निरन्तर संघर्ष गरिरहनुहोस्....

निरन्तर संघर्ष गरिरहनुहोस्.... 


Keep Fighting...

आज कठिन छ, भोली निक्कै कठिन हुनेछ तर पर्सि सुन्दर हुनेछ। अधिकांश मानिस भोली राति नै हार मान्छन्।" ज्याक मा

हामीले जीवन सुख र दुखको समिश्रण हो भन्ने भनाईलाई धेरै पटक सुनेका छौं। तर वास्तवमा जीवन थोरै मात्रामा सुख र धेरै मात्रामा संघर्ष हो - यी दुईको समिश्रण नै जीवन हो। हाम्रो निरन्तरको संघर्ष नै हाम्रो जीत हो। परमेश्वर संघर्षशील मानिस मन पराउनुहुन्छ। परमेश्वर हामीलाई "तिमी कति सफल भयौं" भनि प्रश्न गर्नुहुन्न तर "तिमीले कति संघर्ष गर्‍यौं? के हरेक परिस्थितिहरुमा निरन्तर संघर्षशील बन्यौं? के कहिल्यै हार मान्यौं?" भनि प्रश्न गर्नुहुन्छ। 
परमेश्वरले प्रतिज्ञाको देश कनानमा बिनाउद्धेश्य नेफिलीम राख्नुभएको थिएन। गन्ती १३ अध्यायमा परमप्रभुले मोशालाई कनान देशभित्र गुप्तचरहरु पठाउने आज्ञा दिनुहुन्छ। मोशाले बाह्र जना गुप्तचरहरु पठाउँछन। कनान देशमा गएका बाह्र गुप्तचरहरुमध्ये कालेब र यहोशू बाहेक अन्यले कनानमा देखेका ती नेफिलीम दैत्यजस्ता मानिसहरुका सामु आफूहरु फटेङग्राजस्तै भएको खबर लिएर आउँछन्। प्रियहरु! आज पनि हाम्रो जीवनमा त्यस्ता अनगिन्ती नेफिलीम र गोल्यतहरु छन्। फटेङग्रा मानसिकता लिएर युद्ध जितिदैंन।
परमेश्वरले कनान देशमा नेफिलीम राख्नुको उद्धेश्य :
# तिनीहरुको संघर्ष जारी थियो भनि बुझाउन। 
# परमप्रभुमाथिको भरोसा सिकाउन। 
# तिनीहरुले कसरी युद्ध लडनुपर्छ सिक्नुपर्थ्यो। 
# हारको कुनै सवालै थिएन। पराजित मनसाय हटाउन। 
# संघर्षमा तपाईले आफैलाई चिन्नुहुन्छ। तपाई को हुनुहुन्छ?
# संघर्षको बिचमा तपाईले परमेश्वरलाई चिन्नुहुन्छ । केवल उहाँ मात्र तपाईको सहायता हुनुहुन्छ। 

२ कोरिन्थी १:३-४
हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर तथा पिता, करुणामय पिता, र सबै सान्‍त्‍वनाका परमेश्‍वरलाई प्रशंसा होस्‌।
उहाँले हामीलाई सबै दु:खमा सान्‍त्‍वना दिनुहुन्‍छ, ताकि हामीले पनि परमेश्‍वरबाट पाएको त्‍यही सान्‍त्‍वनाले कुनै पनि दु:खमा परेकाहरूलाई सान्‍त्‍वना दिन सकौं।

हामी कति इशाईहरुको कस्तो मनोवृत्ति हुन्छ भने हामीले परमेश्वरमा विश्वास गरेको कारण-मुक्ति पाएको कारण कुनै प्रयास-संघर्ष-काम बिना नै परमेश्वरले हामीलाई हामीले इच्छाएको कुरा दिनुहुन्छ। तर सत्य यहि हो कि जुन कुराको जे मूल्य छ हामीले त्यो मूल्य चुकाउनैपर्छ। 
हो, परमेश्वर तपाईलाई समृद्ध बनाउन र आशिष दिन चाहनुहुन्छ, तर कहिलेकाँहि तपाई केहिबाट भएर गुज्रनुपर्ने हुन्छ। कहिलेकाहीँ संघर्ष गर्नुपर्ने हुन्छ, कहिलेकाहीँ तपाईले युद्ध लडनुपर्ने हुन्छ, कहिलेकाँहि सहनुपर्ने हुन्छ। परमेश्वरले तपाईलाई जे बन्नको लागि नियुक्त गर्नुभएको छ, त्यसको लागि संघर्षमा यस्तो केहि आवश्यक तत्व छ।  
हामी अरुको परिणामलाई देखेर कल्पनामा दुब्ने इशाई हुनुहुँदैन। हामी अरुको जीवनशैलीलाई देखेर कल्पनामा डुब्छौं तर बाइबलले भन्दछ, "कल्पनाको पछि दौडनेहरु दरिद्रताले भरिन्छन्" (हितोपदेश २८:१९)। परिणामअघि त्यहाँ अनगिन्ती संघर्षका कथाहरु लुकेको हुन्छ भनेर बुझ्नुपर्छ। परमेश्वरको नजरमा तपाईको संघर्ष नै तपाईको सफलता हो। उहाँ हाम्रो निरन्तर प्रयास र संघर्षको आधारमा हाम्रो सफलताको मापन गर्नुहुन्छ। 
संघर्ष निक्कै नै थकानपूर्ण हुन सक्छ। बाइबलले हामी थाक्दैनौं भनेको छैन्। संघर्षशील मानिस थाक्छ यसकारण येशूख्रीष्टले भन्नुभयो, हे! सबै थाकेको हो... म कहाँ आओ। थकानलाई नकारात्मक रुपमा नहेर्नुहोस। कोहि थाक्दा उसको आलोचना नगर्नुहोस्। उसको निम्ति प्रार्थना गर्नुहोस्।  
 सघर्ष गर्दागर्दै पनि धेरैपटक हामीले चाहेको समयमा परिणाम पाउँदैनौं, कतिपटक सोचे जस्तो अनि योजना बनाए जस्तो हुँदैन, निराशाले घेरिन्छौं, मानिसले तपाईको संघर्षलाई देख्दैन्। वास्तविकता चाहिँ यहि हो कि संघर्ष एक्लै गरिन्छ तर उत्सव सबैसँग मनाइन्छ। संघर्षको बेला तपाई एक्लै हुनुहुनेछ। तपाईले संघर्षको अवधिमा साथ दिने निक्कै कम मानिसहरु भेट्टाउनुहुनेछ। तपाईलाई दुविधा हुनेछ। के मैले ठिक गरिरहेछु? के सहि पथमा छु? किन म मेरो मेहेनत, परिश्रम र संघर्षको परिणाम देख्दिन? 


संघर्षबिनाको उपलब्धिको मूल्य सानो हुन्छ। 
जब तपाईले संघर्ष, प्रयास र कडा मेहेनत पछि कुनै थोक प्राप्त गर्नुहुन्छ,
# तपाईले यसको मूल्य बुझ्नुहुनेछ। 
# यसको निम्ति कृतज्ञ हुनुहुनेछ। 
# यसलाई तपाई आदर गर्न सिक्नुहुनेछ। 
जुन थोकको लागि तपाईले मूल्य चुकाउनुभएको छ, त्यो थोक तपाईको निम्ति अनमोल बन्दछ। बाटोमा भेट्टाएको पैसा धेरै समय टिक्दैन। जसले सित्तैमा पाउँछ, उसले छिट्टै पनि गुमाउँछ।  हातको छाला उडने गरी पसिना बगाएर कमाएको हजार रुपैयाँको मूल्य सित्तैमा पाएको पचासौं हजारकोभन्दा बढी हुन्छ। 
प्रियहरु! हार नमान्नुहोस् तर निरन्तर संघर्ष गरिरहनुहोस्। संघर्षबिना प्राप्त भएको कुनै पनि अनमोल कुराको मूल्य सानो हुन्छ। जब शावल राजाले इस्राएलको सिंहासन र राजगद्दी प्राप्त गरे तब यसको गम्भीरता, मूल्य र वजनलाई चिन्न र बुझ्न सकेनन्। ऊ भित्र छिट्टै शक्ति र पदको घमण्ड आउँछ। उसले परमेश्वरको आज्ञा उल्लंघन गरेर आफ्नो इच्छा पुरा गर्दछ। उसले परमेश्वरबाट आफ्नो मुहारलाई फर्काउँछ र छिट्टै सम्पूर्ण इस्राएलको सिंहासन गुमाउँदछ । 
तर जब दाऊदले इस्राएलको राजाको रुपमा सिंहासन सम्हाले उसले यसलाई पूर्ण आदर र गम्भिरताकासाथ ग्रहण गरे। उसमा नम्रता आयो र अझै परमप्रभुसँग घनिष्टतामा जिए। प्रेरित १३:२२ अनुसार, बाइबलले दाऊदलाई "परमेश्वरको हृदय भएको मान्छे"को रुपमा घोषणा गरेको छ। 
शावल र दाऊदमा फरकचाहिँ संघर्ष हो। शावलले कुनै संघर्ष, दुख, कठिनाई र मेहेनतबिना इस्राएलको सिंहासन प्राप्त गरेका थिए (१ शमूएल १०)। तर दाऊदले यस पदको निम्ति १५ वर्ष प्रतिक्षा गरेका थिए र यस १५ वर्षको अन्तरालमा उनी हरेक सतावट, तिरस्कार, समस्या, जिवाइ र भोगाइ, उतारचढाव र संघर्षहरुबाट गुज्रिए। अन्तिममा जब उनले इस्राएलको सिंहासनलाई प्राप्त गरे, उनले यस प्राप्ति र जिम्मेवारीलाई इमान्दारिता‌कासाथ ग्रहण गरे ।

यूहन्ना ५ अध्यायमा हामी एक लङ्गडा व्यक्तिको कथा पढ्न पाउँछौ जसले निको हुन ३८ वर्ष प्रतीक्षा र संघर्ष गरेका थिए। यो निक्कै लामो समय हो। त्यो व्यक्तिले आफ्नो सारा जिवन नै निको हुन पर्खेका थिए। यो मानिस जल-कुण्डको नजिकै बस्थ्यो जहाँ नियमित चमत्कार हुने गर्थ्यो तर उनी अपाहिस भएको कारण ऊ सधैं छाडिन्थ्यो। हरेक दिन ऊ संघर्ष गर्दै त्यस जल-कुण्डमा ओर्लिन खोज्थ्यो तर उसलाई उछिनेर मानिसहरु ऊ भन्दा अघि पानीमा ओर्लिहाल्थ्यो। 
प्रियहरु! के तपाईले त्यस अपाहिस मानिसले जस्तो अनुभव गर्नुभएको छ? 
जब तपाईले लामो समयदेखि प्रतीक्षा अनि संघर्ष गरिरहनुभएको छ तर पनि कुनै उपलब्धि देख्नुहुन्न तब कस्तो महसुस हुन्छ? 
जति नै कोशिस गर्दा पनि सोचेको जस्तो भएको छैन्। यस्तो बेला हामी सबैबाट छाडिन्छौं, आफ्नै मानिसहरुबाट तिरस्कृत हुन्छौं, हाम्रो संघर्षलाई बुझिदिने मान्छे भेटन साह्रो मुस्किल पर्छ। हाम्रो अपेक्षा र आशाहरु मर्दै जान्छ र हामी निराश हुन पुग्छौं। 
जब हाम्रो जिवनमा आशिषहरु ढिलाई हुन्छ, र समस्याको कुहिरोले जिवन ढाकिन्छ, तब डरले हाम्रो आशालाई जितिदिन्छ। 
भलै हामी शारीरिक रुपमा स्वस्थ छौं, हामी सबै जना त्यस अपाहिस व्यक्तिको स्थानमा पुगेका छौ । हामीले देखेका र बुनेका सपनाहरु अरु कसैले नै जिएको देख्दा मन त कटक्कै नै खान्छ। हामी संघर्ष त गर्छौ तर परिणाम अरुको जीवनमा देख्दा हामी त्यस अपाहिस मानिस छाडिए जस्तो आफू छाडिएको महसुस गर्छौं। 
तर एकदिन त्यस लङ्गडाे व्यक्तिको भेट येशुख्रीष्टसँग हुन्छ, तब उहाँले त्यस व्यक्तिको हृदयमा के चलिरहेको छ थाहा पाउनहुन्छ र सोध्नुहुन्छ, "के तिमी निको हुन चाहन्छौं?"
त्यस व्यक्तिले तुरुन्तै उत्तर दिन्छ 'हजुर' । त्यहि समयमा नै तिनको ३८ वर्षको पर्खाइको अन्त हुन्छ। त्यति लामो समयको पर्खाइमा पनि त्यस व्यक्तिको आशा डगमगाएको थिएन। उनमा अझै पनि महान अपेक्षा थियो जसले गर्दा उनी निको भयो। त्यस दिन उनले आफ्नो संघर्षको फल पाएको थियो। 
प्रियहरु! परमेश्वर तपाईको संघर्षलाई देख्नुहुन्छ। एकदिन अवश्य तपाईले गरेको संघर्ष सार्थक हुनेछ। तपाईको इनाम परमेश्वरमा सुरक्षित छ। परमेश्वरमाथिको भरोसालाई डग्न नदिनुहोस् र निरन्तर संघर्ष गरिरहनुहोस्.....। 





Comments