परमप्रभुले तपाईको मार्ग तयार गर्नुहुनेछ।

 परमप्रभुले तपाईको मार्ग तयार गर्नुहुनेछ।



पृष्ठभूमि :
९७५ इसापूर्व ताका जब संयुक्त इस्राएल दुई भागमा विभाजन भयो: दक्षिण राज्य इस्राएल र उत्तरी राज्य यहूदा, तब यी दुवै राज्यका अधिकांश राजा, नेता, अगुवा र प्रजाहरु परमप्रभुको विरुद्धमा दुष्ट, भ्रष्ट र पापी भए। तब तिनिहरुलाई चेतावनी दिन, परमप्रभुले आफ्नो वचनको अधिकार दिएर यी दुवै राज्यहरुमा अगमवक्ताहरु खटाउनुभयो। यी नै अगमवक्ताहरुमध्येका एक महत्वपूर्ण अगमवक्ता यशैया थिए। 
सात सय शताब्दीतिर यशैया अगमवक्ताले यहूदाका राजाहरु, उज्जियाह, योताम, आहाज र हिजकियाहका शासनकालमा यहूदा र यरुशलेममा सेवा गरे। 
उत्तरी राज्य यहूदाका राजा, अगुवाहरु र मानिसहरु भ्रष्ट भएका थिए र परमप्रभुका विरुद्ध पाप गरिरहेका थिए। तिनीहरु हठ्ठी र अटेरी भएका थिए। उनीहरुको चरित्रलाई बयान गर्दै यशैयाले यसरी लेखेका छन्, "हाय, पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्‍ट काम गर्नेहरूका बच्‍चा, भ्रष्‍टाचार गर्नेहरूका सन्‍तान। तिनीहरूले परमप्रभुलाई त्‍यागेका छन्‌, तिनीहरूले इस्राएलका परमपवित्रलाई हेला गरेका छन्‌, र उहाँतिर आफ्‍नो पिठिउँ फर्काएका छन्‌।" (१:४)
इस्राएलका अगुवाहरुले परमप्रभुमाथि भरोसा गर्न बिर्सिसकेका थिए। उनीहरु सैन्य सुरक्षाको निम्ति मिश्रमाथि भर परेका थिए। हिजकिया राजा स्वयमले बेबिलोनलाई प्रभावित पार्न आफ्नो राज्यको सम्पूर्ण थोक देखाए। उनी सुरक्षाको निम्ति बेबिलोनसँग सम्झौता गर्न चाहन्थे। यहूदाको अवस्था निक्कै भयावह थियो। उनीहरु शत्रुदेखि घेरिएका थिए र त्रासमा जिरहेथिए। अश्शुरका राजाले बारम्बार धम्की दिरहेका थिए। उनीहरुसँग कुनै विकल्प थिएन। उनीहरुको सम्पूर्ण मार्गहरु बन्द भएको थियो। उनीहरुविरुद्ध अर्को उग्र जाती बेबिल‌ोन छिट्टै खडा हुने थियो जसले यशैयाको १०० वर्षपछि यहूदालाई कैदमा लाने थियो र यहूदालाई पूर्ण रुपमा नष्ट गर्ने वाला थियो। उनीहरुको अन्त पक्का थियो। अब उनीहरुसँग कुनै विकल्प थिएन। 

परमप्रभुले मार्ग तयार गर्नुहुन्छ :
तर यस्तो नाजुक अवस्थामा परमप्रभुले तिनीहरुलाई यसो भन्नुहुन्छ : 
“तिमीहरूका खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु। म सबै बेबिलोनीहरूलाई उनीहरूले गर्व गरेका जहाजहरूमा शरणार्थीहरूलाई झैँ ल्‍याउनेछु।
म परमप्रभु, तिमीहरूका परमपवित्र, इस्राएलका सृष्‍टिकर्ता, तिमीहरूका राजा हुँ।”
परमप्रभु यही भन्‍नुहुन्‍छ– “समुद्रमा बाटो बनाउनुहुने, शक्तिशाली सागरमा मार्ग बनाउनुहुने,
रथहरू र घोड़ाहरू, सेना र थप सेनालाई एकैसाथ निकाल्‍नुहुने, तिनीहरू जो फेरि उठ्‌न नसक्‍ने गरी पड़िरहेका थिए, सलेदो निभाएझैँ निभाएका थिए:
“बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर।
हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ। के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।
जङ्गली जनावरहरू, स्‍यालहरू र लाटोकोसेराहरूले मेरो इज्‍जत गर्छन्‌, किनभने म मेरा मानिसहरू, मेरा चुनिएकाहरूलाई पिउनका निम्‍ति मरुभूमिमा पानी अनि रूखो जमिनमा खोलाहरू दिन्‍छु,
त्‍यस जातिलाई, जसलाई मेरो प्रशंसाको घोषणा गरून्‌ भनेर मेरो निम्‍ति मैले बनाएँ।" यशैया ४३:१४-२१

आज हामी पनि कुनै न कुनै किसिमको मरुभूमिबाट गुज्रिरहेका हुन सक्छौं। अनि मरुभूमि चाहिँ एक्लो ठाउँ हो जहाँ गर्मी, थकान,भोकप्यास र दिशाहिनताको कारणले सजिलै सहि मार्ग र दिशा गुम्न सक्छ। सबैभन्दा अनुभवी मरुभूमि मार्गदर्शकहरुलाई पनि मरुभूमिमा आफ्नो बाटो पत्ता लगाउन गाह्रो हुन्छ किनभने भू-भाग, भौगोलिक संरचना र मरुभूमिको अवस्थाले यात्रुलाई सजिलै असुविधाजनक बनाउन सक्छ।
त्यहाँ आत्मिक मरुभूमि पनि छ। यो एक्लोपन, गलत दिशा र दुविधाले भरिएको ठाउँ हो। जब हामी परमेश्वरको उपस्थितिबाट टाढिन्छौं, हामी आत्मिकी मरुभूमिमा भौतारिन थाल्छौं। कहाँ जानुपर्ने, कुन मार्ग रोज्नुपर्ने हामीलाई थाहा हुँदैन अनि हामी पनि इस्राएलीहरुझैं मरुभूमिमा भौतारिन थाल्छौं। 
तर परमेश्वर भन्नुहुन्छ, "म मरुभूमिमा तिमीहरुको लागि मार्ग तयार पार्नेछु र मैले तयार पारेको मार्ग तिमीहरुलाई थाहा हुनेछ र त्यस मार्गले तिमीहरुलाई उर्वर भूमिमा लानेछ"

परमेश्वरलाई तपाईको मार्गदर्शक बनाउनुहोस्। 
प्रियहरु! आज हामी जस्तो अवस्था र परिस्थितिमा भएतापनि हाम्रो परमप्रभु हामी अघि जानुहुन्छ र हाम्रो मार्गलाई तयार गर्नुहुन्छ। आमेन। 
जब संसारका सबै ढोकाहरु बन्द हुन्छ तपाई र मेरो लागि स्वर्गिय द्धारहरु खुल्दछ। जब कहिँ विकल्प देखिँदैन, परमप्रभु नै हाम्रो विकल्प हुनुहुन्छ। तपाईको जीवनको कठिनाईहरुमा परमेश्वरलाई तपाईको आड बनाउनुहोस्। 
हामीलाई याद छ जब इस्राएलीहरु मिश्रबाट निक्लिए तब फारोको मन बदलिएर उनले पूण इस्राएलीहरुलाई खेदे। तब उनीहरु यस्तो ठाउँमा आएर रोकिए, कि उनीहरुको अगाडि तर्नै नसकिने लाल समुद्र छ अनि पछाडि फारोका सेनाहरु,रथहरु र घोडाहरु। के तपाई कहिल्यै त्यस्तो अवस्थामा पुग्नु भएको छ? जब हामी त्यस्तै अवस्थामा पुग्छौं, हामीलाई लाग्छ अब त मसँग उम्कने कुनै बाटो छैन्। तब परमेश्वर हाम्रो कल्पनाले भ्याउनै नसक्ने, हाम्रो समझले बुझ्न नसक्ने र हामीले कहिल्यै सोच्न नसक्ने कार्य हाम्रो जीवनमा गर्नुहुन्छ। उहाँ त्यो बडेमानको तर्न नसकिने लाल समुद्रलाई दुई भागमा विभाजन गर्नुहुन्छ र सुख्खा जमिनमा हामीलाई हिड्याएर हाम्रो समस्यादेखि तार्नुहुन्छ ।त्यति मात्र होइन हाम्रो शत्रुलाई तहसनहस पार्नुहुन्छ। 
उहाँ हामीलाई भन्नुहुन्छ, 
“नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु। मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु, तँ मेरै होस्‌।
तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन्‌। तँ आगोबाट हिँड़ेर जाँदा डढ्‌नेछैनस्‌। त्‍यसको ज्‍वालाले तँलाई भस्‍म पार्नेछैन।" यशैया ४३:१-२
यहाँ परमप्रभुले तपाईको समस्या र संघर्षहरुलाई हटाइदिने अर्थात तपाईले त्यस्ता कठिनाईहरुलाई सामना गर्नै पर्दैन भनी प्रतिज्ञा गर्नुहुन्न तर ती कठिनाई, त्यो आगो, त्यो पानी, त्यो नदिबाट भएर जब तपाई गुज्रुहुन्छ तपाई एक्लो हुनुहुनेछैन, उहाँ तपाईसँ‌‌‌‌गै हुनुहुनेछ, उहाँले तपाईको मार्गहरुमा तपाईलाई डोर्याउनुहुनेछ, तपाईलाई सम्हाल्नुहुनेछ र तपाईको हरेक कदमहरुमा उहाँ सहायताको लागि तत्पर तयार हुनुहुन्छ । 
हितोपदेशक भन्नुहुन्छ,
"आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्‌  र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌
आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी,  र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।" (३:५-६)
सोझा मार्ग कस्तो मार्ग हो? 
के यो संघर्षबिहिन, समस्याबिहिन र कठिनाईबिनाको मार्ग हो? 
के यो मार्गमा कुनै दुख हुँदैन?
सोझाको अर्थ सजिलो होइन। अवश्य पनि हामीले चुनेको मार्ग कठिन छ। यसमा सतावट छ, अभाव छ, कठिनाई छ, समस्या छ र संघर्ष छ। विश्वासी जीवनको यात्रा निक्कै चुनौतीपूर्ण यात्रा हो। आरामदायी र सहज जिवन जिउन चाहने मानिसको निम्ति विश्वासी जीवन निक्कै हानिकारक छ। यसकारण धेरैले सुरुवात त गर्छन तर अन्तसम्म भने टिक्न सक्दैनन्। 
यसकारण धर्मशास्त्रले भन्दछ, "तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ।" मत्ती २४:१३
यसकारण प्रियजनहरु! 'मैले येशूमाथि विश्वास गरे, मैले बप्तिस्मा लिए, सक्यो', होइन! तपाईको यात्रा जारी नै छ। हामी त अझै यात्रामा नै छौं। हामी गन्तव्यमा पुगेका छैनौं। हामी अझै कठिनाईको मार्गहरु भएर जानु नै छ। यतिमै थाक्ने हो भने, यतिमै हार मान्ने हो भने यतिमै म सक्दिन भन्ने हो भने ता हामी आखिरसम्म स्थिर रहन सक्दैनौं। 
इस्राएलीसँग परमप्रभु हुनुहुन्थ्यो तर पनि तिनीहरुले लाल समुद्र तर्नुपर्यो, शत्रुहरुसँग लडाँई गर्नुपर्‍यो, दैत्यदानवजस्ता मानोसहरुको सामना गर्नुपर्यो।
यसकारण परमप्रभुले हाम्रो मार्ग सजिलो होइन सोझा तुल्याइदिनुहुनेछ। सोझा मार्गद्धारा तपाई आफ्नो गन्तव्यलाई देख्न सक्नुहुन्छ। म कहाँ किन र केको निम्ति जाँदैछु भन्ने कुरालाई थाहा गर्न सक्नुहुन्छ। प्रेरित पावले जस्तै म व्यर्थमा दौडिरहेको छुइन तर कारण सहित दौडिरहेको छु भन्ने सत्यतालाई थाहा गर्न सक्नुहुन्छ। यस मार्गमा तपाई आफ्नो यात्राको अन्त अर्थात उद्धेश्यलाई देख्न सक्नुहुन्छ। यस मार्गमा परमेश्वर स्वयमले हामीलाई सहि दिशामा डोर्याउनुहुनेछ। जसरी उहाँले इस्राएलीहरुलाई दिनमा बादलको खाँबो र रातमा आगोको ज्वाला बनि हामीलाई डोर्याउनुहुनेछ।

जब यशैयाको जीवनकालपछि लगभग १०० वर्षपछि बेबिलोनद्धारा यहूदा तहसनहस भयो र यहूदीहरु कैदी बनाएर लगिए तब परमप्रभु तिनिहरुलाई भन्नुहुन्छ, “बेबिलोनको निम्‍ति सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूकहाँ आउनेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पूरा गर्नेछु।
किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्‌, नोक्‍सानीको निम्‍ति होइनन्‌, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई। (यर्मिया २९:१०-११)
कतिपटक हामीले सोचेको भन्दा फरक ढङ्गमा परमेश्वर कार्य गर्नुहुन्छ। हामीलाई लाग्न सक्छ कि परमेश्वर मौन हुनुहुन्छ। उहाँ किन केहि गर्नुहुन्न्। हाम्रो हृदयमा पनि हबकूकको जस्तै अनगिन्ती प्रश्नहरु उब्जन थाल्दछ। तर जब तपाई उहाँमा भरोसा गर्न थाल्नुहुन्छ, तब तपाईलाई थाहा हुन्छ कि उहाँ तपाईको भलाईको निम्ति कार्य गरिरहनुभएको छ। 



Comments