एफिसीहरुलाई पावलको पत्र

एफिससको एतिहासिक पृष्ठभूमि:


एफिसस एशिया माइनरको पश्चिमी तटमा रहेको एउटा ठूलो महत्त्वपूर्ण सहर थियो जहाँ प्रेरित पावलले एउटा चर्च रोपेका थिए। एफिसस महत्त्वपूर्ण शहर हुनमा धेरै कारकहरूले योगदान दिएको थियो। 
पहिलो कारक यस शहरको अर्थशास्त्र थियो, एफिसस एशिया प्रान्तको सबैभन्दा अनुकूल बन्दरगाह र टार्ससको पश्चिममा सबैभन्दा महत्त्वपूर्ण व्यापार केन्द्र थियो।
अर्को कारक सहरको आकार थियो, एफिसस एशिया प्रान्तको सबैभन्दा ठूलो सहर थियो, जसको जनसंख्या करिब तीन लाख थियो। त्यहाँ धेरै संस्कृति र राष्ट्रियताका मानिसहरू थिए, र यो एकदमै अनैतिक ठाउँ पनि थियो। प्रेरित १९:८-९ मा हामीले पढ्छौं कि त्यहाँ धेरै यहूदीहरू पनि थिए जो त्यहाँ बसेका थिए र प्रेरित १९:३२-३४ मा हामीले यहूदीहरू र अरू मानिसहरूबीचको तनावलाई देख्छौं। 
तेस्रो, कारक एफिसस राजनीतिक रूपमा महत्त्वपूर्ण सहर थियो। यो एक स्वतन्त्र शहर थियो। अर्को शब्दमा, तिनीहरूले आफ्नै मामिलाहरू सञ्चालन गर्थे, शहरमा कर्मचारीहरु (clerk) हुन्थ्यो, शहरमा अधिकारीहरू थिए जसले सार्वजनिक खेलहरूको लागि भुक्तानी गर्थे (प्रेरित १९:३१) र सहरमा अदालत र न्यायाधीशहरु हुन्थ्यो (प्रेरित १९:३८)। 
चौंथो, र सायद सबैभन्दा महत्त्वपूर्ण, एफिससको महत्त्वको कारण धर्म थियो। आर्तेमिस वा डायनाको मन्दिर, एफिससमा, प्राचीन संसारका सात आश्चर्यहरू मध्ये एक थियो। डायनाको मन्दिरमा १२७ स्तम्भहरू थिए, प्रत्येक राजाको उपहार थियो। ती मध्ये ३६ वटा सुनले लिपिएको थियो र बहुमूल्य पत्थरहरूले जडिएका थिए। भित्री मन्दिरमा डायनाको छवि थियो। एफिसीहरूले सोचे कि उनी स्वर्गबाट ​​खसेकी थिइन्। उनको धेरै स्तनहरू थिए, जुन प्रजनन क्षमताको संकेत थियो र मानिसहरूले यसलाई संसारको सबैभन्दा पवित्र चीज ठान्थे। मन्दिरका पुजारीहरू नपुंसकहरू थिए र मन्दिरका महिलाहरू मेलिसा थिए जो एक धार्मिक वेश्या हुन्थे। नाच्ने क्रममा बाँसुरी प्रयोग गरेर उनीहरूले निकै भावुक, सनसनीपूर्ण पूजा गर्थे। त्यहाँ मन्दिरको क्षेत्र थियो, जहाँ अपराधीहरू बस्न सक्थें । प्रेरित १९मा हामी एफिससमा भेट्छौं, डेमेत्रियस नामको एक चाँदीका काम गर्ने शिल्पकार थिए जसले मूर्ति बनाएर जीवनयापन गर्थे, उसले पावल र अन्य चेलाहरूलाई सबै प्रकारका समस्याहरू ल्याइरहेको थिए। प्रेरित १९:२७ अनुसार आर्तेमिस (डायना)लाई संसारभरका मानिसहरूले माया र पूजा गर्थे। डायनाको मूल मन्दिर धेरै शताब्दी अघि धुलोमा चकनाचूर भयो तर जब यसलाई पुनर्निर्माण गरियो, यो संसारको सात आश्चर्य मध्ये एक भयो। 

 एफिससमा इसाईको सुरुवात
एफिससमा ईसाई धर्मको इतिहास ५० इस्वीको आसपास सुरु भयो। सायद प्रिस्किला र अकिलासको प्रयास र परिश्रमको परिणामको रूपमा यो सम्भव भयो (प्रेरित १८:१८)। पावल लगभग ५२ इस्वीतिर एफिससमा आए, मण्डली स्थापना गरे र कम्तिमा तीन वर्ष त्यहाँ बसे (प्रेरित २०:३१)। यो त्यहि समय थियो जब पावलले १ कोरिन्थीहरूलाई पत्र लेखे र सुसमाचार बाँड्ने धेरै अवसरहरू साथसाथै धेरै समस्याहरूको सामना गर्नुपर्‍यो (प्रेरित १८:२३-४१)। एफिससमा पावलले विश्वासीहरूलाई बप्तिस्मा दिएका थिए (प्रेरित १९:१-५) र तिनले शक्तिशाली रुपमा तन्त्रमन्त्र र टुनामुनाको प्रभावको विरोध गरे (प्रेरित १९:११-२०)। 
यूहन्नाले प्रकाश २:१-७ मा आफ्ना शब्दहरू लेख्दासम्म, एफिससको मण्डली प्रभुको लागि काममा व्यस्त थियो तर उहाँप्रति निष्कपट प्रेम थिएन। तिनीहरूसँग सबै चर्च कार्यक्रमहरू थिए तर कुनै जोश थिएन। तिनीहरू ठूला तथ्याङ्कहरू र योजनाका साथ व्यस्त मण्डली थिए, तर तिनीहरू ख्रीष्टप्रतिको आफ्नो हृदयदेखिको भक्तिबाट टाढा भइरहेका थिए। अन्य सबै मानिसहरुका लागि, यो एक निक्कै सफल मण्डली थियो तर ख्रीष्टको लागि यो मण्डली पतन हुने प्रक्रियामा थियो। 

 एफिसी एक पत्र : 
एफिसीको पत्रका लेखक पावल थिए। यो सम्भवत ६१ ईस्वी वरिपरि लेखिएको थियो र कैदमा लेखिएको पत्रको रूपमा चिनिन्छ। एफिसी ६:२१-२२ ले तुखिकसलाई उल्लेख गरेको छ, सायद उसले पावलको पत्र लादैं थियो। पावलले लेखेका कलस्सीको पत्र र एफिसीको पत्र धेरै मिल्दोजुल्दो छ, तर तिनीहरूमा अझै धेरै भिन्नता छ किनभने तिनीहरू फरक कारण र फरक उद्धेश्यको निम्ति लेखिएको थियो। कलस्सीले "ख्रीष्टको ईश्वरत्वको" बारेमा बोल्दछ (कलस्सी १), कलस्सी २:८-१८ मा हामी नोस्टिकवाद (दोस्रो शताब्दीको इशाई मण्डलीको प्रमुख विधर्मी अभियान जसले कम-इश्वरत्व डेम्युर्जद्वारा पृथ्वी सृष्टि गरिएको र ख्रीष्टको इश्वरत्वलाई इन्कार गर्ने सिद्धान्त सिकायो) र यहूदी धर्मको विरुद्ध चेतावनीहरू पढ्न पाउँछौं। एफिसी १:३-१४ मा हामी इश्वरीय चुनाउ र 'ख्रीष्टमा' हुनुको अर्थ के हो भनेर पढ्छौं। एफिसी ३:४०-४१ मा हामी आत्मिक प्रार्थनाको शक्तिको बारेमा पढ्छौं, एफिसी ५:२३-३३मा हामी विवाह र ख्रीष्टको एकताको बारेमा पढ्छौं, एफिसी ६:१३-१७ मा हाम्रो युद्ध, ख्रीष्टियनहरू कसरी सिपाही हुन् र हाम्रो आत्मिक हातहतियार बारे पढ्छौं। पत्रको उद्धेश्य : यस पत्रमा पावलको मुख्य उद्देश्य मण्डलीको एकतालाई उदृत गर्नु थियो, जुन क्रुसमा ख्रीष्टको कार्यको परिणाम थियो र येशूलाई सबै चीजहरू, विशेष गरी उहाँको मण्डलीको शिरको रूपमा प्रस्तुत गर्नु थियो। सबैभन्दा पहिले, उहाँले एफिसीका इशाईहरूलाई मण्डली मार्फत परमेश्वरको अनन्त छुटकाराको उद्देश्यको सम्झना गराउनुहुन्छ, एफिसी १:४ / एफेसी १:५ / एफेसी १:९ / एफिसी १:११ / एफिसी १:१३ / एफिसी १:२० / एफिसी २:४ / एफिसी २:१०/ एफिसी ३:११। दोस्रो, प्रेरित पावलले ठूलो मात्रामा अन्यजाति मण्डलीलाई ख्रीष्टमा भएको कारणले गर्दा परमेश्वरको अनुग्रहको कारण उनीहरूले पाएका धेरै आशिषहरूको सम्झना गराउँदछ (एफिसी १:३ / एफेसी २:१-१०)। परमेश्वरको मुक्तिको योजना मण्डलीमा सारिएको छ जसलाई उहाँले संसारको अन्त्य पछि येशू फेरि आउनुभएपछि अनन्त बासस्थानमा ल्याउनुहुनेछ। आशिष के हो? आत्मिक आशिष के हो?

Comments