आज्ञापालनको निम्ति हृदय आवश्यक

 आज्ञापालनको निम्ति हृदय आवश्यक :


योनाको जीवनीबाट आज्ञाकारिताको पाठ 

योनाको परिचय : 
योना बाइबलको १२औं साना-अगमवक्ताहरुमध्येका एक हुन जसलाई विशेष गरी परमेश्वरले निनवे शहर-अश्शुरको राजधानीमा प्रचार गर्नको निम्ति चुन्नुभयो। 
योन्नाले इस्राएलको राजा दोस्रो यारोबामको पालामा सेवाकाई गरेका थिए जसको शासन ७९०-७४९ ई.पू सम्म थियो। उनी अमित्तैका छोरा थिए जो जबूलुन कुलको सहर गात-हेपेर भन्ने ठाउँका बासिन्दा थिए। 

योनाको अनाज्ञाकारीता (पहिलो अध्याय) :
जब परमप्रभुले योनालाई निनवे शहर 'परमप्रभुको न्याय र मुक्तिको' बारे प्रचार गर्न पठाउनुहुन्छ तब उनी निनवेको सट्टा तर्शीशतिर लागे। उनको शहरदेखि निनवे उत्तरी-पूर्वपट्टी लगभग ८८५ कि.मी टाढा पर्थ्यो तर तिनी त्यसको ठिक विपरीत तर्शीश अर्थात पश्चिमतिर लगभग ४०२३ कि.मी टाढा भाग्दैथियो। अर्थात उनी निनवे शहरदेखि सकेसम्म टाढा भाग्न चाहन्थ्यो। 
धेरैपटक हामी परमेश्वरबाट भाग्न चाहन्छौ किनकि उहाँको आज्ञा हाम्रो इच्छा र चाहना विपरित हुन्छ। हामी आज्ञापालन गर्न इन्कार गर्छौ किनकि त्यो हाम्रो चाहनाविपरित हुने गर्छ। हामी पनि योनाजस्तै मुर्ख भैरहेका हुन्छौं। हामी आफ्नो मिशनलाई भन्दा बढि आफ्नो स्वार्थ र चाहनालाई महत्व दिन्छौं।
"मिशनबिनाको इशाई विरोधाभास कुरा हो।"
हामी हरेकलाई परमेश्वरले केहि मिशन दिनुभएको छ, हामी त‌यसबाट योना जसरी भाग्ने होइन तर पूर्ण हृदयकासाथ त्यसलाई पुरा गर्नुपर्छ। 
धेरै पटक हामी क्षमा दिन चाहदैनौं, प्रेम गर्न सक्दैनौ, छिमेकीलाई सहन सक्दैनौं, यसरी परमेश्वरको आज्ञाहरुलाई लत्याइरहेका हुन्छौं। 
विन्की प्र्याटनी, "परमेश्वर इच्छुक हृदय खोज्दै हुनुहुन्छ...उहाँको कोहि प्रिय (favourite)  छैन। तपाई विशेष हुन आवश्यक छैन, तर तपाई उपलब्ध हुन जरुरी छ। "

योना किन निनवे जान चाहेनन? 
योना निनवे शहर जान नचाहनुको कारण :
- निक्कै कठिन मिशन 
- निनवेका मानिसहरु निक्कै दुष्ट, क्रूर, हत्यारा, असभ्य, मूर्तिपुजकहरु थिए। निनवे शहरुमा अर्को एक जना अगमवक्तालाई पनि पठाइएको थियो- नहुम। तिनले निनवे शहरलाई 'रगतको शहर' (नहुम ३:१) भनी सम्बोधन गरेका छन्। 
तिनीहरुका एक सम्राट अश्शुरबानीपलले मानिसहरुको ओठहरु जिउँदै निकाल्ने गर्थे। 
तिग्लाथ-पिलेसर, तिनीहरुको अर्को एक शासकले बन्दीहरुको शिर काटेर निनवे शहरको ढोकामा खोपडीको थुप्रो बनाए।
यी सबै दुष्टताको कारण योनाले निनवे शहरका मानिसहरुलाई निक्कै घृणा गर्थे र परमेश्वरको न्याय र दण्ड पाउनैपर्छ भनि विश्वास गर्थे। 
- योनाले निनवे शहरमा गएर प्रचार नगर्नुको मूख्य कारणचाहिँ यदि निनवेका मानिसहरुले पश्चाताप गरेर प्रार्थना गरे भने परमप्रभुले सुन्नुहुन्छ भनेर ( ४:२-३)।

योनाको प्रार्थना : (दोस्रो अध्याय) 
जब योना माछाको पेटभित्र पुगे तब उनले प्रार्थना गरे। अहिलेसम्म उनले प्रार्थना गरेका थिएनन। हामी पनि धेरैचोटी जब समस्यामा पर्छौं तब मात्र प्रार्थना गर्न मन पराउँछौ।

योनाको आज्ञाकारीता : (तेस्रो अध्याय)
आज्ञापालनको निम्ति हृदयको प्रमुख भुमिका (३ अध्याय):
लेभाभ/लेभ : सारा जीवनको मूल र केन्द्रविन्दु जसले पुरा शरीरलाई नियन्त्रण गर्दछ। हिब्रूमा इस्राएलीहरुसँग दिमाग/मस्तिष्कको निम्ति कुनै धारणा र शब्द छैन। 
हृदय (ग्रीक कार्डीया) लाई बाइबलले केवल शरीरको एक अंगकप रुपमा मात्र प्रश्तुत गरेको छैन तर यो मानव जीवनको केन्द्रविन्दु हो। 
यस अध्यायमा योनाले परमेश्वरको आज्ञापालन गरेको देख्न सकिन्छ तर अझै प्रश्न चाहिँ 
के उनले साँचो हृदयकासाथ आज्ञापालन गरे त? 
अगस्टाइन भन्छन, "दुष्ट मानिसहरु डरल‌े आज्ञा मान्छन्, असल मानिस-प्रेमबाट आज्ञापालन गर्छन्।"
परमेश्वर आज्ञापालन मात्र होइन तर हृदयका साथ गरिएको आज्ञापालन चाहनुहुन्छ। 
हामी गन्तव्यमा केन्द्रित छौ तर परमेश्वर यात्रामा केन्द्रित हुनुहुन्छ। हामी समाप्त गर्न आतुर छौं तर परमेश्वर कसरी समाप्त गर्छौ यसमा बढी चासो राख्नुहुन्छ। 
आज्ञापालन नियमपालनभन्दा फरक छ। 
- आज्ञापालनमा हृदयको भुमिका हुन्छ तर नियम पालनमा तपाईको हृदयको कुनै मूल्य हुँदैन। 
- आज्ञापालनमा आशिष छ तर नियम पालनले दण्डबाट बचाउँछ। 
- परमेश्वर आज्ञापालन चाहनुहुन्छ, नियम पालन होइन। 
- आज्ञापालनमा प्रेम हुन्छ, नियम पालनमा डर हुन्छ। 

योनाले निनवे शहर गएर गएर घोषणा गरे, "अबको चालिस दिनमा निनवे नष्ट हुनेछ"- (३:४)
निक्कै छोटो प्रचार तर यहि प्रचारले निनवेका मानिसहरु मात्र होइन पशुहरुले पनि उपवास र पश्चाताप गरे। 

योनाको प्रतिक्रिया : (चौंथो अध्याय) 
लियोनार्ड रयाभेनहिल, "परिपक्कता उमेरबाट होइन, आज्ञाकारिताबाट आउँछ।"
 परमेश्वरको इच्छाचाहिँ हराएकालाई बचाउनु मात्र थिएन तर आफ्नो दासको हृदय परिवर्तन गराउनु थियो। 
यदि परमेश्वरको इच्छा हराएकाहरुलाई खोज्नु र बचाउनु मात्र हो भने योनाको पुस्तक तेस्रो अध्यायमा आएर समाप्त हुनु पर्थ्यो तर उहाँको इच्छा आफ्नो दासको हृदयलाई बदल्नु थियो।
चौंथो अध्याय अलंकार प्रश्न (Rhetorical question) द्धारा अन्त गरिएको छ। यो उत्तरको लागी होइन तर प्रभावको लागी गरिने प्रश्न हो। 
आज हाम्रो लागि पनि यो प्रश्न छ,
हामी कस्तो हृदयका साथ जिवन जिउँदै छौं? 
कस्तो हृदयकासाथ आज्ञापालन गरिरहेका छौं?



Comments