मत्तीको पुस्तक

मत्तीको पुस्तक  



एतिहासिक पृष्ठभूमि :

 मलाकी र मत्तीको बिचमा ४०० वर्षको सुन्यता रहेको छ। वास्तवमा मौनतामा शक्ति छ। यो परमेश्वरलाई राम्ररी थाहा छ। उपदेशकले भन्छ, "...चुप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय" (उपदेशक ३:७)। 

मलाकीको पुस्तक ४३० इसापूर्वमा चेतावनीद्धारा अन्त हुन्छ। 

“हेर, परमप्रभुको त्‍यो महान र डरलाग्‍दो दिन आउन अघि म एलिया अगमवक्तालाई पठाउनेछु। त्‍यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई एउटा श्राप दिनेछु।” मलाकी ४:६

मादी-फारसी साम्राज्यले अझै पनि इस्राएललाई शासन गरिरहेको थियो र मन्दिर पुनःनिर्माण गरिएको थियो। हारुनको वंशको व्यवस्था र पुजाहारी दुवै पुनर्स्थापित गरिएको थियो र यहूदीहरुले मूर्तिपूजा गर्न छाडेका थिए। तर मलाकीको चेतावनी बिनाकारण थिएन। 

- तिनीहरूले लङ्गडा र खोट बलिदान ल्याएर परमेश्वरको अपमान गरेका थिए। पुजाहारीहरुले मन्दिरलाई बेवास्ता गरिरहेका थिए र मानिसहरुलाई परमेश्वरको वचन सिकाउँदैनथे। - तिनीहरूले परमेश्वरको वचनलाई बेवास्ता गरे र यसलाई लागू गर्न बेवास्ता गरे।

- तिनीहरू विश्वासघाती करार तोड्नेहरू थिए । उनीहरुले आफ्ना पत्नीहरुलाई दुर्व्यवहार गरिरहेका थिए। तिनीहरूले जवानीका पत्नीहरूसँग सम्बन्ध विच्छेद गरे।

- तिनीहरूले आफ्ना निम्ति पागन मूर्तिपूजक पत्नीहरूलाई ल्याएर आफ्ना भाइहरू विरुद्ध पाप गरे।

- तिनीहरूले दशांशलाई बेवास्ता गरे र परमेश्‍वरलाई दिनुपर्ने कुरा लुटे।

३३३ इसापूर्वमा, इस्राएल ग्रीकहरुको हातमा पर्‍यो, ३२३ इसापूर्वमा इस्राएल मिश्रीहरुको हातमा पर्‍यो। यस शासनकालहरुमा यहूदीहरुलाई सामान्यतया राम्रो व्यवहार गरियो; र तिनीहरुले ग्रीक भाषा, ग्रीक संस्कृति र आचरणहरु अपनाए; र मिश्रमा पुरानो नियमलाई ग्रीकमा अनुवाद गरियो। यस अनुवाद, सेप्टआजिन्ट (Septuagint) व्यापक प्रयोगमा आयो। 

अन्तमा, ६३ इसापूर्वमा इस्राएललाई रोमले कब्जा गर्‍यो। रोमी शासनकालमा नै येशू ख्रीष्टको जन्म भयो। यो ध्यान दिन आवश्यक छ कि येशू ख्रीष्ट रोमी शासनकालमा नै किन यस पृथ्वीमा आउनुभयो? 

रोमी साम्राज्यले अपनाएको शासनप्रणालीलाई उपनिवेशीकरण (colonization) भनिन्छ जुन परमेश्वरको राज्यको शासनप्रणालीसँग हुबहु मिल्दोजुल्दो थियो। रोमी शासकहरुले आफूले कब्जा गरेको कुनै देश, शहर अथवा क्षेत्रलाई उपनिवेश (Colonial) बनाउँथ्यो र त्यहाँ शासक पठाउथ्यो जसले रोमी सम्राटको प्रतिनिधित्व गर्थ्यो। उदाहरणको लागि येशू ख्रीष्टको पालामा रोमको शासक कैसर (Tiberius Julius Caesar Augustus) थिए तर यहूदियामा रोमी प्रान्तका पाँचौं गभर्नर पिलातस थिए (२६/२७ देखि ३६/३७ ईस्वी), जसले सम्राट तिबेरियस कैसरको अधीनमा शासन गरेका थिए। कैसर रोममै भएतापनि स्थानिय सरकार अर्थात पिलातसको माध्यमबाट अप्रत्यक्ष रुपमा तिनले यहूदियामा शासन गरिरहेका थिए। यहि नमुना र प्रणालीमा परमेश्वर पनि पृथ्वीलाई शासन गर्न चाहनुहुन्छ। उहाँ स्वर्गीय राज्यमा हुनुहुन्छ तर यस पृथ्वीलाई आफ्नो एकलेसियाद्धारा शासन गर्न चाहनुहुन्छ। यसरी जब येशूले राज्यको विषयमा बोलिरहनुभएको थियो मानिसले स्पष्ट रुपमा उहाँको प्रचारलाई बुझिरहेका थिए। 

यसकारण येशू ख्रीष्टले आफ्नो पहिलो सार्वजनिक प्रचारमा स्वर्गको राज्यको विषयमा प्रचार गर्दै भन्नुभयो, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।” मत्ती ३:२

स्वर्गको राज्य र परमेश्वरको राज्य : तलको लिंकमा जानुहोस।

राज्य के हो?



मत्तीको परिचय :

धेरै बाइबल विद्वानहरु मत्तीको पुस्तक पहिलो शताब्दीको ८० औं वर्ष र ९०औं वर्षमा लेखिएको थियो भनि विश्वास गर्छन्। मत्ती जो कफर्नुहुमका एक कर उठाउने व्यक्ति थिए उनलाई लेवी पनि भनिएको छ। उसको राम्रो आम्दानी थियो र सुखसयलको जीवनी थियो (लूका ५:२९)। तर उनले ख्रीष्टलाई पछ्याउन र सुसमाचार फैलाउनका निम्ति यी सबै कुरा छाडेका छन् (मत्ती १०:५-२३)। उनी पहिलो शताब्दीको मण्डली स्थापनामा सहभागी थिए (प्रेरित १:१३)।

येशूको जन्म :

येशूको जन्मले पुरानो नियमको कैयौँ अगमवाणीहरुलाई पुरा गरेको छ। "किनभने हाम्रा निम्‍ति एउटा बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एउटा छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ।" यशैया ९:६

जब ख्रीष्टले आफ्ना चेलाहरुलाई सोध्नुभयो, "तिमीहरु के भन्छौं, म को हुँ?" (मत्ती १६:१५)। तब सिमोन पत्रुसले जवाफ दिन्छ, “तपाईं ख्रीष्‍ट (अभिषिक्त) हुनुहुन्‍छ, जीवित परमेश्‍वरको पुत्र।”

के तपाईले येशूलाई आफ्नो जीवनमा प्रभू (lord/मालिक) भनी स्वीकार गर्नु भएको छ? के तपाई पत्रुसले जसरी शक्तिशाली रुपमा उहाँको नाउँलाई घोषणा गर्न सक्नुहुन्छ? 

तब येशूले तिनलाई भन्‍नुभयो,  “योनाको छोरो सिमोन, तिमी धन्‍य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस (पेट्रोस : सानो चिल्लो ढुंगा) हौ। म मेरो मण्‍डली यस चट्टानमाथि (पेट्रा: एउटा विशाल चट्टान) स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌।  

वास्तवमा मण्डलीको जगचाहिँ पत्रुस जो केवल सानो ढुंगा मात्र थियो, उसमाथि होइन तर ख्रीष्टमाथि जो एक विशाल अटल चट्टान हुनुहुन्छ, उहाँमाथि  स्थापित भएको छ। उहाँ मण्डलीको जीवित कुने-ढुङ्गा हुनुहुन्छ। 

वास्तवमा बाइबलमा त्यहाँ तीन प्रकारका नरकहरु छ:

पहिलो, गिहेन्ना : अग्नि- कुण्ड 

दोस्रो, टार्टरु : अनन्त यातना 

तेस्रो, हेडिस : चिहान 

यस खण्डमा नरक चाहिँ हेडिस हो अर्थात चिहान। 

 फेरि ख्रीष्टले भन्नुभयो,

म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।” मत्ती १६:१९

ख्रीष्टले यस खण्डमा आएर मण्डलीले गुमाएको अधिकारलाई पुनर्स्थापना गर्नुहुन्छ। यो अधिकार र शक्ति परमेश्वरले अदनको बगैंचामा आदमलाई दिनुभएको थियो तर आदमले यस अधिकार गुमाउँछ र शैतानले यस अधिकार प्राप्त गरेको थियो।

येशूको शिक्षा :

- राज्यको प्रचार (२९ पटक) 

- आर्थिक शिक्षा (३९ दृष्टान्तहरुमा ११ वटा आर्थिक सम्बन्धी)

- येशू ख्रीष्टले सिकाउनुभएको प्रार्थना (मत्ती ६:९-१३)।

- सुनौलो नियम 

 "मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।" मत्ती ७:१२

- महान र प्रथम आज्ञा :

उहाँले तिनलाई भन्‍नुभयो,  “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू। महान्‌ र प्रथम आज्ञा यही हो। मत्ती २२:३७-३८

दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू। सारा व्‍यवस्‍था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्‌।” मत्ती २२:३९-४०

६१३ व्यवस्थाहरु तर यो नै किन प्रथम आज्ञा?

पृथ्वीको जगहरु बसालिनुअघि नै यो आज्ञा अस्तित्वमा थियो। तर पृथ्वीको जगहरु बसालिनु अघि मानिसको सृष्टिअघि यो व्यवस्था यो आज्ञा कसको लागि थियो? स्वर्गदुतहरुको लागि। स्वर्गदुतहरु पनि यो व्यवस्थाबाट स्वतन्त्र थिएन। जब दियाबलस शैतान करुबहरुमध्येको एक स्वर्गदुत थिए (इजकिएल २८:१४), ऊ भित्रको घमण्डले (यशैया १४:१३-१४) गर्दा उसले यस व्यवस्थालाई तोड्छ। यसपछि परमेश्वरले शैतान र यसको पछि लागेको एक तिहाई स्वर्गदुतहरुलाई स्वर्गीय स्थानहरुबाट खसालिनुदिनु भयो। 


- महान आज्ञा (the great commission) :

“स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ। यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।” मत्ती २८:१८-२०

येशूख्रीष्टका ब्राह चेलाहरु :

मत्ती १०:२-४

सदूकी र फरिसी :

सदूकी र फरिसी दुवै समुहले मोशा र व्यवस्थालाई आदर गर्थे र यी दुवै समुहसँग राजनैतिक शक्ति थियो। मुख्यतया यहूदामा ७० जना सदस्यको सभा थियो जसलाई सनहेद्रिन(Sanhedrin)भनिन्थ्यो जसमा सदूकी र फरिसीहरु दुवैबाट सदस्यहरु थिए। यो सर्वोच्च सभाले यहूदामा महत्वपूर्ण निर्णयहरु गर्ने गर्थ्यो। 

सदूकीहरुले पुनरुत्थानमा विश्वास गर्दैन थिए (मत्ती २२:२३) तर फरिसीहरुले पुनरुत्थानमा विश्वास गर्थे। 

सदूकीहरु मन्दिरमा केन्द्रित थिए र पुजारीगिरीमा संलग्न थिए तर फरिसीहरु सभाघरहरुमा आराधना गर्थे। 

सदूकीहरुले मौखिक व्यवस्थालाई पूर्ण रुपमा अस्वीकार गरे तर फरिसीहरुले मौखिक व्यवस्थाको (Torah She'bel peh) महत्वमा विश्वास गर्थे। तिनीहरुले विश्वास गर्थे कि परमप्रभुले सिनै पर्वतमा मौखिक रुपमा व्यवस्था दिनुभएको थियो र ती व्यवस्था लेखिएको तोरह जस्तै महत्वपूर्ण थिए। 

क्रूसमा येशू:

मत्ती २६:३६-४६ क्रूसमा बलि हुन अघि गेतसमनी बगैंचामा येशूख्रीष्ट पितासँग प्रार्थना गर्दै बिन्ति गर्नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने, यो कचौरा मबाट हटोस्‌। तरै पनि मैले इच्‍छा गरेबमोजिम होइन, तर तपाईंले इच्‍छा गर्नुभएबमोजिम होस्‌।” (३९) 

जब उहाँ यसरी प्रार्थना गर्दै हुनुहुन्थ्यो, डा. लूकाले यसरी रेकर्ड गरेका छन्, 'उहाँको शिरबाट पसिनाको थोपाजस्तै रगतका थोपा खसिरहेको थियो' ( लूका २२:४४) । यसलाई चिकित्सा शब्दमा "Hematohidrosis" भनिन्छ जसमा चरम शारीरिक वा भावनात्मक तनावको कारण रक्त नलीहरु (capillary blood vessels) फुटेर रगत निसक्न्छ।   

ख्रीष्ट यो वेला निक्कै तनावमा हुनुहुन्थ्यो भन्ने कुरालाई थाहा गर्न सकिन्छ तर किन? वास्तवमा "यो कचौरा" भन्ने शब्दले क्रूसको दर्दनाक शारीरिक पिडालाई दर्शाउँदैन। ख्रीष्टको निम्ति त्यो शारीरिक पिडा, चालिस कोर्रा, अपमान र क्रूसको पिडाभन्दा पनि दर्दनाक कुराचाहिँ पिडासँग अलग हुनु पर्ने कुरा थियो। सुरुवातदेखि अहिलेसम्म पुत्र पिताबाट कहिल्यै अलग हुनुभएको थिएन्। क्रूसमा ख्रीष्टको यो असहनिय दर्दलाई हामी देख्न सक्छौं, उहाँले ठूलो स्वरमा भन्नुभयो, “इलोई, इलोई, लामा सबखथनी?” (मर्कूस १५:३४)


येशू क्रूसमा टाङ्गिदै गर्नुहुदाँ पनि उहाँमा कैयौँ अगवाणी र भविष्यवाणीहरु पुरा हुँदै थियो। 

"निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं।" यशैया ५३:४


येशूको पुनरुत्थान:

कसैले त्‍यसलाई ‘तिम्रो शरीरमा भएका यी चोटचाहिँ के हुन्‌?’ भनी सोधे भने, त्‍यसले जवाफ दिनेछ, ‘यी मेरा मित्रहरूको घरमा मैले पाएका चोटहरू हुन्‌’। जकरिया १३:६

-

Comments