"Must bear fruit"/ #Kingdomseries/ #ThirdPrinciple
के हामी परमेश्वरको राज्य र यस राज्यको रहस्यमय सिद्धान्तहरु सिक्न तयार छौं?
सिक्ने कार्य पनि जो कोहिको वशको कुरा होइन। सिक्नको निम्ति समर्पणता, निरन्तरता र नम्रता (आफैलाई खाली बनाउनु) आवश्यक पर्दछ। हामी धेरैलाई सिकाउन मनपर्छ, ज्ञान बाड्न मनपर्छ, सल्लाह दिन मनपर्छ, अनुभव बाडँन मनपर्छ तर सिक्ने कुराको हामी त्यति धेरै फ्यान हुँदैनौ। सिक्न सानो बन्नुपर्छ। जसले आफैलाई सानो बनाएर झुकाउँछ, उसले सिक्न सक्छ। यसकारण येशूले भन्नुभयो,
“....किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राख्नुभयो, तर बालकहरूलाई ती प्रकट गर्नुभयो। ” - मत्ती ११:२५
परमेश्वरको राज्य सिकाईबाट सुरु हुन्छ....
हामी हरेक बामे सर्दै (Babe Step) परमेश्वरको राज्यको रहस्य सिक्दैछौं। त्यहि व्यक्तिले सिक्न सक्छ जसले आफैलाई रित्तो बनाउन सक्छ। यदि हामी पहिल्यै भरिएका छौं भने, '...मलाई सबै थाहा छ, मैले सिक्न आवश्यक छैन' भन्ने धारणालाई पालेका छौ भनेता हामी परमेश्वरको राज्यमा कहिल्यै वृद्धि हुन सक्दैनौं।
कोहि पनि मानिस सिद्ध हुँदैन । हुन सक्छ हामी लामो समयदेखि मण्डली आइरहेका हुन सक्छौं, इशाई भएको पनि धेरै वर्ष भएको हुन सक्छ तर परमेश्वरको राज्यको बारे त्यति थाहा नभएको हुनसक्छ यसमा लाज मान्नु पर्ने कुरा छैन्। तर आफैलाई खाली/रित्तो गरेर सिक्न तयार हुनैपर्छ।
एकपटक जाकिर हुसैन जो प्रख्यात भारतिय तबलावादक हुन, उनी कहाँ एक व्यक्ति तबला सिक्न आए। हुसैनले सोधे 'के तिमीले तबला बजाउन सिकेका छौं अथवा तबलाबारे कुनै ज्ञान छ। तब त्यस व्यक्तिले गर्वगर्दै भन्छ, 'मैले लगभग १ वर्ष तबला पहिल्यै सिकिसकेको छु।'
तब हुसेनले उनलाई तबला सिकेबापत ५ वर्षको अवधि र ५ लाख शुल्क लाग्ने बताउँछन्।
जब उनको कक्षा सुरु हुन्छ उनैसँग सिक्ने अर्को विद्यार्थी जसलाई तबलाबारे कुनै पनि ज्ञान थिएन, उनलाई १ वर्षमा तबला सिकाइने र उनको केवल शुल्क १ लाख मात्र भएको थाहा पाउँछन्। तब उनी हुसैनकहाँ गएर अर्को विद्यार्थीलाई भन्दा आफूलाई तबला बजाउन आउनेहुदाँ अझै कम शुल्क लिनुपर्नेमा आफूलाई चर्को शुल्क लिएको गुनासो गर्छ। तब हुसैनले उनलाई जवाफ दिन्छ, “तिमीलाई पनि तबला सिक्न १ वर्ष नै काफि छ तर पहिलो ४ वर्ष चाहिँ तिमीले जति पनि सिक्यौ त्यसलाई मेटाएर तिमीलाई रित्तो बनाउन लाग्नेछ...।”
धेरैपटक हामी सिक्न सक्दैनौं किनकि हामी सोच्छौं मलाई सबै थाहा छ.... । हामी रित्तो छैनौं। केवल रित्तो भाँडामा पानी राख्न सकिन्छ। धेरै पटक हाम्रो जीवनमा परमेश्वरको वचनले काम नगर्नुको कारण त्यस वचनमा खराबी होइन तर हामीमा खराबी भएको कारण हो। हाम्रो हृदयमा खोट भएको कारण, हामी वचनलाई होइन वचन बाँडने बडि व्यक्तिलाई इज्जत गर्छौ। प्रचारकलाई इज्जत गर्नुहुन्न भन्न खोजिएको होइन। तर ठूलो प्रचारकले, ठूलो ख्यातीप्राप्त पाष्टरले, प्रख्यात प्रचारकले वचन बाँडयो भने मात्र जागृती आउँछ भन्ने धारणा मण्डलीमा पलाइरहेको छ।
परमेश्वरको उपस्थितिमा आफैलाई रित्तो बनाउनुहोस्। हाम्रो हृदय विभिन्न कुराहरुले भरिएको छ भने, हाम्रो मस्तिष्कमा विभिन्न सोचहरु छ भने, हाम्रो मनमा अनेक विचारहरु छ भने, हामी परमेश्वरको उपस्थितिमा आएर पनि परमेश्वरलाई महसुस गर्न सक्दैनौं। यो निक्कै दुखद कुरा हो। यदि हामी मण्डलीमा छौ भने हाम्रो तन, मन, धन र आत्मा पनि मण्डलीमै हुनपर्छ।
फलवन्त हुनुको अर्थ के हो?
- फलवन्त हुनु परमेश्वरको आज्ञा हो।
हामी परमेश्वरको राज्यका प्रजाहरुले एक फलवन्त जिवन जिएको हुनुपर्छ। बाइबलले भन्दछ, “असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।”- मत्ती ७:१९
येशू ख्रीष्टले बोल्नुभएको यो खण्ड निक्कै कठोर लाग्न सक्छ तर परमेश्वरको राज्यभित्र भैसकेपश्चात फल फलाउने कार्यचाहिँ एक आज्ञा हो।
स्वयम परमप्रभुले पहिलो मानवलाई फलवन्त हुने आज्ञा दिनुभयो।
जब केहि कुरा फलवन्त हुन्छ तब यो उर्वर (उत्पादन गर्ने शक्ति) हुँदछ। बाइबलमा परमेश्वरले मानिसलाई दिनुभएको प्रारम्भिक आज्ञा, "फल्दै-फुल्दै, वृद्धि हुँदै...." भन्ने वाक्यंशले पनि फलवन्त हुनुको अर्थलाई बुझाउँछ। फलवन्त हुनुले त्यहाँ पहिल्यै रहेको कुरालाई गुणन गर्ने अथवा थप्ने कार्य गर्दछ, अर्को शब्दमा थप उत्पादन गर्दछ।
'फलवन्त' शब्दलाई हिब्रूमा “प्रू/P'ru” भनिन्छ। फल जसलाई हिब्रूमा "प्रि/P'ri" भनिन्छ, यो शब्द विशेषण हो जसले विशेषता,गुण र स्वभावलाई जनाउँदछ तर "प्रू/P'ru" शब्द एक क्रियापद हो। यसले हाम्रो कार्यलाई जनाउँदछ।
फल फलाउन हामीले परिश्रम र मेहेनत गर्नुपर्ने हुन्छ।
"फलवन्त जीवन ती मानिसहरुले जिउन सक्छ जसले कर्मका मानिसहरुले जसरी प्रार्थना गर्छन र प्रार्थना गर्ने मानिसहरुले जसरी कर्म गर्छन।"
- फलवन्त हुनु वृद्धि हुनु
हामीलाई येशूख्रीष्टको जीवनीको एउटा किस्सा याद छ। यूहन्ना १२औं अध्यायमा जब येशूख्रीष्ट बेथानियामा हुनुहुन्थ्यो तब मरियमले किमत्ती जटामसीको सुगन्धित अत्तर ल्याएर उहाँको पाउमा मलिन तब यो देखेर यहूदा इस्करियोतले यति किमत्ती अत्तर बेचेर त्यो रकम गरिबहरुलाई दिए हुँदैन्थ्यो भनि प्रश्न गर्दछ तर ख्रीष्टले यसरी उत्तर दिनुहुन्छ,
“....किनभने गरीबहरू सधैँ तिमीहरूसँग हुन्छन्, तर म त सधैँ तिमीहरूसँग हुन्नँ।”- यूहन्ना १२:८
यस खण्डमा येशूख्रीष्ट गरिबहरुप्रति कम दयालु हुनुभएको जस्तो देखिन्छ तर उहाँले प्रयोग गर्नुभएको 'गरिब' शब्दले असहाय, दिनदुखी, जोसँग छैन ती मानिसहरुलाई जनाउँदैन तर जो निष्फल, आल्से, फलरहित, अनुत्पादक (उत्पादन नगर्ने) र जो आफैलाई खुम्च्याउँदछ।
बाइबल स्पष्ट छ कि परमेश्वर हामी फलवन्त भएको चाहनुहुन्छ यसकारण ख्रीष्टले भन्नुभयो,
“ममा रहो, र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ।” - यूहन्ना १५:४
वृद्धी नहुनुचाहिँ फलरहित हुनु हो। हामीले आफैलाई नियाल्न आवश्यक छ। के म वृद्धी भइरहेको छु?
केवल एउटा क्षेत्रमा मात्र होइन तर हरेक क्षेत्रमा वृद्धि आवश्यक छ। तपाई परमेश्वरमा वृद्धि हुन आवश्यक छ, त्यसरी नै मानिसहरुबिचको सम्बन्धमा पनि वृद्धि हुनुपर्छ। तपाई आत्मिक क्षेत्रमा वृद्धि हुनुपर्छ साथै आर्थिक क्षेत्रमा पनि बढ्नुपर्छ। बाइबल कहिल्यै एकतर्फी छैन र एकतर्फी बुझ्नु पनि हुँदैन्।
“फलवन्त व्यक्तिले आफैलाई प्रमाणित गरिरहनुपर्दैन किनकि बाइबलले भन्दछ, "तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ....।” मत्ती ७:१६
हामीले आफैलाई म एक असल ख्रीष्टियन हुँ भनि सामाजिक सञ्जालहरुमा प्रमाणित गर्दै बहस गरिरहनुपर्दैन। जब मानिसहरुले हाम्रो फल देख्नेछन, तब उनीहरुले हामीलाई चिन्नेछन्।
- फलवन्त हुनु सहि लगानी गर्नु हो।
निष्फलताले (फलरहित) न्याय ल्याउँदछ।
वास्तवमा परमेश्वर हामीलाई फल दिनुहुन्न तर फल फलाउने जिम्मेवारी चाहिँ हाम्रो हो। परमेश्वरले हामीलाई फल होइन बीऊ दिनुहुन्छ। यसलाई कहाँ र कसरी लगानी गर्ने, यो हाम्रो जिम्मेवारी हो। बीऊको एउटा अचम्मको प्रकृतीचाहिँ यसलाई ५ वर्ष, १०औं वर्ष वा २०औं वर्ष मुठ्ठीमा बन्द गरेर राख्नुहोस्, यो कहिल्यै वृद्धि हुँदैन।यसलाई के गर्नुपर्छ? जमिनमा रोप्नुपर्छ। त्यसरी नै तपाईलाई परमेश्वरले हरेक किसिमका बीऊहरु दिनुभएको छ-जसलाई हामी तोडा पनि भन्छौं। समयको बीऊ, पैसाको बीऊ, वरदानको बीऊ, समयको बीऊ, बुद्धि र ज्ञानको बीऊ, सीपको बीऊ, स्वस्थताको बीऊ यी बीऊहरुलाई कहाँ र कसरी लगानी गर्दै हुनुहुन्छ?
धेरैपटक हामीले हाम्रो परिश्रम र मेहेनतलाई गलत क्षेत्रमा लगानी गरिरहेका हुन्छौं, गलत सम्बन्धहरुमा हाम्रो जीवन बर्बाद गरिरहेका हुन्छौँ अनि फेरी प्रार्थनाको उत्तर आएन भनेर निराश पनि भइरहेका हुन्छौं। प्रियहरु! वास्तवमा परमेश्वरले तपाईको प्रार्थनाको उत्तर नदिएर तपाईलाई गलत क्षेत्र, गलत सम्बन्ध, गलत वातावरण, गलत साथीभाईबाट बचाउनुभएको हो।
समयको कहाँ लगानी गर्दै हुनुहुन्छ?
गलत मानिसहरुसँग घन्टौ कुरा गरेर आफ्नो समय बर्बाद नगर्नुहोस्। गलत मानिसहरुबाट टाढै बस्नुहोस्। परमेश्वरको राज्यका मानिसहरुसँग समय बिताउनुहोस र त्यो समय तपाईको निम्ति निक्कै नै आशिषमय साबित हुनेछ। यदि साँच्चै, हामी परमेश्वरको राज्यमा एक असल, प्रभावशाली, सफल र प्रसस्तताको जीवन जिउन चाहन्छौं भने हामीले बीऊलाई सहि ठाउँमा लगानी गर्न सिक्नैपर्छ।
प्रियहरु! हामीले कति फलवन्त जिवन जिइरहेका छौं?
के मानिसहरुले हाम्रो जिवनमा फल देखेका छन?
किनकि फलवन्त रुखप्रतिचाहिँ मानिसहरु आकर्षित हुँदछ। एकपटक स्वयम येशूख्रीष्ट बेथानियाबाट आउनुहुँदा अञ्जीरको रुखप्रति आकर्षित हुनुभयो। उहाँ भोकाउनुभएको कारण कतै त्यसमा केहि फल पाउँछु कि भनेर उहाँ नजिक जानुभयो, तर उहाँले रुखमा पातबाहेक केहि पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन (मर्कूस ११:१३)। यसको प्रशस्त पातहरुले संकेत गर्दछ कि यस रुखमा प्रारम्भिक नेभारा (सुरुवाती दाना) हुनपर्छ तर यो रुख फलरहित केवल पातहरुले मात्र भरिएको कारण यसमा फल नफल्ने निश्चित थियो जसकारण ख्रीष्टले यस रुखलाई श्राप दिनुभयो।


Comments
Post a Comment