उपदेशकको पुस्तक

वचन : उपदेशकको पुस्तक 


पुस्तकको परिचय :

उपदेशकको पुस्तकमा प्रचार गर्ने व्यक्तिलाई हिब्रूमा (Qoheleth)'कोहेलेथ' भनिन्छ जसको अर्थ 'शिक्षक' हो । यस शिक्षकले आफ्नो जिवाई र भोगाईको अनुभवद्धारा यस पुस्तकलाई लेखेका छन र यस शिक्षक हामीले पनि गम्भीर पाठ सिकेको चाहन्छन्। सम्भवतः यस पुस्तकको हरेक शब्दहरु उनको निम्ति निकै कठिन र प्रायश्चितले भरिएको हुनुपर्छ र हामी कल्पना गर्न सक्छौं हरेक शब्द लेख्दै गर्दा उनको आखाँबाट आँशुका थोपाहरु खस्दै थिए। 

यस पुस्तकलाई लगभग ९३५ ई.पू मा अर्थात आजभन्दा लगभग ३००० वर्षअघि लेखिएको हो तर आज पनि यो पुस्तक उत्तिक्कै जिवन्त र व्यावहारिक छ। 

उपदेशकको पुस्तकलाई गम्भीरतापूर्वक गहन अध्ययन गरिएन भने हामी दुविधामा पर्न सक्छौं किनकि यसको कति अंशहरु बाइबलिय सिद्धान्तसँग बाझिएको हामी भेट्टाउँछौ। वास्तवमा नास्तिकलाई सबैभन्दा मनपर्ने पुस्तक नै उपदेशक हो र उनीहरुले आफ्नो बचाउ गर्न धेरैपटक यसको अंशहरुलाई प्रशस्त उदृत गर्छन्। 


पहिलो सन्देश : व्यर्थता (Vanity :37 times) 

यस पुस्तकका लेखक सोलोमन राजाले दुई किसिमकाे जीवन जिए: पहिलो परमेश्वरसहितको र दोस्रो परमेश्वरबिनाको। हितोपदेशको पुस्तकलाई 'सोलोमनको ज्ञानको' पुस्तक भनिन्छ भने उपदेशकको पुस्तकलाई 'सोलोमनको मूर्खताको' पुस्तक भनिन्छ। उपदेशकको पुस्तक सोलोमन राजा परमेश्वरबाट टाढा हुँदाको नाटकिय जीवनी हो। 

सोलोमनको जीवनको सुरुवाती समयहरुमा आफ्नो पिता दाऊद राजाको बढि प्रभाव देख्न सकिन्छ। उनी आफ्नो पिता जस्तै परमप्रभुको आज्ञाकारितामा रहे, उहाँको डर र भयमा जिए, उहाँमा समर्पित रहे। वास्तवमा हितोपदेशको पहिलो ९ वटा अध्यायहरु दाऊदले आफ्नो पुत्रको निम्ति लेखेका हुन। उनले आफ्नो पिता परमप्रभुमा कति समर्पित थिए देखेका थिए। दाऊदको जीवनीलाई नियाल्दै सोलोमन हुर्केका थिए। आज पनि सन्तानहरु आफ्नो अभिभावकलाई हेरेर, उनीहरुको प्रभाव र छापमा हुर्कन्छन। 

एउटा अभिभावकले आफ्नो सन्तानलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार नै असल प्रभाव हो। 

दाऊद राजाले आफ्नो पुत्रमा त्यस्तो प्रभाव र छाप छाडेका थिए। 

तर एक समयमा आएर सोलोमनले धेरै पत्नीहरु र उपपत्नी बनाए। ती पत्नीहरु परमप्रभुले पारस्परिक विवाहको निम्ति निषेध गर्नुभएको जातीहरुबाट थिए (१ राजा ११:२)।

वचनले यसरी भन्दछ, "सोलोमन वृद्ध हुँदा तिनका पत्‍नीहरूले तिनको मन अरू देवताहरूतर्फ फर्काइदिए, र तिनका आफ्‍ना पिता दाऊदझैँ सम्‍पूर्ण रूपले परमप्रभु आफ्‍ना परमेश्‍वरका भक्त भएनन्‌।" - १ राजा ११:४

कति दुखको कुरा, जीवनभरिको लगानी, समर्पणता, दाऊदले गरेको मेहेनत र परिश्रम एकै निमेषमा खतम भयो। अन्तिम चरणमा सोलोमनले परमेश्वरबाट आफ्नो हृदय फर्काएका छन्। 

सोलोमनले सबै कुरा हासिल गरे तर परमेश्वरलाई गुमाए: 

यसकारण उनले यस पुस्तकको सुरुवातमै लेख्छन्,  “व्‍यर्थ नै व्‍यर्थ, पूर्ण रूपमा व्‍यर्थ, सबै व्‍यर्थ हुन्‌।” - (१:२)। यसकारण पनि हामी सोलोमनलाई सबैभन्दा 'बुद्धिमानी मूर्ख' भनि चिन्छौं। 

उपदेशकको पुस्तकमा 'व्यर्थ' शब्द ३७ पटक उल्लेख गरिएको छ। यस 'व्यर्थ' शब्दलाई हिब्रूमा हेबेल (Hebel) भनिन्छ जसको अर्थ खाली/खोक्रो/उद्धेश्यबिनाको भन्ने हुन्छ। 

यस पुस्तकले परिश्रम, धन-सम्पत्ति, प्रगति, बुद्धि सबै व्यर्थ हो भन्न खोजेको होइन तर परमेश्वरबिना यसको कुनै अर्थ, कुनै मूल्य छैन भन्न खोजिएको हो। यी यावत थोकहरु आफैमा खराब छैन तर हाम्रो जीवनमा जब यी थोकहरुले परमेश्वरको स्थानलाई ओगट्छ, तब हामी परमेश्वरबाट टाढिन थाल्छौं जसरी सोलोमन परमेश्वरबाट टाढिए र एकदिन उहाँबाट निक्कै टाढा पुगेको उनलाई पत्तै भएन। वचनले यसरी भन्दछ, "किनभने मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ?" - मर्कूस ८:३४

यसकारण परमेश्वरले आदमलाई एउटा विशेष फल खान निषेध गर्नुभयो तर तिनले बाकिँ सबै फल खान सक्थे। त्यस विशेष फलले आदमलाई परमेश्वरको विरुद्धमा विद्रोही, घमण्डी र अनाज्ञाकारी बनाउने थियो। त्यसरी नै आज हामीले पनि सबै फल खान सक्छौं, हाम्रो परिश्रमको फल, बुद्धिको फल, प्रगतिको फल, कमाईको फल, धन-सम्पत्तिको फल तर हामी आफैलाई परमेश्वरको विरुद्धमा खडा गर्ने, अनाज्ञाकारी बनाउने, घमण्डी बनाउने पापको फललाई सधैं इन्कार गर्नुपर्छ। 


दोस्रो सन्देश : सूर्यमुनि (Under the sun : 29 times)

(ta-chat ha-sha-mesh/ टा-खाट हा-षा-मेश) 

यस वाक्यांशले पृथ्वीमा रहँदाको जीवनलाई जनाउँदछ। हामी सबै मृत्युपछि स्वर्ग जान्छौं तर हामीले स्वर्गको तयारी पृथ्वीमा गर्छौं। यदि हामीले पृथ्वीमा परमेश्वरबिहिन जीवन जिउँदै छौं भने हामी व्यर्थ जीवन अर्थात खाली/खोक्रो/उद्धेश्यबिहिन जीवन जिउँदै छौं। 

यसकारण उपदेशक भन्छन्, "दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर– उपदेशक १२:१

सबैथोक हासिल गरेर परमेश्वरबिहिन जीवन जिउनु चाहिँ निक्कै नै पिडादायी कुरा हो। यस्तो जीवनको अन्तिम क्षणहरुमा त्यहाँ केवल आत्मग्लानी-पछुतो मात्र हुन्छ। तर जसले आफ्नो जीवनको यात्रा परमेश्वरसँग पार गरेको हुन्छ, जसले  हरेक परिस्थिति र अवस्थाहरुमा ख्रीष्टलाई अंगालेको हुन्छ, जसले हरेक सुखदुखमा परमेश्वरलाई त्यागेको हुँदैन भलै त्यो व्यक्तिले सोलोमन राजाले जसरी धनसम्पत्ति, ज्ञानबुद्धि, शक्तिसत्ता,प्रतिष्ठा नकमाएको होला उसको जीवनमा पछुतो र आत्मग्लानी थोरै पनि हुँदैन। 

प्रेरित पावलले जीवनको अन्तिम क्षणमा गर्विलो शब्दहरुमा भन्छन्, "मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्‍वासलाई बचाइराखेको छु।" - २ तिमोथी ४:७













Comments