राजाप्रति समर्पित प्रजा

राजाप्रति समर्पित प्रजा 

राज्यको आधारभूत सिद्धान्त-२


कुनै पनि राज्यमा प्रभावकारी र सफल जीवन जिउन प्रजा राजाप्रति समर्पित हुनपर्छ। 
हामी यसको उदाहरण नहेम्याहको जीवनमा देख्न सक्छौं। नहेम्याह आफ्नो पितापुर्खाको राज्यमा थिएन। उनी फारस राज्य- एक विरानो राज्यमा थिए तरै पनि त्यहाँको राजाप्रति एक समर्पित व्यक्ति भएको कारण ऊ एउटा महत्वपूर्ण र विश्वासिलाे ओहदामा थिए। नहेम्याह राजाप्रति समर्पित भएको कारण अर्तासास्त राजाको अनगिन्ती कृपाहरुको प्राप्त गर्न सफल भए। 
त्यसरी नै दानिएल बेबिलोन राज्यमा एक कैदीको रुपमा कैद गरेर लगिए तर त्यहाँ उनी राजाप्रति वफादार र समर्पित  भएको कारण बाइबलले भन्दछ,
"यसकारण दाराको राज्‍यकाल र फारसी कोरेसको राज्‍यकालमा दानिएलको उन्‍नति भयो।"- दानिएल ६:२८
दानिएलले मलाई कैद गरेर ल्याएको शत्रु हो भनेर राजालाई घृणा गरेनन जसको परिणाम स्वरुपम कैदमा पनि एक विरानो राज्यमा उनले एक असल उन्नति र सफल जीवन जिए। 
त्यसै गरि योसेफको जीवनमा पनि यस सिद्धान्तले काम गरेको देख्न सक्छौं। उनी मिश्रमा एक दासको रुपमा बेचिए तर जब उनी फारोप्रति वफादार भए र इमान्दारसाथ काम गर्न थाले, उनी मिश्रको प्रधानमन्त्री बने। 
यसकारण राज्यको सिद्धान्त यहि होकि राज्यमा सफल र प्रभावकारी जीवन जिउन हामी राजाप्रति समर्पित हुनुपर्छ। 

धेरैपटक हामी परमेश्वरप्रति समर्पित नभएको कारण - हामीले समर्पित जीवन नजिएको कारण उहाँको कृपा र आशिषहरुबाट वञ्चित भइरहेका हुन्छौं। 
"हप्ताको एक दिन मण्डली गएर कोहि पनि समर्पित हुँदैन तर परमेश्वरप्रति समर्पित भएको कारण ऊ मण्डली जान्छ।"
यदि हामी आशिषित जीवन जिउन चाहन्छौं भने पहिला परमेश्वरप्रति हामी समर्पित हुनपर्छ। 
कु‌नै पनि बाबुले दुष्ट, गैरजिम्मेवार र अकृतज्ञ सन्तानलाई आफ्नो सम्पत्ति, लाभ, आशिषको हिस्सेदार तुल्याउन चाहँदैन। यसकारण धेरै सन्तानहरुले आफ्नो अभिभावकको सम्पत्तिबाट वञ्चित हुनुपरेको घटनाहरु हामीले सुनेका छौं। धेरै सन्तानले अंशको निम्ति आफ्नो अभिभावकको विरुद्धमा मुद्दा दायर गरेका घटना पनि हामीले सुनेका छौं। 
प्रियहरु! हामीलाई परमेश्वरले अंशको हकदार होइन उत्तराधिकारी बनाउनु भएको छ। 
 "......र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दु:ख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं। "- रोमी ८:१७


समर्पण भनेको के हो? 

- समर्पणता भनेको परमेश्वरको भयमा जिउनु 
अवश्य पनि परमेश्वरको भयमा जिउनुको अर्थ डर र त्रासमा जिउनु होइन। भयमा आदर र प्रेम हुन्छ जुन डरत्रासमा हुँदैन। धेरै समय हामी भयमा भन्दा पनि डरत्रासमा जिरहेका हुन्छौं। परमेश्वरको डर र त्रासमा जिउने इसाई विश्वासमा वृद्धि हुन सक्दैन।
हामीलाई याद छ, अदनको बगैंचामा जब आदमले परमेश्वरविरुद्ध पाप गरे त्यसपश्चात परमेश्वरको आवाज सुनेर तब मानिस डराएको छ। उनले भन्दछ, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।”- उत्पत्ति ३:१०
तर यसअघि परमेश्वर र मानिसबिच एक असल घनिष्ठ सम्बन्ध थियो। जब सम्बन्ध बिग्रन्छ डरले वास गर्दछ। जब हामी परमेश्वरमा समर्पित हुन्छौं त्यहाँ डरत्रासले स्थान पाउँदैन। परमेश्वरको उपस्थितिमा हामी आन्नदित हुन थाल्छौं। त्यहाँ प्रेम, आदर, सदभाव र घनिष्टता हुँदछ। 
हितोपदेशक भन्छन्, 
“परमप्रभुको 'भय' मान्‍नु नै बुद्धिको सुरुआत हो,  र परमपवित्रको ज्ञान नै समझशक्ति हो।”- (९:१०)
यस प‌खण्डमा उल्लेख गरिएको 'भय' शब्दलाई हिब्रूमा “यिर्हा/yirah” (יראה) जसको अर्थ आदर, श्रद्धा, कृतज्ञता र प्रेम हो।
अवश्य पनि डरत्रासमा यी हुँदैन। 
हामीलाई याद छ, जब परमप्रभुले अब्राहामलाई आफ्नो एकमात्र पुत्रलाई बलिदान दिने आज्ञा दिनुभयो, यस कथामा हामी समर्पणताको साँचो तस्बिरलाई देख्छौं। उनले आफ्नो एकमात्र पुत्रलाई पनि परमेश्वरको खातिर बलि दिन तयार भए। 
                   प्रियहरु! अब्राहामले इसहाकको निम्ति २५ वर्ष प्रतिक्षा गरेका थिए। उनको निम्ति इसहाक केवल प्रतिक्षाको फल मात्र थिएनन तर पुस्ता थियो जसले उसको वंशलाई अगाडि बढाउने थियो। अर्को शब्दमा अब्राहामको निम्ति इसाहाक सबथोक थियो। 
समर्पता भनेको सानो भाग परमेश्वरलाई सुम्पनु होइन। धेरैचोटी हामी परमेश्वरलाई सानो भाग, सानो क्षेत्र, सबै कुरा सानो-सानो सुम्पिरहेका हुन्छौं। त्यो अवश्य पनि समर्पणता होइन, समर्पताचाहिँ हाम्रो जीवन सुम्पनु हो- हाम्रो प्राणभन्दा पनि प्यारो थोक सुम्पनु हो जुन अब्राहामले गरे। 
तब परमप्रभुले भन्नुभयो,  “ .....अब मैले थाहा पाएँ तैंले परमेश्वरको भय मान्दोरहेछस्, किनकि तेरो एकमात्र छोरोलाई पनि मबाट तैंले रोकेर राखिनस्।” - उत्पत्ति २२:१२


- समर्पण आराधना हो। 
                      पूर्ण समर्पण‌ता चाहिँ आराधना हो। यो निक्कै खतरनाक कुरा पनि हो। जब हामी कुनै कुराप्रति बढि लिप्त हुन्छौं, बिस्तारै हामीले त्यस कुराप्रति आफैलाई समर्पण गरिरहेका हुन्छौं। अहिलेको परिस्थितिमा भन्ने हो भने हामी धेरैजना मोबाइलमा लिप्त भैरहेका हुन्छौं, धेरै जना हामी यसप्रति समर्पित भएका छौं। जब हामी यसप्रति समर्पित हुन्छौं, अब हामीले यसको आराधना गर‌िरहेका हुन्छौं जसलाई बाइबलले 'मूर्त्तिपुजा' भनेको छ। सबै कुराहरु त्यसको आफ्नै सीमा र परिधीभित्र नै असल हुन्छ। 
                      जब नबुकदनेसरले आफ्नो मुर्त्ति बनाएर हरेक मानिसलाई त्यसको अघि घोप्टो परेर दण्डवत गर्ने उर्दि जारे गरे-वास्तवमा तिनले मानिसहरुलाई आफ्नो आराधना गर्न लगाएर आफूप्रति समर्पित बनाउन खोजिरहेका थिए। 
तर बाइबलले भन्दछ, शद्रक, मेशक र अबेद्नगोले त्यस मूर्त्तिको अघि घोप्टो परि दण्डवत गर्न इन्कार गरे (दानिएल ३:१२) किनकि तिनीहरु चाहिँ परमेश्वरप्रति समर्पित थिए। परमेश्वरमा समर्पित भएको कारण तिनीहरुले त्यस मूर्त्ति अघि घोप्टो परेर दण्डवत अर्थात नबुकदनेसर राजाको आराधना गर्न इन्कार गरे।

                            त्यो कुनै पनि थोक जसले परमेश्वरको स्थानलाई ओगटद्छ, त्यो मूर्त्ति हो। 
प्रियहरु! आज हामी के अघि घोप्टो परिरहेका छौं? 
आज हामीले परमेश्वरको आराधना गरिरहेका छौ कि अन्य कुरा- पैसा, ओहदा, सफलता, ख्याती इत्यादीको आराधना गरिरहेका छौं? 
'घोप्टो पर्नु' भनेको आफैलाई त्यस कुराप्रति लिप्त बनाउनु जसलाई बाइबलले 'मोह' भनेको छ। पैसा आवश्यक छ तर यसको मोह खतरनाक कुरा हो। यसकारण बाइबलले यसरी भनेको छ,
“किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो।” - १ तिमोथी ६:१०
 जब हामीमा कुनै पनि थोकको मोह बढन थाल्दछ तब हामीले परमेश्वरको स्थानमा त्यस थोकलाई राख्छौं। 

- परमेश्वरमा समर्पण हुनु भनेको परमेश्वरको लागि अलग गरिनु हो। 
                         बाइबलले भन्दछ, “यसकारण तिनीहरूका बीचबाट निस्‍केर आओ,  र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्‍नुहुन्‍छ।  अशुद्ध कुरा केही नछोओ,  र म तिमीहरूलाई ग्रहण गर्नेछु।” - २ कोरन्थी ६:१७
'अलग होओ' भन्नुको अर्थ फरक र भिन्न बन्नु होइन तर पवित्र हुनु हो। जब हामी परमेश्वरको नजरमा निर्दोष र पवित्र हुन्छौं ‌, उहाँ हामीलाई ग्रहण गर्नुहुन्छ। 
स्वयम परमेश्वर पवित्र हुनुहुन्छ, यसकारण हामी पवित्र हुनुपर्दछ। 
हाम्रो हृदयमा खोट बोकेर हामी परमेश्वरको आराधना गर्न सक्दैनौं। एक-अर्काप्रतिको तिक्तता र घृणा बोकेर हामी परमेश्वरको उपस्थितिमा ‌आनन्दित हुन सक्दैनौं। आजको दिनलाई यदि तपाईले पूर्ण आनन्द र आशिषको रुपमा देख्न सकिरहनुभएको छैन भने यो दिनमा खराबी होइन हामीभित्र केहि गलत भैरहेको छ। तर यदि हामीले आफैलाई परमेश्वरमा समर्पण गरेका छौं भने भलै समस्याहरुको पहाड होला, हामी हरेक दिन मुस्कुराउन सक्छौं, हरेक दिन परमेश्वरमा कृतज्ञ हुन सक्छौं, हरेक दिन परमेश्वरलाई भन्न सक्छौं -  'प्रभु मेरो होइन तर तपाईको इच्छा पुरा गर्नुहोस्।' 
प्रियहरु एक समर्पित जनमा त्यहि भिन्नता भेट‌छौं। 



Comments