ज्याला चाहिँ मृत्यु हो (रोमी ६:२३)। तर हाम्रो पापको खातिर ख्रीष्ट क्रूसमा बलिदान हुनुभयो।
जब येशू आफ्ना चेलाहरुसँग भोजनको निम्ति बस्नुभयो तब उहाँले आफ्ना चेलाहरुका गोडा धुनुभयो। प्राचिन समयमा, खुट्टा धुने काम सबैभन्दा तल्लो नोकरहरुको जिम्मेवारी हुन्थ्यो। तर येशूले स्वच्छाले आफ्ना चेलाहरुको सेवा गर्न यो भूमिका निर्वाह गर्नुभयो। जसरी ख्रीष्टले त्यस भोजनमा एक गुरु मात्र नभई सेवक पनि हुनुभयो यदि साँचो रुपमा ख्रीष्टलाई पछ्यउछौं भने हामीले पनि अरुको सेवाको निम्ति आफैलाई बलिदान हुनदेखि रोक्नुहुँदैन्। जब हामी प्रभु-भोजमा सामेल हुन्छौं, हामीले अब उसो साँचो रुपमा ख्रीष्टलाई पछयाउने प्रण गरिरहेका हुन्छौं।
ख्रीष्टसँगको सहभागिता :
१ कोरिन्थी १०:१६
जुन आशिष्का कचौराको निम्ति हामी आशिष् माग्छौं, के त्यो ख्रीष्टको रगतमा हुने सहभागिता होइन र? र त्यो रोटी, जो हामी भाँच्छौं, के त्यो ख्रीष्टको शरीरमा हुने सहभागिता होइन र?
प्रेरित पावलले यहाँ ग्रीक शब्द कोइनोनिया (koinonea) प्रयोग गरेका छन् जसको अर्थ संगती हो। जब हामी प्रभु-भोजमा सामेल हुन्छौं तब हामी ख्रीष्टसँग र हाम्रो मण्डली परिवारसँग संगती र प्रेमको सम्बन्धमा सहभागी भइरहेका हुन्छौं।
प्रभु-भोज किन?
- यो ख्रीष्टको आज्ञा हो।
१ कोरिन्थी ११:२४-२५
र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।”
त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर।”
यहाँ ख्रीष्टले 'यदि' भन्नुभएन तर 'जहिले-जहिले' भन्नुभयो अर्थात यो हामीले गरिरहनु पर्छ। प्रभु-भोज ख्रीष्टको सम्झना हो। यसले हामी र येशु ख्रीष्ट बिचको आत्मियतालाई देखाउँछ। हामीलाई प्रभु-भोजले महसुस गराउँछ कि हामी विगतमा कति ठूलो पापी थियौं तर ख्रीष्ट हाम्रो खातिर क्रूसमा चढनुभयो र हामीलाई पापको दण्डबाट बचाउनुभयो।
- ख्रीष्टको मृत्युको घोषणा गर्न
१ कोरिन्थी ११:२६
किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ।
जब हामी प्रभु-भोजमा सहभागी हुन्छौं, हामीले सुसमाचारलाई अर्थात ख्रीष्टको मृत्यु र पुनरुत्थानलाई दृश्यमा घोषणा र प्रश्तुत गरिरहेका हुन्छौं।
* जब हामी रोटी र दाखरसलाई ग्रहण गर्छौ, तब यसले ख्रीष्टको शरीर र रगत कुनै काल्पनिक नभएर वास्तविक हो भन्ने कुराको सम्झना गराउँछ।
* जब हामी रोटी खान्छौं र दाखरस पिउँछौ, ख्रीष्टको शरीर हाम्रो निम्ति तोडिएको थियो र उहाँको रगत हाम्रो निम्ति बगाइएको थियो भन्ने कुराको सम्झना गर्छौं।
* जब हामी एकसाथ प्रभु-भोजमा सामेल हुन्छौं, हामी ख्रीष्टसँग मात्र होइन तर मुक्ति र ख्रीष्टसँगको सम्बन्धलाई अनुभव गर्ने हाम्रो मण्डलीसँग एकतामा र एकरुपतामा आउँछौं।
- हामी आफैलाई जाँच्न
१ कोरिन्थी ११:२८
हरेक मानिसले आफूलाई जाँचोस्, अनि मात्र त्यसले रोटी खाओस्, र कचौराबाट पिओस्।
यस खण्डमा अरुलाई जाँच्ने कुरा गरिएको छैन तर आफैलाई जाँच्ने कुरा गरिएको छ। को व्यक्ति किन प्रभु-भोज लिन अयोग्य छ भनेर न्याय गर्न र जाँच गर्न छाडिदिनुहोस्। के म प्रभुको अघि ठिक छु? यदि मैले मेरो प्रभुको हृदयलाई चोट पुर्याएको छु भने मलाई क्षमा दिनुहोस् प्रभु भनि पश्चाताप गर्नुहोस्। प्रभुसँग सामेल हुन पाउनु त हाम्रो निम्ति निक्कै सौभाग्यको कुरा हो। यसलाई नगुमाउनुहोस्।

Comments
Post a Comment