आज्ञाकारिता

 आज्ञाकारिता

Obedience 

Sh'ma : hear 

 ὑπακοή, /hupakoe' : परमेश्वरको वचनलाई सुनेर पालना गर्नु 

'आज्ञाकारिता' बाइबलमा लगभग १७० पटक उल्लेख गरिएको शब्द ।


१ शमूएल १५:२२-२३ 
तर शमूएलले भने,  “होमबलि र बलिदानभन्‍दा बेसी  परमप्रभुले आज्ञापालन नै रुचाउनुहुन्‍न र?आज्ञापालन बलिदानभन्‍दा उत्तम हो,  र उहाँको वचन मान्‍नु भेड़ाको बोसोभन्‍दा असल हो। उहाँको आज्ञा उल्‍लङ्घन गर्नु तन्‍त्रमन्‍त्रको पापजस्‍तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्‍तै खराब हो।”

"Obedience brings God's blessings and Disobedience brings God's judgment"
इस्राएलीहरुले यो पाठ धेरै ढिला सिके। 

बाइबलीय आज्ञाकारिता के हो? 
धेरै पटक हामीले आज्ञापालन नगरेकाले होइन तर आज्ञापालन गर्न नजानेकाले परमेश्वरको आशिषबाट वञ्चित भइरहेका हुन्छौं। व्यवस्था २८ अध्यायमा हामी आज्ञाकारीताले ल्याउने आशिष र अनाज्ञाकारीताले ल्याउने श्रापको विषयमा पढ्न पाउँछौं, तर यस अध्यायमा ध्यान दिने हो भने अनाज्ञाकारीताले ल्याउने श्रापहरु अधिकतम भेट्टाउछौं। यसले परमप्रभुले अनाज्ञाकारीतालाई कति गम्भीर रुपमा लिनुहुन्छ भन्ने बताउँछ। 
तपाईले परमेश्वरको निम्ति गर्ने हरेक कार्यहरु हृदयबाट प्रस्फुटित भएको हुनुपर्छ, जबरजस्ती अनिच्छामा गरेको कुराहरुमा आशिष छैन। 
शास्त्री र फरिसीहरुले पनि व्यवस्था पालना गर्थे तर तिनीहरुको हृदय आफ्नै स्वार्थ र लालसामा, अरुलाई देखाउनका निम्ति, मानिसहरुसामु आफैलाई महान देखाउन  तिनिहरुले आज्ञाकारितालाई हतियारको रुपमा प्रयोग गर्थे। 
त्यहाँ ७ किसिमका फरिसीहरु थिए:
- काधँमा आफ्नो धर्म-कर्म लेख्ने फरिसी 
- 'एकछिन पर्ख' फरिसी : आफ्नो असल कामहरु अरुलाई देखाउनका निम्ति सधैं पर्खाउने 
- चोट लागेका फरिसी : आफ्नो मुहार ढाकेर हिड्ने ताकि स्त्रीहरुलाई हेर्न नपरोस् जसकारण ठोक्किएर लड्ने 
- सधैं हिसाब गर्ने : अरुलाई निच्चा देखाउन सधैं आफ्नो असल कामहरुको मोलतोल हिसाब गर्ने 
- केहि गल्ती गरिहाल्छु कि, मेरो कमिकमजोरी अरुले थाहा पाउने होकि भनेर सधैं डराउने फरिसी 
- सधैं झुक्ने फरिसी : नम्रताको ढोंग गरेर सधैं झुकेर हिड्ने फरिसी
- साँचो फरिसीहरु 

यसकारण येशूख्रीष्टले फरिसीहरुलाई इंगित गर्दै भन्नुभयो, "साँच्चै, म तिमीहरुलाई भन्दछु, तिनीहरुले आफ्नो इनाम पाइसकेका छन्" - मत्ती ६:५
यसको अर्थ के हो? 
यसको अर्थ तिनीहरुले जस्तो इनामको निम्ति आज्ञा र व्यवस्थाहरुको पालना गरे, त्यहि इनाम पाए। तिनीहरुले कहिल्यै परमेश्वरबाट पाइने साँचो इनामको निम्ति साँचो हृदयले आज्ञापालन गरेनन, जसकारण तिनीहरुले चाहेका इनाम- सांसारिक इज्जत, ख्याती, पद, प्रतिष्ठा, शक्ति र अधिकार पाइसके, अब तिनीहरुको निम्ति स्वर्ग परमेश्वर पिताबाट पाइने इनाम छैन। 
हामी कस्तो हृदयका साथ आज्ञापालन गरिरहेका छौं? 
कस्तो इनामको निम्ति आज्ञाकारी भइरहेका छौं?

अनाज्ञाकारीता परमेश्वर विरुद्धको विद्रोह (पाप) हो:
पहिलो मानिस आदमको अनाज्ञाकारिताले मृत्यु जिवित (active) भयो। परमप्रभुले मानिसलाई सास फुकेर जिवन दिनुहुँदा नै मृत्यु पनि अस्तित्वमा थियो तर यो मरणशील अवस्थामा थियो- मृत्युसँग कुनै शक्ति थिएन- मृत्युमाथि मानिसको अधिकार थियो तर जसै मानिसले परमेश्वरको आज्ञालाई लत्याएर उहाँको विरुद्धमा पाप गरे, मृत्यु जिवन्त भयो किनकि वचनले भन्दछ, "मृत्युको खील पाप हो... "- १ कोरन्थी १२:५६। मृत्यु शक्तिशाली भयो। अब उसो मृत्युमाथि मानिसको अधिकार भएन। परमप्रभुले मानिसलाई उत्पत्ति २:१६-१७ भन्नुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्‍छ, तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्‍यो खान्‍छस्‌ तँ निश्‍चय नै मर्नेछस्‌।"
"मर्नेछस" शब्दलाई हिब्रू संस्करणमा अध्ययन गर्ने हो भने यसको अर्थ "Dying, you shall die" अर्थात "मरिरहनेछस, र मर्नेछस्" हुन्छ। आदमको अनाज्ञाकारीताले उसलाई अदनको बगैंचाबाट(परमेश्वरको उपस्थिति) निकालियो। प्रियहरु ! जसरी बिरुवालाई जमिन चाहिन्छ, जसरी माछालाई पानी चाहिन्छ त्यसरी नै मानिसलाई परमेश्वर चाहिन्छ। परमेश्वर हाम्रो चाहना मात्र होइन तर आवश्यकता हो। तपाई परमेश्वरलाई कति चाहनुहुन्छ, त्यति नै उहाँको कदर र आज्ञा पालन गर्नुहुन्छ। वचनले पनि भन्दछ, “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।" - यूहन्ना १४:१५

आज्ञाकारीतालाई कार्यमा उतार्नुहोस :
यसकारण तपाईको प्रेम र आज्ञाकारीता केवल शब्दमा मात्र सिमित नहोस तर कार्यमा देखियोस्।
अब्राहामले आफ्नो विश्वास र आज्ञाकारीतालाई कार्यमा देखाएको कारण परमप्रभुले भन्नुभयो,  ‘अब मैले थाहा पाएँ तँ परमेश्‍वरसँग डराउँदोरहेछस्‌, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।”- उत्पत्ति २२:१२
अब यहाँ हामीलाई एउटा प्रश्न उठ्न सक्छ कि परमेश्वर त सर्वज्ञ्याता र सर्वज्ञानी हुनुहुन्छ, किन उहाँले 'अब मैले थाहा पाए' भन्नुभयो? के उहाँलाई पहिल्यै थाहा थिएन र? 
हो, परमेश्वरलाई सैद्धान्तिक रुपमा (theoretically) थाहा थियो तर अनुभवको आधारमा (Experiencially) उहाँलाई थाहा थिएन। परमेश्वरलाई theoretically सबै र सम्पूर्ण कुराहरु थाहा छ तर त्यहाँ त्यस्ता केहि कुराहरु छन जुन उहाँलाई experiencially थाहा छैन। 
उदाहरणको लागि यदि तपाईले परमेश्वरलाई 'पाप गर्दाको अनुभव कस्तो हुन्छ' भनेर प्रश्न गर्नुभयो भने यो उहाँलाई थाहा छैन किनकि उहाँले कहिल्यै पाप गर्नुभएको छैन। 
यसकारण जब हामी हाम्रो प्रेम, विश्वास र आज्ञाकारीतालाई कार्यमा उतार्छौ, तपाई उहाँलाई कति प्रेम गर्नुहुन्छ, कति भरोसा गर्नुहुन्छ, कति उहाँको आज्ञालाई शिरोपर गर्नुहुन्छ भन्ने कुरा उहाँलाई थाहा मात्र हुँदैन तर यसलाई उहाँ अनुभव पनि गर्न सक्नुहुन्छ ।
अब्राहामको आज्ञाकारीताको कारण परमप्रभुले इसहाकलाई भन्नुभयो,
"तेरा सन्‍तानलाई आकाशका ताराहरूझैँ बढ़ाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु। तेरै सन्‍तानहरूद्वारा संसारका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌,
किनभने अब्राहामले मेरो वचन पालन गर्‍यो, र मैले दिएका आदेशहरू, मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा विधिविधानहरूको प्रतिपालन गर्‍यो।”- उत्पत्ति २६:४-५













Comments