कसरी नयाँ सालमा प्रवेश गर्ने?
“आफ्नो प्रशस्तताले वर्षलाई तपाईंले मुकुट पहिराउनुहुन्छ, तपाईंका गाडाहरू प्रचुरताले भरिएर पोखिन्छन्।” - भजनसंग्रह ६५ः ११
- धन्यवादसाथ २०२५ मा प्रवेश।॥
डा.डेल रोबिन्स भन्छन्, “मलाई लाग्थ्यो कि मानिसहरुसँग समस्या भएको कारण उनीहरु गुनासो गर्छन तर वास्तवमा तिनीहरुले गुनासो गरेका कारण उनीहरुसँग समस्या छ। गुनासोले केहि परिवर्तन गर्दैन न त परिस्थिहरूलाई राम्रो बनाउँछ। यसले त निराशालाई बढाउँछ, असन्तुष्टि र असहमति फैलाउँछ र शैतानलाई हाम्रो जीवनमा विनाश ल्याउन निम्तो दिन्छ।”गुनासोले हामीलाई दुखी बनाउँछ।
'धन्यवादि हुनु' चाहिँ परमेश्वर असल कुराहरुको प्रदायक हुनुहुन्छ भनेर स्वीकार गर्नु हो । बाइबलीय धन्यवाद भनेको उपहारलाई मात्र होइन तर यसको दातालाई स्वीकार गर्नु हो। यो उपहार केन्द्रित भन्दा पनि परमेश्वर केन्द्रित हुन्छ।
धन्यवादी हुनुचाहिँ केवल प्रार्थनाका शब्दहरुमा अथवा अनुकुल परिस्थितिमा मात्र सिमित हुँदैन तर परिस्थितिहरुका बाबजुद धन्यवादी हुनुले आत्मिक हाडलाई उर्जा, शारिरीक हृदयलाई शान्ति र मनलाई आनन्दित बनाउँदछ। वास्तवमा धन्यवादी हुनुचाहिँ जिउने जिवनशैली हो। हरेक दिन हामी कृतज्ञतासाथ जिउनुपर्छ।
यो एक असल परिस्थितिमा अथवा हाम्रो प्रार्थना को सुनुवाई हुदां मात्र अथवा हाम्रो समस्या समाधान हुदैं गर्दा मात्र परमेश्वरप्रति कृतज्ञ हुनु होइन। एउटा इसाईको निम्ति प्रश्न चाहिँ यो हो कि तपाईको प्रार्थना को उत्तर आउन ढिलाई हुदां अथवा शरीर अस्वस्थताले शिथिल हुदाँ अथवा सोचेका - बनाएका योजनाहरु भताभुङ्ग हुदाँ तपाईको प्रतिक्रिया कस्तो हुनेछ? के तपाई त्यस्तो अवस्था र परिस्थितिहरुबाट गुज्रदै गर्दा पनि धन्यवाद र कृतज्ञ हुनुहुन्छ?
प्रियहरू नयाँ सालमा प्रवेश गर्दैगर्दा २०२४ को लागि हामी परमेश्वरप्रति धन्यवादि होऔ किनकि यो हाम्रो निम्ति असल थियो र २०२५ हाम्रो निम्ति उत्तम हुनेछ।
" 'धन्यवाद' कसैले गर्न सक्ने सबै भन्दा राम्रो प्रार्थना हो । म त्यो प्राय धेरै भन्छु। धन्यवादको प्रार्थनाले अथाह कृतज्ञता, नम्रता र समझलाई व्यक्त गर्दछ" - एलाइस वाल्कर
"Thank you’ is the best prayer that anyone could say. I say that one a lot. Thank you expresses extreme gratitude, humility, understanding.” — Alice Walker
धन्यवादी हुनु भनेको हाम्रो जीवनमा परमेश्वरले दिनुभएको आशिषहरुलाई पहिचान गर्नु हो। धेरै पटक हामी हाम्रो जीवनको घटीकमी र अभाव, समस्या र बाधाँहरुको कारण अनगिन्ती आशिषहरुलाई देख्न सकिरहेका हुँदैनौ। तर जसै हामी परमेश्वरप्रति धन्यवादी हुन थाल्छौ, हामी उहाँको आशिषहरुलाई देख्न थाल्छौं।
कृतज्ञता अथवा धन्यवादी हुनुचाहिँ गवाहि हो।
धन्यवादी हुनु चाहिँ परमेश्वरले हामीलाई दिनुभएको हरेक असल थोकहरुको कदर गर्नु हो।
याकूबले भनेझै,
"हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छायाजस्तो उहाँमा कुनै हेरफेर हुँदैन।" - याकूब १:१७
धन्यवादी हुनाले हामीसँग के छ भन्ने कुराको सधैं हामीलाई सम्झना गराउँदछ। मानिसमा लोभ र असन्तुष्ट प्रवृत्ति हुन्छ। हामीसँग जे छैन हामी त्यसैमा बढि केन्द्रीत हुन्छौं। निरन्तर धन्यवादी हुनुले हामीसँग कति छ भन्ने कुराको हामीलाई सम्झना गराउँदछ। जब हामी चाहनाभन्दा आशिषहरुमा ध्यान केन्द्रीत गर्छौ, हामी खुसी हुन्छौं।
- नक्सा सहित २०२५ सालमा प्रवेश
यदि तपाई योजना बनाउन असफल हुनुभयो भने तपाईले असफल हुने योजना बनाउनुभयो।
परमेश्वर योजनाको माग गर्नुहुन्छ :
"सल्लाह लिएर योजनाहरु बना...." - हितोपदेश २०:१८
"तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।" - हितोपदेश १६:३
योजना के हो?
- योजना पूर्वतयारी हो किनकि परिवर्तन निश्चित छ।
बाइबलले भन्दछ,
"तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ।" - हितोपदेश ६:८
अब यस खण्डले हामीले कमिलाबाट पनि योजना र पूर्वतयारीको विषयमा सिक्नुपर्ने कुरा बताउँछ :
कमिलाले ग्रीष्म ऋतुमा अन्न र खानेकुरा सञ्चय गरेर जाडो यामको निम्ति तयारी गर्दछ किनकि यसलाई थाहा छ परिवर्तन निश्चित छ, समय फरक हुनेछ, खानेकुरा पाउन कठिन हुनेछ, मौसम परिवर्तन हुनेछ। तिनीहरुले केवल आफ्नो निम्ति मात्र होइन तर आउँदो पुस्ताको निम्ति पनि अन्न सञ्चय गर्दछ।
हितोपदेशकले पुन भन्दछ,
"ग्रीष्म ऋतुमा अन्न जोहो गर्ने छोरो बुद्धिमान् हो, तर जो फसलको बेला सुत्छ त्यो बेइज्जत ल्याउने छोरो हो।" - (१०:५)
- योजना सडकको नक्सा हो जसद्धारा तपाई आफ्नो गन्तव्यमा पुग्न सक्नुहुनेछ।
जसरी बिनानक्सा घर बन्न सक्दैन, त्यसरी नै तपाई योजनाबिना आफ्नो गन्तव्यमासम्म पुग्न सक्नुहुन्न।
"हामी असफल हुन योजना बनाउँदैनौ तर योजना बनाउन असफल हुन्छौं"
- योजना रणनीति हो।
नेपोलियनको आफ्नो मनपर्ने सेनापतिसँग अग्लो स्थानमा बसेर लडाइँ हेर्ने बानी थियो। जसै उसले लडाइँ हेरिरहेको बेलामा उसको विष्लेषणात्मक विवेकले छिटो-छिटो लडाइँ जित्न सक्ने मुख्य बुँदाहरु देखाउँथ्यो ।
हामीले पनि नेपोलियनले जस्तै त्यो माथिल्लो स्थानमा बसेर हाम्रो जिवनलाई नियाल्नु पर्छ र स्पष्ट रणनीति बनाउनु पर्छ। हामीले यस २०७९ साल पनि यस्ता कयौं विश्वासका लडाइँहरु लडनुपर्ने छ, हितोपदेशकले भनेझैं 'युद्ध गर्नका निम्ति तँलाई रणनीति चाहिन्छ' (२४:६)।
- आफ्नो लक्ष्यमा अघि बढनुहोस्।॥
“मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढ़िरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो! भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़सँग अगि बढ्दछु।” - फिलिप्पी ३ः१२-१४
प्रियहरू!! आफ्नो लक्ष्य र बोलावटमा अघि बढनुहोस्। सिक्नुहोस्..अनुभव बटुलनुहोस…र अघि बढनुहोस्। प्रेरित पावल आफूले सबै कुरा हासिल नगरिसकेको अथवा आफू अझैं धेरै कुरामा कमजोरै भएको कुरालाई स्विकार गर्छन। हामीमा पनि त्यहि मनोवृत्ति हुनुपर्छ।यस्तो मनोवृत्तिले हामीलाई अझै बढि नम्र हुन, सिक्न, र अगाडि बढ्न हौसला मिल्छ।
संसारिक इनामको निम्ति भन्दा पनि परमेश्वरबाट प्राप्त हुने स्वर्गिय इनामको निम्ति दौडनुहोस्। यस इनामको निम्ति अगाडि बढदै गर्दा प्रेरित पावल दुई वटा महत्वपूर्ण निर्णयहरू गर्छन्।
पहिलो, पछाडिका कुराहरू बिर्सन्छन्।
अवश्य पनि उनले आफ्नो विगतलाई पूर्ण रूपमा बिर्सिएनन। उनले आफु कहांबाट आएका थिए… उनको निम्ति मानिसहरूले गरेका त्याग.. उनको जीवनको संघर्ष, सतावट, र अनुभवहरू सबै समझिए। तर उनी विगतमा बाँचेनन्। उनले आफ्नो विगतका असफलता वा जीतहरूले पनि आफ्नो लक्ष्यलाई पछ्याउनबाट रोक्न दिएनन्। र यदि हामीले तिनीहरूलाई अनुमति दियौं भने ती दुबै ठूलो बाधा हुन सक्छ। कतिपटक हामी विगतको तीतो र नमिठो अनुभव, असफलताहरू, चित्त दुखाईहरू, समस्याहरूमै बाँचिरहेका हुन्छौं।
दोस्रो, लक्ष्यतिर अगाडि बढनु।
विगतलाई बिर्सेर प्रेरित पावल आफ्नो सम्पुर्ण ध्यान, उर्जा, र जीवनलाई अगाडि बढन केन्द्रित गर्छन। उनी क्षणिकताको निम्ति होइन तर अनन्तताको निम्ति दौडन्छन्, उनी संसारिक इनामको निम्ति होइन तर परमेश्वरबाट प्राप्त हुने स्वर्गिय इनामको निम्ति अघि बढछन्।
परमेश्वरले उनलाई कुनै विशेष कुरामा निम्ति बोलाउनुभएको थियो, र उनको ध्यान त्यसैमा केन्द्रित थियो। उनी आफ्नो लागि ख्याती कमाउन, वा यो जीवनमा सफल हुन प्रयास गर्दैनन; बरु परमेश्वरले उनको अगाडि राखिदिनुभएको पुरस्कार प्राप्त गर्न आफ्नो सारा उर्जा समर्पित गर्छन।
Comments
Post a Comment