बाइबलिय भण्डारेपन
मण्डलीमा आशिषको खाँचो हुनु, आशिषको खडेरी पर्नु, दर्शनको कार्यमा सधैं भौतिक समस्या देखिनुचाहिँ असल बाइबलिय भण्डारेपनको कमिले हो। मण्डली आफैमा आशिषको श्रोत हो, तर जब मण्डलीमा बाइबलिय भण्डारेहरुको कमि हुन्छ, तब खराब भण्डारेहरुले परमेश्वरको श्रोत र साधनलाई दुरुपयोग गरिरहेको हुन्छ जसको कारण मण्डलीको अवस्थामा कुनै भिन्नता आउँदैन। मण्डली स्थापना भएको २० वर्ष, ३०औं वर्ष वा ४0 वर्ष भैसक्यो तर अवस्था जहिँ को तहिँ, समस्या जसताको तस्तै।
संगती हरेक दिन हुन्छ, प्रार्थना र उपवास भयकंर हुन्छ, मण्डलीमा अन्यभाषा बोल्ने, अगमवाणी बोल्नेको कुनै कमि छैन तरै पनि मण्डलीको अवस्था जहिँ को तहिँ, सधैं ऋणमा, सानो कार्ययोजना तयार गर्नुपर्यो, आर्थिक समस्या, सधैं भौतिक नै समस्या।
किन मण्डलीको अवस्था यस्तो हुन्छ?
कहिले मण्डलीले आर्थिक स्वतन्त्रता र जागृतिलाई अनुभव गर्न सक्छ?
जब मण्डलीमा परमेश्वरप्रति समर्पित बाइबलिय भण्डारेहरु हुन्छ जसले उहाँको श्रोत र साधनहरुलाई उहाँको इच्छाअनुरुप सदुपयोग र खर्च गर्दछ, तब मात्र मण्डलीले आर्थिक उन्नति, स्वतन्त्रता र जागृतिलाई अनुभव गर्न सक्छ। मण्डली आफै खुम्चिएको, समस्या र ऋणमा छ भने, मण्डलीले संसारलाई प्रभाव पार्न सक्दैन। यसकारण पनि येशूख्रिष्टले आफ्नो शिक्षामा भण्डारेपन र व्यवस्थापनलाई विशेष केन्द्रित गर्नुभएको छ।
ख्रिष्टको समयमा भण्डारेचाहिँ घरको व्यवस्थापक हुने गर्थ्यो। भण्डारे सम्पत्तिको मालिक नभएर मालिकको जनधनको रेखदेख गर्ने व्यवस्थापक हुन्थ्यो।
अहिलेको मण्डलीमा भण्डारेको यस धारणालाई बुझाउन अति नै अनिवार्य छ। जब हामी मालिक हौ भनि ठान्छौ, हामी परमेश्वरको श्रोतहरुप्रति ज्यादा गम्भीर हुँदैनौ, हामीले त्यसलाई दुरुपयोग गर्न सक्छौ तर जब हामीले आफु मालिक नभएर केवल भण्डारे भएको महसुस गर्छौं, हामीमा गम्भीरता, डर, वास्ता, आदर पैदा हुन्छ।
एक जवान युवकले जब एक प्रतिष्ठित पाष्टरलाई प्रश्न गर्यो, "पाष्टर, मैले परमेश्वरको सेवाकाई गर्न के विषय लियर अध्ययन गर्नुपर्छ? " तब पाष्टरले थोरै पनि नहिच्कियाई उत्तर दिन्छ, "तिमीले व्यवस्थापन लिएर अध्ययन गर्नुपर्छ ताकि तिमीले परमेश्वरको श्रोत र साधनलाई सदुपयोग गर्न सक्नेछौं"
बाइबलीय भण्डारेपन के हो?
भण्डारेपन नै त्यो विन्दु हो जहाँ विश्वास-काम-आर्थिक सँगै ठोकिदँछ।
अवश्य पनि भण्डारेपन केवल पैसाको विषयमा मात्र होइन तर यसले पैसालाई पनि गाभेको हुन्छ। भण्डारेपनले हाम्रो समय, वरदान, सम्बन्ध र अन्य श्रोतहरुलाई पनि समावेश गर्दछ।
योसेफले मिश्रमा अनिकालको समयमा नगण्य अन्न र धनसम्पत्ति थुपारेको कारणमात्र असल भण्डारे भएको होइन तर उसले आफ्नो दाजुभाइहरुसँगको सम्बन्धलाई मर्न दिएन, सम्बन्धको भण्डारे।
धेरैचोटी मण्डलीमा भण्डारेपन र व्यवस्थापन भन्ने बित्तिकै हाम्रो मगजले पैसालाई समातिहाल्दछ।
'भण्डारेपन'लाई ग्रीकमा 'oikonomos' (Greek: οἰκονόμος, from oiko- 'house' and -nomos 'rule, law') भनिन्छ।
"परमेश्वरको भौतिक चीजबिज, सामग्री, मालसामान, सारजाम, वस्तु, वस्त्र, कपडा, धनसम्पत्ति, समय, वरदान, योग्यता, क्षमता र अन्य श्रोतहरुको रेखदेख गर्नु र ती कुराहरुलाई असल तरिकाले उहाँको इच्छा र योजना अनुरुप प्रयोगमा ल्याउनुलाई बाइबलीय भण्डारेपन भनिन्छ"
भण्डारेपनमा ४ आधारभूत सिद्धान्त :
- स्वामित्वको सिद्धान्त (The principle of ownership) :
भजनकर्ता भजनसंग्रह २४ अध्यायको सुरुवात यसरी गर्छन, "
पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन्"
"तिम्रो प्रत्येक सास, कल्पना गर्न सक्ने शक्ति अथवा पल-पल अंगहरु चाल्न सक्ने क्षमता परमेश्वरले दिनुभएको हो। यदि तिमीले सारा जिवनको प्रत्येक पल परमेश्वरको सेवामा समर्पित गर्यौ भने पनि तिमीले उहाँलाई यस्तो केहि दिन सक्तैनौ जुन पहिले उहाँको थिएन" - सि. एस लुइस (Mere Christianity)
धर्मशास्त्रले परमेश्वरको स्वामित्वको विषयमा बारम्बार बोलेको छ,
भजनसंग्रह ८९:११ "स्वर्ग तपाईको हो, र पृथ्वी पनि तपाईकै हो"
१ कोरन्थी १०:२६ "पृथ्वी र त्यसमा भएका यावत् थोकहरु सबै परमप्रभुकै हुन्"
प्रकाश ४:११ "सबै कुरा तपाईले नै सृष्टि गर्नुभएको हो"
अय्यूब ४१:११ "स्वर्गमुनिका सबै थोक मेरा नै हुन्"
उत्पत्तिको सुरुवातमा परमेश्वरले पृथ्वी बनाउनुभयो र आदमलाई अदनको बगैंचामा काम गर्न राख्नुभयो। यो स्पष्ट छ कि परमेश्वरले मानिसलाई काम गर्न बनाउनुभयो र त्यो काम चाहिँ उहाँको पक्षमा पृथ्वीको भण्डारेपनको थियो।
हामी मालिक होइनौं तर मालिकको पक्षमा काम गर्ने भण्डारेहरु हौं।
“हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला।
तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्नुभएको करार स्थिर गर्नुहुन्छ, जो आजसम्म छँदैछ। - व्यवस्था ८:१७-१८
"परमेश्वर इमान्दार भण्डारे चाहनुहुन्छ"
-जिम्मेवारीको सिद्धान्त (The principle of responsibility):
मालिकको अधिकार हुन्छ तर भण्डारेको जिम्मेवारी हुन्छ।
"तपाईसँग छ भन्दैमा, तपाई त्यसको मालिक हुनुहुन्छ भन्ने होइन" - टोनि इभान
उदाहरण : जब एकदिन जोन वेस्ली कुनै सभामा वचन प्रचार गरिरहेका थिए त्यहि बखत एक व्यक्ति हस्याङफस्याङ गर्दै उनलाई खबर दिए, "वेस्ली जी! तपाईको घर जलेर राक भयो" तब वेस्ली शान्तिपूर्ण रुपमा उनलाई जवाफ फर्काउछन्, "मेरो घर होइन, परमेश्वरको घर हो त्यो। सायद मेरो काधँबाट एउटा जिम्मेवारी कम भएको छ"।
एक इसाईको निम्ति पनि आर्थिक व्यवस्थापन र परिचालन गर्नुपर्ने जिम्मेवारी कठिन हुन सक्छ। परमेश्वरले हामी हरेकलाई एक भण्डारेको जिम्मेवारी सहित बोलाउनुभएको छ। परमेश्वर मण्डलीमा एक असल प्रचारक, भयंकर अन्यभाषा बोल्ने, अन्यभाषा बोल्ने, अच्चम र उदेककको चमत्कारी काम गर्ने व्यक्ति भन्दा पनि एक असल र इमान्दार भण्डारे चाहनुहुन्छ । मैले यसो भन्दै गर्दा यी वरदानहरुलाई तल्लो दर्जा दिन खोजेको होइन, मण्डलीमा यी वरदानहरु आवश्यक छ तर भण्डारेबिनाचाहिँ मण्डलीले यसको उद्देश्य पुरा गर्न सक्दैन।
ठूला-ठूला पाष्टर र सेवक पनि पैसाको मामिलामा फसेको हामीलाई थाहा छ। यसकारण हाम्रो लक्ष्य धेरै पैसा कमाउनु मात्र होइन तर भएकोलाई व्यवस्थापन र सदुपयोग गर्नु हो। मालिकले एक सिक्कावाला नोकरलाई 'दुष्ट' को संज्ञा दिनुको कारण चाहिँ नाफा नकमाएको कारण (एकबाट दुई) होइन तर उसले प्राप्त गरेको श्रोतलाई दुरुपयोग गरेको कारण हो (लूका १९:२२-२३)।
-जवाफदेहिताको सिद्धान्त (The principle of accountability):
जसरी तोडाको दृष्टान्तमा हरेक नोकरले मालिकबाट प्राप्त गरेको हरेक तोडाको हिसाब बुझाएका थिए त्यसरी नै हामी हरेकले परमेश्वरबाट जे पाएका छौं एकदिन हरेक तोडेको हामी जवाफदेहि हुनुपर्ने हुन्छ।
यदि "हरेक व्यर्थको कुरा जो मानिसहरुले बोल्दछन्, न्यायको दिनमा तिनीहरुले त्यसको लेखा दिनुपर्नेछ" (मत्ती १२:३६) भने हामीले परमेश्वरबाट प्राप्त गरेका हरेक श्रोत र साधनको कति बढि जवाफदेहि हुनुपर्नेछ।
तेस्रो नोकर जसले मालिकको तोडालाई दुरुपयोग गरेको थियो, उसको न्याय कसरी हुन्छ?
"यसकारण त्यसबाट यो सिक्का खोस, र जससँग दश सिक्का छ त्यसलाई देओ" - मत्ती २५: २८
"त्यस बेकम्मा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्" - मत्ती २५:३०
एउटा गम्भीर र इमान्दार भण्डारेले सधैं लिखित हिसाब राख्ने गर्दछ। हजारौं वर्षअघि योसेफले हरेक अन्नहरुको हिसाब राखेको कुरा एउटा भण्डारेले सिक्नुपर्छ। एउटा भण्डारेसँग बजेट र खर्चको योजना हुनुपर्छ। एउटासठिक दर्शनबाट ऊ तर्किनु हुँदैन। उसको विश्वास र सिद्धान्तलाई गिराउने कुराहरुसँग उसले सम्झौता गर्दैन। उसले मानिसलाई खुशी होइन तर परमेश्वरलाई रिझ्याउने काम गर्दछ। यस्तो भण्डारेले नै मण्डलीलाई आर्थिक बन्धनबाट स्वतन्त्र पार्न सक्छ।
हाम्रो इसाई समाजमा 'परमप्रभुले जुटाउनुहुन्छ' भन्ने संवाद खुब प्रचल्लित छ। परमेश्वरले पनि असल भण्डारेलाई जुटाउनुहुन्छ। यदि हामी आफै यस कुराप्रति गम्भीर र इमान्दार छैनौ भने स्वयं परमेश्वर पनि केहि गर्न सक्नुहुन्न।
-इनामको सिद्धान्त (The principle of reward) :
कलस्सीको पत्रमा पावल लेख्छन्
"तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ" - कलस्सी ३:२३-२४
असल नोकर जसले मालिकको श्रोतलाई मालिकको इच्छाअनुसार सदुपयोग गरेको थियो, त्यसलाई ख्रिष्ट भन्नुहुन्छ,
"किनभने जससँग छ त्यसलाई अरू दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ" - मत्ती २५:२९

Comments
Post a Comment