भजनसंग्रह ४६

भजनसंग्रह ४६:१-११



मानिलिनुहोस् तपाई आफ्नो परिवारको इतिहास हेर्दै हुनुहुन्छ र तपाईले आफ्नो जिजु-बाजेलाई जमिन उग्रिएर निलेको कुरा पत्ता लगाउनु भयो। तपाईको प्रतिक्रिया कस्तो हुन्छ होला? सायद तपाई स्तब्ध हुनुहुनेछ। 
यस अध्यायका भजनकर्ताका जिजु-बाजे कोरह थिए । गन्ती १६ अध्यायमा कोरह परमप्रभुका दास मोशाको विरुद्ध खडा भए र मानिसहरुलाई तिनको विरुद्ध उकसाए जसकारण परमप्रभुको क्रोध तिनीमाथि खनिएको छ। धर्ती फाटेर तिनलाई त्यहि नै निलिहालेको छ (गन्ती १६)
कोरहमाथि परमप्रभुको भयानक क्रोध खनिएतापनि उनको सन्तानहरुले मन्दिरको द्धारपालको रुपमा सेवा गरे (१ इतिहास ९:१९)। तिनीहरुले लेखेका ११ वटा भजनहरुले 
उनीहरु परमप्रभुप्रति विश्वासयोग्य थिए भन्ने कुराको प्रमाण दिदँछ। 
भजनसंग्रह ४६ अध्याय जुन हिब्रू शब्द 'सेला'द्धारा तीन भागमा विभाजन गरिएको छ जसमा हरेक भागले परमेश्वर हाम्रो शरणस्थान र शक्ति हुनुहुन्छ भनि घोषणा गर्दछ।

१. परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ,  सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता।
                पहिलो, परमेश्वर हाम्रो शरणस्थान अर्थात महसे (Machaceh) हुनुहुन्छ। महसेको अर्थ जोखिम र खतराबाट आश्रय। 
आज इस्राएलमा धेरै यहूदीहरुको आफ्नो घर तल बंकर बनाइएको हुन्छ। यो बंकरले अकस्मात हुने शत्रुको आक्रमणहरुबाट परिवारलाई सुरक्षा र आश्रय दिँदछ। यसमा परिवारलाई चाहिने रासन, बिजुली, औषधी र अन्य आवश्यक कुराहरु राखिएको हुन्छ। यो बंकर निक्कै बलियो हुँदछ र यसलाई शत्रुको कुनै पनि गोली र बमबारुदले असर गर्न सक्दैन। 
                 त्यसरी नै परमेश्वर हाम्रो शरणस्थान (महसे) हुनुहुन्छ। उहाँ हामीलाई हरेक शत्रुको प्रहारबाट बचाउनुहुन्छ। सम्पूर्ण कुराहरु हाम्रो विरुद्धमा भएतापनि उहाँ हाम्रो पक्षमा हुनुहुन्छ र हामीलाई रक्षा गर्नुहुन्छ। 
पुरानो नियममा परमप्रभुले इस्राएलीहरुलाई शरण-नगर स्थापना गर्ने आज्ञा दिनुभयो। तिनीहरुले छ वटा शरण नगरहरु (केदेश, शकेम, हेब्रोन, बेशेर, रामोत र गोलान) स्थापना गरे (यहोशू २०:७-८)। यी शरण-नगरहरुले कुनै व्यक्ति जसल‌को हातबाट अजानमा कसैको ज्यान गयो भने सुरक्षा दिन्थ्यो। ज्यानमारा त्यस नगरभन्दा बाहिर निस्कन हुँदैन थियो। 
प्रियहरु! हामी परमेश्वरको उपस्थितिमा सुरक्षित छौं। जब हामी परमेश्वरको उपस्थितिबाट निस्किएर आफ्नो मनमर्जिमा जीवन जिउँन थाल्छौं, तब हामी शैतानको पासोमा छिट्टै फस्छौं। यसकारण पत्रुस भन्छन, 
"सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।" (१ पत्रुस ५:८)
परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ। अंग्रेजीमा  यसलाई 'Fortress' भनिएको छ र हिब्रूमा 'मटसुड' (Matsuwd) भनिएको छ जसको अर्थ किल्ला, पर्खाल वा गढ हो। 
भजनसंग्रह १८:२ मा पनि दाऊदले यहि 'मटसुड' शब्द चलाएका छन्। 
"परमप्रभु मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारक हुनुहुन्‍छ।  मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु।  उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्‍छ, मेरो गढ़।"
साथै २ शमूएल २२:२ मा, 
“परमप्रभु मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारक हुनुहुन्‍छ।"
            पुरानो नियममा किल्ला अथवा गढले कुनै पनि आक्रमणबाट बचाउने कार्य गर्दथ्यो। वास्तवमा शत्रुहरुबाट बच्नको निम्ति नै मानिसहरुले आफ्नो राज्यलाई किल्ला अथवा पर्खालले घेर्ने ग‌र्दथ्यो।हामीलाई याद छ, नहेम्याह यरुशलेम फर्केपश्चात पर्खाललाई पहिलो प्राथमिकता दिएर यसको निर्माणमा लागेको छ। यरुशलेमको पर्खाल भत्किएको थियो र आक्रमणको चरम जोखिममा थियो र उनीहरुको पहिलो आवश्यकता पर्खाल थियो। आज हामी पनि चौतर्फी हाम्रो शत्रुहरुद्धारा घेरिएका छौं। के हामीले परमेश्वरलाई हाम्रो किल्ला बनाएका छौं?

२. यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्‍वी उथलपुथल होस्‌,  वा पर्वतहरू समुद्रको गर्भमा खसून्‌,
चाहे समुद्र गर्जोस्‌ र फीँज काढ़ोस्‌, र चाहे त्‍यो उर्लेर आउँदा पर्वतहरू थर्कून्‌।  सेला
          के हामी यति शक्तिशाली घोषणा गर्न सक्छौं? 
नयाँ नियममा प्रेरित पावल भन्छन्, "यदि परमेश्‍वर हामीतर्फ हुनुहुन्‍छ भने, हाम्रो विरुद्ध को हुन्‍छ?" (रोमी ८:३१)
जुन मानिसले परमप्रभुलाई आफ्नो शरणस्थान र शक्ति बनाएको हुन्छ, उसले यो शक्तिशाली घोषणा गर्न सक्छ।"मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि  म कुनै खतरादेखि डराउनेछैनँ,  किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ।  तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।" भजनसंग्रह २३:४ 

४. एउटा नदी छ, जसका प्रवाहले परमेश्‍वरको नगर, अर्थात्‌ सर्वोच्‍च वास गर्नुहुने पवित्र स्‍थानलाई हर्षित तुल्‍याउँछ।
           भजनकर्ताले यरुशलेमको निम्ति प्रचुर मात्रामा निरन्तर बगिरहने र हरसमय पानी उपलब्ध गराउने एउटा नदिको तस्बिर चित्रण गरे। तर वास्तवमा यरुशलेममा यस्तो कुनै नदि छैन, केहि साना-तिना धाराहरु मात्रै रहेको छ। यधपि अगमवक्ताहरुले मन्दिरबाटै एउटा नदि बग्ने दिनको अनुमान गरेका थिए। 
भविष्यको वास्तविककता भजनकर्ताको दिमागमा पहिल्यै थियो। 
"नदीका दुवै किनारमा अनेक किसिमका फलफूलका रूखहरू उम्रनेछन्‌। तिनीहरूका पात ओइलाउनेछैनन्‌। तिनीहरूका फलहरू कहिल्‍यै शेष हुनेछैनन्‌। तिनीहरूले हरेक महिना नै फल दिनेछन्‌, किनभने पवित्रस्‍थानदेखि तिनीहरूमा पानी बग्‍छ। तिनीहरूका फल खानाको निम्‍ति र तिनीहरूका पातचाहिँ आरोग्‍यको लागि हुनेछन्‌।” (इजकिएल ४७:१२)

"तब तिनले मलाई स्‍फटिकजस्‍तै चहकिलो जीवनका पानीको नदी देखाए। त्‍यो नदी परमेश्‍वरको र थुमाको सिंहासनबाट निस्‍की"  (प्रकाश २२:१) ।
        नदि बग्दछ र परमेश्वरको नगरलाई खुशी तुल्याउँछ। परमेश्वरको नगर हर्षित छ किनकि जीवन दिने पानी त्यो सुख्खा भुमिमा सधैं उपलब्ध छ। परमेश्वरको नगर हर्षित छ किनभने जीवन दिने पानी स्वयम येशु ख्रीष्ट हुनुहुन्छ। उहाँले भन्नुभयो,  “यदि कोही तिर्खायो भने त्‍यो मकहाँ आओस्‌ र पिओस्‌। जसले ममाथि विश्‍वास गर्दछ, धर्मशास्‍त्रले भनेअनुसार ‘त्‍यसको अन्‍तस्‍करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्‍कनेछन्‌’।” (यूहन्ना ७:३७-३८)

५. परमेश्‍वर त्‍यसभित्र हुनुहुन्‍छ, त्‍यो खस्‍नेछैन।  झिसमिसेमै परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुनेछ।
६. जाति-जातिहरूमा कोलाहल छ, राज्‍यहरू पतन हुन्‍छन्‌,  उहाँले आफ्‍नो सोर उचाल्‍नुहुन्‍छ, पृथ्‍वी पग्‍लन्‍छ।
७. सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ, याकूबका परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ।  सेला
            सर्वशक्तिमान परमप्रभु अर्थात यहोवा-सबाओथ हाम्रो साथमा हुनुहुन्छ। यहोवा-सबाओथ परमेश्वरको नाउँहरुमध्येको एक हो। यसको अर्थ 'सेनाहरुका परमप्रभु' हो। 
          एकताका येशू ख्रीष्टले भन्नुभयो, "के म आफ्ना पितालाई बिन्ति गरे भने उहाँले तुरुन्तै बाह्र पल्टन स्वर्गदुत मेरो निम्ति पठाइदिनुहुन्न र? (मत्ती २६:५२-५३)। 
         यस समय उहाँले कति शक्तिशाली कुरा बोलिरहनुभएको थियो हामी कल्पना पनि गर्न सक्दैनौं। 'पल्टन' प्राचिन समयमा रोमी सेनाहरुले आफ्नो पङ्क्तिलाई जनाउन प्रयोग गर्थे। एक पल्टनमा छ हजार स्वर्गदुत हुन्छ अर्थात बाह्र पल्टनमा बहत्तर हजार। यशैया ३७:३६ मा एउटा स्वर्गदुतले एक लाख पच्चासी सेनालाई मारेको छ। यदि एउटा स्वर्गदुत बराबर एक लाख पच्चासी मानिस हो भने बहत्तर हजार सेना पृथ्वीलाई नाश गर्न पर्याप्त हुँदछ। अनि हाम्रो परमेश्वर चाहिँ त्यस्ता अनगिन्ती सेनाहरुका परमेश्वर हुनुहुन्छ। उहाँ तपाईको पक्षमा खडा हुनुहुन्छ र उहाँ तपाईको खातिर लडनुहुन्छ। 
८. आओ, परमप्रभुका काम हेर, उहाँले पृथ्‍वीमा ल्‍याउनुभएको उजाड अवस्‍था।
९. उहाँले पृथ्‍वीको पल्‍लो छेउसम्‍मै युद्धहरू रोक्‍नुहुन्‍छ।  उहाँले धनु भाँच्‍नुहुन्‍छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ,  उहाँले ढालहरूलाई आगोले भस्‍म पार्नुहुन्‍छ।
१०. “शान्‍त होओ, र म परमेश्‍वर हुँ भनी जान।  जाति-जातिहरूमा म उचालिनेछु,  पृथ्‍वीमा म उचालिनेछु।”
'शान्त होओ' अर्थात 'स्थिर बस'। 
जब इस्राएलीहरु मिश्री सेनाहरुको  आक्रमणको शिकार हुन लागेका थिए तब मोशाले उनीहरुलाई भन्छन्,  "परमप्रभु नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ। तिमीहरू केवल स्‍थिर बस।” (प्रस्थान १४:१४) 
अनि आज पनि तपाईले आफ्नो युद्ध परमप्रभुलाई लडन दिनुहोस् र तपाई उहाँमा स्थिर हुनुहोस्। 
'शान्त होओ' अर्थात युद्ध लड्न आफ्नो बुद्धि, क्षमता र शक्तिलाई खियाउन बन्द गर्नुहोस्। पुर्ण रुपमा परमप्रभुमा भर पर्नुहोस्। त्यहाँ केहि यस्ता लडाँई र युद्धहरु हुन्छन जुन तपाईले लडिँरहनु पर्दैन। 
११. सर्वशक्तिमान्‌ परमप्रभु हाम्रो साथमा हुनुहुन्‍छ, याकूबका परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्‍छ।  सेला


Comments