परमेश्वर प्रेम हुनुहुन्छ।
जसले परमेश्वरलाई चिनेको छैन, उसले कहिल्यै प्रेम गर्न सक्तैन किनकि परमेश्वर प्रेम हुनुहुन्छ। यदि कसैले प्रेमलाई चिन्न चाहन्छ भने उसले परमेश्वरलाई चिन्नुपर्ने हुन्छ।
प्रेमचाहिँ केवल परमेश्वरले गर्ने कार्यमात्र नभएर स्वयम परमेश्वर हुनुहुन्छ। हामीलाई प्रेम त उहाँले गर्नुहुने धेरै कार्यहरुमध्ये एउटा हो जस्तो लाग्छ तर परमेश्वर नै प्रेम हुनुहुन्छ। उहाँको चिनारी प्रेम हो। उहाँको नाम र थर प्रेम हो।
परमेश्वर प्रेम हुनुहुन्छ र उहाँ अनन्तदेखि नै समयको सुरुवात नहुँदै हुनुहुन्थ्यो। यसको मतलब उहाँ मानिस बनिनु अघि नै प्रेम गर्नुहुन्थ्यो तर कसलाई? आफैलाई। हो, किनकि हाम्रो परमेश्वर त्रिएक व्यक्तित्वमा हुनुहुन्छ : परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर आत्मा। यी तीन व्यक्तित्वहरु बिच प्रगाढ माया, प्रेम र आदर हुन्छ। तब परमेश्वर पिताले आफ्नो पुत्रलाई औधी माया गर्नुभएको कारण उहाँले पुत्रजस्तै अरु पुत्रहरु चाहनुभयो किनकि उहाँ पुत्रबाट अति प्रसन्न हुनुहुन्थ्यो। यसकारण उहाँले मानिसलाई बनाउनुभयो जसलाई आफ्नै पुत्रको स्वरुप र प्रतिरुपमा बनाउनुभयो र यस मानिसलाई पनि उहाँले प्रेम गर्नुभयो किनकि यस मानिसमा उहाँले पुत्रको स्वरुप देख्नुभयो। उहाँ यहि मानिससँग संगती गर्नुहुन्थ्यो, कुरा गर्नुहुन्थ्यो, सिकाउनुहुन्थ्यो र समय बिताउनुहुन्थ्यो। तर जब शैतानले परीक्षा लियो तब मानिसले परमेश्वरको प्रेम र व्यवस्थालाई लत्याएर शैतानको झुटो र भ्रष्ट लालचमा फस्न पुग्छ। शैतानले भन्छ, 'यदि तिमीहरुले प्रतिबन्धित फल खायौ भने तिमीहरु परमेश्वर जस्तै हुन्छौ' तर मानिसले यो बुझ्न सकेन कि उनीहरु पहिल्यै परमेश्वरको स्वरुप र प्रतिरुपमा बनाइएका थिए। त्यसपश्चात मानिस र परमेश्वरबिचको सम्बन्ध टुट्यो। जब प्रेमको सम्बन्ध टुट्छ, यसलाई जोड्न एकदम कठिन हुन्छ। टुटेको प्रेमलाई जोड्न त्यहाँ बलिदानको आवश्यकता पर्दछ। जब श्रीमानले श्रीमतीको चित्त दुखाउँछ, तब त्यहाँ गोजिको रकम बलिदान गरेर उपहारले पुन फकाउनुपर्ने हुन्छ (हाँसोको लागी मात्र) ।
परमेश्वरले मानिसलाई पनि त्याग्न चाहनुभएन तर पुन सम्बन्धमा जोड्न चाहनुभयो किनभने उहाँ मानिसलाई प्रेम गर्नुहुन्थ्यो। परमेश्वरले कठिन निर्णय लिनुपर्ने भयो, उहाँले मानिसप्रतिको प्रेमको खातिर आफ्नो एकलौटे पुत्रलाई बलि स्वरुप पृथ्वीमा पठाउनुपर्ने भयो र यसको निम्ति पुत्र तयार हुनुभयो किनकि पुत्रले पनि पितालाई औधि प्रेम गर्नुहुन्थ्यो र उहाँको चिन्ता र पिडालाई देख्न सक्नुभएन।
सबै कुराको निर्णय भयो, त्यसपश्चात परमेश्वरले शैतानलाई भन्नुभयो, "तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।” - उत्पत्ति ३:१५
यो निर्णय एउटा पिताको निम्ति कत्ति कठिन हुन्छ, हामी कल्पना पनि गर्न सक्तैनौ किनकि हामी कसैले पनि आफ्नो सन्तानलाई बलिदानको निम्ति दिनु परेको छैन। म मण्डलीलाई प्रश्न गर्न चाहन्छु, यस प्रेमको हामीले कत्ति आदर गर्नुपर्छ? के हामीले गरेका छौं?
परमेश्वरले आफ्नो पुत्रको कठोर मृत्युलाई एक पटक मात्र होइन तर २ पटक अनुभव गर्नुपर्यो।
"आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु" - यशैया ४६:१०
'Declaring the end from the beginning'- KJV
अन्तलाई सुरुवातबाटै घोषणा गर्नु
बाइबलमा हामी परमेश्वरले उहाँ आफैलाई प्रेम गर्न आज्ञा गर्नुभएको भेट्टाउछौं जसलाई हामी प्रथम र महान आज्ञा भन्छौं।
"उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू। महान् र प्रथम आज्ञा यही हो।" - मत्ती २२:३७-३८
यस आज्ञालाई 'शिमा यिज्राएल/Shema Yisrael' भनिन्छ जुन बालकलाई सिकाइने पहिलो प्रार्थना थियो।
व्यवस्था ६:४-५
सामान्य रुपमा हेर्दा यो कुनै एक स्वार्थी, आफु केन्द्रित र घमन्डी व्यक्तिको वाक्यांश जस्तो लाग्न सक्छ ।
हामीलाई यस खण्डले धेरै प्रश्नहरु खडा गरिदिन सक्छ।
के कसैले प्रेमको निम्ति आज्ञा दिएर प्रेम हुन्छ त?
आज्ञाचाहिँ हाम्रो इच्छाबिपरित पनि हामीले पालना गर्नुपर्ने हुन सक्छ, के त्यसो हो भने इच्छाबिना पनि प्रेम हुन सक्छ र?
किन महान र प्रथम आज्ञा प्रेमको छ?
किन परमेश्वर हाम्रो प्रेम चाहनुहुन्छ?
- परमेश्वरलाई हाम्रो प्रेम आवश्यक भएको कारण होइन
परमेश्वर आफैमा आत्म-अस्तित्व (aseity) हुनुहुन्छ। हाम्रो प्रेमबिना पनि उहाँ अस्तित्वमा हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनुहुनेछ।
- परमेश्वर आफू केन्द्रित भएको कारण होइन
Narcissist : एक व्यक्ति जो आफ्नो अत्यधिक चासो वा प्रंशसा वा आफूतिर अरुको ध्यान खिचाउन चाहन्छ। उहाँ स्वार्थी हुनुहुन्न न त उहाँ मानिसहरुको ध्यान (attention addict) नै चाहनुहुन्छ। उहाँ आफैमा आत्मनिर्भर हुनुहुन्छ।
- परमेश्वरले असुरक्षित महसुस गर्नुभएको कारण होइन
कारण :
परमेश्वर प्रेम हुनुहुन्छ (१ यूहन्ना ४:१६)
प्रेम पुर्ण हुन सम्बन्धमा हुनुपर्ने हुन्छ। प्रेम अस्तित्व हुन यो सम्बन्धमा हुन जरुरी हुन्छ। परमेश्वर प्रेम हुनुहुन्छ तर प्रेम परमेश्वर होइन। यसकारण परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र यस सम्बन्धमा हामीबाट उहाँले प्रेम चाहनुहुन्छ।
हामी परमेश्वरको स्वरुप र उहाँको प्रतिरुपमा बनाइएका छौं। उहाँले हामीलाई उहाँसँगको सम्बन्धमा रहनुपर्ने गरि आकार दिनुभएको छ। उहाँलाई प्रेम गर्नु उहाँको आवश्यकता होइन तर हाम्रो बाध्यता र आवश्यकता हो। जब हामी परमेश्वरलाई प्रेम गर्दैनौ, हामीले हरेक कुरालाई स्वार्थी प्रेम गरिरहेका हुन्छौं।
यो आज्ञा चाहिँ मेकानिकले बाइक गुड्न बाइकको मोबिल फेर्नुहोस भनेर आज्ञा दिएजस्तै हो किनकि बाइकलाई त्यसरी आकार दिइएको हुन्छ। त्यसरी नै हामी पनि परमेश्वरलाई प्रेम गर्नैपर्ने गरि आकार दिइएका छौं, जब हामी उहाँलाई प्रेम गर्दैनौ, हामी पुर्ण रुपमा काम गर्न सक्तैनौ।
"मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु। मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकूँला, र पहाड़हरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ। यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन" - १ कोरिन्थी १३:१-३
Comments
Post a Comment