Let God be your strength
"जब तपाईको परिस्थिति बिग्रन्छ, त्यस बेला तपाई परमेश्वरबाट भाग्ने होइन तर परमेश्वरतिर भाग्नुपर्छ"
परमेश्वरको आत्मा बिना, हामी केहि गर्न सक्दैनौं। हामी हावा बिनाको जहाज, रस बिनाका हाँगाहरू र आगो बिनाको कोइलाजस्तै बेकार छौं।"-चार्ल्स स्पर्जन
हे याकूब, तँ किन भन्छस्? हे इस्राएल, तँ किन यस्तो गुनासो पोखाउँछस्? “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्वरले मेरो वास्ता गर्नुभएको छैन।”
के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्? परमप्रभु सदासर्वदा परमेश्वर हुनुहुन्छ (everlasting), पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ (omnipotent)। उहाँ न त थकित न हैरान हुनुहुन्छ, र कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन?(omniscient)
उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ।
युवक पनि दुर्बल र थकित हुन्छन्, र जवान मानिसहरू थाकेर लोट्छन्।
तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।
भजनसंग्रह ४६:१-३
परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कष्टमा सधैँ हाजिर रहने सहायता। यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्वी उथलपुथल होस्, वा पर्वतहरू समुद्रको गर्भमा खसून्, चाहे समुद्र गर्जोस् र फीँज काढ़ोस्, र चाहे त्यो उर्लेर आउँदा पर्वतहरू थर्कून्।
हितोपदेश १८:१०
परमप्रभुको नाउँ एक बलियो धरहरा हो, धर्मीहरू त्यहाँ दगुर्दै जान्छन् र सुरक्षित हुन्छन्।
फिलिप्पी ४:१३
जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
"परमप्रभुलाई तपाईको शक्ति बनाउनु" को अर्थ के हो?
शक्ति /Strength लाई हिब्रुमा "मेओड/Me'od" भनिन्छ। यसको अर्थ शारीरिक बल होइन तर यसको अर्थ सर्वस्व हुदँछ।
जब बाइबलमा हामी महान आज्ञामा "परमप्रभुलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम" (व्यवस्था ६:४) गर्नुपर्ने कुरालाई हेर्छौ भने यस आज्ञामा 'सारा शक्ति'लाई जनाउन पनि मेओड शब्द नै प्रयोग गरिएको छ जसको अर्थ हाम्रो शारीरिक बल होइन किनकि एक दिन यो बल सकिनेछ।
यहाँ बताउन खोजिएको कुराचाहिँ परमप्रभु आफ्ना परमेश्वरलाई सारा सर्वस्वले प्रेम गर। केवल एउटा थोकले एउटा क्षेत्रबाट मात्र होइन सबथोकले सबै समयमा सबै क्षेत्रबाट उहाँलाई प्रेम गर।
परमेश्वरलाई हाम्रो शक्ति र सामर्थ्य बनाउनु भनेको पनि उहाँलाई हाम्रो सबथोक-सर्वस्व बनाउनु हो। उहाँलाई हाम्रो तन- मन- धन बनाउनु हो। उहाँलाई हाम्रो सुखदुखको मित्र बनाउनु हो। उहाँलाई हाम्रो जिवनको पहिलो लक्ष र प्राथमिकता बनाउनु हो। हरेक परिस्थितिमा उहाँप्रति वफादार हुनु हो। जिवनको हरेक मोडमा उहाँको साथ नत्यागनु हो।
प्रियहरु ! परमप्रभुलाई तपाईको शक्ति बनाउनु चाहिँ निक्कै गहिरो कुरा हो। उहाँलाई कहिल्यै नछोड्ने प्रतिज्ञा गर्नु हो, अब फर्कने बाटो छैन। एकपटक परमप्रभुलाई चुनेपछि तपाई त्यो बाटोबाट फर्कन सक्नुहुन्न यदि तपाई उहाँलाई त्यागेर मोडिनुहुन्छ भने तपाईले उहाँलाई कहिल्यै चुन्नुभएकै थिएन।
हामीलाई कमजोरीहरु शर्मको कुरा लाग्छ।
हामी यस्तो समाजमा छौं जहाँ कमजोरीहरु लुकाउनुपर्छ र केवल शक्तिशाली, क्षमतावान र बलवान मानिसहरु बाँच्न सक्छन भन्ने विचार गर्छौ। कमजोरहरु पछि पर्छन, उनीहरुले केहि गर्न सक्दैनन, कमजोर मानिस असफल हुन्छ भन्ने हामी सोच्छौं तर प्रियहरु! परमप्रभुलाई हाम्रो शक्ति भन्दा हाम्रो कमजोरीको आवश्यकता छ: अक्सर हाम्रो शक्ति उहाँको प्रतिद्वन्दी हुँदछ।
"मानिसको कमजोरी परमेश्वरको लागि अवसर हो ; मानिसको सुरक्षा शैतानको अवसर हो।"
जब तपाई आफैलाई दुर्बल र कमजोर महसुस गर्नुहुन्छ तब तपाईले परमेश्वरको आवश्यकतालाई अनुभव गर्नुहुन्छ, तपाई उहाँ अघि घुँडा टेक्नुहुन्छ, उहाँको शरण पर्नुहुन्छ, उहाँको उपस्थितिलाई खोज्नुहुन्छ, उहाँमा आफ्नो सामर्थ्य भेट्टाउनुहुन्छ। तर जब मानिसले आफैमा, आफ्नो श्रोतसाधनमा, आफ्नो क्षमतामा, आफ्नो बल र बुद्धिमा सुरक्षा र शक्ति भेट्टाउँछ तब उसलाई परमेश्वरको आवश्यकताको कुनै आभाष हुँदैन, ऊ हरेक दिन परमेश्वरदेखि टाढिन सक्छ त्यसबेला शैतानले मौका पाउँदछ।
बाइबलले बताउँदछ कि परमेश्वर हाम्रो कमजोरीहरुद्धारा कार्य गर्नुहुन्छ।
प्रेरित पावल कोरन्थीको पुस्तकमा बताउँदछन् कि आफ्नो प्रशस्त ज्ञान र प्रकाशको कारण घमण्डले नफुल्नको निम्ति उनको शरीरमा एउटा काँढा दिइयो। यस काँढाले जब-जब उनको शरीरलाई कमजोर बनाउँथ्यो तब यस कमजोरी र पिडाले झनै उनलाई परमेश्वरको आवश्यकता महसुस गराउँथ्यो र उनको सामर्थ्य उहाँ नै हुनुहुन्छ भनि सम्झाउँथ्यो।
परमेश्वरले तिनलाई भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु। यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म सन्तुष्ट रहन्छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।" - २ कोरन्थी १२:९-१०
धेरै पटक हामी हाम्रो परिस्थितिहरुमा परमेश्वरलाई प्रश्न गरिरहेका हुन्छौँ। उहाँको निर्णयहरुमा प्रश्न खडा गरिरहेका हुन्छौं। परमप्रभुलाई प्रश्न गर्नु, उहाँलाई चुनौती दिनु हो-उहाँको अनादर गर्नु हो-उहाँलाई गलत देखाउनु हो। हामी कहिल्यै परमप्रभुलाई 'किन यस्तो गर्नुभएको? यस्तो गर्नुपर्थ्यो वा यस्तो हुनुपर्थ्यो' भन्न सक्दैनौं।
"You can ask God a question but you can't question God"
"तपाईले परमेश्वरलाई प्रश्न सोध्न सक्नुहुन्छ तर परमेश्वरलाई प्रश्न गर्न सक्नुहुन्न"
प्रश्न सोध्नुको अर्थ तपाई त्यस कुराप्रति अनभिज्ञ हुनुहुन्छ र बुझ्न चाहनुहुन्छ।
प्रश्न गर्नु/उठाउनुको अर्थ तपाईले चुनौती दिँदै हुनुहुन्छ।
जब तपाईले प्रश्न सोध्नुहुन्छ, तपाईले यसको उत्तर प्राप्त गर्न पनि सक्नुहुन्छ वा पाउन सक्नुहुन्न तर जब तपाईले चुनौती गर्नुहुन्छ भने तपाईले उत्तरको माग गरिरहनुभएको हुन्छ।
यसकारण तपाईको परिस्थितिमा परमप्रभुलाई भरोसा गर्न सिक्नुहोस।
परमेश्वरलाई तपाईको दुर्बलताहरु दिनुहोस् र उहाँले तपाईलाई शक्ति दिनुहुनेछ। हामी कठिन परिस्थितिहरुमा हाम्रो क्षमता र बलमा भर परेर युद्ध लड्छौं जसकारण हामी छिट्टै थकित र निराश हुन्छौं।तपाईको लडाइँहरु परमप्रभुलाई सुम्पनुहोस र उहाँ तपाईको पक्षमा लड्नुहुनेछ।
वास्तवमा इशाई जीवनको यात्रा सहज छैन। एउटा इशाई प्रत्येक पाइला-पाइलामा अपमान, आलोचना, सजावट, घृणा, तिरस्कार, आत्मिक युद्ध जस्ताकठिन कुराहरुको सामना गर्नुपर्ने हुन्छ।
हामीले पनि इस्राएलीहरुको कनान देशतर्फको यात्रामा झै कयौं शत्रुहरुको सामना गर्नुपर्छ, हजारौं समस्याहरुको पहाडहरुलाई चढनुपर्छ र अनगिन्ती उत्तारचढावहरुलाई अनुभव गर्नुपर्छ। यात्रा निक्कै कठिन छ। तर यस कठिन यात्रामा तपाईले पनि मोशालेझै परमेश्वरलाई आफ्नो लडाँईं लडन दिनुहोस्। परमेश्वरलाई आफ्नो ताकत बनाउनुहोस्। उहाँमा पूर्ण रुपमा भरोसा गर्नुहोस् र आफ्नो विश्वासमा अडिग हुनुहोस्।
हामीसँग पनि मोशाको जस्तै हृदय हुन आवश्यक छ। उनले परमप्रभुलाई भने, “यदि तपाईंको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। तपाईं हामीसितै नगएसम्म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौं भनेर हामीले कसरी जान्ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुन्छौं?”- प्रस्थान ३३:१५-१६
दाऊद राजाले एकपटक परमेश्वरको छुटकाराको लागि प्रशंसाको गीत गाए। परमेश्वरले दाऊदलाई आफ्ना शत्रुहरुको हातबाट बचाउनु भयो। परमेश्वरले दाऊदलाई कसरी र कहिले उद्धार गर्नुहुनेछ भन्ने थाहा थिएन। दाऊद “मृत्युका छालहरूले" घेरीएका र "विनाशको बाढ़ीले" व्याकुल बनिएका (२ शमूएल २२:५) थिए तापनि उनले आफ्नो शक्तिको श्रोत, "गढ" र "शरणस्थान" को रुपमा परमेश्वरमा ध्यान केन्द्रित गरे। आफ्नो हरेक कमजोरीहरुमा उनले परमेश्वरलाई आफ्नो सामर्थ्य बनाए।
भलै इस्राएलको राजाको रुपमा परमप्रभुद्धारा उनी अभिषेक भए, उनी १०-१३ वर्षको अवधिसम्म विभिन्न चुनौती, जाचँ, समस्या, धोखा, विछोड, सतावटहरुद्धारा गुज्रिए। तर यी समयहरुमा पनि उनको हृदय परमप्रभुको निम्ति कहिल्यै वितृष्णाले भरिएन। उनले परमप्रभुको निर्णय र योजनाप्रति कहिल्यै प्रश्न खडा गरेनन।
उनले परमप्रभुलाई आफ्नो कमजोरी होइन तर बल बनाए।
"....तब दाऊदले परमप्रभु आफ्ना परमेश्वरबाट बल पाए।" - १ शमूएल ३०:६
दाऊद राजा पुरानो नियमको यस्ता पात्र हुन जसलाई तिनको महान कार्यको निम्ति होइन तर हृदयको महानताको निम्ति चिनिन्छ (प्रेरित १३:२२)।
दाऊदले भने,
३१. “परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्ग सिद्ध छ, परमप्रभुको वचन सच्चा छ। उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ।
३२. किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र?
३३. उनै परमेश्वर, जसले मलाई शक्तिशाली तुल्याउनुहुन्छ, र मेरो मार्गलाई सिद्ध तुल्याउनुहुन्छ।
- २ शमूएल २२:३१-३३
हुन सक्छ आज दाऊद जस्तै हामी पनि कुनै कठिन परिस्थितिहरुबाट गुज्रिरहेका छौ होला, समस्याहरुको दलदलमा फसेर निस्सासिरहेका छौं होला, कयौं विफल कोसिसहरुले निराश र हतास छौं होला, शत्रुहरुको सतावट र आलोचनाहरुले पछि परेका छौं होला ।
तर प्रियहरु! अन्तिम एकपटक परमेश्वरलाई अवसर दिएर हेर्नुहोस्। परमेश्वरलाई तपाईको लडाइँ सुम्पनुहोस र उहाँले तपाईको पक्षमा लडनुहुनेछ। उहाँमा शरण लिनुहोस् र उहाँले तपाईलाई निराश बनाउनुहुनेछैन्।
यो समाजले तपाईको कमजोरीहरुको मजाक उडाउँछ, तर तपाई आफ्नो कमजोरी लिएर परमप्रभुकहाँ जानुहोस र उहाँ तपाईको सामर्थ्य बन्नुहुनेछ।

Comments
Post a Comment