मण्डलीको उद्धेश्य

 मण्डलीको उद्धेश्य :

"मानिस जातिको लागि परमेश्वरको मौलिक र अन्तिम लक्ष्य भनेको उहाँका सन्तानहरुद्धारा पृथ्वीमा उहाँको स्वर्गीय राज्य स्थापना गर्नु हो।"

"मण्डलीको प्राथमिक र मौलिक उद्धेश्य परमेश्वरको राज्य यस पृथ्वीमा ल्याउनु हो।"

यसैको निम्ति मण्डली अस्तित्वमा छ। यसैको निम्ति मण्डली जिउँदछ। तपाई आफ्नो सुखशान्ति र स्वार्थ (feel good) को लागि मण्डलीको सदस्य हुनुहुन्न । तपाई मण्डली भइसकेपछि तपाईसँग ठूलो जिम्मेवारी छ। तपाई स्वर्ग जानकै लागि पनि ईसाइ हुनुहुन्न। 
स्वर्ग हाम्रो इनाम होइन तर पृथ्वी हाम्रो इनाम हो। इनामलाई जनाउने अंग्रेजी शब्द 'Reward'ले यस सत्यतालाई अझै स्पष्ट पार्दछ। 
Re : फेरी 
Ward : विशेष कारणको निम्ति छुट्याइएको विशेष स्थान 
इनामको अर्थचाहिँ विशेष स्थानलाई पुन प्रदान गर्नु हो। 
स्वर्ग हामीलाई कहिल्यै दिइएकै थिएन तर हामीलाई त पृथ्वी दिइएको थियो। हाम्रो जिम्मेवारी र कार्यभार पृथ्वीको निम्ति हो। यसकारण स्वर्ग जान यति तल्लिन र आत्तुर पनि नहोऔ कि यसले पृथ्वीमा हामीलाई आफ्नो उद्देश्यबाटै अल्मल्याइदियोस्। 
परमेश्वर राजा हुनुहुन्छ यसकारण पनि ख्रीष्टले आफूलाई राजा भनि घोषणा गर्नुभयो। कुनै पनि राजा आफ्नो राज्य बढाउन चाहन्छ। 
येशुख्रीष्टले राज्यको प्रचार गर्नुभयो तर क्रूशलाई प्रचार गर्नुभएन। यो एउटा आश्चर्यजनक हुन सक्छ किनकि मण्डली क्रूशप्रति यति तल्लीन र केन्द्रित छ कि कतिपटक क्रूशपछाडिको महत्वपूर्ण कुरालाई यसले देख्न सकिरहेको हुँदैन। क्रूश गन्तव्य होइन तर गन्तव्यसम्म पुग्ने बाटो हो। क्रूसमै हामी अडकिनु हुँदैन। क्रूशले स्वर्गको राज्यको ढोका खोलिदिएको छ तर क्रूश नै गन्तव्य होइन। 
वास्तवमा येशुख्रीष्टको पहिलो सार्वजनिक प्रचार नै राज्यको प्रचार थियो र उहाँ आफूलाई सुम्पिएको कार्यभार (assignment) प्रति स्पष्ट हुनुहुन्थ्यो। 
लूका ४:४३
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो,  “मैले परमेश्‍वरका राज्‍यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनैपर्छ, किनकि म यसैको निम्‍ति पठाइएको हुँ।”
के मण्डली आफ्नो उद्देश्य र सुम्पिएको कार्यभारप्रति स्पष्ट छ? 
ख्रीष्टले सधैं परमेश्वरको राज्यको घोषणा गर्नुभयो।
येशुख्रीष्ट रोम साम्राज्यको समयमा आउनुको पनि यहि अर्थ छ। राज्यहरुको इतिहासमा सबैभन्दा शक्तिशाली राज्यहरुमा अश्शुरी, बेबिलोन, फारस, ग्रीक र रोम पर्दछ तर यी राज्यहरुमध्ये रोम सबैभन्दा सफल र अब्बल हुनुको पछाडी यसको शासन गर्ने तरिका र नमुना अन्य राज्यहरुको भन्दा भिन्न थियो। रोमले अरु राज्यहरुका नागरिकहरुलाई बन्दी बनाएर आफ्नो राज्यमा ल्याएनन जुन यो भन्दा अघिको साम्राज्यहरुको तरिका थियो तर रोमले आफूले जितेका राज्यहरुलाई आफ्नो उपनिवेश बनाएर रोमको प्रतिनिधित्व गर्ने स्थानिय निकायहरु खडा गर्थे र ती निकायहरुद्धारा त्यहाँ शासन गर्दथे। पिलातस रोमलाई प्रतिनिधित्व गर्ने एक पात्र थिए तर तिनले यरुशलेममा शासन गरिरहेका थिए किनकि यरुशलेम त्यस बेला रोमको एक उपनिवेश थियो। यसरी परमेश्वरको प्रणाली र नमुनालाई रोमले कार्यन्वयन गरिरहेका थिए। 
परमेश्वर स्वयम पनि यो नमुनाद्धारा कार्य गर्न चाहनुहुन्छ यसकारण ख्रीष्टले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो,
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर:  ‘हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ (आत्मिक स्थान),  तपाईंको नाउँ पवित्र होस्‌। तपाईंको राज्‍य आओस्‌।  तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌ (भौतिक स्थान) ।"- मत्ती ६:९-१०
परमेश्वर स्वर्गमा रहेर यस पृथ्वीमा आफ्नो स्थानिय निकाय (local body) द्धारा शासन गर्न चाहनुहुन्छ जुन स्थानिय निकाय मण्डली हो। 
रोमी साम्राज्यले यस्तो नमुनालाई कार्यान्वयन गरिरहेको कारण पनि जब ख्रिष्टले परमेश्वरको राज्यको विषयमा प्रचार गर्नुहुन्थ्यो, उहाँका श्रोताहरुले उहाँले भन्न खोज्नुभएको कुरालाई सहजै बुझ्न सक्थे। 

किन परमेश्वरको राज्य यस पृथ्वीमा स्थापना हुन आवश्यक छ?
पृथ्वी हरेक दिन बस्न कम लायक हुँदैछ। मानिसबिच प्रेम सेलाउँदै गइरहेको छ र घृणा, डाह, क्रोध, वितृष्णा र विरक्तिपनले मानिसहरुको हृदयलाई नियन्त्रण गरेको छ । हरेकदिन हामी हत्या, बलात्कार, शोषण, चोरीडकैति, अनैतिकता र अपराधका घटनाहरुलाई सुन्छौं। 
के यस्तो परिस्थिति नितिनियम नभएको कारण हो? 
अवश्य पनि होइन। त्यहाँ राष्ट्रहरुमा राम्रा-राम्रा नितिनियमहरु छन्‌ तर ती नियमहरुले काम गरिरहेको छैन्। अब यस्तो लाग्न थालिसकेको छ कि संसारका सरकारहरु, प्रशासनहरु र निकायहरु हरेकदिन झन असफल-असफल बन्दै जाँदैछ। अब संसारमा बाहिरी शक्तिको आवश्यकता भएको महसुस हुँदैछ। अब पृथ्वीमा परमेश्वरको हस्तक्षेप आवश्यक छ। जब पृथ्वीमा परमेश्वरको राज्य स्थापना हुन्छ, उहाँले यहाँ प्रत्यक्ष शासन गर्नुहुनेछ। पृथ्वीले उहाँको उपस्थितिलाई र उहाँको असल शुशासन महसुस गर्नेछ। परमेश्वरको राज्य विफल हुन सक्दैन। 
स्वर्गको राज्यले स्वर्गका असल कुराहरु, त्यहाँको संस्कृति, संस्कार, विधि, जिवनशैली, व्यवहार, सम्बन्धलाई ल्याउँदछ। संसारको संस्कार, संस्कृति, रिति, नियम विफल भएको छ। स्वर्गको राज्यमा घृणा हुँदैन केवल प्रेम र आदर हुन्छ। 
अहिलेको परिस्थितिमा मण्डलीको भुमिका झनै आवश्यक र महत्वपूर्ण भएको हामी अनुभव गर्न सक्छौं। पृथ्वी मण्डलीले काम गरोस भनि उत्कट प्रतिक्षा गरिरहेको छ। बाइबलले यसरी भन्दछ, 
"सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ।" - रोमी ८:१९


मण्डली र राज्य भिन्नता:
The difference between kingdom and church:

"तपाई मण्डलीको सदस्य हुँदैमा तपाईले परमेश्वरको राज्यलाई अनुभव गरिरहनुभएको छ भन्ने ग्यारेन्टी छैन्"- डा. माइल्स मुनरोइ 
मण्डलीको सदस्य हुनु र परमेश्वरको राज्यको नागरिक हुनु विल्कुल फरक कुरा हो। वर्षौदेखि मण्डली जाने मण्डलीको एक सदस्यले पनि परमेश्वरको राज्यलाई अनुभव गर्न नसकेको हुन सक्छ। 

दुई किसिमको राज्य :
- स्वर्गको राज्य /Kingdom of heaven (Greek: βασιλεία τῶν οὐρανῶν) : वास्तवमै यो एक स्थान हो जहाँ परमेश्वर प्रत्यक्ष शासन र राज्य गर्नुहुन्छ। यसले आत्मिक आयामलाई प्रतिनिधित्व गर्दछ। 

- परमेश्वरको राज्य /kingdom of God (Greek: βασιλεία τοῦ θεοῦ) : कुनै पनि स्थान जहाँ परमेश्वरको शासन, अधिकार र नियन्त्रण प्रभावमा छ, ती स्थानहरु सबै नै परमेश्वरको राज्य हो। 

"परमप्रभुले आफ्‍नो सिंहासन स्‍वर्गमा स्‍थिर गर्नुभएको छ (स्वर्गको राज्य) ,  र उहाँको प्रभुत्‍वले सबैमाथि शासन गर्दछ ( परमेश्वरको राज्य) ।" - भजनसंग्रह १०३:१९

उदाहरण : अहिलेको अवस्थामा नेपालमा ७७ जिल्ला र १४ अञ्चल छन्। नेपालको मुख्य सरकारको कार्यालय काठमाडौं जिल्लामा छ जसलाई संघीय/केन्द्रीय सरकार (federal/central government) भनिन्छ, तपाई कुनै पनि जिल्ला र अञ्चल जानुहोस् तपाई नेपाल सरकारको मातहतमा हुनुहुन्छ। अब त्यहाँ नेपाल सरकारले हरेक क्षेत्रमा स्थानीय निकायहरु राखेका हुन्छन् जसलाई राज्य सरकार(Local/state government), यसकारण कुनै पनि क्षेत्रलाई शासन गर्न त्यहाँ केन्द्रीय सरकार नै उपस्थित हुनपर्दैन तर राज्य/लोकल सरकारद्वारा नेपाल सरकारले सम्पूर्ण देशभरि नै शासन गर्दछ। 

परमेश्वर पनि यहि प्रणालीमा शासन गर्न चाहनुहुन्छ। वास्तवमा यो मोडेल परमेश्वरको हो। परमेश्वर स्वर्गको राज्यबाट पृथ्वीमा मण्डलीको माध्यमद्धारा राज्य गर्न चाहनुहुन्छ। मण्डली आल्छे हुनु भनेको पाप हो। यस मिशनमा मण्डली निरन्तर मेहनती र परिश्रमी हुम आवश्यक छ। 

मण्डली मुख्यालय होइन। मण्डली स्वर्ग होइन तर स्वर्गको राज्यको स्थानीय निकाय हो। मण्डली यस पृथ्वीमा परमेश्वरको राज्य सरकार हो जसले स्वर्गीय आदेशहरुलाई यस पृथ्वीमा कार्यान्वयन गर्ने काम गर्दछ। 
"If the church leaves then earth has lost heaven's influence"
मण्डली राज्य होइन तर राज्यको स्थानीय निकाय हो। 
मत्ती २५:३४
“तब राजाले आफ्‍ना दाहिनेपट्टिकाहरूलाई भन्‍नेछ, ‘आओ, मेरा पिताका धन्‍यका हो! संसारको उत्‍पत्तिदेखि तिमीहरूका निम्‍ति तयार गरिएको राज्‍यलाई अधिकार गर।" 
परमेश्वरको राज्य मण्डलीभन्दा अघि सुरुवातबाटै अस्तित्वमा थियो। 








   

Comments