गिदोनको अगुवापनको सिद्धान्त
इस्राएलीहरुको पाप:
- बालको पूजा (न्यायकर्ता २:१३)
परमप्रभुले स्पष्ट रुपमा इस्राएलीहरुलाई कनान देशमा पुगेपछि त्यहाँका जातीहरुको देवतालाई पुजा नगर्नु तर हरेक मूर्तिहरुलाई नाश गर्नु भनि आज्ञा दिनुभएको थियो (प्रस्थान २३:२४)।
बाल कनानीहरुले भूमिको उर्वरताको लागि पूजा गर्ने स्थानीय पुरुष देवता थियो। "बाल"को अर्थ "मालिक/पति" हो। जब इस्राएलीहरु कनानमा प्रवेश गरे त्यहाँ तिनीहरुले प्रत्येक भूमिको टुक्राको आ-आफ्नै देवता अथवा 'मालिक' भएको भेट्टाए। यसकारण विभिन्न देवताहरूसँग बाल शब्द उपसर्गको रुपमा जोडिएको भेटाइन्छ।
उदाहरणको लागि
* बाल-गाद (यहोशू १३:५; ११:१७; १२:७)
* बाल-हामोन (श्रेष्ठगीत ८:११)
* बाल-हासोर (२ शमूएल १३:२३)
* बाल-पोर (गन्ती २३:२८)
अन्तत: यी नामहरुबाट ठाउँको नाम हटाइयो र 'बाल' शब्दलाई प्रजनन देवताको लागि उपयुक्त नाउँको रुपमा प्रयोगमा ल्याइयो। बालको पौराणिक कथाले उनलाई पृथ्वीमा भएको अराजकता र विनाशका देवताहरुसँग युद्ध गर्ने विजयीको रुपमा वर्णन गर्दछ। यो अराजकता चाहिँ मानिस र जनावरहरुमा भएको खडेरी र बाँझोपन अथवा समुद्री बाँढीको रुपमा हेरिन्छ।
बाल व्यवस्था र नवीकरणको देवता थियो, जसको कारण वसन्तको आगमन, वृद्धि, उत्पादन र प्रजनन आउँथ्यो। यस धर्मले जीवन, उत्पादन र प्रजनन विषयलाई मूख्य केन्द्र बनाएको कारण यसले मन्दिरको वेश्यावृत्तिलाई धार्मिक यौनसम्पर्कको रुपमा लिने गर्थ्यो।
यो देवताको महिला संस्करण 'अश्तोरेत' देवी थियो र प्यागनहरुको पूजामा अश्तोरेत देवीको प्रतीकहरुलाई अश्तोरेत खम्बाहरूमा देख्न सकिन्छ ।
इस्राएलीहरुले बालको पूजा गरे। तिनीहरुले अब्राहामका परमेश्वरको आराधना गरे र संकटको समयमा उहाँकहाँ गए। साथ-साथै तिनीहरुले हरेक दिनको झरी र उर्वरताको लागि बाल देवताको पूजा गरे । तिनीहरु छिट्टै नै बाल उपासनाको मूर्तिपूजक अभ्यासहरुप्रति मोहक भए र प्रभावित बने।
न्यायकर्ता ६ अध्यायलाई हामी यहि मोडमा भेट्टाउँछौ । मानिसहरुले परमेश्वरलाई त्यागेका थिए र बाल पूजाको पछि लागेर आफैलाई पापले धमिल्याएका थिए।
परमप्रभुले तिनीहरुको दुष्टता र पापको कारण अर्को राज्यलाई परिचालन गर्नुभयो। त्यस राज्यले इस्राएलीहरुलाई आक्रमण गरेर परमेश्वरको न्याय तिनीहरुमा आएको थियो।
परमेश्वरले छिमेकी जातीहरुद्धारा इस्राएलीहरुलाई दण्ड दिनुभयो। ती जातीहरुले इस्राएलीहरुको सम्पूर्ण बालीहरु नाश गर्थे र गाइबस्तु लुटथे। ती उग्र जातीहरुले यति बिघ्न अत्याचार गर्थे कि इस्राएलीहरु आफ्नो वासस्थान छाडेर ओडार र गुफामा बस्न बाँध्य थिए।
सात वर्षपछि उनीहरुले सहायताको निम्ति परमप्रभुलाई पुकारे र उहाँले तिनीहरुको पुकारलाई सुन्नुभयो र तिनीहरुलाई मिद्यानीहरूको हातबाट बचाउने निर्णय गर्नुभयो।
एक सामान्य मानिसको नियुक्ति :
हामी न्यायकर्ता ६:११-१८ खण्डमा गिदोनलाई एक सामान्य मानिसको रुपमा देख्छौं जो आफ्नो शत्रुहरुबाट लुकाउन गहूँ चुट्दैथिए। तब त्यहाँ हामी परमप्रभुका दुत र गिदोनको बिचमा एउटा चाखलाग्दो संवादलाई देख्छौं।
गिदोनले भने, “परमप्रभु साँच्चै हाम्रो पक्षमा हुनुहुन्छ भनेता हामीलाई यी सबै दुख किन भएको? मिश्रदेशबाट निकालेर ल्याउँदाका ती सबै आश्चर्य कामहरु जुन हामीले आफ्ना पिता-पुर्खाहरुबाट सुनेका छौं, ती के भए? किम आज परमप्रभु हाम्रो जीवनमा त्यस्ता आश्चर्य कामहरु गर्नुहुन्न? किन हामीलाई पनि हाम्रो पितापुर्खाहरुलाई मिश्रीहरुको हातबाट बचाउनुभएको जसरी मिद्यानीहरूको हातबाट बचाउनुहुन्न। अब त परमप्रभुले हामीलाई त्यागिदिनुभएको छ। ” (न्यायकर्ता ६:१३)
हामीले पनि जीवनको कुनै मोडमा यस्तै प्रश्नहरु सोधेका थियौं होला अथवा आउने कुनै दिन हाम्रो हृदयमा त्यस्तै प्रश्न र दुविधाहरु उब्जिन सक्छ। हाम्रो परिस्थितिलाई हेर्दै गर्दा, कुनै परिवर्तनको आभास नहुदाँ, समस्याहरु ज्युका त्यु देख्दै गर्दा हामीलाई पनि 'किन परमप्रभु मौन हुनुहुन्छ' भन्ने लाग्न सक्छ।
तर रोचकपूर्ण कुरा चाहिँ परमप्रभुका दुतले गिदोनलाई भन्नुभयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्। तँलाई पठाउने म नै हुँ।” (न्यायकर्ता ६:१४)
गिदोनको लागि यो जवाफ निक्कै अपत्यारिलो र अप्रत्यासितपूर्ण थियो। उनले परमप्रभुका दुतलाई 'किन परमप्रभु आश्चर्य काम गर्नुहुन्न' भनि प्रश्न गरेका थिए तर परमप्रभुका दुतले भन्नुभयो 'जा! गएर त्यस आश्चर्य कामलाई तैँले गर'।
पहिलो, जा! गएर आफै गर।
परमेश्वरलाई त्यो काम गर्न नलगाउनुहोस् जुन काम उहाँले तपाईलाई गर्न लगाउनुभएको छ। त्यहाँ तपाईको स्पष्ट जिम्मेवारीहरु छन। हुन सक्छ तपाईले आफ्नो परिवारको लागि जुटाउनुपर्ने छ, आफ्ना वृद्ध अभिभावकको रेखदेख गर्नुपर्ने छ, एउटा गोठालोको रुपमा आफ्नो बगालको हेरचाह गर्नुपर्ने छ, एउटा अभिभावकको रुपमा आफ्नो बालबच्चालाई असल शिक्षा दिनुपर्ने छ। प्रियहरु! परमेश्वरको अगाडि हामीले हाम्रो लाचारपनालाई होइन, हामीले त हाम्रो निरन्तर जारी कोशिसलाई राख्नुपर्छ। तपाईले परमेश्वरलाई यो त्यो सबै तपाई नै गर्नुहोस् भन्न सक्नुहुन्न। धेरै पटक हामी परमेश्वरलाई भाँडोबाट निस्किएको जिन्निलाई जस्तै व्यवहार गर्छौं जसलाई म मेरो इच्छा भन्नेछु र उहाँले फटाफट ती पुरा गरिदिनुहुनेछु।
हामी धेरै पटक मत्ती ७:७ लाइ उदृत गर्दै यस खण्डलाई गलत रुपमा अर्थ्याउँछौं। के यसले मेरो हरेक इच्छा र चाहना प्रार्थनामा मागे ती पुरा हुनेछ भनेको हो? अवश्य पनि होइन। यस खण्डले 'जे सुकै माग त तिमीहरुलाई दिइनेछ...' भनेको छैन। समृद्धि सुसमाचार (prosperity gospel) निक्कै खतरनाक कुरा हो।
दोस्रो, तँ मा भएको बल प्रयोग गर।
अगाडिको खण्डमा पनि हेर्ने हो भने परमप्रभुका दुतले भने, “तँ वीर मानिस होस्, र परमप्रभु तँसँग हुनुहुन्छ।” - न्यायकर्ता ६:१२
यो परमेश्वरले दिनुभएको गिदोनको साँचो पहिचान थियो। तर गिदोन गलत पहिचान लिएर आफैलाई भिन्न रुपमा हेर्ने गर्दथ्यो जसको कारण ऊ डर र त्रासमा जिइरहेको थियो।
उसले भन्छ, “हजूर, सुन्नुहोस्, म कसरी इस्राएललाई बचाउन सक्छु? मेरो गोत्रलाई हेर्नुहोस् त्यो त मनश्शेमा सबैभन्दा कमजोर छ, र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु।” (६:१५)
धेरै चोटी हामीले पनि गिदोनले जस्तै सोचेको छौं। मसँग श्रोत छैन, म पढे लेखेकाे छुइनँ, ओहो! मैले त ठूलाठालु मानिसहरुलाई चिनेको छैन म कसरी गर्न सक्छु र?
हामीले पहिलो कदम विश्वासमा चाल्नुपर्छ र परमेश्वरले हामीलाई बलले भर्नुहुनेछ। हामी गिदोनजस्तै डर र त्रासमा जिइरहेका छौं भने पनि परमेश्वरले हामीलाई एक वीर तुल्याउनुहुनेछ। हात बाँधेर, लाचार र आल्छे भएर प्रभु मेरो जीवनमा आश्चर्यको शक्तिशाली काम गर्नुहोस् भनि प्रार्थना गर्नु त लाजमर्दो कुरा हो। उठनुहोस्! साहस गर्नुहोस्! आफ्नो कदमलाई अगाडि बढाउनुहोस्! परमेश्वर तपाईको साथमा हुनुहुनेछ।
गिदोनको अगुवापनको सिद्धान्त :
- पहिला आफ्नो परिवारलाई सुधार्नु (६:२५-३२)
गिदोनको अगुवाई प्रभावशाली हुनको निम्ति पहिला उसले आफ्नै परिवारलाई शुद्ध गर्न जरुरी थियो। उसको आफ्नै पिता बालको आराधक थिए यसकारण परमप्रभुले उनलाई आफ्नै पिताको घरको मूर्तिलाई नाश गर्नु भनि उनको जाचँ लिनुभयो। जब उनले बाल देवताको वेदी भत्काइदिए र अशेराको देवीको मूर्ति ढालिदिए, यसको परिणाम स्वरुप उनको पिताको बालप्रतिको आस्था हटयो र उनले आफ्नो छोराको पक्षमा बोलेका छन्। गिदोनले आफ्नै निकटका मानिसहरुको पापको विरुद्धमा बोल्न साहस र जोखिम उठाउनु परेको थियो। धेरै पटक हामीले आफ्नो निकटको मानिसहरुको पापको विरुद्धमा बोल्न साहस गर्नुपर्ने हुन्छ। गलतलाई गलत हो भन्न सक्नु एउटा साँचो नेतृत्वकर्ताको पहिचान हो। यदि गिदोनको प्रभावशाली नेतृत्वपनलाई पछ्याउन चाहन्छौं भने सर्वप्रथम हामीले आफ्नो घरलाई सफा गर्नुपर्ने हुन्छ।
- बलियो टोली (७:१-८)
गिदोनलाई ठूलो संख्या होइन थोरै तर साहसिलो तम्तयार योद्धाहरुको आवश्यकता छ भनि परमेश्वर जान्नुहुन्थ्यो। यसकारण डराएका र त्रसित मानिसहरुलाई फर्किएर जाने अनुमति दिइयो। त्यहाँ लडन तयार भन्दा बढि फर्केर जाने मानिसहरु भए। करिब २२००० मानिसहरु फर्किए र १०००० मानिसहरु बाकिँ थिए। तर यसमध्येबाट पनि गिदोनको निम्ति बलियो टोली खडा गर्नुथियो। परमेश्वरले तल खोलामा ल्याएर तिनीहरुलाई छनौट गर्नुभयो। उहाँले गिदोनलाई भन्नुभयो, "कुकुरले जसरी पानी पिउनेलाई छनौट गर र अन्य जसले घुँडा टेकेर पानी पिउँछ, तिनीहरुलाई फर्काइदे"। कुकुरले जसरी पानी पिउने मानिसहरुको संख्या ३०० हुन्छ र यसबाट गिदोनको निम्ति बलियो र तम्तयार टोली खडा हुन्छ जसले दशौं लाख मिद्यानीहरूको सेनाहरुलाई पराजित गर्यो।
प्रियहरु! तपाईलाई ठूलो भीडको आवश्यकता छैन, तपाईलाई बलियो टोलीको आवश्यकता छ जो तपाईको निम्ति रातदिन तयार हुन्छ। सानो तर बलियो टोली निक्कै प्रभावशाली हुँदछ। तपाईको नेतृत्वपन त्यति बेला प्रभावशाली बन्दछ जति बेला तपाईसँग बलियो टोली हुँदछ। धेरै विश्वासीहरु दिनरात आफ्नो पाष्टरको आलोचना गर्छन, उनीहरुको हरेक समय कुरा काटदैमा जान्छ अनि अन्तमा 'हाम्रो पाष्टर त हुँदै भएन, फलाना पाष्टरले केके गरिसके, मण्डली कस्तो बनाइसके, केके जाती जोडिसके खै हाम्रो पाष्टरले त केहि गर्न सकेन' भनि असन्तुष्टि पोखिरहेका हुन्छन्। प्रियहरु! म तपाईलाई बताउन चाहन्छु, गिदोनको शक्तिशाली नेतृत्वपनको पछाडि ३०० जनाको बलियो टोली थियो जो उनको खातिर कुनै पनि समयमा शत्रुसँग लडन तयार थियो, उनको आज्ञालाई शिरोपर गरि पालना गर्न तयार थियो, मार्न र मर्न तम्तयार थियो। के तपाई आफ्नो पास्टर, अगुवा र नेतृत्वकर्ताको लागि ती तीन सय मध्येको एक हुनुहुन्छ? कि तपाई डराएर भाग्ने २२००० मध्येको एक हुनुहुन्छ?
- सफलताको शिखरमा अझ बढि चुनौती : (८:२२-२८)
धेरै अगुवाहरु आफ्नो खराब समयमा होइन तर सफलताको शिखरमा चुक्दछन्। दाऊद राजा झुप्रामा होइन तर महलको छतबाट चुकेका थिए। जब हामी सफल हुँदै जान्छौं र भरिपूर्णतामा जिउन थाल्छौं, हामी अझ बढी सतर्कता र सावधानीपूर्वक परमेश्वरको मार्गमा हिडँनुपर्ने हुन्छ। त्यो सफलताको शिखर चाहिँ यस्तो स्थान हो जहाँ हृदयलाई जोगाउन सकिएन भने छिट्टै घमण्ड पैदा भइहाल्छ। अनि हाम्रो हृदयमा 'मैले जे गरे पनि हुन्छ, मलाई कसले प्रश्न खडा गर्न सक्छ र? सबैभन्दा त मै हुँ, म भन्दा ठूलो अरु कोहि छैन' भन्ने घमण्ड पैदा भइहाल्छ।
गिदोनलाई नै हेर्नुहोस्। हिजोको दिनसम्म उसले परमेश्वरलाई भन्दैथियो, 'मनश्शेमा सबैभन्दा सानो गोत्र मेरै हो। म केहिको पनि होइन।' तर जब परमेश्वरले उसलाई उठाउनुभयो, विजयी गराउनुभयो र एक सफल न्यायकर्ता तुल्याउनुभयो। अब उसले परमेश्वरलाई नै चुनौती दिँदै मनपरी गरिरहेको छ। उसले हरेकबाट सुनको कुण्डल मागेर त्यसबाट एपोद बनाए र आफ्नै सहर ओप्रामा त्यो राखे। यसरी इस्राएलीहरुलाई मूर्तिपूजामा फसाउने त्यो पासो बन्यो।
एउटा अगुवाको खराब निर्णयले पुरै पुस्तालाई पथभ्रष्ट बनाउन सक्छ भन्ने पाठ हामी गिदोनको जीवनीबाट सिक्न सक्छौं।


Comments
Post a Comment