ख्रीष्टकेन्द्रित ख्रीष्टमस

 Wʜᴀᴛ ɪs Cʜʀɪsᴛᴍᴀs? Iᴛ ɪs ᴛʜᴇ ᴛᴇɴᴅᴇʀɴᴇss ᴏꜰ ᴛʜᴇ ᴘᴀsᴛ, ᴄᴏᴜʀᴀɢᴇ ꜰᴏʀ ᴛʜᴇ ᴘʀᴇsᴇɴᴛ, ᴀɴᴅ ʜᴏᴘᴇ ꜰᴏʀ ᴛʜᴇ ꜰᴜᴛᴜʀᴇ. - Aɢɴᴇs M. Pᴀʜʀᴏ 


ख्रीष्टमस के हो? यो विगतको कोमलता, वर्तमानको लागि साहस र भविष्यको लागि आशा हो। 




हामी यो साल २०२२को ख्रीष्टमसको निक्कै नजिकै छौं। तर हामीले  ख्रीष्टमस मनाउँदै गर्दा ख्रीष्टलाई बिर्सिरहेका हुन्छौं। आज हाम्रो वरिपरिको वातावरणलाई नियाल्दा यस्तो देखिन्छ कि वास्तवमा ख्रीष्ट यस उत्सवको केन्द्र हुनुहुन्न। ख्रीष्टमस ख्रीष्ट बारे हो र उहाँ नै यसको केन्द्र हुनुहुन्छ । ख्रीष्टमस एउटा परम्परा र चाडभन्दा माथिको कुरा हो। यो चाहिँ परमेश्वर एउटा सामान्य मानिस भएर संसारमा मानवजातीको पाप बोक्न आउनुभएको बारे हो। दुई हजार वर्ष पहिले संसारले सबैभन्दा उत्तम उपहार पायो जुन ख्रीष्ट हुनुहुन्थ्यो। उहाँ कुनै राजाको घरमा होइन तर एक सामान्य परिवारमा, चिसो मौसममा - गाईको गोठमा जन्म लिनुभयो। सबैभन्दा पहिला यो खबर गोठालाहरुले पाए। त्यस समयको सबैभन्दा तल्लो काम गोठालोको थियो। त्यस चिसोमा न्यानोपन पाउन आगो ताप्दै गरेका गोठालाहरुले जब मुक्तिदाताको जन्मको खबर पाए, उनीहरु हर्षित हुँदै, खुशीले भरिदैँ, त्यो चिसोपनलाई बिर्सिएर दगुर्दै गोठमा पुग्दछ। साँच्चै परमेश्वर एक कोमल, सामन्य मानवको रुपमा  डुडमा हुनुहुन्थ्यो। कति अचम्म र उदेकको कुरा जुन भंयकर र डरलाग्दो परमेश्वरलाई कुनै मानवले देख्न सकेन त्यहि परमेश्वर एक कोमलर नरम शिशूको रुपमा यस धर्तीमा आउनुभएको थियो। ख्रीष्टले मानवजातीको खातीर एक सामान्य मानवको रुपमा जन्म लिनुभएको थियो। 
यसकारण ख्रीष्टमसमा उत्सव मनाउनु गलत होइन तर उत्सवकै लागि ख्रीष्टमस मनाउनुचाहिँ गलत हो। हामीले ख्रीष्टकेन्द्रित ख्रीष्टमस मनाउनु पर्दछ। 
हामी ख्रीष्टमसमा विभिन्न कार्यहरु जानअन्जानमा गरिरहेका हुन्छौँ। तर प्रेरित पावलले पनि १ कोरिन्थी १०:३१ भनेजस्तै  “यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।” हामीले ख्रीष्टमसमा गर्ने ती क्रियाकलापहरु बिनाअर्थ र बिनामहत्वको गर्नुभन्दा त्यसको अर्थ र महत्वलाई बुझेर गर्ने हो भने साँच्चै प्रेरित पावलले भनेजस्तै हामीले ती कार्यहरुद्धारा परमेश्वरको महिमा गर्न सक्छौं। 

शुभकामना: 
शुभकामना हाम्रो आत्मियता र प्रेमलाई आदान-प्रदान गर्ने एउटा माध्यम हो। 
प्रेरित पावलले २ कोरिन्थी १३:१२ मा  "एउटाले अर्कालाई पवित्र चुम्‍बनले अभिवादन गर।" भनि आज्ञा दिएका छन्। त्यस्तै प्रेरित पत्रुसले पनि १ पत्रुस ५:१४ मा "एउटाले अर्कोलाई प्रेमको चुम्‍बनले अभिवादन गर।" भनि आज्ञा दिएका छन्। 
नयाँ नियमको समयमा, गालामा गरिने चुम्बनले  अभिभादन र एक-अर्काको मित्रता र स्विकारोक्तिलाई दर्शाउथ्यो। धेरै पटक सँगै ख्रीष्टमस मनाएको व्यक्तिहरुलाई पनि हामी स्वीकार्न सकिरहेका हुँदैनन। 'पख! न भोली', 'ख्रीष्टमस त सकिनदे' भनेर अझै मनमा तित्ततालाई बोकि रहेका हुन्छौं। पवित्र चुम्बनले पूर्ण स्वीकारोक्ति अथवा पूर्ण ग्रहणलाई बुझाउँदछ। हामीले एक-अर्कालाई आधा होइन पूर्ण रुपमा ग्रहण गरेको हुनुपर्छ। 
बाइबलले भन्दछ, 
"हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो.....हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ त्‍यसले आफ्‍नो भाइलाई पनि प्रेम गर्नुपर्छ।" १ यूहन्ना ४:१९,२१
जसरी परमेश्वरले हामी पापी हुँदाहुँदै हामीलाई ग्रहण गर्ने-प्रेम गर्ने निर्णय गर्नुभयो, हामीले पनि हामीमा भएको कमजोरीहरुको बाबजुद, एक-अर्काको गल्तीहरुको बाबजुद, भिन्नताहरुका बाबजुद एक-अर्कालाई ग्रहण गर्नुपर्दछ। ख्रीष्टमसमा गरिने शुभकामना, अभिभावद, अंकमाल, हात मिलाउनु जस्ता कुराहरुको ठूलो महत्व र अर्थ छ। हामी यी कार्यहरु कसैलाई देखाउन, आफु अरुको नजरमा राम्रो देखिन अभिनयको रुपमा गर्दैनौं। मण्डलीभित्र अभिनय हुनुहुँदैन्। अभिनयचाहिँ ढोङ्गीपना हो। 

ख्रीष्टमसमा हामी चारैतिर बत्ति बाल्छौं। हाम्रो घरआँगनलाई उज्यालो र चम्किलो बत्तिहरुले सजाउँछौ। प्रियहरु! त्यो बत्तिले प्रदान गरेको ज्योतिले हामीलाई साँचो ज्योतीकहाँ डोर्याएको हुनुपर्छ। येशूले भन्नुभयो, “म संसारको ज्‍योति हुँ। मलाई पछ्याउने अन्‍धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्‍यसले जीवनको ज्‍योति पाउनेछ।” यूहन्ना ८:१२
जब त्यस ज्योतीको उज्यालोमा हामी हिँडछौ अन्धकारको शक्तिले हामीलाई कुनै हानी गर्नेछैन। आज धेरै इशाईहरुको जीवनमा, परिवारमा, सेवाकाईमा, उनीहरुको काम व्यवसायमा, सम्बन्धहरूमा अन्धकार छाएको छ। किन? हामी ख्रीष्टको ज्योतीमा हिडेका छैनौं। यो ख्रीष्टमसले पुन फेरि एकपटक हामीलाई ख्रीष्टको ज्योतीमा हिँड्न सम्झ्याएको छ। 
येशूले तिनीहरूलाई भन्‍नुभयो,  “अझ अलि बेरसम्‍म ज्‍योति तिमीहरूसँग छ। ज्‍योति तिमीहरूसँग छउञ्‍जेल हिँड्‌डुल गर, ताकि अन्‍धकारले तिमीहरूलाई नढाकोस्‌। कोही अन्‍धकारमा हिँड्‌डुल गर्छ भने, त्‍यसले आफू कहाँ गइरहेछु, सो थाहा पाउँदैन। जबसम्‍म ज्‍योति तिमीहरूसँग छ ज्‍योतिमा विश्‍वास गर, र तिमीहरू ज्‍योतिका सन्‍तान होओ।”  यूहन्ना १२:३५-३६
प्रियहरु! ख्रीष्ट हाम्रो जीवनको ज्योती हुनुहुन्छ। हाम्रो जीवन अन्धकारमय हुनाको कारण हामी ज्योतीमा नहिँडनु हो। ज्योतीमा हिँडने मानिसले ठक्कर खाइरहनु पर्दैन। ख्रीष्टसँगै हिँडनुहोस र तपाईको यात्रा कति आनन्दमय हुनेछ तपाई कल्पना गर्न सक्नुहुन्न। 
एकदिन येशूका चेलाहरुले एक अन्धालाई देखेर उहाँलाई भन्दछ, “रब्‍बी, कसले पाप गर्‍यो, यसले कि यसका आमा-बुबाले, र यो अन्‍धो जन्‍म्‍यो?”। 
तर येशूले जवाफ दिनुभयो,  “न त यसले पाप गर्‍यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्‍वरको काम यस मानिसको जीवनमा प्रकट होस्‌।
मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्‍दैन।
म संसारमा रहुञ्‍जेल म संसारको ज्‍योति हुँ।” यूहन्ना ९:१-५

उपहार ख्रीष्टमसको मूख्य पाटो हो। होइन त? हामी हरेकलाई उपहार मनपर्छ। भनिन्छ प्रेम व्यक्त गर्ने तरिकाहरुमध्ये उपहार एक हो। उपहारमा प्रेम व्यक्त हुन्छ। हामी ख्रीष्टमसमा एक-अर्कामा उपहार साटा-साट गर्छौ। यो एक असल कुरा हो। यसमा हामी एक-अर्काप्रतिको आफ्नो प्रेम, सदभाव र आदरलाई व्यक्त गर्छौ । परमेश्वरले पनि हामीलाई औधीं प्रेम गर्नुभयो। हामीले यस कुरालाई पनि कहिल्यै बिर्सनु हुँदैन कि हामीले प्राप्त गरेको सबैभन्दा सुन्दर, असल र उत्तम उपहार प्रभू येशू ख्रीष्ट हुनुहुन्छ। यसको निम्ति हामी सदैव परमेश्वरको ऋणी छौं। 

एक-अर्कासँग भोजन। 
ख्रीष्टमसको अर्को विशेषता भनेको एक-अर्कासँग गरिने भोजन हो। यसले हामीमा भएको आत्मियतालाई दर्शाउँछ। 
ख्रीष्टले पनि भन्नुभयो, “हेर, म ढोकामा उभिएर ढकढक्‍याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्‍यसकहाँ भित्र पस्‍नेछु र त्‍यससँग भोजन खानेछु, र त्‍यसले मसँग खानेछ।” प्रकाश ३:२०
स्वयम ख्रीष्टले पनि हामीसँग भोजन खान चाहनुभएको कुरालाई जिकिर गर्नुभएको छ। तर के उहाँले शाब्दिक रुपमै  (literally) यहाँ हामीले पकाएका परिकारहरुको विषयमा बोल्नुभएको हो त? अवश्य पनि होइन्। उहाँ हामीबिचको आत्मियता, निकटता, प्रेम र संगतीको बारे बोल्नुहुँदैछ।

                   हामी ख्रीष्टद्धारा परमेश्वरको परिवारमा गाभिँएको कारण एउटै परिवारको रुपमा एक-अर्कासँग भोजन लिन्छौं। अब उसो त्यहाँ उचनिच, धनीगरिब, छुतअछुत, कालोगोरो, रोगीनिरोगी, कमजोरबलियो केहि पनि छैन तर हामी सबै एक परिवार हौं। साँचो ख्रीष्टमसले मानवजातिबिचमा भएको सम्पूर्ण दरारहरुलाई मेटद्छ। अझै पनि त्यहाँ मानिसहरुको बिचमा साँचो ख्रीष्टमस नआएकोले जातीय भेदभाव छ, उचनिचको कुराहरु छ, लैङ्गिक असामनता छ, मानिसले मानिसलाई पशुलाई जस्तो व्यवहार गरेका छन्, मानिसमा दया र प्रेम सेलाएको छ, एउटा मानिसले अर्को मानिसलाई दबाएको छ, बलियाहरुले कमजोरहरुलाई लुटेको छ । यो सबै किन? अझै पनि साँचो ख्रीष्टमस मानिसहरुको हृदयसम्म आईपुगेको छैन तर साँचो ख्रीष्टमसमा एक-अर्काप्रतिको प्रेम, समानता, आदरसद्भाव, र ख्रीष्टको नाताको सम्बन्ध हुँदछ। यसकारण आजको यो राष्ट्रको आवश्यकता ख्रीष्टमस हो। 
                 भोजनले भोजभतेरलाई जनाउँदैन। ऋण गरेर थेग्नै नसकिने भोज आयोजना नगर्नुहोस्। आज हामी इशाईहरुले बुझ्नुपर्ने महत्वपूर्ण कुराचाहिँ हामी देखासिकी गर्छौ। हाम्रो भयंकर चौरासी व्यञ्जनको भोजले ख्रीष्टमसलाई सुन्दर बनाउँदैन। ख्रीष्टमस आफैंमा सुन्दर छ। यसमा हामीले अझ बढी सुन्दरता थप्न आवश्यक छैन र सक्दैनौं पनि। ख्रीष्टमस ख्रीष्टको कारण सुन्दर बन्दछ। यदि हामीले ख्रीष्टलाई ख्रीष्टमसको केन्द्र बनाएका छैनौं भने भोली मनमुटाव सुरु हुन्छ। जब ख्रीष्टमसको निम्ति आफन्त, इष्टमित्र र छरछिमेकलाई बोलाउनुहुन्छ, उहाँहरुसँग भोजन बाँडे जसरी ख्रीष्टको प्रेम बाडँनुहोस्। तपाईको जीवनबाट ख्रीष्टलाई प्रचार गर्नुहोस्। 
यसकारण प्रियहरु! के खान्छौं र के पहिरन्छौं महत्वपूर्ण होइन तर सगैँ कसरी खान्छौं त्यो महत्वपूर्ण हो। 

आराधना र संगती 
आराधनाको अर्थचाहिँ आफैलाई परमेश्वरमा अर्पण गर्नु हो। हामी आराधना र संगतीद्धारा परमेश्वरमा हाम्रो धन्यवाद र कृतज्ञतालाई टक्रयाउछौं। 

Comments