सकारात्मक सोचको शक्ति

 हाम्रो सोचको आधारमा हामी बन्छौं र व्यवहार गर्छौं। 


किनकि बाइबलले भन्दछ, "जस्तो मानिसले आफ्नो हृदयमा सोच्छ, ऊ त्यस्तै हुन्छ। " (हितोपदेश २३:७)

ई. डब्लु केन्योन, "तपाईको दिमागलाई काममा लगाउनुहोस्, पसिना आउँछ तर सुधार हुनेछ।"
तपाईको जीवनको आकार तपाईको सोचमा हुन्छ। जब परमप्रभुले मोशालाई मिश्रको दासत्वबाट इस्राएलीहरुलाई छुटाउनको निम्ति बोलाउनुभयो तब मोशामा गरिब मानसिकता (poor mentality) थियो र उनले आफु फारोको सामुन्ने बोल्न नसक्ने बताउछन तब त्यहाँ मोशाको यो सो‌च र मानसिकता देखेर परमप्रभु रिसाउनु पनि भएको छ, 
प्रस्थान ४:१०-१४
त्‍यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्‍नमा उस्‍तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्‍नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्‍नमा र जिब्रो चलाउनमा ढिलो छु।”
परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्‍ने वा अन्‍धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र?
अब जा, म तँलाई बोल्‍न सहायता गर्नेछु, र तैंले के-के बोल्‍नुपर्ने हो सो सिकाउनेछु।”
तर मोशाले भने, “हे प्रभु, बिन्‍ती छ, अरू कसैलाई नै पठाउनुहोस्‌।”
तब परमप्रभुको क्रोध मोशामाथि उठ्यो, र उहाँले भन्‍नुभयो, “के लेवी हारून तेरो दाजु छैन र? मलाई थाहा छ कि त्‍यो राम्ररी बोल्‍न सक्‍छ। त्‍यो तँलाई भेट्‌न आउँदैछ, र तँलाई देखेर त्‍यो खुशी हुनेछ।

हामी बढि नकारात्मकतातर्फ आकर्षित हुन्छौं र नकारात्मकतालाई नै बढि खोज्छौं। हामी बढि नकारात्मक बोल्छौं र त्यसैलाई बढि सुन्न मन पराउँछौ। धेरै पटक हामी मण्डलीमा वचन सुन्छौं अनि घर फर्किएर वचनमा पाष्टरले केके गल्ती बोले कोट्याउन थाल्छौं। कति एउटै वचन बोलेको होला, कति नराम्रो वचन मेरो त मनमा छुँदै छोएन, आज त पाष्टरले मलाई नै घोचेर पो भन्या होकि क्या हो, होइन कति लामो वचन बोल्या आफुलाई ढिलो भैसक्या थियो, वाक्कै पार्छ भन्या। तपाईले एकघण्टा वचन सुनेको कुनै अर्थ रहेन।  तपाईमा सकारात्मक सोचको जन्म नै हुन सकेन।

वास्तवमा सकारात्मक सोच विश्वासको अर्को शब्द हो। 
गन्ती १३ अध्यायमा, जब इस्राएलीहरुले प्रतिज्ञाको देशको भेद लिन १२ गुप्तचरहरु पठाउँछन जब उनीहरु फर्कन्छन त्यहाँको मीठा-मीठा फलफुल ल्याउँछन र दुई गुप्तचरले भन्छन कि साच्चै त्यहाँ दुध र मह बग्दोरहेछ। देश एकदम सुरक्षित र सुन्दर रहेछ। हामी तुरुन्त गएर त्यसलाई कब्जा गरौं, हामी अवश्य जित्छौं। तर बाँकी गुप्तचरहरुले नकारात्मक मनोवृत्ति र सोचका कारण नकारात्मक नै बोल्छ र भन्छ त्यस्ता बलिया मानिसहरुका विरुद्ध हामी जान सक्दैनौं र इस्राएलीहरुले त्यहि नकारात्मकतालाई नै पत्याउँछ। परमेश्वरको शक्तिशाली कार्यहरुको साक्षी भएर पनि उहाँले विजय दिनुहुन्छ भन्ने सत्यतालाई इस्राएलीहरुले नकारात्मक सोचको कारण स्विकार्न सकेनन्। उनीहरुले परमेश्वरमाथि भरोसा गर्न सकेको छैन। 

हाम्रो सोच कस्तो हुनुपर्छ? 
बाइबलले भन्छ, 
फिलिप्पी ४:८
अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर।

तपाई आफ्नो विचारहरुद्धारा नियन्त्रित नहुनुहोस् तर तपाईको विचारहरुलाई नियन्त्रण गर्नुहोस्। 

२ कोरिन्थी १०:५
परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।

विचारहरुबाट नियन्त्रित हुनु भनेको अपरिपक्कताको चिन्ह हो। 
सानोमा जब मँग केहि रकम हुन्थ्यो मलाई याद छ त्यो रकम एकैछिन पनि मेरो हातमा टिक्दैन थियो। मेरो मनमा अनेकौं विचारहरु आउथ्यो अब यो पैसाले के खरिद गर्ने होला भनेर। कहिले खेलौना, कहिले कपडा, कहिले खानेकुरा आदीईत्यादी। तर अहिले म कसरी बचाउ र मेरा आवश्यकताहरुमा र सहि क्षेत्रमा खर्च गरु भन्ने सोच्छु। अहिले म मेरो विचारलाई निन्त्रण गर्छु यसकारण जथाभावी खर्च गर्दिन। 
सानो बालकहरुले जे चिज देख्छ उसलाई त्यहि चाहिन्छ किनकि जब उनीहरुले कुनै चीजलाई देख्छ तब त्यो चिज आफुलाई चाहिएको छ भनी विचार गर्छन। यसकारण उनीहरु रोएर कराएर जिद्दी गरेर त्यस कुरालाई प्राप्त गर्न चाहन्छन्। तर जब तिनीहरुको मगजमा अन्त विचार हालिदिएर तपाई भुल्लाउनुहुन्छ तब एकैछिनमा उनीहरुले त्यो कुरालाई बिर्सिहाल्छन्।
यसकारण येशूख्रीष्टले भन्नुभयो, "साँच्‍चै, म तिमीलाई भन्‍दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्‍नो पटुका बाँध्थ्यौ, र जहाँ इच्‍छा लाग्छ जान्‍थ्‍यौ....” यूहन्ना २१:१८
तपाईको विचारलाई तपाईमाथि हावी हुन नदिनुहोस् तर यसलाई नियन्त्रण गर्नुहोस्। 

सकारात्मक सोचको शक्तिमा अपनाउनुपर्ने सतर्कता :
आशावादी हुनुमा अथवा सकारात्मक सोच्नुमा कुनै गलत छैन। तर सकारात्मक सोचमा अन्तर्निहित शक्ति छ भनी दाबी गर्ने दर्शनशास्त्र बाइबलविपरित छ। हाम्रो विश्वास र भरोसा सकारात्मक सोचमाथि कदापि होइन तर ख्रीष्टमाथि हुनुपर्छ। सकारात्मक सोचले हामीलाई सकारात्मक कार्यतर्फ निर्देशन गर्नुपर्छ। 
उदाहरण : भुईको सिक्का‌लाई सकारात्मक सोचको शक्तिले हावामा उडाउन सिकिन्छ भनी विचार गर्नु बाइबलविपरित छ। इशाईहरुमा परमप्रभुले जुटाउनुहुन्छ भन्ने थेगो नै भइसकेको छ जसकारण उनीहरु आल्से र लाचार भइरहेका हुन्छन्। 
सकारात्मक सोचले तपाईलाई सकारात्मक कार्य  गर्न उत्प्रेरित गर्नुपर्दछ। 
परमप्रभुले जुटाउनुहुन्छ अवश्य नै सत्य हो। यो सकारात्मक सोच हो। अब तपाई काम गर्न थाल्नुहुन्छ, मेहेनत गर्नुहुन्छ र पसिना बगाउनुहुन्छ यो सकारात्मक कार्य हो। 

बाइबलिय सकारात्मक सोचलाई आकर्षणको सिद्धान्तसँग नझुक्किनुहोस्। 
Law of Attraction (आकर्षणको सिद्धान्त): आकर्षणको सिद्धान्तले सिकाउँछ कि यदि कुनै व्यक्तिले सकारात्मक सोचमार्फत कुनै असल कुरा हुनेछ भनि सोच्छ भने त्यस्तै नै हुन आउनेछ। यो विचार १९ औं शताब्दीमा सुरुवात भयो जसलाई नयाँ धारणाको उपनाम दिइयो। 
आकर्षणको नियमले बताउँछ कि यदि कुनै व्यक्तिले असल राम्रो विचारहरु सोच्दछ भने तिनीहरु उसको जीवनमा चुम्बकले जस्तै तानिएर आउनेछ। सकारात्मक सोचलाई हामीले चमत्कारी शुत्रको रुपमा प्रयोग गर्न खोज्नु गलत हो। 
आजको वचनको मूल सारांश भनेको सकारात्मक सोचको अर्थ हाम्रो सोचहरु बाइबलीय र परमेश्वरलाई आदर गर्ने हुनुपर्छ भन्न खोजिएको हो। 
 
नकारात्मक सोचको विनाशकारी शक्ति 
सकारात्मक सोचमा जति तागत हुन्छ नकारात्मक सोच त्यतिकै विनाशकारी हुन्छ। नकारात्मकता संक्रामक छ। जब एउटाल‌े हाई काढदछ यो अर्कोलाई सर्दछ। इस्राएलीहरुको कथामा देख्न सक्छौं ती दश नकारात्मक गुप्तचरहरुले सम्पूर्ण राष्ट्रलाई असर पारेको थियो। दश गुप्तचरहरुबाट समाचार सुनेपछि तिनीहरुले गुनासो गर्न थाले, "हामी मिश्र देशमा नै मरेको भए असल हुने थियो वा यस उजाड-स्थानमा मरेको भए पनि हुन्थ्यो "। 
यो मण्डलीभित्र पनि हुने गर्छ। जुन कुरा हामीलाई चित्त बुझेको हुँदैन सम्बन्धित व्यक्ति‌कहाँ जानुको सट्टा हामी अरुलाई गुनासो गर्छौं र तिनीहरुले यसको बदलामा अन्यलाई फैलाउँछ। हामीले बुझ्नुपर्ने एउटा कुराचाहिँ, हामी सबैलाई खुशी पार्न सक्दैनौं। कति गर्मी छ, कति चिसो छ, मलाई त नयाँ भजन होइन पुरानो भजन मनपर्छ, कति एउटै भजन गाको होला, कति लामो वचन बाँडेको होला, त्यो व्यक्तिले ले कपडा लाएको होला, कसरी खाएको होला, कसरी हिँडेको होला। 
यो पनि सत्य हो कि एकजना भन्दा बढी भएको कुनै पनि मण्डली; सधैं सबै कुरामा सहमत हुँदैन। हामी सबै व्यक्तिगत विचारहरु, व्यक्तिगत आवश्यकताहरु र चाहना भएका मानिसहरु हौं। हामीले बुझ्नुपर्ने कुराचाहिँ के हो भने यो परमेश्वरको मण्डली हो। र हाम्रो काम एक-अर्कालाई खुशी पार्नु होइन तर उहाँलाई खुशी पार्नु हो। जब हामी उहाँलाई खुशी बनाउँछौ तब सबै कुरा व्यवस्थित बन्दै जान्छ। 
यसकारण यो तपाईको विषयमा होइन यो उहाँको विषयमा हो। तपाईले आफ्नो ‌विचार र राय ब्यक्त गर्नुहुँदैन भन्न खोजिएको होइन तर त्यसलाई गर्ने पनि सहि र गलत तरिका छ। सहि तरिका भनेको यो सम्बन्धित पक्षलाई प्रेममा, आदरमा, व्यवस्थित रुपमा सुधारको मनसायले गर्नु हो। गलत तरिका भनेको हितोपदेश ६:१२-१९ सम्म वर्णन गरिएको तरिका हो। यो एक नकारात्मक व्यक्तिको राम्रो विवरण हो। 
हितोपदेश ६:१२-१९
बदमाश र दुष्‍ट मानिस त्‍यही हो  जो बाङ्गोटिङ्गो कुरा गरिहिँड्‌छ,
जसले आँखा झिम्‍क्‍याउँछ,  र खुट्टा र औँलाले इशारा गर्दछ।
आफ्‍नो छली हृदयमा त्‍यसले दुष्‍ट कुरा रच्‍दछ।  त्‍यसले सधैँ विवाद उत्‍पन्‍न गराउँछ।
त्‍यसैले त्‍यसमाथि अचानक विपत्ति आइलाग्‍नेछ,  उपायविना नै त्‍यो एक्‍कासि नष्‍ट हुनेछ।
छ वटा कुराहरू छन्‌, जसलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ,  सातौँचाहिँ जो उहाँको दृष्‍टिमा घृणित छन्‌:
अहङ्कारी आँखा,  झूट बोल्‍ने जिब्रो,  निर्दोषको रगत बगाउने हात,
दुष्‍ट योजनाहरू रच्‍ने हृदय,  खराबी काम गर्न झट्टै अग्रसर हुने खुट्टा,
असत्‍य बोल्‍ने झूटो साक्षी,  र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।



नेपालीमा एउटा भनाई छ, "वनको बाघले खाओस कि नखाओस मनको बाघले खान्छ।" मनको बाघ सायद हाम्रो मगजको नकारात्मक विचारहरु हो जसले हरेक दिन हामीलाई पिरोल्छ। सकिँदैन होला, पुग्दैन होला, के गर्ने होला, कसरी गर्ने होला, हुँदैन होला, असफल पो भइएला जस्ता नकारात्मक विचारहरुले हामीलाई अवश्य नै सताएको हुनपर्छ। सकारात्मक सोच्नु भन्नुको अर्थ ती विचारहरुको सट्टा परमेश्वरको नजरमा सम्भव छ, परमप्रभुको इच्छा के छ त्यहि पुरा होस्, यदि परमप्रभुको इच्छा भए यो कुरा मेरो जीवनमा अवश्य पुरा हुनेछ भनी परमेश्वरमा निर्भर हुनु हो। 
निराशावादी एक नकारात्मक सोच हो। तपाई आफ्नो अवस्था र परिस्थितिलाई कसरी हेर्नुहुन्छ। गिलास आधाँ पानीले भरिएको छ वा गिलास आधाँ खाली छ भन्ने कुरा तपाईको दृष्टिकोणमा (हेराई) निर्भर छ। 
मानसिक चिन्ता (डिप्रेसन) एक नकारात्मक सोच हो। म कहिले पनि सफल हुन सक्दिन, मेरो अवस्था कहिल्यै सुध्रिन सक्दैन, मेरो जिन्दगी एकदम खराब छ, मेरो जीवनको कुनै मूल्य छैन यस्ता नकारात्मक र निराशाजनक सोचले हामीलाई नकारात्मक व्यवहार कुलत, आत्म-चोट, आत्महत्या तिर लान्छ। हामी सकारत्मक भन्दा नकारात्मकता तर्फ बढि छिट्टै आकर्षित हुन्छौं। 
चिन्तित विचारहरु नकारात्मक सोच हो। 
भजनसंग्रह १३९:२३ 
हे परमेश्‍वर, मलाई जाँच्‍नुहोस्‌, र मेरो हृदयलाई जान्‍नुहोस्‌।  मलाई जाँच्‍नुहोस्‌,  र मेरा चिन्‍ताहरूलाई जान्‍नुहोस्‌।
हेर्नुहोस्‌, ममा कुनै खराब चाल छ कि,  र मलाई अनन्‍तको मार्गमा डोर्‍याइदिनुहोस्‌।
दाऊदले महसुस गरे कि कहिलेकाहिँ उनी आफ्नो विचारहरुमा चिन्तित भएको कुरालाई कतै बेवास्ता पो गरिरहेको छु कि। चिन्ताले हामीलाई परमेश्वरमाथि भरोसा गर्नबाट वञ्चित गर्दछ। परमेश्वर उ‌दउदको विचार र हृदय जान्नुहुन्थ्यो। यसकारण दाऊद आफ्नो हृदय र विचार ठिक भएनभएको परमेश्वरलाई देखाउन प्रार्थना गर्छन्। 
के हामीले आफ्नो मार्ग र विचारहरु ठीक भएनभएको जाँचेका छौं? 
हाम्रो विचारहरु ठिक छ या छैन देखाउनुहोस् भनी हामीले परमेश्वरलाई दाऊदले जसरी प्रार्थना गरेका छौं?

Comments