दशांश-आधारभूत बाइबलिय सिद्धान्त

 दशांश-आधारभूत बाइबलिय सिद्धान्त 


मण्डलीहरुमा दशांशको विषय प्राय विवादित, गार्हो र कठिन विषय बनिरहेको हुन्छ। तर बाइबलिय सत्यतामा रहेर हेर्ने हो भने दशांश आफैमा असल, सुन्दर, आदरणीय र पवित्र विषय हो। 
दशांश के हो? 
ग्रीकमा दशांशलाई "डेकात/dekate" भनिन्छ जसको सामान्य अर्थ "दशौं भागको एक भाग" हो।
हामी दशांशमा इमान्दार भएको परमेश्वर चाहनुहुन्छ। मलाकीले भन्दछ, “के कुनै मानिसले परमेश्‍वरलाई लुट्‌छ र?  तापनि तिमीहरू मलाई लुट्‌दछौ।  “तर तिमीहरू सोध्‍छौ, ‘कसरी हामीले तपाईंलाई लुट्यौं र?’  “दशांशको भेटीमा। सराप परेर तिमीहरू श्रापित भयौ, किनकि तिमीहरूले मलाई लुटिरहेछौ– तिमीहरू सम्‍पूर्ण जातिले। (मलाकी ३:८-९)

इमान्दारिता ल्याटिन शब्द सिने चेरा (sine cera)  बाट आएको हो जसको अर्थ "मौम बिना" हुन्छ। प्राचिन संसारमा, बेइमान कुमालेहरूले कम गुणस्तरको माटोको भाँडाहरूमा फुटेका फाँटहरूलाई मोमले छोपेर लुकाउँथे। भाँडाहरू उत्तम देखिन्थ्यो, तर जब भाँडाहरू  घामको तातोमा पर्थ्यो, मोम पग्लेटुक्रेका फाँटहरू ( र कुमालेको बेइमानी ) लाई उजागर गर्दै, भाँडाहरूलाई बेकारको तुल्याईदिन्थ्यो।

धेरैपटक हामी परमेश्वरलाई हाम्रो बँठयाइ र धुर्तताले ठगिरहेका हुन्छौं। 

दशांश के हो भनि बुझ्नु अघि दशांश के होइन भनेर बुझ्न आवश्यक हुन्छ। 
- दशांश पैसा होइन। 
दशांश शब्द सुन्ने बित्तिकै हाम्रो मस्तिष्कमा पैसाको तस्बिर आउँछ। तर वास्तवमा दशांश पैसा होइन। अवश्य पनि हामीले परमेश्वरको कामको निम्ति हाम्रो कमाईको १०% छुट्टयाउने गरेका छौं- त्यो आफैमा असल छ तर त्यसरी १०% छुट्टाउदै गर्दा यदि तपाईले आफ्नो जिवन र हृदय परमेश्वरमा सुम्पनुभएको छैन भने तपाईको पैसाको कुनै अर्थ हुँदैन। पैसालाई अर्थवान र मूल्यवान तपाईको हृदयले बनाउँदछ।
- दशांश रिति वा विधि होइन तर यो इश्वरीय व्यवस्था हो। 
दशांश आफैमा पवित्र छ। हामी यसलाई रिति वा विधिको रुपमा हेर्छौं र यसलाई खारेज गर्न खोज्छौं। मण्डलीमा यस व्यवस्थालाई मान्ने कि नमान्ने भनेर ठूलो चर्काचर्कि नै पर्छ। धेरै प्रचारकहरुले यस विषयलाई तोडमोड गरी आफ्नो फाइदा र आफ्नो स्वार्थ पुरा गर्न प्रचार गर्छन्। 
प्रियहरु! हामी धर्मशास्त्रमा दशांशको विषयलाई परमप्रभुले मोशाद्धारा व्यवस्था दिनुअघि नै स्थापना भएको देख्न सक्छौं।
- दशांश के र कति होइन तर कसरी हो।
परमेश्वर तपाईले के र कति ल्याउनुहुन्छ होइन तर कसरी ल्याउनुहुन्छ त्यसलाई हेर्नुहुन्छ। धर्मशास्त्रमा सबैभन्दा ठूलो मात्रामा भेटी चढाउने व्यक्ति सोलोमन थिए : २२००० गाईबस्तु र १२००० भेडाबाख्रा (१ राजा ८:६३)। तर हामी धेरैलाई सोलोमनको भेटीभन्दा पनि विधवाको भेटी थाहा छ। बाइबलले भन्दछ कि ती विधवाले तामाका दुई सिक्का (ग्रीकमा  दुई लेप्टा : एक दिनारिएसको ६४ भागको १ भाग) नोट:  एक दिनको ज्याला एक दिनारिएस चढाइन। मन्दिरमा ठूला-ठूला रकम चढाउने मानिसहरू पनि थिए तर येशूख्रीष्टले विधवाले सबैभन्दा ठूलो भेटी चढाएको दाबी गर्नुभयो किनकि तिनले आफ्नो सारा जीविका अर्पण गरिन (मर्कूस १२:४१-४४)।



त्यसो भए दशांश के हो? 

- दशांश मानवजातीको लागि परमेश्वरको व्यवस्थापनको तालिम हो।
दशांश पैसाको विषयमा नभएर, तपाईको छुट्याउन सक्ने क्षमताको विषयमा हो। परमेश्वर तपाईको अनुशासन चाहनुहुन्छ। तपाईको आत्मिक स्तरलाई प्रत्यक्ष रूपमा तपाईको आर्थिक क्षेत्रले देखाउँछ। तपाई कति विश्वासमा परिपक्क हुनुहुन्छ भन्ने कुरा तपाईले आर्थिकलाई कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने कुरामा निर्भर हुँदछ। हामीले सबैभन्दा धेरै चुनौतीहरू आर्थिक क्षेत्रमै भेट्टाउँछौं यसकारण पनि बाइबलले भन्दछ, "धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा बरू ऊटँलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ" (मत्ती १९:२४) ।
दशांश र परमेश्वरलाई दिनुको कुनै सम्बन्ध छैन्। भजनकर्ता भन्छन्, "पृथ्वी र त्यसमा भएका सबै थोक परमप्रभुको हो" (भजन. २४:१)। यसकारण हामी परमेश्वरलाई केहि दिन सक्दैनौं। वास्तवमा १००% नै उहाँको हो। 
तर किन परमेश्वरले १०% छुट्याउने आज्ञा दिनुहुन्छ? 
"यदि तपाई १०% लाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सक्नुहुन्छ भने, तपाई परमेश्वरप्रति बाकिँ ९०% मा विश्वासयोग्य हुनुहुनेछ।"
किनकि हामी १०% मा गैरजिम्मेवार भएका कारण, छिट्टै हामी ९०% लाई दुरुपयोग गर्छौ।  
परमेश्वर दशांशको तालिमद्धारा हामीलाई एक असल व्यवस्थापक बनाउन चाहनुहुन्छ।
खराब व्यवस्थापनमा कुनै कुरा वृद्धि हुन सक्दैन। जहाँ व्यवस्थापन छैन त्यहाँ परमेश्वरले वृद्धिलाई अनुमति दिनुहुन्न। 
उत्पत्ति २:४-५
आकाश र पृथ्‍वीका सृष्‍टिको वृत्तान्‍त यही हो।  परमप्रभु परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभएको दिन भूमिमा एउटै पनि वनस्‍पति थिएन, र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्‍वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन।
यहाँ उल्लेख गरिएको काम शब्दलाई हिब्रूमा "एरगन" भनिन्छ जसको अर्थ व्यवस्थापन हुन्छ। यस खण्डमा परमेश्वरले सृष्टिमा वृद्धिलाई रोकिदिनुहुन्छ किनकि त्यहाँ एक व्यवस्थापकको कमी थियो। हाम्रो जीवन, परिवार, सेवाकाइ, र मण्डलीहरू त्यतिबेला वृद्धि र विकास हुन्छ, जतिबेला त्यहाँ असल व्यवस्थापकहरू हुन्छन्।

- दशांश परमेश्वरलाई पहिलो प्राथमिकता बनाउनु हो।
परमेश्वरको लागि पहिलो स्थान धेरै महत्वपूर्ण छ। कयिन र हाबिलको भेटीमा के भिन्नता थियो? कयिनले केहि ल्याए तर हाबिलले चाहिँ पहिलो फल ल्याए (उत्पत्ति ४:३)। "केहि" शब्द निक्कै खतरनाक शब्द हो। नहाँ नियममा यहि केहि आफुसँग राख्ने र केहि परमेश्वरलाई झुटो बोलेर भेटी चढाउँने कुराले हननिया र सफिराले आफ्नो प्राण गुमाउनु परेको थियो। "केहि"ले परमेश्वरलाई पहिलो स्थानमा राख्दैन तर उहाँको अनादर गर्दछ।  
प्रियहरू!  कि त हामी परमेश्वरलाई पुर्ण रूपमा प्रेम गर्छौ या त गर्दै गर्दैनौं। त्यहाँ ५०% वा ७०% भन्ने कुरा हुँदैन। यसकारण फरिसीहरूले येशूख्रीष्टलाई महान आज्ञा कुन हो भनेर प्रश्न गर्दा उहाँले भन्नुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू। " (मत्ती २२:३६)
महान आज्ञामा हामी प्राथमिकतालाई स्पष्ट रूपमा देख्न सक्छौं। 
दशांश प्रेमको प्रतिक हो। हामीले हृदयदेखि प्रेम गर्ने व्यक्तिलाई हामी सबैभन्दा उत्तम थोक दिन चाहन्छौ। जब हामी परमेश्वरलाई साँचो हृदयदेखि प्रेम गर्छौ, तब हामी दशांश दिने कि नदिने भनेर विवाद गर्दैनौ। यो त हामीले उहाँको खातिर गर्न सक्ने सबैभन्दा नगन्य कुरा हुन जान्छ। 
राजाको उपस्थितीमा खाली हात जानु चाहिँ राजाको अपमान हो। राजा सबैभन्दा उत्तम उपहारको योग्य हुन्छन्। त्यसो हो भने राजाहरूको पनि महाराजाको उपस्थितीमा हामी खाली हात जान सक्छौ? बाइबलले भन्दछ, "....परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्‌।" -व्यवस्था १६:१६
जब तपाईले राजालाई कुनै उपहार दिनुहुन्छ तब राजाले यसलाई दबाबको रूपमा हेर्दछ र राजाको चरित्र यो हो कि राजाले तपाईलाई यसको प्रतिक्रिया दिनै पर्छ। अब किनकि राजाले तपाईलाई म कति उच्च र महान छु भनि देखाउनका निम्ति तपाईको उपहारभन्दा बहूमूल्य र बढता दिनेछ। हामीलाई याद छ, सोलोमनको वैभव, ख्याती र राज्य हेर्नका निम्ति शेबाकी रानी ठ्रलो लावालश्करका साथ- मरमसला, सुन र बहूमूल्य रत्नहरूका साथ सोलोमनको राज्य यरूशलेममा आउँछिन। जब यी उपहारहरू सोलोमनले देख्छ तब उनले दबाब अनुभव गर्दछ र बाइबलले भन्दछ कि अन्तमा शेबाकी रानीलाई तिनले इच्छाएको सबै कुरा सोलोमन राजाद्धारा दिइयो र तिनी अझ बढि लावबलश्कर लिएर आफ्नो देश फर्किन्। यो राजाको चरित्र हो। यसकारण परमप्रभु भन्नुहुन्छ, "सम्‍पूर्ण दशांश ढुकुटीमा ल्‍याओ, ताकि मेरो घरमा भोजन रहोस्‌। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म स्‍वर्गका ढोकाहरू उघारेर पर्याप्‍त ठाउँ पनि नहुनेसम्‍मका आशिष्‌ तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।" -मलाकी ३:१०

- दशांश परमेश्वरप्रति हाम्रो आदर, समर्पणता र आज्ञाकारीता हो।

हितोपदेशक भन्छन्, हितोपदेश ३:९-१०
दशांश परमेश्वरप्रतिको हाम्रो आदर, समर्पणता र आज्ञाकारीतालाई कार्यमा उतार्नु हो। हामीले पूर्ण रूपमा उहाँप्रतिको हाम्रो प्रेम,आदर, समर्पणता र आज्ञाकारीतालाई व्यवहारमा दर्शाउनै पर्छ। धेरै पटक हामी परमेश्वरलाई "प्रभु! म तपाईलाई प्रेम गर्छु...प्रभु! म तपाईलाई प्रेम गर्छु..." त मौखिक रूपमा भन्छौं तर हाम्रो जीवनशैली र व्यवहारले अर्कै कुरा देखाइरहेको हुन्छ। त्यो कस्तो प्रेम होला त? के त्यसरी तपाई उहाँलाई कति प्रेम गर्नुहुन्छ भनेर परमेश्वरलाई थाहा हुन्छ होला त? अवश्य हुँदैन।
अब एउटा प्रश्न खडा हुन सक्छ, परमेश्वर त सर्वज्ञानी हुनुहुन्छ, उहाँलाई सबै कुरा थाहा छ, उहाँबाट केहि कुरा लुकेको छैन, त्यसोभए म उहाँलाई कति प्रेम गर्छु, उहाँको आज्ञा कति पालना गर्छु भनेर किन कार्यमै देखाउनुपर्ने?
जब परमप्रभुले अब्राहामको विश्वासको जाँच लिन उसको बुढेसकालको एकमात्र पुत्रलाई मोरियाहको डाँडामा लगि बलिदान दिने आज्ञा दिनुहुन्छ तब अब्राहाम कुनै पनि हिचकिचाहटबिना आज्ञापालनको निम्ति तयार हुन्छ र परमप्रभुले भन्नुभएझैं इसहाकलाई बलिदान दिन तयार हुन्छ। तब उत्पत्ती २२:१२ खण्डमा परमप्रभुले महत्वपूर्ण संकेत छाडनुहुन्छ। उहाँले अब्राहामलाई भन्नुहुन्छ, 
"अब मैले थाहा पाए" को अर्थ के हो? के यो भन्दा पहिले उहाँलाई थाहा थिएन र?
परमेश्वरलाई सैद्धान्तिक रूपमा (Theoretically) सबैथोक थाहा छ। उहाँको ज्ञान र नजरबाट केहि कुरा लुकेको छैन तर त्यहाँ केहि कुराहरू छन जुन परमेश्वरलाई व्यवहारिक र अनुभवात्मक रूपमा (practically and experientially) थाहा छैन। उदाहरणको लागि यदि तपाईले परमेश्वरलाई पाप गर्दा खेरिको अनुभव कस्तो हुन्छ भनेर सोध्नुभयो भने उहाँलाई थाहा छैन किनकि उहाँले कहिल्यै पाप गर्नुभएको छैन्। 
तपाई उहाँलाई कति प्रेम गर्नुहुन्छ परमेश्वरलाई थाहा छ सैद्धान्तिक रूपमा तर जब तपाई आफ्नो प्रेमलाई कार्यमा उतार्नुहुन्छ उहाँ भन्नुहुन्छ, "अब मैले महसुस गरे..अब मलाई अनुभव भयो कि तिमीले मलाई कति माया गर्दो रहेछौं। यसकारण पनि नयाँ नियममा याकूबले भन्छन्, यदि हाम्रो विश्वास काममा प्रकट हुँदैन भने त्यो विश्वास मरेतुल्य हो (याकूब २:१७)। 
यसकारण प्रियहरू! दशांश एउटा सामान्य रिति वा विधि भन्दा धेरै माथिको कुरा हो। यो परमेश्वरलाई हाम्रो प्रेम प्रमाण गर्ने, उहाँला हाम्रो आदर, समर्पणता र आज्ञाकारीतालाई अनुभूति गराउने माध्यम हो।




 






Comments