बहाना नबनाउनुहोस् ।।

 Don't make excuses 

बहाना नबनाउनुहोस् ।।





             यदि हामी कुनै कुरामा यति सिपालु छौं भने त्यो बहाना बनाउनु हो।
बेन फ्रान्कलिनले यसरी लेखे, “जो बहाना बनाउनुको लागि राम्रो हुन्छ, त्यो अरु कुनै कुरामा विरलै राम्रो हुन्छ।”
रिक वारेन,  “हितोपदेश २२:१३ ले भन्दछ, अल्‍छे मानिस बहानाले भरिएको हुन्छ। त्यो व्यक्ति नबन्नुहोस। तपाईको अवास्तविक सपनाहरुको लागि बहाना बनाउन बन्द गर्नुहोस्। परमेश्वरले तपाईलाई दिनुभएको सपनाहरुको बारेमा केहि गर्न आज नै निर्णय गर्नुहोस्। ”  

एउटा महान जिम्मेवारी 
A great task
                    परमेश्वरले जुन जिम्मेवारी हामीलाई दिनुभएको छ, त्यो निक्कै नै ठूलो र महान छ, यसकारण त्यसमा हामी जिम्मेवार, इमान्दार र गम्भीर हुनुपर्छ। जिम्मेवारी र कार्यभार थकानपूर्ण हुन सक्छ। स्वयम एलिशा पनि आफ्नो कार्यभार (task) को कारण मरुभूमि भएर भाग्नुपर्यो, लुक्नुपर्यो र अन्तमा उनले आफ्नो मृत्युको लागि प्रार्थना पनि गरे । तर एलिशालाई परमेश्वरले कुनै हानी हुन दिनुभएन। एउटा साँचो इशाई आफ्नो जिम्मेवारीबाट कहिल्यै तर्किदैन। हामीले पाएको सानो भन्दा सानो जिम्मेवारीमा पनि हामी सधैं इमान्दार रहनुपर्छ। 

                         जब परमेश्वरले मोशालाई मिश्र गई इस्राएलीहरुलाई छुटाउने जिम्मेवारी दिनुभयो तब उनले आफु बोल्न सिपालु नभएको बहाना बनाए। 
                       प्रस्थान ४:१० ले भन्दछ, त्‍यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्‍नमा उस्‍तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्‍नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्‍नमा र जिब्रो चलाउनमा ढिलो छु।”
यहाँ मोशाले आफ्नो असक्षमतालाई बहाना बनाई जिम्मेवारीबाट तर्किन खोजिरहेका छन्। हामीले पनि मोशाले जस्तै धेरैपटक हाम्रो जिम्मेवारीहरुबाट तर्किन बहाना बनाएका छौं। हामीले पनि म उति पढनलेख्न जान्दिनँ, मसँग कुनै श्रोत छैन, म रोगी छु, मसँग समय छैन, म कसैलाई चिन्दिन आदीईत्यादी बहाना बनाएका छौं। 
तर परमेश्वरले मोशालाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्‍ने वा अन्‍धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र? अब जा, म तँलाई बोल्‍न सहायता गर्नेछु, र तैंले के-के बोल्‍नुपर्ने हो सो सिकाउनेछु।” (प्रस्थान ४:११-१२)
                तपाईले बोक्नसक्ने भारीमात्र परमेश्वरले तपाईलाई बोकाउनुहुन्छ। जुन जिम्मेवारी र कार्यभार परमेश्वरले तपाईलाई सुम्पनुभएको छ, उहाँलाई थाहा छ, कि तपाई यसलाई पुरा गर्न सक्नुहुन्छ। परमेश्वरलाई थाहा थियो जुन भारी (जिम्मेवारी) उहाँ मोशालाई बोक्न दिँदै हुनुहुन्थ्यो, त्यो बोक्न सक्ने क्षमता उसमा थियो। समस्या चाहिँ यहाँ ठूलो भारको होइन, समस्याचाहिँ यहाँ बहानाको थियो । बहानाले हाम्रो क्षमता र योग्यतालाई बन्द गरिदिन्छ। तपाईले गर्न सक्नुहुन्न होइन तर तपाईको 'म गर्न सक्दिनँ' चाहिँ बहाना हो। किनकि हितोपदेशक भन्छन्, "मानिसले जस्तो सोच्छ, ऊ त्यस्तै बन्दछ"( २३:७)। धेरै पटक हामीले पनि मोशाले जस्तै सोचिरहेका हुन्छौं। 

              परमेश्वर हामीलाई जिम्मेवारी, सेवाकाई, बोलावट र कार्यभार मात्र दिनुहुन्न तर त्यसलाई पुरा गर्ने क्षमता, बल, बुद्धि पनि दिनुहुन्छ। 
परमप्रभुले यर्मियालाई तिनको पिता र बाजेलाई जसरी एक पुजाहारी होइन तर “.... जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता..” (यर्मिया १:५) को रुपमा चुन्नुभएको थियो। तर यहाँ यर्मियाले पनि “हे परमप्रभु परमेश्‍वर, म त बोल्‍नै जान्‍दिनँ, म त बालकै छु।” (१:६) भनी बहाना बनाएको छ किनकि जिम्मेवारी निक्कै चुनौतिपूर्ण, गम्भीर र कठिन थियो। 
                        एक अगमवक्ता चाहिँ परमेश्वरद्धारा चुनिएको एक अधिकारप्राप्त प्रवक्ता हुन्थ्यो जसले मानिसहरुलाई परमेश्वरको वचन घोषणा गर्दथ्यो। हामी प्रायः अगमवक्ताहरुलाई भविष्य बताउन सक्ने मानिसहरुको रुपमा सोच्दछौं। तर तिनीहरुले भविष्यलाई भन्दा बढि वर्तमानलाई जोड दिए ताकि मानिसहरुको भविष्य सुनिश्चित हुन सकोस्। 
                एक अगमवक्ताको रुपमा सेवा गर्नु निक्कै नै कठिन कुरा थियो। पुजाहारीहरुको जिम्मेवारीहरु अनुमानित थियो। सबै कुरा व्यवस्थामा लेखिएको हुन्थ्यो। तर अगमवक्तालाई आजको भोली परमेश्वरले के घोषणा गर्न वा के गर्न बोलाउनुहुन्छ भनेर कहिल्यै थाहा हुँदैनथ्यो। यो एक निक्कै नै चुनौतीपूर्ण जिम्मेवारी थियो। 
पुजाहारीले मूख्य रुपमा विगतलाई जोगाउने काम गरे।अगमवक्ताले राष्ट्रको भविष्य होस् भनि वर्तमान परिवर्तन गर्न परिश्रम गरे । पुजाहारीले बाहिरी कुरा जस्तै : विधि, बलिदान, भेटी, सेवाहरुको जिम्मेवारी निभाए जबकि अगमवक्ताहरुले हृदयभित्र पुग्न र परिवर्तन गर्न प्रयास गरे। 
पुजाहारीले मुख्यतया विभिन्न आवश्यकता भएका व्यक्तिहरुको सेवा गर्थे। अर्कोतर्फ,अगमवक्ताहरुले सम्पूर्ण राष्ट्रहरुलाई सम्बोधन गर्थे, र सामान्यतया तिनीहरुले सम्बोधन गरेका मानिसहरु तिनीहरुको सन्देश सुन्न चाहँदैनथे। 
पुजाहारीहरु विशेष कुलबाट (लेवी:गन्ती १८:२१,२४) थिए, त्यसकारण तिनीहरुसँग विशेष अधिकार र आदर थियो, तर अगमवक्ता कुनै पनि कुलबाट हुन सक्थ्यो र आफ्नो इश्वरीय बोलावट प्रमाणित गर्नुपर्थ्यो। 
पुजाहारीहरुलाई बलिदान र भटीहरुबाट जिविकोपार्जनको सहायता मिल्नुपर्थ्यो तर अगमवक्ताहरुको यस्तो कुनै निश्चित आम्दानी हुँदैन्थ्यो। 

स्वयम येशू ख्रीष्ट पनि एक अगमवक्ताको रुपमा बोलाइनु भयो। उहाँले पनि मानिसहरुलाई परिवर्तन गर्न चुनौती दिँदै ठाउँ-ठाउँमा यात्रा गर्नुभयो ताकि स्वर्गमा तिनीहरुको भविष्य सुनिश्चित होस्। येशूले मानिसहरुसँग सञ्चारमात्र गर्नुभएन तर उहाँ तिनीहरुको हृदयसँग जोडिनुभयो। धेरैले उहाँको पश्चातापको सन्देश स्वीकार गरेनन्, किनकि तिनीहरु परिवर्तन हुन चाहँदैन थिए। 

                       यर्मियालाई झैं हामी हरेकलाई परमेश्वरले एउटा विशेष कार्यभार (task) सुम्पनुभएको छ। प्रियहरु! आज हामी बिनाअर्थ र बिना उद्धेश्य यहाँ छैनौं। हामी हरेकको आफ्नै यात्रा छ, आफ्नै गन्तव्य छ। हामीसँग परमेश्वरको उद्धेश्यको प्रतिज्ञा छ। 
               “मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें.....।”
परमेश्वरले "मैले तँलाई... चिनिसकेको थिए" भन्नुको अर्थ उहाँ तपाईबारे पहिल्यै जानकार हुनुहुन्थ्यो भन्ने मात्र होइन। यो त निक्कै नै सानो अर्थ हो तर यसको अर्थ तपाई रचिनुअघि, गर्भमा बनिदैं गर्दा उहाँलाई तपाईको मूल्य थाहा थियो, उहाँलाई तपाई कति विशेष हुनुहुन्छ भन्ने थाहा थियो, तपाई कति महान कार्यको निम्ति बनाइनुभएको छ, यो सबै उहाँलाई थाहा थियो । 
                   यसकारण प्रियहरु! कसैको विचारले, कसैको धारणाले, कसैको तपाईप्रतिको रायले तपाईको स्तर, तपाईको मूल्य, तपाईको विशेषतालाई घटाउन सक्दैन। मानिसले तपाईको विषयमा के भन्छ त्यतातिर होइन, परमेश्वरले तपाईको विषयमा के भन्नुहुन्छ यतापट्टी केन्द्रित हुनुहोस। मानिसहरुले दिएको फेसबुकको सानो प्रतिकृयाले निराश नहुनुहोस, मानिसको आलोचना र तिता शब्दले आफ्नो कदलाई नघटाउनुहोस्, परिस्थितिले लडाउँदै गर्दा पनि विजय जसरी खडा हुनुहोस् किनकि तपाई एक सामान्य मानिस (an ordinary person) हुँदै होइन्। तपाई आफैमा एक मिसाइल हुनुहुन्छ, तपाई एक विस्फोटक बमभन्दा पनि शक्तिशाली हुनुहुन्छ, तपाईलाई त्यस महान गन्तव्यमा पुग्नबाट कसैले रोक्न सक्दैन। 

                  परमेश्वरले यर्मियालाई चिन्नुभएको थियो, उहाँले यर्मियालाई चुन्नुभयो र उहाँले यर्मियालाई नियुक्त गर्नुभयो। परमेश्वरले यर्मियालाई तिनको नामद्धारा चिन्नुहुन्थ्यो, परमेश्वर स्वयमले तिनलाई छान्नुभयो र आफ्नो सेवाको निम्ति नियुक्त गर्नुभयो। 

                      परमेश्वरले तपाईलाई चिन्नुभयो, चुन्नुभयो र नियुक्त गर्नुभएको छ किनकि भजनकर्ताले यसरी भनेका छन्, 
किनकि तपाईंले नै मेरा भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो,  तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।
जब अदृश्‍यमा म बनिँदैथिएँ, मेरो रचना तपाईंबाट लुकेको थिएन। अनि जब म पृथ्‍वीको गहिराइमा रचिँदैथिएँ,
तपाईंका आँखाले मेरो नबनिएको शरीरलाई देखे। मेरो निम्‍ति नियुक्त गरिएको आयु तपाईंको पुस्‍तकमा लेखिएको थियो। त्‍यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। (भजनसंग्रह १३९:१३,१५,१६)
यो खण्ड निक्कै नै शक्तिशाली र विशेष छ किनकि यसले हाम्रो मूल्यलाई बोकेको छ। यस खण्डले तपाई परमेश्वरको नजरमा कति विशेष हुनुहुन्छ बताउँदछ। 

तपाई गर्न सक्नुहुन्छ किनकि परमेश्वरले तपाईलाई सक्षम बनाउनुभएको छ। 
हामीलाई त्यस जिम्मेवारीबाट तर्कने स्वतन्त्रता छैन। हामी धेरैचोटी म सक्दिन, मसँग त्यो श्रोत छैन, मसँग त्यो पहिचान छैन, त्यो पहुँच छैन, म असक्षम छु, म अस्वस्थ छु, म गरिब छु, म अशिक्षित छु, मसँग व्यस्त छु, भनेर बहानाबाजी गरिरहेका हुन्छौँ।

इशाईहरु आफ्नो जिम्मेवारीबाट तर्किने दुईवटा तरिकाचाहिँ बहाना बनाउनु (making excuses) र थाँती राख्नु (procrastination)
"बहाना नबनाउनुहोस् किनकि यसले तपाईलाई परमेश्वरले दिनुभएको उत्तम जीवन जिउनबाट वञ्चित गर्दछ।" - जोयस मेयर 
"बहाना एउटा रोग हो।" - काम न्युटन 
यी दुईवटा कुराचाहिँ निक्कै डरलाग्दो कुराहरु हुन। 
नयाँ करारमा येशूख्रीष्टले एउटा दृष्टान्त भन्नुभयो, जसमा निम्ता पाएका हरेकले बहानाबाजी गरे। “तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे।..." (लूका १४:१८)
कसैले खेत किनेको, कसैले गोरु किनेको र कसैले विवाह गरेको बहाना बनाए। 
बाइबलले भन्दछ, 
"किनभने म तिमीहरूलाई भन्‍दछु, निम्‍ताराहरूमध्‍ये कसैले पनि मेरो भोजको स्‍वाद चाख्‍न पाउनेछैन’।” (लूका १४:२४)
             प्रियहरु! जब हामी बहाना बनाउन थाल्छौं, तब बहानामा जिउन थाल्छौं र हामीले त्यो उत्तम कुरा गुमाएको पत्तो पाउँदैनौं। जसरी दृष्टान्तमा बहाना बनाउने मानिसहरुले उत्सवमा भोजको स्वादलाई चाख्न पाएनन, त्यसरी नै बहाना बनाउनेहरु परमेश्वरको राज्यको उत्तमताहरुबाट वञ्चित हुनुपर्नेछ।

       बाइबलले हामीलाई थाँती राख्ने कुरादेखि पनि सावधान गराएको छ, 
“परमप्रभुको काम ढिलोसित गर्नेलाई सराप!" (यर्मिया ४८:१०)
भोलीवादले हामी इशाईहरुलाई पनि छाडेको छैन। हामी आजको काम कहिल्यै नआउने भोलीभरेलाई साँचेर आज मीठो आराम गर्न मन पराउँछौं। विद्यालय स्तरमा हुँदा मलाई भैरव अर्यालको 'जय भोली' हाँस्यकथा खूब मनपर्थ्यो। यसमा हामी नेपालीलाई भोलीवादले चर्को छोएको यति छोएको कि साना केटाकेटी राति चर्पि जान पनि 'आँ.. .भोली जान्छु जय भोली' भन्दै ओछयानतिर लम्केको कारण आँधारातमा ओछयान भिजेको पत्तो नहुने कुराले खूब हाँसो लाग्थ्यो। तर आज हामी इशाईहरुमा त्यहि आचरण देख्दा चाहिँ खासै हाँसो लाग्दैन। हामी हाम्रो जिम्मेवारीमा गम्भीर छैनौं। 
त्यो जिम्मेवारी, बोलावट र कार्यभार निक्कै चुनौतिपूर्ण र महत्वको छ। यसकारण हामीले त्यसमा खिलाची गर्नुहुँदैन। हामी त्यस जिम्मेवारीमा स्थिर र अटल हुनुपर्छ। यर्मियाको लागि पनि यो जिम्मेवारी निक्कै नै कठिन भएको थियो। जब उनले आफ्नो चारैतिरको वातावरणलाई नियाल्थे, जब मानिसहरुको पापमय जिवनलाई देख्थे र परमेश्वरबाट उनीहरुको मुहार मोडिएको देख्दा, उनको हृदय वितृष्णाले भरिन्थ्यो, उनलाई आफ्नो सेवाकाईको चाहेजस्तो परिणाम नदेख्दा वाक्क लाग्थ्यो, उनी धेरै रुन्थे, चिच्याउथे (१३:१७) तर पनि उनले आफ्नो जिम्मेवारी, आफ्नो बोलावट, आफ्नो कार्यभारलाई कहिल्यै लत्याएनन। उनले परमेश्वरसँग कहिल्यै बहानाबाजी गरेनन। उनले भनेका छन्, 
तर “म उहाँको चर्चा गर्नेछैनँ, म फेरि कहिल्‍यै उहाँको नाउँमा बोल्‍नेछैनँ” भनी यदि म भन्‍छु भने उहाँको वचन मेरो हृदयमा जलिरहेको र मेरा हड्डीहरूमा थुनिराखेको आगोजस्‍तो हुन्‍छ। त्‍यसलाई भित्र रोकिराख्‍दा म थकित हुन्‍छु, साँच्‍चै म त्‍यो थाम्‍नै सक्‍दिनँ। (यर्मिया २०:९)
हुनसक्छ कुनै अवस्था र समयमा हामीले पनि यर्मियाले जस्तै अनुभव र महसुस गरेका छौं होला। छैनौं भने पनि एकदिन गर्नेछौं। तर त्यस्तो अवस्थामा हामी हार मान्नुहुन्न। 




Comments