एक बलिदानी दिवाई।

 एउटा मण्डली -भवन निर्माणको निक्कै आवश्यकतामा रहेछ। एकदिन शनिबार सेवामा पाष्टरले भन्नुभएछ, "आज मसँग दुईवटा सुचना छ। पहिलो खुशीको र दोस्रो दुखको। खुशीको कुराचाहिँ मण्डलीको वर्तमान आवश्यकता र भविष्यलाई‌ चाहिने सबै खर्चहरू हामीसँग उपलब्ध छ।" सबै विश्वासी निक्कै खुशी हुदैं प्रभूलाई धन्यवाद दिए। एक जना विश्वासीले सोध्नुभएछ, "त्यसोभए पाष्टर बुबा, दुखको खबर चाहिँ के हो नि?"  पाष्टरले जवाफ दिनुभएछ, "दुखको कुराचाहिँ त्यो अझै तपाईको खल्तीमा छ।"




उदारता भनेको सार्थक जीवनको एक प्रमुख विशेषता हो। यो केवल पैसासँग मात्र सम्बन्धित छैन; बरु, हामीसँग भएका हरेक कुराप्रति उदार दृष्टिकोण राख्नु नै यसको सार हो। 

यो केवल दायित्वबोधका कारण दिने कुरा होइन—यो त परमेश्वरको भलाइबाट यति धेरै रूपान्तरित हुने कुरा हो कि दिनु स्वभावजस्तै बन्दछ। उदारता हृदयको विषय हो, आर्थिक विषय होइन।

हामी जति धेरै दिन्छौं, त्यति नै धेरै हामी प्राप्त गर्नका लागि ठाउँ बनाउँछौं—केवल भौतिक सम्पत्ति मात्र होइन, तर आनन्द, शान्ति र समृद्धि।



Giving entails a sacrifice

दिवाईले बलिदानको माग गर्छ।

हामी सबैभन्दा धेरै परमेश्वरको अनुसरण त्यतिबेला गरिरहेका हुन्छौँ जतिबेला हामी दिन्छौं किनकि उहाँ दिनुहुने परमेश्वर हुनुहुन्छ।

"जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो।" मत्ती २०:२८

हाम्रो दिवाईको मूल्य हामी कति बलिदानी भई दिन्छौं भन्ने कुरामा निर्भर हुन्छ। 

अक्सफोर्ड डिक्सनरीका अनुसार, "sacrifice" (बलिदान) शब्दको अर्थ "आफूलाई महत्त्वपूर्ण वा बहुमूल्य लाग्ने कुनै कुरा छोड्नु वा गुमाउनु" हो।"

ईसाई जीवनको मूल मर्म यो हो कि जबसम्म तपाईंले परमेश्वरलाई सर्वस्व सुम्पिनुहुन्न, तबसम्म तपाईंले उहाँलाई केही पनि दिनुभएको हुँदैन।


कुनै पनि गहिरो र अर्थपूर्ण सम्बन्धमा त्यागको आवश्यकता पर्छ। यस्तो त्याग दबाबमा, बलपूर्वक वा बाध्यताले गरिँदैन; बरु यो स्वेच्छाले, खुसीसाथ र प्रेमवश गरिन्छ। स्वेच्छाले गरिने त्याग प्रेमको एउटा महान् कार्य हो।

मानिसहरूले मन्दिरमा चढाउने क्रममा येशूले एउटा मन छुने घटना देख्नुभयो। धेरै मानिसहरूले धेरै रकम दिए। त्यसपछि एउटी विधवा आइन्। उनले निक्कै कम तामाका दुई सिक्का चढाइन्। त्यसपछि येशूले उनको कार्यलाई आफ्ना चेलाहरूका लागि वस्तुगत पाठको रूपमा प्रयोग गर्नुभयो। येशूले आफ्ना चेलाहरूलाई भन्दै हुनुहुन्थ्यो कि उपहारको आकार बलिदानको आकार जत्तिकै महत्त्वपूर्ण हुँदैन। ती महिलाले एउटा सिक्का राख्न सक्थिन् र सबैले बुझ्न सक्थे। तर, उनले आफूसँग भएको सबै कुरा दिइन्। उनले केही पनि बाकिँ राखिनन्।

तामाको दुई सिक्काको मूल्य कति हो?

Greek word "lepta"

Daily wage= 1 denarius

2 copper coins=1/64th of denarius 

यी विधवाले आफ्नो गरिबीका बाबजुद 'प्रशस्तताको मानसिकता' राखेर दिइन्। हाम्रो सोचाई बलिदानको आधारमा मूल्यवान हुन्छ। 

यी विधवाको त्यागपूर्ण भेटीले हामीलाई येशूले प्रदर्शन गर्नुभएको बलिदानी जीवनतर्फ डोर्‍याउँछ। यूहन्नाको पुस्तकमा येशूले आफूलाई 'असल गोठालो' भनी बताउनुभएको छ र उहाँले भन्नुभयो, "कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु।" (यूहन्ना १०:१८)। येशूले स्वेच्छाले आफूलाई अर्पण गर्नुभयो। उहाँले केही पनि बाँकी राख्नुभएन, र यसका लागि उहाँले आफ्नो सर्वस्व अर्पण गर्नुपर्‍यो।

जब फ्लोरेन्स नाइटिङ्गेललाई आफ्नो जीवनको अन्त्यतिर,  उनको जीवनको रहस्य के हो भनेर सोधियो, तब उनले जवाफ दिए, "म केवल एउटै कुरा बताउन सक्छु। त्यो हो—मैले परमेश्वरबाट केही पनि लुकाएर राखिनँ।"


जब तपाई दिनुहुन्छ तपाई मौलाउनुहुनेछ।

परमेश्वरले हामीलाई जीवनको हरेक ऋतुमा मौलाउन,फस्टाउन र जीवन्त रहनका लागि रचना गर्नुभएको छ!


"धर्मीचाहिँ खजूरको बोटझैँ लहलह हुन्छ, तिनीहरू लेबनानको देवदारुजस्तै बढ्छन्, तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्छन्, हाम्रा परमेश्वरका चोकहरूमा तिनीहरू मौलाउँछन्। बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्छन्, र तिनीहरू ताजा र हरिया रहन्छन्,.."- भजनसंग्रह ९२:१२-१४

प्रतिज्ञाको देशमा, एउटा खोलाबाट आउने ताजा पानीले गालीलको सागर (Sea of ​​Galilee) लाई भर्छ। यो जलाशय सधैं माछाका लागि उर्वर रहँदै आएको छ। अनि गालीलको सागरले त्यो पानी लिएर जोर्डन नदीलाई प्रदान गर्छ। त्यो प्रसिद्ध नदीले उक्त पानीको प्रयोग गरी मरुभूमिलाई फल्ने-फुल्ने भूमिमा परिणत गर्छ र त्यसलाई दूध र मह बग्ने समृद्ध भूमि बनाउँछ। जोर्डन नदी अन्ततः मृत सागर (Dead Sea) मा गएर मिसिन्छ। मृत सागरबाट पानी बाहिर बग्ने कुनै निकास छैन। यसले पानी त लिन्छ तर बाहिर पठाउँदैन। यसैले गर्दा त्यहाँ अत्यधिक नुनिलोपनको समस्या उत्पन्न हुन्छ, जसले यसलाई नुनिलो र निर्जीव बनाउँछ। मृत सागरमा कुनै पनि जीव जीवित रहन सक्दैन। 

जब आशिषहरु हामीभित्रै सिमित हुन्छ, हामी मौलाउन सक्दैनौं। हाम्रो आशिषहरू बग्नुपर्छ। जब हामी अरुको निम्ति आशिषको श्रोत बन्छौं, हाम्रो जीवनलाई परमेश्वरले थप फलवन्त बनाउनुहुन्छ।


"कोही मानिसले उदार हातले दिन्छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन, र दरिद्रतामा पर्छ।उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ।" - हितोपदेश ११:२४-२५


हामी दिन्छौ किनभने यसले आनन्द दिन्छ। येशूले भन्नुभयो, "लिनुभन्दा दिनु अझ धन्य हो" (प्रेरित २०:३५)। पृथ्वीमा सबैभन्दा सुखी मानिसहरू दिने स्वभावका हुन्छन्। उनीहरूले दिँदा पाइने आनन्द पत्ता लगाएका छन्।
















Follow us on Facebook :

Comments