"परिश्रमले आशिष थपिदँछ"
"राज्यको पहिलो आधारभूत सिद्धान्त...."
सिद्धान्तचाहिँ चाँबी हो जसको विषयमा स्वयम ख्रीष्टले यसरी भन्नुभयो, "म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।”- मत्ती १६:१९
प्रियहरु! जसरी कुनै पनि ढोका खोल्न हामीलाई चाँबीको आवश्यकता पर्दछ त्यसरी नै जब हामीसँग राज्यको चाँबी हुन्छ, हामीले आशिषको निम्ति दिनरात प्रार्थना गर्नुपर्दैन तर चाँबी प्रयोग गरेर ढोका उघारी आशिषलाई सदुपयोग गर्न सक्छौं। त्यो चाँबी अथवा साँचा अरु केहि नभएर सिद्धान्त हो। सिद्धान्त व्यवस्था हो। सिद्धान्त नियम हो। सिद्धान्त कानुन हो। जब कुनै राज्यको व्यवस्था, नियम वा कानुन हामीलाई थाहा हुन्छ र त्यसलाई हामी पालना गर्छौ तब त्यस राज्यबाट प्रदान हुने सहयोग, सुरक्षा, लाभ र फाइदाहरुलाई उपभोग गर्न पाउँछौ। एउटा अपराधी राज्यबाट प्रदान हुने सम्पूर्ण लाभ र फाइदाहरुबाट वञ्चित हुन्छ किनकि उसले राज्यको व्यवस्था र कानुनलाई तोडेको हुन्छ। यसकारण हामीलाई राज्यको सिद्धान्त थाहा हुन आवश्यक छ।
परमेश्वरको राज्यभित्र पनि यसको आफ्नै सिद्धान्त छ, यसलाई लत्याएर हामी राज्यभित्र प्रभावकारी रुपमा जिउन सक्दैनौं। परमेश्वरको राज्यको सिद्दान्त र व्यवस्थालाई लत्याउनु स्वयम परमेश्वरलाई लत्याउनु हो किनकि राज्यमा राजाको वचन नै व्यवस्था अथवा कानुन बन्दछ।
अब राज्यको पहिलो आधारभूत सिद्धान्त चाहिँ "परिश्रमले आशिष थपिदँछ"
"यसरी प्रार्थना गर्नुहोस् कि सबै कुरा परमेश्वरमा निर्भर छ र यसरी काम गर्नुहोस् कि सबै कुरा तपाईमा निर्भर छ।"- अगस्टाइन
"कडा परिश्रमको अर्को नकुनै विकल्प छैन्।"- थोमस ए. एडिसन
परमेश्वरको राज्यको पहिलो आधारभूत सिद्धान्त चाहिँ "परिश्रम गर्नेहरुलाई आशिष थपिनेछ"। यदि हामी राज्यमा प्रभावशाली र सफल जीवन जिउन चाहन्छौं भने हामीले मेहेनत र परिश्रम गर्न सिक्नुपर्छ। परिश्रमी व्यक्ति नै राज्यको आशिष र लाभको भागीदार हुँदछ। परमेश्वर आफ्नो राज्यमा पसिना बगाउने व्यक्ति चाहनुहुन्छ। आल्छे व्यक्ति यस राज्यमा टिक्न सक्दैन।
येशूख्रीष्टले "सिक्काको दृष्टान्त"द्धारा लूका १९:११-२७ हामी परिश्रमी हुनुपर्छ भनेर सिकाउनुभयो। यस दृष्टान्तमा मेहेनत र परिश्रम गरेर मालिकको सिक्कालाई वृद्धि गर्ने नोकरहरुलाई मालिकले स्याबास असल नोकर... भनेका छन।
प्रेरित पावलको समयमा थेसलोनिकी मण्डलीमा गलत सिद्धान्तले स्थान पायो। मण्डली आल्छे भएको थियो। तिनीहरु आल्छे मात्र होइन आफ्नो काम नगरेर अरुको काममा बाँधा बनिरहेको थियो। जसले गर्दा प्रेरित पावलले २ थेसलोनिकीको पत्रमा स्पष्ट रुपमा यसरी लेखे,
"अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्ने हरेक अल्छे भाइबाट अलग बस।
किनकि तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्छ सो तिमीहरू आफै जान्दछौ। हामी तिमीहरूसँग छँदा अल्छे भई बसेनौं।
हामीले कसैको रोटी सित्तैँमा खाएनौं। तर तिमीहरू कसैलाई भार नहोस् भनेर हामीले रातदिन परिश्रमसाथ खटेर काम गर्यौं।"- २ थेसलोनिकी ३:६-८
आल्छेपना भनेको केहि नगर्नु मात्र होइन तर केहि गर्नबाट आफैलाई रोक्नु पनि हो। आल्छेपनाले हामीलाई असिर्जनशील बनाउँदछ। बाइबल स्पष्ट छ, आल्छेपना पाप हो।
हितोपदेशक भन्छन,
"अल्छे हातहरूले मानिसलाई कङ्गाल तुल्याउँछन्, तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्।" - हितोपदेश १०:४
गएको अन्तिम हप्ता हामीले "राज्यको आधारभूत सिद्धान्त" शृंखलामा पहिलो भागमा मत्ती ६:३३ लाई निक्कै उद्धरण गर्यौ। यसले भन्दछ,
"तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।"
यस खण्डलाई हामीले मण्डलीमा लामो समयदेखि गलत रुपमा व्याख्या गरेका छौं। यस खण्डलाई गलत रुपमा बुझेको कारण आज हामी आल्छे भएका छौं। यस खण्डले हाम्रो पहिलो आवश्यकता भनेको राज्यको खोजी गर्नु हो भनेको छ। यो सत्य हो। राज्यभित्र हामीलाई सबै थोक अर्थात अन्य आशिषहरु थपिनेछ भनिएको छ, यो सत्य हो। हामी यसभन्दा पारी कहिल्यै गएका छैनौं। यसभन्दा पारी के छ भनेर कहिल्यै हामीले झाकेर हेरेका छैनौं। प्रियहरु परमेश्वरको वचन निक्कै गहिरो छ र उत्तिक्कै रहस्यमा पनि। राज्यको खोजीपश्चात सबै थोक थपिनेछ यतिमै हाम्रो यात्रा अन्त भएको छ तर यात्रा अझै बाकिँ छ।
येशूख्रीष्टले यो खण्डलाई बोल्नुभन्दा अघि यसरी भन्नुभयो,
“यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो प्राणको निम्ति र ‘के लगाउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर।’ के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन?
आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्, न अन्न कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढ़ी मूल्यवान् छैनौ र?" - मत्ती ६:२५-२६
"आकाशको चराचुरुङ्गीलाई हेर। न त तिनीहरूले बीऊ छिर्छन्, न त अन्न कटनी गर्छन्,...." भन्नुको अर्थ तिनीहरु आल्छे हुन्छन भन्न खोजीएको होइन। वास्तवमा चराचुरुङ्गीहरु निक्कै मेहेनती र परिश्रमी हुन्छ। हामीले कहिल्यै चराचुरुङ्गीलाई उपरखुटी लाएर सुतेको देखेको छैनौ। तिनीहरु सधैं आहाराको खोजीमा एताउता उडिरहेको हुन्छ। त्यसको परिश्रमको कारण- त्यसको खोजको कारण परमेश्वरले त्यसलाई कहुल्यै भोको राख्नुभएको छैन। त्यसले आफ्नो आहारा कहि न कहि भेट्टाउँछ नै।
वास्तवमा जीवजन्तुहरुमध्ये सबैभन्दा लामो यात्रा तय गर्ने जीव चराचुरुङ्गी नै हो। आर्कटिक टर्न (Arctic tern) चराले हरेक वर्ष ९०००० कि.मी को यात्रा तय गर्दछ। यी चराहरु लगभग ३० वर्ष बाच्दँछ। यदि यिनीहरुको जीवनभरिको यात्रालाई जोडने हो भने पृथ्वीबाट चन्द्रमासम्मको तीनपटकको यात्रा बराबर हुदँछ।
वास्तवमा बाइबलले हामीलाई जीवजन्तुहरुबाट मेहेनत र परिश्रमबारे सिक्ने आज्ञा दिएको छ।
हितोपदेशक भन्छन्,
"ए अल्छे (Lazy Fool), कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन्!........
ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट जाग्छस्?
क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केही बेरको आराम गराइले
दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्नेछ।" - हितोपदेश ६:६,९-११
अनि हामी सोच्छौ की परमेश्वरको राज्यको खोजी गरेपछि सबै थोक यसै/यत्तिक्कै मिल्नेछ। परमेश्वर लालटिन घस्दा निस्किने जिन्नी होइन। त्यसो होइन प्रियहरु! स्वयम परमेश्वर हामी आल्छे र लाचार नभई परिश्रमी भएको चाहनुहुन्छ।
यसकारण यस मत्ती ६:३३ खण्डमा ख्रीष्टले भन्नुभयो, ".....यी सबै थोक तिमीहरुका निम्ति थपिनेछ।"
यस "थपिनेछ" शब्दलाई कहिल्यै नियाल्नु भएको छ। 'थपिदिनु'को अर्थ के हो? थपिदिनु र दिनुमा भिन्नता छ। जब तपाईसँग केहि छ, तब मैले तपाईलाई केहि दिए भने थपेिदिएको हुन्छ।
उदाहरणको निम्ति तपाई एउटा राम्रो बगैंचा बनाउन चाहनुहुन्छ। तपाईले यस बगैंचाको निम्ति रातदिन एक गरी मेहेनत गर्नुभयो। जमिन खन्नुभयो, जमिनलाई मलिलो बनाउनुभयो, वरीपरी पर्खाल लगाउनुभयो, विभिन्न किसिमका रुखबिरुवा र फलफूल लगाउनुभयो, यसलाई गोडमेल गर्नुभयो। तर अन्तमा तपाईलाई निक्कै मनपर्ने फुल लगाउन सक्नुभएन। यसको लागी तपाईसँग अब कुनै रकम बाकिँ भएन तब मैले यस फुलको निम्ति केहि रकम प्रदान गरे भने मैले बगैंचाको निम्ति केहि रकम थपिदिए।
जब हामी मेहेनत गर्छौ परमेश्वर हामीलाई हाम्रो मेहेनतमा अझ बढी थपिदिनुहुन्छ। जसले परिश्रम गर्दैन, आल्छे गर्छ उसले आफूसँग भएको पनि गुमाउँछ।
राज्यको सिद्धान्तचाहिँ यहि होकि,
“ ‘म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ बढ़ी दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।" - लूका १९:२६
किनकि जससँग छ उसले त्यो प्राप्त गर्न कडा मेहेनत र परिश्रम गरेका कारण परमेश्वरले उसको मेहेनतमा अझ आशिष थपिदिनुभयो तर परिश्रम नगर्नेबाट उसँग भएको पनि खोसियो।
परिश्रमीलाई राजाको कृपा मिल्नेछ।
"Nothing is more powerful than King's favour."
नहेम्याहको उदाहरण
जब नहेम्याह आफ्नो राष्ट्रको विनाशले उदास र चिन्तित थिए तब अर्तासास्त राजाले उनको उदासिनताको कारण सोधे। तब उनले विस्तृत रुपमा आफू आफ्नो राज्य फर्किएर पितापुर्खा गाडिएको सहर पुननिर्माण गरहने अनुमति माग्छन। तब अर्तासास्त राजाले नहेम्याहलाई यहूदा जाने अनुमति मात्र दिँदैनन् तर राजकिय कृपा पनि देखाउँछन। नहेम्याहले राजाबाट आफ्नो यात्राको निम्ति सुरक्षा, पुनर्निर्माणको निम्ति चाहिने काठपात र राजकीय मोहोर लगाइएको राजाको पत्रहरु प्राप्त गर्दछन्।
प्रियहरु! आज हामीलाई पनि राजाको अनुग्रह र कृपाको आवश्यकता छ। हाम्रो यात्रा निक्कै भयानक भएको कारण हामीलाई राज्यको मोहोरयुक्त पत्रहरुको आवश्यकता छ।


Comments
Post a Comment