एउटै शरीर: भिन्न-भिन्न अङ्ग (एकता :ἑνότης, henotēs (G1775)
यो एउटा असल मण्डलीको तस्बिर हो। यस तस्बिरलाई हामी १ कोरन्थी १२ अध्यायमा भेट्न सक्छौं,
"किनकि जस्तो शरीर एक छ, र त्यसका धेरै अङ्गहरू हुन्छन्, र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्छ, ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ।
किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौं– यहूदी वा ग्रीक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो। किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्छ। यदि खुट्टाले “म हात होइनँ, यसैले म शरीरको अङ्ग होइन” भन्यो भने, के त्यो शरीरको अङ्ग हुँदैन र? र कानले “म आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ” भन्यो भने, त्यो शरीरको अङ्ग हुँदैन र? यदि जम्मै शरीर आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि जम्मै शरीर कान हुँदो हो त सुँघ्ने कहाँबाट? तर परमेश्वरले आफ्नो इच्छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ" (१२-१८)।
मण्डली महङ्गो र भव्य भवनले होइन तर मण्डली त्यति बेला सुन्दर हुन्छ जति बेला मण्डलीले एउटै शरीर तर भिन्न-भिन्न अङ्गहरुले जसरी कार्य गर्दछ। मण्डलीको सुन्दरता यसैमा देखिन्छ। हाम्रो शरीरमा भएको सम्पूर्ण अङ्गहरु एकअर्काभन्दा कति फरक छ तर पनि यी अङ्गहरुले एकआपसमा कति साझेदारी र मिलापमा कार्य गर्दछ। कान आँखाभन्दा, हात खुट्टाभन्दा, मुख नाकभन्दा सम्पूर्ण कोणबाट बिल्कुलै फरक छ तरै पनि यी अङ्गहरु एकआपसमा एक भएर एउटा अर्काको सहारा भइदिएको हुन्छ।
स्वयम येशूख्रिष्टले मण्डलीको यस तस्बिरको निम्ति प्रार्थना गरिदिनुभएको छ।
"कि तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्। जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्। म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्" - यूहन्ना १७:२१-२३
धेरैपटक शैतानले मण्डलीको एकतामाथि नै हमला गर्छ किनभने यो स्वयम ख्रिष्टको निम्ति विशेष र अनमोल थियो। जे ख्रिष्टको निम्ती महत्वको र अनमोलको थियो, त्यो हाम्रो निम्ति पनि महत्वको र अनमोलको हुनुपर्छ। धेरैपटक मण्डलीले अन्य विषयहरुमा बढो चाख दिएर त्यसैमा केन्द्रित भइरहेको हुन्छ तर मण्डलीको एकतामा भने खासै चासो हुँदैन।
-यो सैद्धान्तिक रुपमा महत्वपूर्ण छ।
पावल एउटै परमेश्वर हुनुहुन्छ भन्ने सिद्धान्तलाई अघि सार्छन। एउटै सुसमाचारले एउटै परमेश्वरकहाँ डोर्याउँछ।
"शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ– जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ– एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ" - एफिसी ४:४-६
पावलको शिक्षामध्ये सबैभन्दा शक्तिशाली धारणा (powerful concept) 'मण्डली एउटा परिवार' भएको धारणा हो। जब परिवारको कुरा आउँदछ, त्यहाँ एकताको सधैं अस्तित्व हुन्छ।
एउटा जंगली जनावरको परिवारमा पनि एकता हुँदछ। मण्डली एउटा परिवार भएको कारण यहाँ एकता अनिवार्य हुन्छ। एकताबिना मण्डलीचाहिँ अस्तित्वमा हुन सक्तैन।
उदाहरण : एक्लै एकान्तमा बढ्ने रुख हावाहुरीले गर्दा सुरिलो र अग्लो हुन सक्तैन तर जंगलमा अरु रुखहरुसँग एकसाथ हुर्किने रुखले हावाहुरी र बतासको सामना गर्न सक्छ र त्यो रुख सुरिलो अनि अग्लो हुन्छ साथै अरु रुखहरुसँगै हुर्किने रुखमा गिर्खा /काटाँ हुँदैन किनकि एकसाथ हुर्कदै गर्दा कम दुरीको कारण रुखमा हाँगा लाग्दैन जसको कारण रुख सुरिलो र अग्लो हुने गर्दछ र असल काममा प्रयोग हुँदछ।
जब हामी पनि एकअर्कासँग मिलापमा एकले अर्कोलाई आदर गर्दै नम्रताको साथ एकतामा रहन्छौ, तब हामी पनि त्यो रुखजस्तै आत्मिकी उचाँईमा पुग्न सक्छौं। एकताले हामीमा भएको कमीकमजोरी जस्ता गिर्खाहरुलाई सुधारेर अघि बढ्न मदत मिल्दछ।
- यो शक्तिशाली गवाहि/साक्षी हो।
जब हामी एकतामा रहन्छौं, यो मानिसहरुको निम्ती शक्तिशाली साक्षी बन्न सक्छ। जुन संसारमा अनेकता र विभिदताले ठाउँ ओगटेको छ, त्यस्तो परिभेषमा एकता शक्तिशाली गवाहि बन्न सक्छ। मानिसको सोच्ने शैली, रहनसहन, विचार, धारणा, आस्था हरेकमा भिन्नता सहजै देख्न र अनुभव गर्न सकिन्छ। मानिस सजिलै अरुको विचारमा असहमत भइदिन्छ। कसैले जिवनलाई मोजमस्तीको दृष्टिकोणले हेरेको हुन्छ, उसले यो जिवनलाई आनन्दमय बनाउन मादक पदार्थ, कुलत, चुरोटजस्ता माध्यमहरुको सहारा लिन्छ त कसैले जिवनको लक्ष्य रुपियाँपैसा र शक्तिलाई बनाएको हुन्छ। जब ईशाइहरु एकतामा रहन्छ, यसले मानिसको मगजलाई उलटपुलट पार्ने सामर्थ्य यसमा हुन्छ। पहिलो शताब्दीमा यस्तै घटना घटेको छ। जब मण्डलीहरुमा सतावट आयो, ख्रिष्टका चेला र अनुयायीहरुलाई पिडा दिदै झ्यालखानाहरुमा कोचियो, मण्डली थोरै पनि विचल्ली नभई एकताकासाथ आफ्नो विश्वासमा अडिग रहे। प्रार्थनामा समय विताए, परमेश्वरमा एक भएर लागिरहे । संसारले ख्रिष्टका चेलाहरू र अनुयायीहरुलाई दिनसम्म पिडा दिए र उनीहरुले अन्तमा ज्यान लिन बाध्य भए तरै पनि उनीहरुको विश्वासमा थोेरै पनि कमी आएन। फलस्वरुप अन्तमा संसारले परमेश्वरको योजना र मण्डलीको एकताको अघि घुँडा टेक्न बाध्य भयो। रोमी सरकारले ख्रिष्टयान धर्मलाई राष्ट्रिय धर्म घोषणा सम्म गरेको इतिहास हामी पढ्न पाउँछौं।
यो सबै किन र के कारण भयो त? ईशाइ एकताको कारण : जब मानिसहरुले ईशाइहरुको विश्वासमा एकता र मण्डलीको साहस अनि परमेश्वरमाथिको भयानक भरोसालाई देखे, उनीहरु पनि अचम्मित भए र सोच्न बाध्यँ भए 'साँच्चै ख्रिष्टमा जिवन पो छ कि के हो?', 'यदि झुटो हो भने त यिनीहरु यति ठूलो सतावटमा हार्नु पर्ने, समर्पण गर्नुपर्ने तर यिनीहरुको जोस र विश्वासलाई यति बलियो गरि पक्रि राख्नुको पछाडी गहिरो रहस्य छ'
- एकताबिना मण्डलीले परमेश्वरको उद्धेश्य र दर्शन पुरा गर्न सक्तैन।
मण्डलीको अस्तित्वको मूल कारण परमेश्वरको इच्छा पुरा गर्नु हो यसैकारण पनि मण्डली संसारको पार्टी, संघसस्था र व्यापारहरुभन्दा भिन्न र नौलो छ। यसको कार्यशैली, तौरतरिका, उद्धेश्य र दर्शनमा फरकता देखिन्छ।
परमेश्वरले हामीलाई महान उद्धेश्य र दर्शनकाे जिम्मेवारी दिनुभएको छ जुन हामी एक्लै-एक्लै, टुटेर- फुटेर पुरा गर्न सक्तैनौ। यसको निम्ती हामीलाई एकअर्काको आवश्यकता पर्दछ । 'म एक्लै गर्न सक्छु, मलाई कोहि चाहिँदैन' भन्नुचाहिँ हाम्रो भ्रम र घमण्ड हो। यसकारण पनि बाइबलले भन्दछ,
"दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। यो त शिरमा लगाइएको मूल्यवान् तेलजस्तो हुन्छ, जो हारूनको दाह्रीसम्म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्मै बगेर जान्छ" - भजनसंग्रह १३३:१-२
'मलाई मण्डली नजाने परमेश्वरबाट अगुवाई भो' भन्नुचाहिँ परमेश्वरको नाउँमा ढाट्नु हो। जुन परमेश्वरले हामीलाई मण्डली परिवारमा बसाल्नुभो, उहाँले त्यस पररिवारबाट अल्ग्याउने काम गर्नुहुन्न। उहाँ तपाई मण्डलीमा सहभागी भएको चाहनुहुन्छ।
त्यहाँ हामी हरेकले पुरा गर्नुपर्ने जिम्मेवारी छ। मण्डलीको भार र बोझ केवल पाष्टर र अगुवाको जिम्मेवारी मात्र होइन। अवस्य पनि उहाँहरु अभिषिक्त जनको हैसियतले जिम्मेवारी को ढाचाँमा बढी महत्वपूर्णता देखिन सक्छ तर हामीहरुको जिम्मेवारी पनि कम महत्वपूर्णको भने छैन।
मण्डलीले कसरी कार्य गर्ने भन्ने प्रश्नमा पुरानो करारमा हामी मोशाको जिवनमा घटेको एउटा घटनाबाट सिक्न सक्छौं :
जब मोशा त्यति ठूलो इस्राएली जनसंख्याका साथ परमेश्वरले दिनहुने कनान देशतिर लाग्दै थिए, हरेक क्षेत्रमा हरेक विषयहरु मोशा आफैले हेर्नुपर्ने भएकाले सायद मोशा निराश थिए। उनका ससुरा यित्रोले उनलाई इस्राएलीहरुबिचबाट इमान्दार, विश्वासीला, अब्बल र योग्य मानिस चुन्ने सल्लाह दिए जसले परमेश्वरको भय मान्छ। उनीहरुलाई दश-दश, पचास-पचास, सय-सय, हजार-हजार इस्राएलीहरुबिच अगुवाई गर्ने जिम्मेवारी दिनु भनि सल्लाह दिन्छन। यसलाई हामी जिम्मेवारीको बाडँफाडँ/ विभाजन (Division of responsibility) भन्छौं। यहाँ पदको बाडँफाडँ होइन तर कार्यको बाडँफाडँ भएको स्पष्ट देख्न सक्छौ।

Comments
Post a Comment