मण्डलीमा सम्बन्ध कसरी निर्माण गर्ने?
मण्डली भवन होइन तर परमेश्वरको मानिसहरु हुन। जहाँ मानिसहरुको उपस्थिति हुन्छ, त्यहाँ सम्बन्ध हुन्छ।
सम्बन्ध परमेश्वरको सुन्दर उपहार हो। मानिसलाई एक्लै होइन तर सम्बन्ध भित्र बाँच्न सृष्टि गरिएको थियो।अदनको बगैंचामा मानिसको सम्बन्ध स्वयम परमेश्वरले गाँसिदनुभयो। जब परमेश्वरले आदमलाई एक्लै देख्नुभयो तब उहाँले भन्नुभयो, "म त्यसको निम्ति सुहाउने एक जना सहयोगी बनाउने छु।"
धेरै पटक सम्बन्धलाई हामीले परमेश्वरबाटको आशिषको रुपमा लिदैनौ जसको कारण हाम्रो सम्बन्धहरु भत्किएको, टुक्रिएको र कमजोर पाउँछौँ। हामीले सम्बन्ध हिफाजत गर्नुपर्छ। बलियो सम्बन्ध लगानीको परिणाम हो। जब हामी सम्बन्धलाई हिफाजत गर्छौं, यसको निर्माणमा मेहेनत र लगानी गर्छौं, सम्बन्धहरु सुमधुर, बलियो र परिपक्व देखिन्छ।
स्वस्थ मण्डलीको लागि सम्बन्धहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन्। सम्बन्धहरूले हामीलाई सही मार्गमा डोर्याउँछ र एक्लोपनको समयमा राहत दिन्छ। हामी एक-अर्कासँग र येशूसँगको सम्बन्धमा हुने विकासलाई महत्त्व दिन्छौं। एक-अर्कासँगको सम्बन्धको जग अझ बलियो बनाउँदै अघि बढ्दा हामी सँगै हिँड्छौं र कसैलाई पनि पछाडि छोड्दैनौं।
हाम्रो सम्बन्धहरुमा प्रेम, आदर, क्षमा, आत्मसंयम र कृपालु हृदय हुन आवश्यक छ। धेरैपटक हामी आफैंलाई न्यायकर्ताको आशनमा राखेर अरूको केके कुराहरु गलत छ भनि न्याय गर्न थाल्छौं। यसले सम्बन्धहरु कमजोर हुन्छ। मानिसहरु हामीसँग सम्बन्धमा बस्न हिच्किचाउँछन्। धेरैपटक हाम्रो कठोर शब्दहरु मानिसहरुको निम्ति असहज र असहय भएको हुन सक्छ। हामीले के बोल्ने र के नबोल्ने जान्नुपर्छ। भनिन्छ, "बोली चाँदी हो तर मौनता सुन हो।" कहिलेकाहीँ हामी मौन रहनु निक्कै बुद्धिमानी हुन्छ। कहिलेकाहीँ हामी बडो मूर्ख पूर्ण तर्क दिँदै भन्छौं, "मेरो बोली मात्र यस्तो हो... मन मेरो सफा छ"। हाम्रो मनमा के छ भन्दा पनि हाम्रो बोलीले कसैलाई चोट पुर्याएको छ अनि यो निक्कै दुखको कुरा हो।
सम्बन्ध हर परिस्थितिमा एकनास र अटल हुनुपर्छ। अवस्था र परिस्थितिसँगै बदलिने सम्बन्धहरु अस्थायी मात्र हुन्छन्। हामी सम्बन्धमा बफादार, विश्वासयोग्य र इमान्दार हुनुपर्छ। अर्को अर्थमा, हामी धोखेबाज हुनुहुँदैन।
के तपाईले बर्जिल्लैको नाम सुन्नुभएको छ?
जब दाऊद राजा आफ्नो सम्पूर्ण राज्य, सिंहासन, घर, सम्पत्ति र महल छाडेर आफ्नै छोरो अब्शालोमबाट भाग्नुपर्यो तब उनलाई खिस्सी गर्ने, आलोचना गर्ने, सराप्ने, ढुङ्गा हान्ने मानिसहरु प्रशस्तै थिए। तर ती मानिसहरुको भीडबाट अलग्गिएर बर्जिल्लैले दाऊद प्रति आफ्नो बफादारीता र विश्वासयोग्यता देखाए। उनी मानिसहरुको होहल्लाको पछि लागेनन् तर उनले परमप्रभुले चुन्नुभएको मानिसको पक्षमा उभिए।
जब दाऊद महनोममा आइपुगे, तब उनी "ओढ्ने-ओछ्याउने, भाँड़ा-कुँड़ा र कचौराहरू ल्याएर तिनलाई दिए। तिनीहरूले गहूँ, जौ, आँटा, चिउरा, सिमी, दाल, मह, दही, भेड़ाहरू र गाईका दूधको पनीर दाऊद र तिनीसँग भएका मानिसहरूका निम्ति खानलाई दिए, किनभने मानिसहरू मरुभूमिमा भोकाएका, तिर्खाएका र थाकेका छन् भनी तिनीहरूले सम्झे।" (२ शमूएल १७:२८-२९)
जब दाऊद राजा युद्ध जितेर आफ्नो राज्यमा फर्किए तब बर्जिल्लैलाई दाऊद राजाले यरूशलेम मा ठूलो इनामको साथमा स्वागत गर्ने प्रस्ताव राख्दा उनले भन्छन्,
"हजूरको दास हजूरसँग यरूशलेममा जानलाई साह्रै वृद्ध भएको छ। म असी वर्ष पुगिसकें। असल र खराबको ज्ञान अब मलाई छैन। मैले खाएको-पिएको कुराको मलाई स्वाद हुँदैन। पुरुष र स्त्रीले गाएको सोर म सुन्न सक्दिनँ। यसकारण म अझै हजूरको साथमा भार किन हुने?हजूरको दास यर्दन पारि अलिक परसम्म हजूरको साथमा जानेछ। तर राजाले मलाई किन यस्तो असल इनाम दिनुहुन्छ? मलाई फर्कनलाई अनुमति दिनुहोस् र मेरा माता-पिताका चिहानको नजिक, मेरै सहरमा, मेरो बाँकी दिन बिताउन सकुँला। तर यहाँ हजूरको दास किमहाम छ। त्यसलाई हजूरसँग पारि लैजानुहोस्, अनि हजूरलाई जे असल लाग्छ, त्यसको निम्ति गर्नुहोस्।" - २ शमूएल १९:३४-३७
दाऊद राजा आफ्नो अन्तिम समयमा बर्जिल्लैको बफादारीता, विश्वासयोग्यता र उनले त्यो कठिन समयमा आफूप्रति देखाएको प्रेम र आदिलाई स्मरण गर्छन । अनि आफ्नो छोरो शोलोमनलाई भन्छन्,
"तर गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाऊ, र तिनीहरू तिम्रो टेबिलमा खानेहरूमध्ये होऊन्। तिम्रो दाजु अब्शालोमबाट म भागी हिँड्दा तिनीहरू मसितै रहिरहे।"- १ राजा २:७
जब हामी परमेश्वरले दिनुभएको सम्बन्धमा विश्वासयोग्य र बफादार हुन्छौं, हामीले मात्र होइन तर हामी पछिको पुस्ताहरुको आशिष र अनुग्रह प्राप्त गर्नेछ।
जब मण्डलीभित्र कोहि आउँछ, हामी उसको निम्ति सहजकर्ता र भारी बिसाउने चौतारी बनिदिनुपर्छ। कसैको बिगत कोट्याउने, न्याय गर्ने , ऊ कति धेरै अयोग्य छ, उसले किन सेवा गर्न पाउनुहुन्न भनेर हामीले मण्डलीमा धेरैपटक सम्बन्धहरु भत्काएका छौं। हामीसँग फराकिलो र ठूलो हृदय हुनुपर्छ।
१ थेसलोनिकी ५:१२-२२ मा, पावलले थेसलोनिकीहरूलाई मण्डली जीवनका सबै पक्षहरूको सन्दर्भमा निर्देशन दिन्छन्।
पद १२-१३ मा, पावलले चर्चका मानिसहरूले चर्चका अगुवाहरूसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने कुराको बारेमा छलफल गर्छन्। पद १३-१५ मा, पावलले चर्चका मानिसहरूले एकअर्कासँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने कुराको बारेमा छलफल गर्छन्। पद १६-२२ मा, पावलले चर्चका मानिसहरूले परमेश्वरसँग कसरी सम्बन्ध राख्नुपर्छ भन्ने कुराको बारेमा छलफल गर्छन्।
"तिमीहरू आपसमा मेलमिलापमा बस। भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्छौं कि अल्छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ। याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्टा गर।" - १ थेसलोनिकी ५:१३-१५
यी सातवटा आज्ञाहरु अन्तरक्रियासम्बन्धी आज्ञाहरु (Command of Interaction) हुन्।
तपाईं आफैंलाई दराजभित्र थुनेर यी शिक्षाहरूलाई व्यवहारमा उतार्न सक्नुहुन्न। यिनका लागि मण्डलीका अन्य मानिसहरूसँगको निकटता आवश्यक पर्छ।
जब पावलले "आपसमा मेलमिलाप र शान्तिपूर्वक बस" (पद १३) भन्छन्, तब तपाईं आफैँलाई अरुबाट अलग राखेर शान्ति छ भनी देखावटी व्यवहार गर्न सक्नुहुन्न। होइन, प्रियहरु! बाइबलले त्यसरी हामी आपसमा शान्तिमा बस्न सक्छौ भनि भन्दैन्। तपाईं मण्डलीका अन्य मानिसहरूसँग निरन्तर सँगै रहेर यसो गर्नुहुन्छ—जहाँ कलह र विवादको सट्टा एकता र एकरूपताको भाव झल्किन्छ। परमेश्वर एकलकाँटे विश्वासी चाहनुहुन्न।
जब पावलले "सबैसँग सहनशिलता देखाओ" (पद १४) भन्छन्, तब तपाईंले एक-अर्कासँग सङ्गत गरेर र आफ्नो जीवनमा धैर्यता प्रदर्शन गरेर त्यसो गर्नुहुन्छ।
जब पावलले "एक-अर्काको र सबै मानिसहरूको भलाइ गर्ने चेष्टा गर" (पद १५) भन्छन्, तब तपाईंले अरूसँग सङ्गत गरेर त्यसो गर्नुहुन्छ। एक-अर्काबाट अलग रहेर तपाईंले एक-अर्काको भलाइको खोजी गर्न सक्नुहुन्न। यसका लागि अरूसँग निरन्तर अन्तरक्रिया वा सम्बन्ध आवश्यक पर्दछ।

Comments
Post a Comment