Why does God command us to love Him?
किन परमेश्वरले उहाँलाई प्रेम गर्ने आज्ञा दिनुहुन्छ?
पहिलो, प्रेम पूर्ण रुपमा हाम्रो छनौट हो।
बारम्बार बाइबलमा परमेश्वरले आफ्ना मानिसहरुलाई आफ्नो सारा हृदयले उहाँलाई प्रेम गर्न र उहाँको मात्र सेवा गर्न आज्ञा गर्नुहुन्छ (व्यवस्था ६:५;११:१, यहोशू २३:११)। नयाँ नियममा येशू ख्रीष्टले यसलाई महान आज्ञाको रुपमा प्रश्तुत गर्नुभयो,
उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू। महान् र प्रथम आज्ञा यही हो। मत्ती २२:३७-३८
प्रियहरु! प्रेम चाहिँ भावनाभन्दा पनि बढी हो - यो निर्णय हो । हो, प्रेम अक्सर भावनासंग जोडिएको हुन्छ, तर भावना प्रेम को आधार होइन। जस्तोसुकै परिस्थितिहरुमा पनि हाम्रो भावनाहरुका बाबजुद हामी प्रेम गर्ने कुरालाई छनौट गर्न सक्छौं । यदि कसैले तपाईलाई चोट पुर्याएको छ, अथवा कसैसँग तपाई क्रोधित हुनुहुन्छ, यदि कसैले तपाईलाई विश्वासघात गरेको छ भने पनि त्यस्तो समयमा पनि तपाई प्रेम गरिरहने कुरालाई छनौट गर्न सक्नुहुन्छ। यो कठिन छ तर असम्भव भने छैन यसकारण येशू ख्रीष्टले आफ्नो शत्रुलाई पनि प्रेम गर्ने आज्ञा दिनुभयो।
"तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर..." - मत्ती ५:४४
तपाई भन्न सक्नुहुन्छ, "मेरा भावनाहरुका बाबजुद म प्रेम गरिरहने निर्णय गर्नेछु" किनकि प्रेमचाहिँ भावनाभन्दा बढि हो-यो निर्णय हो-तपाईको निर्णय। तर धेरै पटक हामीले प्रेमको नियन्त्रण प्रेमको डोरी भावनालाई दिएका कारण हामी प्रेम गर्ने कुरामा चुकिरहेका हुन्छौं। कसैले हाम्रो भावनालाई ठेस पुर्याएमा हामी त्यस व्यक्तिलाई घृणा गर्न धेरै समय लगाउँदैनौं।
परमेश्वरलाई प्रेम गर्ने कुरा पनि तपाईको भावनाबाट होइन तपाईको निर्णयबाट सुरु हुनुपर्छ । जबसम्म हामी परमेश्वरलाई चिन्दैनौं र उहाँसँगको सम्बन्धभित्र रहँदैनौ तबसम्म हामी उहाँलाई प्रेम गर्न सक्दैनौं। भावनाले प्रेम सिर्जना गर्दैन, तर जब हामी प्रेम गर्न छनौट गर्छौं, त्यहाँ भावनाको जन्म हुन्छ ।
ए.डब्ल्यू. टोजरले भन्छन, “फुल र चराको गीतले वसन्त आउँदैन; तर जब वसन्त आउँछ, योसँगै तिनीहरू साथमा आउँछन्।"
यसकारण तपाईको भावनाहरुको आधारमा परमेश्वरलाई प्रेम नगर्नुहोस्। ख्रीष्टले जसरी तपाईले परमेश्वरलाई प्रेम गर्नुहोस्। उहाँको अगाडि मृत्यु राखिएको भएतापनि पिताको प्रेमको खातिर उहाँले भन्नुभयो, “मेरो इच्छा होइन, तर तपाईंको इच्छा पुरा भएको होस्।” मत्ती २६:३९
त्यो ख्रीष्टको छनौट थियो। त्यस कठिन परिस्थितिमा पनि उहाँले पितालाई प्रेम गरिरहने निर्णय गर्नुभयो। जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो इच्छा होइन तर परमेश्वरको इच्छालाई प्राथमिकतामा राख्दछ। जब हामी परमेश्वरलाई प्रेम गरिरहने निर्णय लिन्छौं तब हरेक कठिन भन्दा कठिन परिस्थितिहरुमा पनि हाम्रो प्रेम सेलाएर जाँदैन। यदि हाम्रो प्रेम भावनाहरुमा आधारित छ भने हामी प्रफुल्लित र हर्षित हुँदा मात्र उहाँलाई प्रेम गर्छौं र अन्य अवस्थाहरुमा हाम्रो प्रेम सेलाएर जान्छ। त्यसो कदापि नहोस्।
दोस्रो, यदि प्रेम गर्ने कुरा हाम्रो छनौट हो भने किन बाइबलले यसलाई आज्ञा गरेको छ?
परमेश्वरलाई प्रेम गर्नुपर्ने आज्ञा पढदा अथवा सुन्दा कताकता यो थोरै जबरजस्ती दिएको आदेश जस्तो लाग्न सक्छ। अनि हाम्रो मनमा विभिन्न प्रश्नहरु उब्जिन थाल्छ। के प्रेमलाई आदेश दिन सकिन्छ? के प्रेम हृदयबाट नै उत्पन्न हुनुपर्ने होइन र? जबर्जस्ती गरिएको प्रेमलाई प्रेम मान्न सकिन्छ?
प्रियहरु सर्वप्रथम हामीले बुझ्नुपर्छ कि परमेश्वरले हरेक मानिसलाई freedom of choice/freewill छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। परमेश्वरको सार्वभौमिकता (यशैया ४६:९-१०) र मानिसको स्वतन्त्रता (गलाती ६:७) एउटै सिक्काका दुई पाटा हुन। एकातिर, परमेश्वर पूर्ण रुपमा सार्वभौम हुनुहुन्छ। उहाँले हरेक कुरालाई नियन्त्रण गर्नुहुन्छ।
अर्कोतर्फ मानवसँग स्वतन्त्र इच्छा छ र हामी आफ्नो कर्महरुको लागि आफै जिम्मेवार हुन्छौं। परमेश्वरको सार्वभौमिकता र मानिसको स्वतन्त्रतालाई हामी अदनको बगैंचामा स्पष्ट रुपमा देख्न सक्छौं। उत्पत्तीको पुस्तकले बताउँदछ कि पृथ्वी कुनै आकारबिनाको अन्धकारले ढाकिएको र अथाहा पानीले भरिएको थियो तब परमेश्वरले यसलाई आकार र उज्यालो दिनुभयो। बोटबिरुवा, चराचुरुङ्गी र जीवजन्तु हरेकलाई सृष्टि गर्नुभयो। उहाँले मानिसलाई बनाउनुभयो र यसमा जीवनको सास फुकिदिनुभयो। हरेक कुराको नियन्त्रण परमेश्वरको हातमा थियो। यो नै परमेश्वरको सार्वभौमिकता हो। आजको परिवेशमा पनि यो जारी छ। आज पनि परमेश्वर सारा ब्रह्माण्ड र हरेक सृष्टिलाई नियन्त्रण गर्नुहुन्छ।
जब उहाँले मानिसलाई आफ्नै स्वरुपमा बनाउनुभयो उसभित्र निर्णय लिने, सहि र गलत छुट्याउने ज्ञान र बुद्धि थियो, स्व-इच्छाको निम्ति हृदय थियो, मनले चाहेको कार्य गर्न सक्ने क्षमता थियो। यो नै मानिसको freedom of choice/freewill छनौट गर्न सक्ने स्वतन्त्रता थियो।
यसकारण परमेश्वरलाई प्रेम गर्नुपर्ने आज्ञाले उहाँ तपाईलाई जबरजस्ती प्रेम गर्न लगाउनुहुन्न। जबकि परमेश्वरले आदम र हव्वालाई निषेधित फल खान त रोक्नुभएन किनकि त्यो उनीहरुको छनौट थियो। उनीहरुसँग छनौट गर्ने स्वतन्त्रता र क्षमता थियो। परमेश्वरले मानिसको स्वतन्त्रतामाथि हस्तक्षेप गर्नुभएन र आज पनि गर्नुहुन्न। यसकारण परमेश्वरलाई प्रेम गर्ने अथवा नगर्ने यो पूर्ण रुपमा तपाईको छनौटको कुरा हो। त्यसो हो भने किन बाइबलले परमेश्वरलाई प्रेम गर्ने आज्ञा दिदँछ?
बाइबलले किन परमेश्वरलाई प्रेम गर्ने आज्ञा दिदँछ भनेर बुझ्न अघि के कारणले आज्ञा दिइएको होइन बुझ्न जरुरी छ ।
बाइबलले परमेश्वरलाई प्रेम गर्ने आज्ञा यसकारण दिएको होइन:
- परमेश्वर स्वार्थी भएको कारण होइन।
परमेश्वर narcissist हुनुहुन्न । narcissist त्यस्तो व्यक्ति हो जो आफुक्रेन्दित मात्र हुन्छ।
- उहाँले असुरक्षित महसुस गर्ने भएकोले होइन।
- उहाँलाई हाम्रो प्रेमको आवश्यकता भएको कारण होइन।
परमेश्वर आफैमा पर्याप्त, स्व-अस्तित्व, अत्यन्त सिद्ध र कुनै कुरामा कमि हुनुहुन्न। यदि सबै थोक टलेर जान्छ भने पनि त्यहाँ परमेश्वर सदासर्वदा रहिरहनुहुनेछ।
- उहाँलाई कुनै कुरा खाँचो परेर होइन।
उहाँको चरित्रहरुमध्ये एउटालाई aseity भनिन्छ जसको अर्थ उहाँ स्व-अस्तित्वको परमेश्वर हुनुहुन्छ। उहाँ आफ्नो अस्तित्वको निम्ति कसैमा निर्भर हुनुहुन्न।
परमेश्वर हाम्रो प्रेम यसकारण चाहनुहुन्छ:
- उहाँ प्रेम हुनुहुन्छ र प्रेम सम्बन्धमा अवस्थित हुनुपर्छ। वास्तवमा प्रेम यसैको बारेमा हो। प्रेम अस्तित्वमा हुनको लागि सम्बन्धमा हुनुपर्छ। १ यूहन्नाले बताउँदछ कि परमेश्वर प्रेम हुनुहुन्छ र प्रेम सम्बन्धमा पूर्ण हुँदछ। यसकारण परमेश्वर हामीलाई प्रेम मात्र गर्नुहुन्न तर उहाँ हामी यस सम्बन्धमा रहेको पनि चाहनुहुन्छ। सम्बन्ध सधैं दुईतर्फी हुनुपर्छ। यदि हामी यस सम्बन्धमा रहन चाहन्छौं भने हामीले परमेश्वरलाई प्रेम गर्नुपर्ने हुन्छ। तबसम्म हामी साँचो प्रेमलाई अनुभूति गर्न सक्दैनौं जबसम्म हामीले आफ्नो सृष्टिकर्तालाई प्रेम गरेका हुँदैनौं।
- हामी परमेश्वरको स्वरुपमा बनिएका छौं। परमेश्वरले हामीलाई उहाँसँगको सम्बन्धमा रहने गरी बनाउनुभएको छ। वास्तवमा परमेश्वरले उहाँलाई प्रेम गर्नेुपर्ने कुरा आफ्नो खातिर होइन तर हाम्रो खातिर आज्ञा गर्नुभएको हो। किनकि परमेश्वरलाई होइन तर हामीलाई यस सम्बन्धको आवश्यकता छ। यो सम्बन्ध समुद्र र माछाको जस्तै छ, समुद्रलाई होइन तर माछालाई समुद्रको आवश्यकता हुन्छ। समुद्रबिना माछा जिवित रहन सक्तैन। त्यसरी नै हामीलाई उहाँसँगको सम्बन्धमा रहेर प्रेम गर्ने गरी डिजाइन गरिएको थियो। यसकारण परमेश्वर हामीले उहाँलाई प्रेम गरेको चाहनुहुन्छ किनकि परमेश्वरबिना मानिस बाँच्न सक्छ तर जिवित रहन सक्दैन। यसकारण परमेश्वरले पहिलो मानिसलाई भन्नुभयो, "जुन दिन तैंले यो फल खानेछस् तँ निश्चय नै मर्नेछस्" (उत्पत्ति २:१७) । किनकि परमेश्वरको आज्ञा तोड्नु पाप/ विद्रोह हो र यसले सम्बन्ध टुटाउँछ।
- यो हाम्रो जिम्मेवारी हो।
परमेश्वरलाई प्रेम गर्ने कुराचाहिँ हरेक इशाईको जिम्मेवारी हो। १ यूहन्ना ४:१९ ले भन्दछ, "हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।"
त्रिएक परमेश्वरमा यति महान प्रेम थियो कि यस प्रेमलाई परमेश्वरले त्रिएकतामा मात्र सिमित नराख्ने तर यस प्रेमको सीमालाई मानवजातिमा बढाउने निर्णय गर्नुभयो। एफिसीको पहिलो अध्यायमा प्रेरित पावल भन्नुहुन्छ, पृथ्वीको जग बसालिनअघि नै उहाँले हामीलाई प्रेम गर्ने छनौट गरिसक्नुभएको थियो, संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुनिसक्नुभएको थियो। यो हाम्रो लागि कति ठूलो सौभाग्यको कुरा हो। अब हाम्रो जिम्मेवारी चाहिँ यस प्रेमलाई फर्काउनु हो।

Comments
Post a Comment