धन्यवादि हुनुको शक्ति
बाइबलले हामीलाई परमेश्वरलाई धन्यवाद दिने आज्ञा दिदँछ,
"परमप्रभुलाई धन्यवाद देओ....." - १ इतिहास १६:३४
"परमप्रभुको प्रशंसा गर। परमप्रभुमा धन्यवाद चढ़ाओ, किनकि उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सधैँभरि रहन्छ।" - भजनसंग्रह १०६:१
"परमप्रभुमा धन्यवाद चढ़ाओ...." - भजनसंग्रह १०७:१
धन्यवाद र प्रशंसा एकआपसमा जोडिएका हुन्छन्। कृतज्ञ नभई हामी पर्याप्त रुपमा परनेश्वरको प्रशंसा र आराधना गर्न सक्दैनौं।
धन्यवादी हुनु भनेको के हो?
"ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ। कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।" - कलस्सी ३:१६-१७
यस खण्डमा प्रयोग गरिएको धन्यवाद शब्दलाई ग्रीकमा यूकेरेष्टेस (εὐχαριστοῦντες/ eucharistountes), भनिन्छ जसको अनुवाद "असल अनुग्रह" हो। यसको अर्थ परमेश्वरको असल अनुग्रह स्वीकार गर्नु वा उहाँको असल अनुग्रहप्रति आभारी हुनु हो।
यो शब्द येशुख्रीष्टले पाँच हजार भीडलाई रोटी भाँच्दा प्रयोग गर्नुभएको थियो।
बाइबलले यसरी भन्दछ,
"उहाँले भीड़लाई भूइँमा बस्ने हुकुम दिनु भएर, सात वटा रोटी हातमा लिई धन्यवाद दिनुभएपछि रोटी भाँच्नुभयो, र मानिसहरूका अगि राख्न भनी चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगि राखिदिए।" - मर्कूस ८:६
साथै उहाँले अन्तिम प्रभू-भोजमा पनि यसलाई उच्चार गर्नुभयो,
तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो।”- मत्ती २६:२६
यसकारण यी खण्डहरुले यस कुरालाई स्पष्ट बनाउँछ कि 'धन्यवाद दिनु' चाहिँ परमेश्वर असल कुराहरुको प्रदायक हुनुहुन्छ भनेर स्वीकार गर्नु हो । बाइबलीय धन्यवाद भनेको उपहारलाई मात्र होइन तर यसको दातालाई स्वीकार गर्नु हो। यो उपहार केन्द्रित भन्दा पनि परमेश्वर केन्द्रित हुन्छ।
बाइबलमा कृतज्ञता अथवा धन्यवादीको सबैभन्दा राम्रो उदाहरण येशु ख्रीष्टको खुट्टा धुने स्त्रीको कथामा पाइन्छ। येशूले लूका ७:४४-४७ मा सिमोनलाई यसको व्याख्या गर्नुभयो,
अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, “यस स्त्रीलाई देख्तछौ? म तिम्रो घरभित्र आएँ, तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाई, र आफ्ना केशले पुछी। तिमीले मलाई चुम्बन गरेनौ, तर यसले त, यहाँ म आएदेखि, मेरा पाउ चुम्बन गर्न छोड़ेकी छैन। तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छे। यसकारण म तिमीलाई भन्दछु, यसका पाप, जो धेरै छन्, क्षमा भएका छन्, किनकि यस स्त्रीले बढ़ी प्रेम देखाई। तर जसलाई थोरै क्षमा गरिन्छ, त्यसले थोरै प्रेम गर्दछ।”- लूका ७:४४-४७
यी स्त्री आफ्ना पापहरुको क्षमा र परमेश्वरको भलाईको निम्ति धन्यवादले यति भरिएकी थिइन कि उनले येशूप्रति आफ्नो कृतज्ञता पोखाउनबाट आफैलाई रोक्न सकिनन।
धन्यवादी हुनुचाहिँ केवल प्रार्थनाका शब्दहरुमा अथवा अनुकुल परिस्थितिमा मात्र सिमित हुँदैन तर परिस्थितिहरुका बाबजुद धन्यवादी हुनुले आत्मिक हाडलाई उर्जा, शारिरीक हृदयलाई शान्ति र मनलाई आनन्दित बनाउँदछ। वास्तवमा धन्यवादी हुनुचाहिँ जिउने जिवनशैली हो। हरेक दिन हामी कृतज्ञतासाथ जिउनुपर्छ।
यो एक असल परिस्थितिमा अथवा जब हाम्रो प्रार्थना को सुनुवाई हुन्छ अथवा जब हाम्रो समस्या टर्दछ त्यस्तो समयहरुमा परमेश्वरप्रति कृतज्ञ हुनु मात्र होइन तर एउटा इसाईको निम्ति प्रश्न चाहिँ यो हो कि तपाईको प्रार्थना को उत्तर नआउँदा अथवा शरीर अस्वस्थताले शिथिल हुदाँ अथवा सोचेका - बनाएका योजनाहरु भताभुङ्ग हुदाँ तपाईको प्रतिक्रिया कस्तो हुनेछ? के तपाई त्यस्तो अवस्था र परिस्थितिहरुबाट गुज्रदै गर्दा पनि धन्यवाद र कृतज्ञ हुनुहुन्छ?
" 'धन्यवाद' कसैले गर्न सक्ने सबै भन्दा राम्रो प्रार्थना हो । म त्यो प्राय धेरै भन्छु। धन्यवादको प्रार्थनाले अथाह कृतज्ञता, नम्रता र समझलाई व्यक्त गर्दछ" - एलाइस वाल्कर
"Thank you’ is the best prayer that anyone could say. I say that one a lot. Thank you expresses extreme gratitude, humility, understanding.” — Alice Walker
धन्यवादी हुनु भनेको हाम्रो जीवनमा परमेश्वरले दिनुभएको आशिषहरुलाई पहिचान गर्नु हो। धेरै पटक हामी हाम्रो जीवनको घटीकमी र अभाव, समस्या र बाधाँहरुको कारण अनगिन्ती आशिषहरुलाई देख्न सकिरहेका हुँदैनौ। तर जसै हामी परमेश्वरप्रति धन्यवादी हुन थाल्छौ, हामी उहाँको आशिषहरुलाई देख्न थाल्छौं।
कृतज्ञता अथवा धन्यवादी हुनुचाहिँ गवाहि हो।
धन्यवादी हुनु चाहिँ परमेश्वरले हामीलाई दिनुभएको हरेक असल थोकहरुको कदर गर्नु हो।
याकूबले भनेझै,
"हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन।" - याकूब १:१७
धन्यवादी हुनाले हामीसँग के छ भन्ने कुराको सधैं हामीलाई सम्झना गराउँदछ। मानिसमा लोभ र असन्तुष्ट प्रवृत्ति हुन्छ। हामीसँग जे छैन हामी त्यसैमा बढि केन्द्रीत हुन्छौं। निरन्तर धन्यवादी हुनुले हामीसँग कति छ भन्ने कुराको हामीलाई सम्झना गराउँदछ। जब हामी चाहनाभन्दा आशिषहरुमा ध्यान केन्द्रीत गर्छौ, हामी खुसी हुन्छौं।
धन्यवाद किन आवश्यक छ?
- कृतज्ञताले परमेश्वरको महिमा गर्दछ/ gratitude glorifies God (2 Corinthians 4:15)
"सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।" - १ थेसलोनिकी ५:१८
प्रियहरु ! जब हामी धन्यवादी र कृतज्ञ हुन थाल्छौ, भलै यसले तपाईले सोचे जस्तो चमत्कार नहोला अथवा हाम्रो परिस्थिति परिवर्तन नहोला, तर यसले हामीलाई परिवर्तन गर्दछ।
- धन्यवादी हुनुले शान्ति ल्याउँदछ /gratitude brings peace
"कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।"- फिलिप्पी ४:६-७
कलस्सी ३:१५
"ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। साँच्चै, तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्यवादी होओ।"
हामी जति धेरै परमेश्वरको शान्तिलाई हाम्रो जीवन नियन्त्रण गर्ने अनुमति दिन्छौं, हामी त्यति नै स्थिर र धन्यवादी हुनेछौं। अर्कोतर्फ, हामी जति धेरै धन्यवादी हुन्छौं, त्यति नै परमेश्वरको शान्तिले हाम्रो हृदय र दिमागलाई शासन गर्नेछ।
- धन्यवादी हुनुले हाम्रो विश्वासको वृद्धि हुँदछ/ gratitude develops our faith
कृतज्ञताले हुनुले हाम्रा समस्याहरुमा नभई परमेश्वरमा हाम्रा विचारहरु राख्दछ। हामी परमेश्वर केन्द्रित हुँदछौ।
- कृतज्ञताले आनन्द ल्याउँदछ/ Gratitude leads to joy
कृतज्ञताको प्रवाह नै आनन्द हो। मानिस त्यति बेला मात्र साँचो रुपमा आनन्दित हुन सक्छ जति बेला ऊ साँचो रुपमा परमेश्वरप्रति धन्यवादी छ। कठिन अवस्थामा पनि परमेश्वरको प्रचुर भलाई महसुस गर्नु आनन्दको प्रवेसद्धार हो। भजनसंग्रह १२६ ले यो स्पष्ट रुपमा देखाउँछ कि परमेश्वरले हिब्रू निर्वासितहरुलाई पुन आफ्नो देश इस्राएलमा फिर्ता ल्याउनुभएकोमा तिनीहरु कति कृतज्ञ र धन्यवादी थिए।
"जब परमप्रभुले सियोनका निर्वासितहरूलाई फर्काएर ल्याउनुभयो, तब हामी सपना देख्नेहरूजस्ता थियौं।
तब हाम्रो मुख हाँसोले, र हाम्रो जिब्रो आनन्दको आवाजले भरिए। तब जातिहरूका बीचमा यसो भनियो, “परमप्रभुले तिनीहरूका निम्ति महान् काम गर्नुभएको छ।” परमप्रभुले हाम्रा निम्ति महान् काम गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौं।" - भजनसंग्रह १२६:१-३
हामी यहाँ एउटा एउटा रहस्यमय कुरा देख्छौं कि जब इस्राएलीहरु परमेश्वरप्रति धन्यवादी भए तब तिनीहरु आनन्दले भरिए, तिनीहरुले वर्षौसम्म निर्वासनमा पाएका चोटहरुलाई भुल्न सके र पन नयाँ हुन सके।
बाइबलले भन्दछ, "सधैँ आनन्दित रहो।" - १ थेसलोनिकी ५:१६
कस्तो व्यक्ति सधैं आनन्दित हुन सक्छ?
त्यहि व्यक्ति जसको हृदय परमेश्वरप्रति कृतज्ञ र धन्यवादी छ।

Comments
Post a Comment