बाइबलिय सेवकपन

 Biblical Servanthood

बाइबलिय सेवकपन


बाइबलले सधैं हामीलाई आफूभन्दा अघि अरुलाई राख्ने आज्ञा दिएको छ -अर्थात अरुको सेवक बन्न आज्ञा गरेको छ। वास्तवमा आज संसारमा सेवकहरुको खडेरी लागेको छ। हरकोहि ठूला,प्रतिष्ठित र सत्तामा पुग्न चाहन्छन् तर सेवक पाउन निक्कै मुस्किल भएको छ। तर बाइबल स्पष्ट छ-परमेश्वर सेवक चाहनुहुन्छ। 

"तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।"- फिलिप्पी २:४
एउटा परिपक्क इशाईले अरुको सेवा गर्ने कुरालाई पूर्ण रुपमा आफूभित्र विकास गरेको हुन्छ। यो उसको चरित्रमा हुन्छ। उसले सधैं आफुभन्दा अघि परमेश्वर र मानिसलाई राखेको हुन्छ। ऊ स्वार्थी हुँदैन्। 
हामीले सधैं म कसरी अरुको निम्ति आशिषको श्रोत बन्न सक्छु, म कसरी अरुको निम्ति सेवा गर्न सक्छु भनेर सोच्नु पर्छ ।
"जसले अरुलाई आफूभन्दा अघि राख्छ, उसलाई परमेश्वरले अघि राख्नुहुन्छ। "
आज संसारले हामीलाई स्वार्थी र आफू केन्द्रित हुन सिकाएको छ। हामीले पनि आफ्नो चाहना, आफ्नो आराम, आफ्नो समृद्धी र आफ्नो आवश्यकतालाई मात्र अघि सारिरहेका हुन्छौं। तर ख्रीष्टको जीवनलाई नियाल्ने हो भने प्रेरित पावलको शब्दमा,
"परमेश्‍वरको स्‍वरूपमा भएर पनि  उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन। तर आफैलाई रित्त्याईकन  कमाराको रूप धारण गरेर,  तथा मनुष्‍य भएर जन्‍मनुभयो।" - फिलिप्पी २:६-७
प्रियहरु! अरुको सेवा नखोज्नुहोस्। अरुको सेवा गर्न थाल्नुहोस्। अरुले केहि गरिदिएन भनेर गुनासो नगर्नुहोस्, तपाईले अरुको निम्ति गरिदिनुहोस्। बाइबलिय सुनौलो नियमचाहिँ "मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो।"- मत्ती ७:१२
"एक सच्चा र इमान्दार सेवक मालिक भन्दा बुद्धिमानी हुन सक्छ, यद्दपी उसले सेवकको साँचो आत्मा र आसन कायम नै राख्छ।"- एन्ड्रयु मुरे 
"नेतृत्व गर्ने सबैभन्दा शक्तिशाली तरिका सेवा गर्नु हो।" - क्रेग डि. लाउन्सब्रो Craig D. Lounsbrough

जब डि.एल मुडीले भर्खरै सेवकाईमा सुरु गरेका थिए, उसले एक प्रचारकले आफ्नो प्रचारमा यो कथन गरेको सुने, "संसारले अझै देख्न बाँकी छ कि एक जना मानिसले परमेश्वरलाई पूर्ण रूपमा आत्मसमर्पण गरेमा उहाँले त्यस मानिसबाट के गर्न सक्नुहुन्छ।" त्यो रात मुडीले भने, "परमेश्वरको कृपाले, म त्यो मानिस हुनेछु!"

येशूख्रीष्टले आफ्ना चेलाहरुलाई भन्नुभयो,
"तिमीहरूका बीचमा यस्‍तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्‍छा गर्दछ, त्‍यो तिमीहरूको सेवक हुनुपर्छ। जो तिमीहरूमध्‍ये पहिलो हुने इच्‍छा गर्दछ, त्‍यो तिमीहरूको कमारो हुनुपर्छ, जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्‍वरूप आफ्‍नो प्राण दिन आयो।” - मत्ती २०:२६-२८
मत्ती २०:२६-२७औं पदमा उल्लेख गरिएको सेवक र कमारोलाई जनाउनको म‌निम्ति ख्रीष्टले दुईवटा ग्रीक शब्द प्रयोग गर्नुभयो "डियाकोनोस/diakonos"  र "डउलोस/doulos" जसको अर्थ वास्तवमा नोकर र दास हो। प्राचिन समयमा नोकर र दास सबैभन्दा कमजोर वर्गका मानिसहरु थिए। यिनीहरु अरुसामु झुक्थे र अरुको सेवामा आफ्नो जीवन समर्पण गर्थे। 
येशू ख्रीष्टले अक्सर चेलाहरुलाई बुझ्न गाह्रो गहिरा कुराहरु बताउनुहुन्थ्यो। यो गहिरा कुराहरु तिनीहरुको अनुभवभन्दा विल्कुलै फरक हुन्थ्यो। प्राचिन ज्ञानले सत्ता, पद,  प्रतिष्ठा, हैसियत र शक्तिलाई मूल्यवान कुराहरुको रुपमा मापन गर्थे त यस्ता मानिसहरुलाई गरिब र अपरिचित मानिसहरुको तुलनामा असल मानिन्थ्यो। महान मानिसहरुले आज्ञा दिन्थे र महत्वपूर्ण निर्णयहरु गर्थे। तिनीहरुले कमजोर र गरिबहरुबाट सेवा पाउँथे। यद्यपि येशूख्रीष्टले आफ्नो राज्यको साँचो महानता अरुको सेवा गर्नेले र सबैभन्दा उच्च स्थान अरुको कमारो बन्नेले प्राप्त गर्नेछन्। 
चाखलाग्दो कुराचाहिँ येशूख्रीष्टले आफ्ना चेलाहरुलाई महानताको लागी प्रतिस्पर्धा गर्न रोक्नुभएको छैन। उहाँले तिनीहरुलाई कसरी महानता प्राप्त गर्ने वर्णन गर्दै हुनुहुन्छ। यो रोमन-शैलीको जसरी सत्ता, शक्ति, पद वा अख्तियारको आडमा प्राप्त हुँदैन। नोकर त दासले आफ्ना मालिकको सेवा गरेझैं जब हामी एक-अर्काको सेवक बन्छौं तब यो प्राप्त हुँदछ। यो एउटा पाठ हो जुन येशूख्रीष्टले अन्ततः अन्तिम भोजमा चेलाहरुको खुट्टा धुनुहुँदा व्यक्तिगत रुपमा प्रदर्शन गर्नुभयो (यूहन्ना १३:१२-१७)
आज मण्डलीमा हरेक अधिकारलाई परिचालन गर्न चाहन्छ तर थोरै कम सेवा गर्न चाहन्छ। 
यूहन्ना १३ अध्यायमा येशूख्रीष्टले आफैलाई संसारको सबैभन्दा महान सेवकको रुपमा प्रश्तुत गर्नुभयो। हामी सबैलाई कथा थाहा छ। जब चेलाहरुले निस्तार चाडको निम्ति माथिल्लो कोठा तयार गरे, तिनीहरुले ढोकामा खुट्टा धुने सेवकको सेवा निश्चित गर्न बिर्से किनभने त्यस समयमा सेवकले आगन्तुकहरुको खुट्टा धुने चलन थियो। चाखलाग्दो कुराचाहिँ चेलाहरुले सेवक/नोकरको अनुपस्थिति महसुस गरेपछि तिनीहरूमध्ये कोहि पनि यस कामको निम्ति इच्छुक  थिएनन्। बरु तिनीहरुले सबैभन्दा ठूलो र महान को हो भनेर बहस गरे। 
                                 धेरैपटक मण्डलीमा पनि हामी यस्तै तस्बीर देख्छौं। त्यहाँ पद र सत्ताको भागबन्डा भैरहेको हुन्छ, त्यहाँ सबैभन्दा ठूलो र आदरणीय व्यक्ति को हो भन्ने प्रतिस्पर्धा भैरहेको हुन्छ, धेरैपटक मण्डलीमा सेवक होइन मालिक को हो भन्ने होडबाजी चलिरहेको हुन्छ। हामी मानिसको आदर र इज्जतप्रति लालयित भैरहेका हुन्छौं। यस्ता कैयौं पाष्टरहरु हुनुहुन्छ जसलाई पद र सत्तासँग जोडेर सम्बोधन गरिएन भने उहाँहरु नाराज बन्नुहुन्छ। त्यहाँ धेरै इशाई विश्वासी हुनुहुन्छ जसलाई अरुले आदर र इज्जत गरेनन भने मण्डली आउन बिर्सनुहुन्छ। यो सुन्दा कठोर लाग्न सक्छ तर  यो समयहरुमा हामीले सेवकको हृदय पूर्ण रुपमा गुमाएका छौं। हामी कठोर र अभिमानी भएका छौं। प्रियहरु यदि हामीले पनि कुनै कालखण्डमा दियाबलसले जस्तै मालिकको हृदयलाई पालनपोषण गरिरहेका छौं भने सतर्क हुनुहोस्। परमेश्वरअघि आफैलाई झुकाउनुहोस् र नम्रतामा जिउनुहोस्।
तर हामीले आफैलाई गर्नुपर्ने प्रश्नचाहिँ 
परमेश्वर के चाहनुहुन्छ? मालिक कि सेवक? 
यदि परमेश्वर सेवक चाहनुहुन्छ भने के मैले सेवकको पहिचान बोकेको छु? 
स्वयम येशूख्रीष्टलाई नयाँ करारले एक कमाराको रुपमा परिचित गराएको छ (फिलीप्पी २:७)
प्रेरित पावलले आफैलाई एक सेवक भएको बताउँछन (रोमी १:१, गलाती १:१०, फिलीप्पी १:१, तीतस १:१)

बाइबलिय सेवकपन के हो? 
सेवकपन भनेको सेवकको रुपमा जीवन बिताउने व्यक्तिको अवस्था, जिवनशैली र गुण हो। एउटा सेवकले सेवकाई गर्दैन तर सेवकाईलाई जिउँदछ। सेवकाई जागिर होइन तर जिवनको उद्धेश्य हो जसको निम्ति हामी बोलाइएका छौं। सेवकपन एक इशाईको पहिचान हो। साँचो इशाई उदार-चित्तको हुन्छ, उसको हृदय खुम्चिएको हुँदैन्। बाइबलले भन्दछ, "गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो,  र त्‍यसले जे गरेको छ, त्‍यसको इनाम उहाँले त्‍यसलाई दिनुहुनेछ।" - हितोपदेश १९:१७
अरुको सेवा गर्ने व्यक्तिले परमेश्वरको आशिष अनुभूति गर्न पाउनेछ। हामीलाई याद छ,  जब अब्राहामले तीन जना मानिसहरुको सेवाटहल गरे। बाइबलले भन्दछ, उनीहरुलाई देखेर अब्राहाम भेट गर्नलाई कुदेर गए, र भूइँसम्म निहुरेर दण्डवत गरे - उत्पत्ति १८:२
जब उनले तिनीहरुको सेवासत्कार गरे तब उनले आफ्नो लामो प्रतिक्षाको उत्तर पाए। परमप्रभूले भन्नुभयो, 
“आउँदो साल यही समयमा म निश्‍चय नै तँकहाँ फर्किआउनेछु, र हेर्‌, तेरी पत्‍नी साराले एउटा छोरो जन्‍माएकी हुन्‍छे।” - उत्पत्ति १८:१०
सायद अब्राहामले ती तीन मानिसहरुलाई स्वीकार नगरेको भए, उनीहरुको सेवाको निम्ति आफैलाई नझुकाएको भए सायद उनी परमप्रभुको आशिषबाट वञ्चित हुन सक्थे। 
प्रियहरु! अरुको सेवा गर्नाले आशिषको ढोका खोल्दछ।

सेवकपनको निम्ति सबैभन्दा ठूलो बाधा :
हामीलाई सेवा गर्नबाट रोक्ने सबैभन्दा ठूलो बाधा/अवरोध हाम्रो अहंकार र घमण्ड हो। सेवकपनको निम्ति झुक्नुपर्ने हुन्छ, अपमानलाई सहनुपर्ने हुन्छ, मानिसको भनाईलाई सुन्नुपर्ने हुन्छ, सतावटलाई सामना गर्नुपर्ने हुन्छ। यसकारण एक अहंकार र घमण्डले फुलिएको मानिस सेवक बन्न सक्दैन। राजा बन्न पहिला गोठालो बन्नुपर्ने हुन्छ। एक सेवकले आफ्नो अहंकार र घमण्डलाई पिएको हुन्छ। 
"यदि मसँग प्रचार गर्नको निम्ति एउटा मात्र उपदेश छ भने त्यो घमण्ड विरुद्धको उपदेश हुनेछ।" - जी.के चेस्टर्टन
यूहन्ना  ४ अध्यायमा हामी सामरी स्त्री र येशूख्रीष्टको संवादलाई पढन पाउँछौं । चौंथो अध्यायको चौथौं पदले यसरी भन्दछ, 
"उहाँलाई सामरिया भएर जानुपर्थ्‍यो।"
अब हामीले बुझ्नुपर्छ, यहूदा र गालीलको बिचमा सामरिया  पर्दछ। यहूदाबाट गालील आवतजावत गर्न सामरियाको बाटो भएर निक्कै छोटो समय लाग्थ्यो तर यहूदीहरुले सामरीहरुलाई घृणा गर्थे। सामरीहरु मिश्रित जाती थिए अर्थात आधा-यहूदी र आधा-अन्यजाती यसकारण यहूदीहरुको निम्ति सामरीहरु अपवित्र, अशुद्ध, अछुत र बाहिरी जातीहरु थिए। उनीहरु आफैलाई एउटा विशेष जाती, शुद्ध र पवित्र जाती र परमेश्वरको निज प्रजा भएको विश्वास गर्थे। यसकारण सामान्य रुपमा यहूदीहरु सामरीयाबाट होइन तर यर्दन नदी तरेर पेरिया सहरको बाटो भएर जाने गर्थे जसको निम्ति लगभग २०-२२औं घन्टा लाग्थ्यो। तर चाखलाग्दो कुराचाहिँ बाइबलले भन्दछ, "उहाँलाई सामरिया भएर जानुपर्थ्‍यो।" यसको अर्को कुनै विकल्प छैन। यदि हामी साँचो सेवक बन्न चाहन्छौं भने आफ्नो अहंकार र घमण्डलाई पिउनुपर्छ। हामीलाई हाम्रो अहंकारले जान नदिने स्थानमा पनि हामी सेवाको निम्ति पुग्नुपर्छ। हाम्रो मनले नखाएको मानिसको निम्ति हाम्रो सेवा सधैं उपलब्ध हुनुपर्छ। 
जब चेलाहरुले येशू ख्रीष्टलाई एउटी सामरी स्त्रीसँग संवाद गरिरहेको देखे तब उनीहरु छक्क परेको छ किनकि उनीहरुको हृदयमा अझै पनि पक्षपात र जातीवादले जरा गाडेको थियो। सयौं वर्षदेखि उनीहरुको सेवा सामरीहरुलाई कहिल्यै उपलब्ध थिएन। 
यूहन्ना १३औं अध्यायमा येशूख्रीष्टले यहूदा इस्करियोतको पनि खुट्टा धोएर चेलाहरुलाई सेवकपनको एउटा गहिरो पाठ सिकाउनुभयो।




Comments