Preparing for worst
सबैभन्दा खराबको निम्ति तयारी
“Pray for the best, prepare for worst”
"उत्तम कुराको निम्ति प्रार्थना गर्नु तर सबैभन्दा खराब कुराको निम्ति तयार गर्नु"
यो वाक्यांश १८औं शताब्दीमा उत्पत्ति भएको थियो र पहिलो पटक ब्रिटिस उपन्यासकार, निबन्धकार र बेलायतका दुईपटक प्रधानमन्त्री बेन्जामिन डिजरेलीद्धारा सन १८३३ मा 'The wondrous tale of alroy' भन्ने पुस्तकमा यस वाक्यांशलाई समावेश गरियो।
यो वाक्यांश बाइबलमा भेटिदैन तर विचार पक्कै पनि बाइबलिय हो। योसेफ मिश्रको प्रधानमन्त्री हुँदा, आउँदै गरेको अनिकालका वर्षहरुको लागि सहकालका वर्षहरुलाई सदुपयोग र तयारी गरेका छन। शताब्दीयौं पछि, जब पावललाई यरुशलेममा उनको भावी गिरफ्तारीको भविष्यवाणी दिइयो, उनी अझैं प्रतिबद्धताकासाथ पक्राउ पर्न मात्र होइन तर आवश्यक परेमा मर्न पनि पूर्ण रुपमा तयार थिए। यी मानिसहरुले उत्तमको लागि प्रार्थना गरे तर तिनीहरु सबैभन्दा खराबको लागि तयारी थिए।
आज मण्डलीहरुले शक्तिशाली, बलियो, परिपक्क र निडर विश्वासी जन्माउन नसक्नुको कारण चाहिँ मण्डली त्यो सबैभन्दा खराब दिनको निम्ति तयार छैन। आज हामीले निक्कै संवेदनशील विश्वासीहरु हुर्काइरहेका छौं, जसलाई सानो-सानो कुराहरुदेखि चित्त दुख्छ, जो सानो कष्टबाट भएर गुज्रन सक्दैन, जो ख्रिष्टको निम्ति सानो सतावटबाट भएर गुज्रन सक्दैन, जसले सानो अभावलाई झेल्न सक्दैन।
के यस्तो इशाई प्रेरित पत्रुसले भनेका “अग्निमय परीक्षा” (१ पत्रुस ४:१२) भएर गुज्रन सक्छ?
के यस्तो इशाई दानियल जसरी सिंहको खोरमा परमेश्वरको आराधना गर्न सक्छ?
के यस्तो इशाईले माकेडोनियाको मण्डलीले जसरी घोर दरिद्रता र अभावलाई झेल्न सक्छ?
Expect/pray for the best : Faith
“अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।”- हिब्रू ११:१
Prepare for worst : planning
“बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ।” - हितोपदेश २२:३
पत्रुस भन्छन, “प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्तै तिमीहरू छक्क नपर।” - १ पत्रुस ४:१२
जब पत्रुसले मण्डलीहरुलाई यो पत्र लेख्दै थिए, इशाईहरु रोमी शासनको अधिनतामा थिए। ६४औं वर्षको जुलाई महिनामा रोममा ठूलो आगलागी भयो। लगभग ६ दिनपश्चात नियन्त्रणमा आएको यस आगलागीबाट जन र धनको ठूलो क्षति भयो। ठूलो तादातमा आफ्नो घर, सम्पत्ति र व्यापारव्यवसाय गुमाएका रोमी नागरिक र व्यापारीहरुले रोमका तत्काल सम्राट नेरोको विरोध गर्न थाले। तब नेरोले यसबाट बच्न इशाईहरुमाथि सम्पूर्ण दोष लगाए। त्यस समयमा इशाईहरु सानो र कमजोर अल्पसंख्यक समूह थियो। इशाईहरुले रोमी सम्राट सिजर र उनीहरुको देवी-देवताहरुको पुजा गर्न इन्कार गरेका कारण बेला-बखत रोमीहरुसँग वादविवाद भइरहन्थ्यो तर यस घटनापछि इशाईहरुको विरुद्धमा ठूलो सतावट सुरु भयो।
“प्रियहरु! कष्ट र संघर्षचाहिँ आराधनाको पाटो हो।”
“मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपत्-विपत् आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ।
किनकि तिमीहरू जान्दछौ, तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ।”- याकूब १:२
प्रियहरु! महत्वपूर्ण चाहिँ यो होइन कि हामीले कति ठूलो समस्या, कष्ट र सतावटलाई झेल्यौं तर महत्वपूर्णचाहिँ यसबाट परमेश्वरको आराधना भएको छ।
इशाई यात्रा अवश्य पनि सहज छैन- यस यात्रामा एक इशाईले आफ्नो हर कदममा सतावट, कष्ट, आलोचना, अभाव, तिरस्कार र संघर्षको सामना गर्नुपर्छ । यी कष्टहरुको बिचमा हजारौंले यात्रालाई अन्त गर्दछ किनकि अगाडी बढ्नु निक्कै नै कष्टकर देखिन्छ। हुन पनि यो सत्य हो- ख्रीष्टले उहाँलाई पछयाउने मानिसको जीवन सहज र आरामदायी हुन्छ भनेर कहि प्रतिज्ञा गर्नुभएको छैन। वास्तवमा उहाँले त आफूलाई पछयाउने व्यक्तिलाई भन्नुभयो, “स्यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।”- लूका ९:५८
“ ”
अझ येशु ख्रीष्टले आफ्ना चेलाहरुलाई भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।”- मत्ति १६:२४
प्रियहरु! एउटा इशाईले सधैं सुखमय, प्रशस्तमय र आरामदायी यात्रा मात्र चाहनुचाहिँ आफ्नो क्रूस बोक्न इन्कार गर्नु हो। जब एउटा इशाई आरामदायी यात्राप्रति लालायितर मोहित हुन्छ तब ऊ दुखकष्ट र अभावको समयमा परमेश्वरप्रति धन्यवादी र समर्पित हुन सक्दैन्। एउटा इशाईले असल जीवनको चाहना गर्नु नै हुँदैन भन्न खोजिएको अवश्य पनि होइन तर यहि नै उसको लक्ष्य हुनु हुँदैन। यसप्रति लालयित र मोहित मानिसले ख्रीष्टको सेवा गर्न सक्दैन। ख्रीष्टको सेवा गर्न हामी कष्टबाट, अभावहरुबाट, भोकप्यासबाट, कठिनाई र सतावटबाट, अपमान र तिरस्कारबाट भएर गुज्रनै पर्छ। के हामीले आफैलाई त्यस्तो अवस्था र परिस्थितिबाट गुज्रनको निम्ति तयार पारेका छौं?
नयाँ करारमा ख्रीष्टले बारम्बार चेलाहरुलाई आफ्नो मृत्युको बारे बताउँनुभयो। उहाँले चेलाहरुलाई आफ्नो मृत्युको विषयमा जानकारी मात्र दिइरहनुभएको थिएन तर आफूले भोग्नुपर्ने दुख र कष्टको विषयमा नबिर्सु भनि आफैलाई सम्झाइरहनुभएको थियो। उहाँ यो कष्टको निम्ति तयार हुनुहुन्थ्यो।
के हामी आफ्नो इशाई यात्रामा आउने कष्ट र संघर्षको निम्ति तयार छौं?
के हामी त्यस्तो कठिनाई र दुखको परिस्थितिहरुमा पनि परमेश्वरप्रति धन्यवादि, इमान्दार र समर्पित हुन सक्छौं?
प्रियहरु! मण्डली इतिहासमा सतावट र कष्टहरुको बिचमै मण्डली वृद्धि भएको छ। माकेडोनियाको मण्डलीहरु विश्वासमा आएदेखि नै सतावटमा परेका थिए र यसले उनीहरुलाई आर्थिक रुपमा कमजोर तुल्याएको थियो। बाइबलले भन्दछ कि तिनीहरु "घोर दरिद्रतामा" थिए (२ कोरन्थी ८:२) तर यरुशलेममा सताइएका यहूदी विश्वासीहरुप्रति तिनीहरुको दया, प्रेम, र सहायता गर्ने उत्कट इच्छा सम्पूर्ण मण्डलीहरुको निम्ति एक उदाहरण बन्यो। प्रियहरु! माकेडोनियाको मण्डली त्यो कष्ट, सजावट, अभाव र संघर्षबाट गुज्रन अघिबाटै तयार थिए। नजितास्वरुप उनीहरुको विषयमा प्रेरित पावल यसरी गवाहि दिन्छन्,
“कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए।
किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए।
तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे।”- २ कोरन्थी ८:२-४


Comments
Post a Comment