स्वस्थ मण्डली

 स्वस्थ मण्डली  

A Helathy Church 


मण्डलीको वृद्धि जति महत्वपूर्ण छ, त्यति नै मण्डली स्वस्थ हुन आवश्यक छ। 

रिक वारेन, "वास्तवमा मण्डलीको वृद्धि भन्दा मण्डलीको स्वास्थ्य  बढी महत्वपूर्ण हुन्छ।"

आज धेरै मण्डलीहरु अस्वस्थ छन्। मण्डलीको संख्यात्मक वृद्धि राम्रो कुरा हो तर यसले मण्डलीको गुणात्मक वृद्धिको  ग्यारेन्टी दिँदैन। आज मण्डली भवनमा  विश्वासीहरु खचाखच भरिएको छ, विनाशंका यो राम्रो कुरा हो तर के त्यो मण्डली साँचो रुपमा स्वस्थ छ? यो चाहिँ निक्कै महत्वपूर्ण प्रश्न र चुनौती हो। एक्काइसौं शताब्दीको समयमा आज मण्डली भवनहरु निकै नै ठूला र भव्य छन, तर के मण्डली परमेश्वरमा त्यति नै बलियाे र उहाँसँगको सम्बन्धमा त्यति नै ठूला छन त? यो महत्वपूर्ण छ। 
के मण्डली आर्थिक रुपमा बलियो छ भने 'स्वस्थ' छ? 
के मण्डलीको सेवाहरुमा मानिसहरुको ठूलो भीड आउँदा, त्यस मण्डली स्वस्थ छ? 
के मण्डली त्यति बेला स्वस्थ छ, जति बेला यसले नयाँ आत्माहरुलाई हरेक हप्ता बचाउँछ? 
बाइबलिय रुपमा एउटा स्वस्थ मण्डलीलाई कसरी परिभाषित गर्ने? 
त्यहाँ निकै ठूला मण्डली जसमा प्रख्यात र प्रखर पाष्टरहरु छन, त्यस्ता मण्डलीहरु पनि अस्वस्थ छन भने त्यहाँ त्यस्ता साना  मण्डलीहरु जहाँ निकै कम विश्वासीहरु र एक सामान्य र सरल पाष्टर भएको मण्डली पनि निकै स्वस्थ मण्डली छन्। 
नयाँ करारमा मण्डलीलाई मानिसको शरीरसँग दाँजिएको छ (कोरन्थी १२) । जब एउटा शरीरको कुनै अंगले काम गर्दैन,  परिभाषा अनुसार, बिरामी वा अस्वस्थ छ। तसर्थ, "स्वस्थ" मानिसको सरल परिभाषा हो जसमा प्रत्येक सदस्य अंगहरुले ठिकसँग काम गरिरहेको छ। 
त्यसरी नै, एक स्वस्थ मण्डलीको परिभाषा निकै सरल छ,  जसमा हरेक सदस्यले ठिकसँग काम गरिरहेको छ-त्यो नै स्वस्थ मण्डली हो। 

स्वस्थ्य मण्डलीको लक्षणहरू:

- बलियो  बाइबलीय अगुवापन /strong Biblical Leadership 
              अवश्य पनि बलियो अगुवापनले शारीरिक बलको कुरा गर्दैन तर यसले परमेश्वर र उहाँले सुम्पनुभएको बगालप्रति समर्पित अगुवापनलाई दर्शाउँदछ। अगुवा परमेश्वरसँगकाे घनिष्ठता र उहाँकाे वचनकाे मूल्यमान्यताहरूमा बलियाे र अडिग हुनुपर्छ। 
१ पत्रुस ५:१-४
"ख्रीष्‍टका कष्‍टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी-एल्‍डरको हैसियतले तिमीहरूमध्‍येका एल्‍डरहरूलाई म आग्रह गर्दछु। तिमीहरूको देखरेखमा राखिएको परमेश्‍वरका बगालको हेरचाह गर। करले होइन तर स्‍वेच्‍छाले, धनको लोभले होइन तर उत्‍साहसाथ, तिमीहरूको जिम्‍मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्‍ति उदाहरण भएर। र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्‍त गर्नेछौ।
                 पत्रुस आफ्नो पहिलो पत्र मण्डलीहरुलाई सम्बोधन गरेर अन्त गर्छन। यस खण्डमा पत्रुस एउटा साँचो मण्डली कस्तो हुनुपर्छ भन्ने विषयमा जोड दिन्छन्। पत्रुस भन्छन, एउटा स्वस्थ मण्डलीको निम्ति अगुवाहरु समर्पित, अनुशासित, मेहेनती, उदाहरणीय, उत्साहित र बिनास्वार्थ सेवा गर्ने हुनुपर्छ। 
बलियो अगुवापन एउटा स्वस्थ मण्डलीको आधारभूत गुण हो। बगाललाई हेरचाह गर्ने गोठालाहरुको महत्वपूर्ण भूमिका हुन्छ। स्वस्थ मण्डलीमा असल अगुवापन हुन्छ र असल अगुवापनले स्वस्थ मण्डली निर्माण हुन्छ - यी दुई एकअर्काको परिपूरक हो। 

एउटा स्वस्थ मण्डलीको निम्ति विश्वासी जनहरुको पनि उत्तिक्कै भुमिका हुन्छ। एउटा स्वस्थ मण्डली निर्माण हुन जति अगुवाहरुको भूमिका हुन्छ त्यति नै हरेक विश्वासीहरुको भूमिका महत्वपूर्ण हुन्छ। धेरै पटक हामीलाई मण्डलीको सम्पूर्ण जिम्मेवारी केवल पाष्टरको हाे र पाष्टरले नै गर्नुपर्छ, हामी केवल हप्ताकाे एकदिन शनिबार दुई घण्टाकाे लागि सेवामा सहभागी भइदिनुपर्छ भन्ने साेच्छाैं। तर त्यसाे विलकुल हाेइन। मण्डलीमा पुलपिटमा खडा हुने व्यक्ति र पछाडिकाे कुनामा बस्ने व्यक्तिकाे महत्व उत्तिकै हुन्छ। 

मारिया एक इशाई थिइन तर जीवनकाे बाँध्यताले उनी देह व्यापारमा संलग्न थिइन। उनी जब-जब मण्डली सेवामा सहभागी हुन चाहन्थिन् तब उनकाे आत्मग्लानी , डर र लाजले भरिएकाे अन्तरआत्माले  इन्कार गर्दै उनलाई भन्थ्याे, "मारिया त मण्डली जान याेग्य छैनस्। " एकबिहानी  मारिया उठ्छिन र मण्डली सेवामा सहभागी हुने निर्णय गर्छिन । जब उनी मण्डली  भवनकाे ढाेकाबाट भित्र  पस्छिन तब  त्यहाँ  बस्न उनलाई थाेरै अप्ठयाराे र हिचकिचाहट महसुस हुन्छ। तब पछाडि कुनामा बसिरहेकाे एकजना वृद्ध आमाले मारियालाई  देखेर मुस्कुराउँदै अंकमाल गर्दै भन्छिन्,  "मारिया तिमी आइपुग्याैं। तिमीलाई देख्न पाउँदा म धेरै खुशी छु। आउ मेराे नजिकै बस।"  जब सेवा सकिन्छ तब मारियाले पाष्टरलाई एउटा कागजकाे टुक्रा थमाएर जान्छिन। कागजमा केहि लेखिएकाे थियाे। जब पाष्टरले कागजकाे टुक्रा पल्टाएर हेर्छ, त्यहाँ यसरी लेखिएकाे हुन्छ, "पाष्टर ज्यू आज तपाईले के प्रचार गर्नुभयाे त्याे त मलाई केहि पनि थाहा छैन तर आज  मेराे हृदय एउटै कुराले परिवर्तन भएकाे छ, मैले कहिल्यै नचिनेकाे वृद्ध आमाले  मलाई देखेर 'मारिया तिमीलाई देखेर खुशी लाग्याे' भन्नुभयाे र मलाई आफुसँगै बसाल्नुभयाे।यदि मैले कहिल्यै नचिनेकाे र नजानेकाे आमाले  मलाई यति माया गर्नुहुन्छ भने मलाई आफ्नै हातले सृष्टि गर्नेुहुने ख्रीष्टले  मलाई कति माया गर्नुहुन्छ। आजबाटै मैले मेराे सम्पूर्ण जीवन उहाँलाई दिएकाे छु।"


१ पत्रुस ५:५-६
"त्‍यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्‍त्र धारण गर। किनभने,  “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्‍छ,  तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”
यसकारण परमेश्‍वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र  तुल्‍याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ।

पत्रुसले विश्वासीहरुलाई अगुवाहरुको अधिनतामा बस्न हौसला दिएका छन्, साथै एक-अर्काको बिचमा नम्रता र सेवकपना अभ्यास गर्न, र प्रार्थनामय जीवन जिउन प्रोत्साहन गरेका छन् (५-७)। 
मार्क डेभर भन्छन्, "हाम्रो व्यक्तिगत जीवन मात्र पर्याप्त साक्षी होइन। मण्डली सम्प्रदायको रुपमा हाम्रो जीवनले हाम्रो साक्षीलाई पुष्टि गर्दछ"
                        तपाई आफ्नो व्यक्तिगत जीवनमा कति असल ईशाइ हुनुहुन्छ यो जति महत्वपूर्ण छ त्यति नै मण्डलीको रुपमा-मण्डलीको एक अंगको रुपमा तपाई कति असल विश्वासी हुनुहुन्छ, महत्वपूर्ण हुन्छ। हुन सक्छ तपाई आफ्नो व्यक्तिगत जीवनमा लामा-लामा प्रार्थना गर्नुहुन्छ, हरेक हप्ता उपवास पनि बस्नुहुन्छ, अन्य भाषामा बोल्नुहुन्छ तर मण्डलीको एक अंगको रुपमा- यदि अरु ईशाईसँग साझेदारी गर्नुहुन्न, अन्य संगी विश्वासीको आलोचना मात्र गर्नुहुन्छ, अरुलाई प्रेम गर्नुहुन्न, सहायता गर्नुहुन्न, मण्डलीसँग राम्रो सम्बन्ध छैन, अरूकाे सेवा गर्न मन पर्दैन भने तपाई एक अस्वस्थ ईशाइ जीवन जिउँदै हुनुहुन्छ। परमेश्वर एकलकाँटे विश्वासी मन पराउनुहुन्न। 
                      कति मण्डलीहरुमा त्यहाँका विश्वासीहरु उग्र हुन्छन्। अगुवाहरुको आदर नगर्ने,  आफ्नो मनपरी गर्ने, मनपरी बोल्ने, सेवाहरुमा खासै चासो नलिने, अरुको आलोचना मात्र गरिबस्ने, गनगन र गुनासो मात्र गर्ने, अरुसँग मिलेर एकतामा बस्न नसक्ने, अगुवाहरु र सेवकहरुप्रति धन्यवादी नहुने, अगुवाहरुको अनुमति र परामर्शबिना जथाभावी सहभागी हुने, भाँडभैलाे गराउने इत्यादि। प्रियहरु! यो कठोर सुनिन सक्छ तर यस्ता विश्वासीहरुको कारण पनि कति पटक मण्डलीमा आशिष हुँदैन, अशान्ति मच्चिन्छ र अन्य विश्वासीहरुमा यसको नकारात्मक असर पर्न सक्छ, मण्डली भाँडिन्छ र दुर्घटना घटन सक्छ । यस्ता विश्वासीहरु समयमै सुध्रिन आवश्यक छ। तपाईकाे अगुवा र गाेठालाेलाई आदर गर्नेुहाेस् र उहाँकाे अधिनतामा बसिरहनुहाेस्। हुन सक्छ तपाईकाे पाष्टर धेरै पढनुभएकाे छैन, ठूलाे ओहदामा हुनुहुन्न, प्रशस्त श्राेतले भरिपुर्ण हुनुहुन्न तर पनि उहाँ परमेश्वरबाट चुनिनुभएकाे अभिषिक्त जन र तपाईकाे रेखदेखकाे निम्ति नियुक्त गाेठालाे हुनुहुन्छ। उहाँकाे खेदाे गर्ने, खिल्ली उडाउने, अनादर गर्ने तपाईसँग कुनै अधिकार छैन्।

एउटा अन्तरवार्तामा एकजना इशाईले यसरी भन्दछ, "म २४ वर्षदेखि मण्डली गइरहेकाे छु तर याे समयभरि मेराे पाष्टरले के प्रचार गर्नुभयाे, मलाई केहि थाहा छैन। अहिले मलाई लाग्छ, उहाँले यत्राे वर्ष अरू कुनै क्षेत्रमा लगानी गर्नेुभएकाे भए, असल नतजा पाउनुहुने थियाे।" तब यस अन्तरवार्तालाई पढेर अर्काे इशाईले यसरी प्रतिक्रिया पठाउनुभएछ, "हाे, मेराे पनि विवाह भएकाे २४ वर्ष भयाे र याे सालभरि मेरी श्रीमतीले  के-के खानेकुरा र कस्ताे-कस्ताे परिकार बनाएर खुवाइन मलाई एउटै पनि सम्झना छैन तर म मेरी श्रीमतीप्रति कृतज्ञ छु। उनले बनाएकाे खाना खाएर म अहिलेसम्म बाँचिरहेकाे छु र म स्वस्थ्य छु।"

- मण्डलीले कसरी समस्याको समाधान गर्छ :
              समस्या नभएको मण्डली हुँदैन तर समस्या भन्दा पनि मण्डलीले समस्यालाई कसरी सामना गर्छ र यसलाई कसरी समाधान गर्दछ, यो महत्वपूर्ण हो। एउटा मण्डलीले समस्याहरुको बिचमा के गर्छ, यसको आधारमा त्यो मण्डली कति स्वस्थ छ, थाहा गर्न सकिन्छ। मण्डलीले समस्यालाई बाइबलीय दृष्टिकाेणबाट हेर्नुपर्छ।
               धेरै मण्डलीहरुले समस्यालाई नकारात्मक रुपमा लिने गर्छ तर समस्याहरुको बिचमा स्वस्थ मण्डली सधैं स्थिर र अडिग रहँदछ। स्वस्थ मण्डलीको जग चट्टानमाथि बसालिएको हुन्छ र त्यो चट्टान स्वयम प्रभू येशु ख्रीष्ट हुनुहुन्छ।  इतिहासमा मण्डली सधैं सतावट र समस्याहरूकाे बिचमा नै झन बलियाे र वृद्धि भएकाे र फक्रिएकाे छ।

जब पहिलो शताब्दीको मण्डलीहरुमा रोमी साम्राज्यद्धारा इशाईहरुलाई उनीहरुको विश्वासको खातिर सताइन र मारिन थालियाे, तब मण्डली झनै बलियाे रूपमा वृद्धि भयो। टर्टुलियनले यो सबै देखेर यसरी भने, "शहिदहरुको रगत मण्डलीको बिऊ हो।"
जति रगत बग्दछ त्यति नै बढि मण्डली वृद्धि हुँदछ। परमेश्वरले हाम्रो कमजोरीहरुलाई हाम्रो शक्तिमा परिणत गरिदिनुहुन्छ। 

जब अस्वस्थ र कमजोर मण्डलीमा समस्या आउँछ तब त्यस्तो मण्डली समस्या र अप्ठ्यारा परिस्थितिहरुमा तितरबितर हुन्छ, त्यस मण्डलीले परमेश्वरमा कमै भरोसा राख्दछ, एकले अर्कोलाई दोष्याउने-गिराउने कार्य हुदँछ, आत्मिकी जगहरु कमजोर हुँदै जान्छ। समस्याहरूकाे बिचमा मण्डलीले गर्ने गल्ती परमेश्वरमा कम भर पर्नु र आफ्नाे बल र बुद्धिमा बढी निर्भर हुनु हाे। 
याकूब भन्छन्, 
"मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ। किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ। धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ।" - याकूब १:२-४
स्वस्थ मण्डलीले समस्या र आपत-विपतको बिचमा पनि परमेश्वरलाई केन्द्र बनाउँदछ। यो नै स्वस्थ मण्डलीको शक्ति हो। वास्तवमा साँचो मण्डली समस्याहरुको बिचमा कहिल्यै कमजोर बन्दैन तर अडिग र स्थिर हुदँछ। 
मत्ती ७:२४-२८ मा, येशुख्रीष्टले भन्नुभएको दुई किसिमको जगहरुको दृष्टान्त, मण्डलीको सन्दर्भमा पनि मिल्न जान्छ।
स्वस्थ मण्डलीको जग बालुवामथि होइन तर चट्टानमाथि स्थापित हुन्छ र कुनै पनि हावाहुरी, बाढी र बाधाँहरुको बिचमा पनि अडिग रहन सक्छ। 

मण्डलीले कसरी आर्थिक परिचालन गर्दछः
                   मण्डलीकाे महत्वपूर्ण क्षेत्रहरूमध्ये आर्थिक क्षेत्र एक हाे। अगुवाहरू संकलित रकमहरूमा कति जवाफदेहि र इमान्दार भई परमेश्वरकाे इच्छार उद्धेश्य अनुरूप परिचालन गर्छन, यसले मण्डलीकाे स्वास्थमा ठूलाे असर गर्दछ। साथै विश्वासीहरूले इमान्दार र समर्पणताकासाथ परमेश्वरकाे उपस्थितीमा भेटी र दंशाश ल्याउनुपर्छ। बाइबलले पैसाकाे विषयमा लगभग २७०० पटक उल्लेख गरेकाे छ र येशूख्रीष्टले आफ्नाे शिक्षामा स्वर्ग र नर्गकाे विषयमा भन्दा बढी पैसाकाे विषयमा बाेल्नुभयाे किनकि हामी सबैभन्दा बढि यहि क्षेत्रमा चुक्छाैं।  "  "

एक पाष्ठरकहाँ जवान युवक आएर भन्छन्, पाष्टर म परमेश्वरकाे सेवाकाइ गर्न चाहन्छु। मैले के विषय लिएर पढनुपर्छ? तब पाष्टरले युवकलाई भन्छन्, "तिमीले व्यवस्थापन विषय लिएर पढनुपर्छ किनकि धेरैजना यसैमा चुक्दछन्।"
    
                   प्रेरित पावलले आफ्नाे आत्मिक पुत्रलाई सतर्क गराउँदै लेख्छन्,  "किनभने रूपियाँपैसाकाे माेह नै सब किसिमका खराबीकाे जड हाे।पैसाकाे लाेभमा परेर काेहि-काेहि विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घाेचेका छन्। "
यहाँ ध्यान दिनुहाेस्, पावलले रूपियाँपैसा खराबीकाे जड हाे भनेका छैनन् तर रूपियाँपैसाकाे माेह चाहिँ सब किसिमका खराबीकाे जड हाे भनेका छन। "रूपियाँपैसाकाे माेह" लाई जनाउने ग्रीक शब्द philarguria हाे जुन दुईवटा शब्दले बनेकाे छः philos = मित्र, प्रेम र  arguros = चाँदी, पैसा। यसकाे अर्थ सुनचाँदी, पैसालाई प्रेम गर्नु।
बाइबलले भन्दछ, कसैले दुई मालिककाे सेवा गर्न सक्दैन। जब हामी पैसालाई प्रेम गर्न थाल्छाैं, हामी परमेश्वरकाे सेवा गर्न सक्दैनाैं। 
पैसा केवल पृथ्वीकाे मूद्रा हाे, स्वर्गकाे हाेइन। यसकारण हामीले यसलाई मृत्युपछि स्वर्ग लिएर जान सक्दैनाैं।

- दर्शन केन्द्रित / Vision Centered
दर्शनबिना मण्डलीले परमेश्वरको राज्यमा प्रभावकारी काम गर्न सक्दैन। 
बाइबलले भन्दछ, "जहाँ दर्शन-प्रकाश छैन, त्‍यहाँ मानिसहरू भाँड़िन्‍छन्‌ (paw-rah)।"- (हितोपदेश २९:१८)
दर्शन गन्तव्यसम्म पुर्‍याउने सहि मार्ग हो। हामी सबै एउटा यात्रामा छौं, हरेक मण्डली त्यो गन्तव्यसम्म पुग्नुपर्ने छ, जसको निम्ति परमेश्वरले हामीलाई बोलाउनुभयो र चुन्नुभयो, त्यस गन्तव्य अर्थात उद्धेश्यसम्म पुग्नको निम्ति हामीलाई सहि मार्ग आवश्यक पर्छ जुन दर्शन हो। त्यहाँ धेरै गलत मार्गहरु छन, यसकारण बाइबलले हामीलाई "साँघुरो र फराकिलो ढोका" (मत्ती ७:१३-१४) को बारेमा बताउँदछ, ती गलत मार्गहरुले हामीलाई अलमल्याउन सक्छ। यसकारण हामीसँग दर्शन हुन आवश्यक छ ताकि हामी सहि मार्गहरुबाट तर्केर, भडकेर गलत मार्ग नरोजौं।
दर्शन भविष्यलाई वर्तमानमा देख्नु हो, भोलीलाई आज देख्नु हो र त्यसैअनुरुप कार्य गर्नु हो। 
तपाई आफ्नो जीवनलाई, परिवारलाई, सेवकाईलाई र मण्डलीलाई अबको २०औं वर्षपछि वा २५औं वर्षपछि कहाँ देख्नुहुन्छ, कस्तो अवस्थामा देख्नुहुन्छ? के त्यसअनुसार मण्डलीमा काम भैरहेको छ? यो नै दर्शन हो। 
स्वस्थ मण्डलीले सधैँ परमेश्वरले दिनुभएको दर्शनलाई पछ्याउँदछ र यात्राको बिचमा दर्शनसँग बाँझिने त्यस्तो कुनै विरोधाभास कुराहरुसँग यसले सम्झौता गर्दैन।
हामीलाई याद छ, जब योसेफले परमेश्वरबाट दर्शन प्राप्त गरे, उनी यसप्रति यति समर्पित र तृषित थिए कि उनको यात्रामा आफ्नो दर्शनसँग बाझिने त्यस्ता धेरै कुराहरु आए तर उनले सम्झौता गरेनन। 
आज धेरै मण्डलीले संसारिक कुराहरुसँग सम्झौता गरेको कारण, आफ्नो दर्शनबाट टाढिएका छन्। 

- आत्मिकी तृष्णा र भोक / Spiritual Passion
एउटा स्वस्थ मण्डलीको गुणहरुमध्ये एउटा महत्वपूर्ण गुणचाहिँ, त्यो मण्डलीमा सधैं आत्मिकी भोक र तृष्णा हुन्छ। 
प्रकाशको पुस्तकमा परमेश्वरले सातवटा मण्डलीहरुलाई सम्बोधन गरि यूहन्नालाई पत्र लेख्न अह्रयाउनुभयो। ती मण्डलीहरुमध्ये अधिकतम मण्डलीले परमेश्वरको उपासना र आत्मिकी भोक र तृष्णा गुमाइसकेका थिए। उनीहरु नाउँको त मण्डली थिए, सायद हप्तामा एकदिन संगती गर्न भेला हुन्थे, ईसाइ भनि आफैलाई परिचित गराउँथे तर परमेश्वरप्रतिको प्रेम र तृष्णा भने थिएन। 
एफिससको मण्डलीले आफ्नो पहिलो प्रेम त्यागिदिएका थिए (प्रकाश २:२), पर्गाममको मण्डलीले बालामको शिक्षालाई अपनाएका थिए(२:१४), थिआटीराको मण्डलीलले इजबेललाई पुज्न थालेका थिए (२:२०), सार्डिसको मण्डली अस्तित्वमा मात्रै थियो, त्यहाँका विश्वासीहरु आत्मिकी रुपमा ग‌मरिसकेका थिए (३:१), लाउडिकियाको मण्डली आत्मिकी क्षेत्रमा न चिसो न तातो थियो-मनतातो किसिमको (३:१५-१६)
प्रियहरु! आज धेरै मण्डलीहरुले परमेश्वरप्रतिको तृष्णा र आत्मिकी भोक गुमाएका छन। अब हप्तामा एकपटक मण्डली जानु नियम (formality) जस्तो मात्र भएको छ, त्यहाँ कुनै हर्ष र उत्साह छैन। 
परमेश्वरपट्टी फर्किने समय यहि हो।
यूहन्ना २:१३-२० मा, जब येशु मन्दिरमा जानुहुन्छ, त्यहाँ पशुपक्षी बेच्नेहरु र पैसा साट्नेहरुले किनबेच गरिरहेको भेट्टाउनुहुन्छ (१४), तब सबैलाई उनीहरुको सामनसहित मन्दिरबाट निकाल्नुभयो र तिनीहरुको टेबलहरु पल्टाइदिनुभयो। येशुले तिनीहरुलाई उहाँको पिताको घरलाई व्यापारको घर नतुल्याउन आदेश दिनुभयो। पद १४ ले भन्दछ, "उहाँका चेलाहरूलाई धर्मशास्‍त्रमा लेखिएको यो कुरा याद भयो, “तपाईंका भवनको जोशले मलाई जलाउनेछ।” यो भजनसंग्रह ६९:९ को सन्दर्भमा भनिएको थियो। येशुख्रीष्टभित्र मन्दिरप्रति तृष्णा र जोश थियो जसले गर्दा उहाँले मन्दिरमा भएको भ्रष्टाचारलाई देख्न सक्नुभएन र यसलाई शुद्ध तुल्याउनुभयो। 






Comments