उद्धेश्य र बोलावट

 

तपाईको जिवनको उद्धेश्य के हो, त्यसैको आधारमा तपाईले परमेश्वरबाट 
बोलावट पाउनुहुन्छ। यदि तपाईको जिवनको उद्धेश्य नितान्त परमेश्वरको 
सेवाकाईको हो भने तपाईले बोलावट पनि सेवाकाईकै प्राप्त गर्नुहुनेछ नकि 
व्यापार व्यवसायको, यसैगरि यदि तपाईको जिवनको उद्धेश्य खेलकुद, 
मिडिया, संगीत या अन्य कुनै छ भने तपाईले परमेश्वरबाट बोलावट
 पनि त्यहि क्षेत्रको निम्ति पाउनुहुनेछ किनकि उहाँलाई हाम्रो जिवनको 
उद्धेश्य थाहा छ। माछाको उद्धेश्य (purpose) पौड्नु हो, तपाई माछाले 
रुख चढेको चाहनुहुन्छ भने त्यसले रुख चढ्न सक्तैन।हामी कुन कुराको 
निम्ति बनिएका हौं, परमेश्वरलाई थाहा छ, र त्यसैको निम्ति हामीलाई 
बोलाउनुहुन्छ। 
"यसकारण, म प्रभुको निम्‍ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक 
बिन्‍ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्‍यको 
जीवन यापन गर" - एफिसी ४:१
कत्तिले भावनामा बगेर सेवाकाई गर्न खोज्दछ, अथवा 'मलाई त यो 
कुराको निम्ति परमेश्वरबाट अगुवाई मिल्यो...भन्छ, तर हामीले 
गम्भीरतापूर्वक आफैसँग प्रश्न गर्नुपर्ने हुन्छ, साँच्चै मेरो बोलावट के हो त? 
एक इसाईले गर्ने ठूलो गल्ती परमेश्वरको बोलावटलाई नबुझ्नु हो। हामीले
आफ्नै स्व-इच्छामा कार्यहरु गरिरहेका हुन्छौं र जब हाम्रा योजनाहरु विफल 
हुन्छन् हामी छिट्टै निराश हुन्छौं । बिभिन्न क्षेत्रबाट हामीले परमेश्वरको 
राज्यमा प्रभावशाली कार्य गर्न सक्छौं, यो उहाँलाई थाहा छ, यसकारण 
उहाँले हामीलाई भिन्न-भिन्न उद्धेश्यका साथ यस पृथ्वीमा राख्नुभएको छ। 
कसैलाई व्यापार-व्यवसायको दुनियाँमा, कसैलाई मिडियाको क्षेत्रमा,
कसैलाई खेलकुदको क्षेत्रमा,कसैलाई राजनैतिक क्षेत्रमा त कसैलाइ 
नितान्त सेवाकाईको क्षेत्रमा तर यी सबैको अन्तिम लक्ष्य (ultimate 
goal) भनेको परमेश्वरको राज्य र उहाँको महिमा हो। परमेश्वरले 
तपाईलाई जथाभावी बोलाउनुहुन्न किनकि त्यो जोखिमपूर्ण हुन सक्छ। 
पहिलो तपाईमा त्यस कुराको निम्ति अभिषेक हुँदैन, परमेश्वरको आत्मा 
हुँदैन। हामीलाई याद छ कसरी उज्जियाह राजाले जबरजस्तीका साथ 
मन्दिरमा परमेश्वरको निम्ति धुप बाल्न खोजेका थिए तर त्यस कामको
निम्ति परमप्रभुले राजालाई होईन तर पुजाहारीलाई बोलाउनुभएको, 
चुन्नुभएको र ग्रहण गर्नुभएको हो। 
तर पूजाहारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पूजाहारीहरू 
राजा उज्‍जियाहको पछिपछि गई तिनको सामना गरेर तिनलाई भने, 
“हे उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन। 
यस कामको निम्‍ति त अर्पण गरिएका हारूनको वंशका पूजाहारीहरू
छन्‌। पवित्रस्‍थानबाट हटिजानुहोस्‌, किनभने तपाईंले विश्‍वासघात 
गर्नुभएको छ। परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन।” 
२ इतिहास २६:१७-१८
तब यस गलत कार्यको निम्ति परमेश्वरले उज्जियाह राजालाई कुष्ठरोगद्धारा 
दण्ड दिनुभएको छ। उज्जियाहले रोगमात्र होइन तर आफ्नो सम्पूर्ण राजगद्दी 
पनि गुमाएका छन्। यहाँ हामी स्पष्ट रुपमा बोलावटको महत्व देख्न सक्छौं। 
परमेश्वरले बोलावटलाई गम्भीरताका ‌साथ लिनुहुन्छ। 
परमेश्वरको सेवाकाई हाम्रो श्रोतसाधन, पहुँच, बलशक्ति, बुद्धिले हुँदैन तर 
यसको निम्ति उहाँबाट बोलावट हुन आवश्यक छ। यदि बोलावटमा कार्य 
गर्छौ भने यी यावत थोकहरुबाट लाभ भने अवश्य मिल्नेछ। परमप्रभुले
 शमूएललाई राजाको निम्ति बोलाउनुभएन तर पुजाहारी/न्यायकर्ताको
बोलावट दिनुभयो तर उहाँले राजाको निम्ति शावललाई चुन्नुभयो। 
बाइबलमा परमप्रभुले बजलेललाई कारीगरीको निम्ति चुन्नुभयो र सम्पूर्ण 
वरदान, सीप, र प्रतिभाले भन्नुभयो, 
"मैले त्‍यसलाई परमेश्‍वरका आत्‍माले, र सीप, दक्षता र सबै किसिमका 
कारीगरीको ज्ञानले परिपूर्ण पारेको छु" - प्रस्थान ३१:३
धेरैचोटि हामी परमेश्वरको सेवाकाई गर्नेहरुले मात्र उहाँको बोलावट 
पाउँछन् भनि सोच्छौं, त्यो सत्य हो किनभने परमेश्वरले जोकोहिलाई 
बोलाउनुहुन्न तर हामी हरेकले परमेश्वरको सेवा गर्न सक्छौं भन्ने 
सत्यताचाहिँ बिर्सिन्छौं । एउटा ट्याक्सी चालकले पनि परमेश्वरको 
सेवा गर्न सक्छ, एउटा पसल साहुले पनि परमेश्वरको सेवा गर्न सक्छ 
एउटा ज्यामी काम गर्ने व्यक्तिले पनि सेवाकाई गर्न सक्छ। परमेश्वरको 
सेवा गर्न तपाई प्रचारक, पाष्टर, अगमवक्ता नै हुनुपर्छ भन्ने छैन। 
बजलेललाई परममप्रभुले एक कारीगरीको रुपमा बोलाउनुभएको छ। 
के ऊ परमेश्वरको नजरमा मोशाभन्दा कम महत्वको थियो त? अवश्य 
पनि थिएन। हामी हरेकले आफ्नै क्षेत्रबाट परमेश्वरको सेवा गर्न सक्छौं 
तर जब हामी परमेश्वरको इच्छा र बोलावटभन्दा बाहिर गएर 
काम गर्छौ, हामी हाम्रो उद्देश्य पुरा गर्न असफल हुन्छौं। 
हामीले हाम्रो आफ्नै इच्छा होइन तर परमेश्वरको इच्छालाई खोज्न
 सिक्नुपर्छ। 

परमेश्वर हरेकलाई बोलाउनुहुन्छ :
परमेश्वर हरेकलाई बोलाउनुहुन्छ तर हरेकको बोलावट
 एउटै हुँदैन।
"प्रभुले हरेकलाई जस्‍तो जीवन खटाउनुभएको छ र जस्‍तो 
स्‍थितिमा बोलाउनुभएको छ, सोहीबमोजिम त्‍यो चलोस्‌। 
सबै मण्‍डलीहरूका निम्‍ति मेरो नियम यही हो" 
१ कोरन्थी ७:१७
पावल यहाँ हरेकको बोलावट उनी जस्तै प्रचारक र 
मिशिनरीको हुन्छ भन्दैनन् तर हरेकले आफ्नो 
बोलावट अनुसार जिउनुपर्ने बताउँछन्।

बोलावट परमेश्वरको वचनबाट तर्किने बहाना हुनुहुँदैन :
धेरैचोटी हामीले गर्नुपर्ने जिम्मेवारीहरुबाट तर्किन हामी बोलावटलाई 
बहानाको रुपमा प्रयोग गरिरहेका हुन्छौं। संगती जाने इच्छा भएन
 भने हामी सहजै 'आज मलाई संगती जाने बोलावट भएन, अगुवाई 
नै भएन... ' भनेर संगती जानुपर्ने जिम्मेवारीबाट तर्किन खोज्छौं तर 
बाइबलले स्पष्ट रुपमा संगती जानुपर्ने आज्ञा गरेको छ। 
कत्ति जना आफ्नो छिमेकीलाई प्रेम गर्ने बोलावट, अगुवाई नै 
नभएको भनेर छिमेकीलाई प्रेम गर्नुपर्ने बाइबलको आज्ञाबाट तर्किन 
खोज्छन्। एउटा इसाईले परमेश्वरको आज्ञाबाट तर्किन बोलावटलाई 
बहाना बनाउन मिल्दैन।
 आज्ञा हाम्रो इच्छामुताबिक चल्दैन। भलै तपाईलाई इच्छा होस या 
नहोस्, तपाईलाई मन परोस या मन नपरोस तपाईले त्यसलाई पालना
 गर्नैपर्छ किनकि त्यसैमा तपाईको भलाई छ अनि हाम्रो परमेश्वरचाहिँ 
हाम्रो भलाई चाहनुहुने परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रो कुभलो भएको 
चाहनुहुन्न यसकारण बाइबल आज्ञाहरुले भरिएको छ। 

"हामी जान्‍दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार 
बोलाइएकाहरूका निम्‍ति हरेक कुरामा
 परमेश्‍वरले भलाइ नै गर्नुहुन्‍छ" - रोमी ८:२८

बोलावट के हो? 
बोलावटलाई जनाउने ग्रीक शब्द 'क्लेसीस'/Klesis हो। 
- बोलावट तपाईको उद्धेश्य पुरा गर्ने जिम्मेवारी हो।
 "यस हेतुले हामी तिमीहरू सबैका निम्‍ति निरन्‍तर प्रार्थना पनि गर्छौं, 
कि हाम्रा परमेश्‍वरले 
तिमीहरूलाई आफ्‍नो बोलावटको योग्‍य बनाऊन्‌, र हरेक असल 
उद्देश्‍य र विश्‍वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदेऊन्‌.." 
 २ थेसलोनिकी १:११

- यो एउटा विशेष काम र जिम्मेवारीको निम्ति तपाईलाई
 परमेश्वरको निमन्त्रणा हो।

- यो परमेश्वरद्धारा चुनिनु र नियुक्ति हुनु हो। 
बोलावट यसको प्रमाण हो। 
परमेश्वरले यर्मियालाई उनको जन्मअघि नै चुन्नुभयो र 
अगमवक्ताको रुपमा बोलाउनुभयो, 
“मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ,  
तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें।  मैले तँलाई जाति-
जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”- यर्मिया १:५

बोलावटको अन्तिम लक्ष्य उद्धेश्य हो:
बोलावट पाएपश्चात हामी रोकिने होइन तर उद्धेश्यतर्फ लम्कनुपर्ने हुन्छ।
 यसैको खातिर त तपाईलाई परमेश्वरले बोलाउनुभएको हो। 'म त अभिषित्त 
जन हो, म स्वयम परमेश्वरद्धारा चुनिएको र बोलाइएको हो..' भनेर घमन्ड 
गर्दै अल्मलिने होइन तर बोलावट पाएपश्चात अझ मेहेनति र परिश्रमी, 
अझै बढी नम्र र इमान्दारताकासाथ उद्धेश्यप्रति हामी बफादार हुनुपर्छ। 
पावल भन्छन, "ख्रीष्‍ट येशूमा परमेश्‍वरको स्‍वर्गीय बोलावटमा पाइने 
पुरस्‍कारको निम्‍ति निशानातिर (उद्धेश्यतिर) म जोड़सँग अगि बढ्‌दछु" 
फिलिप्पी ३:४

सिक्नुपर्ने कुराहरु :
पहिलो, बोलावटका साथ उद्धेश्यमा दौडनुपर्ने । यहाँ हामी पावल 
बोलावटका साथ उद्धेश्यतर्फ दौडेको कुरालाई थाहा गर्न सक्छौं। अर्को 
शब्दमा, बोलावटबिना दौड्नुचाहिँ हाम्रो आफ्नै स्व-इच्छाले, हाम्रो 
आफ्नै स्वार्थमा दोड्नु हो। 
दोस्रो, निशानातर्फ अर्थात उद्धेश्यतर्फ जोडसँग दौड्नुपर्ने। किनकि 
उद्धेश्य पुरा गर्न हामीसँग सधैंभरिको समय छैन तर केवल सिमित समय 
मात्र छ। तपाई कति लामो उमेर बाँच्नुहुन्छ भन्दा पनि कसरी बाँच्नुहुन्छ भन्ने कुरा 
परमेश्वरको नजरमा बढि माइने राख्छ। 

Comments