बाइबलीय भण्डारेको चरित्र

 


तपाईहरु हरेकलाई "बाइबलीय भण्डारेपन"को यो दोस्रो शृंखलामा स्वागत छ। धर्मशास्त्र स्पष्ट छ कि परमेश्वर एक असल र इमान्दार भण्डारे चाहनुहुन्छ। परमेश्वरले आदमलाई यहि उद्धेश्य सहित बनाउनु भएको थियो। जब उहाँले मानवलाई बनाउनुभयो त्यसपश्चात सुन्दर अदनको बगैंचाको रेखदेख गर्ने जिम्मेवारी र पृथ्वीको अधिकार दिनुभयो। यहाँ हामीले बुझ्न आवश्यक एउटा सत्यता ‌चाहिँ परमेश्वरले मानवलाई पृथ्वीको अधिकार दिनुभयो भन्नुको तात्पर्य चाहिँ  परमेश्वरले मानवलाई स्वामित्वपनको अधिकार (मालिकको अधिकार) नभएर भण्डारेको रेखदेख र व्यवस्थापनको अधिकार दिनुभएको हो। यसकारण मानव कहिल्यै मालिक हुन सक्दैन। यदि हामी आफैले आफैलाई मालिकको दर्जामा उभ्याउछौं भने हामीले स्वयम परमेश्वरलाई चुनौती दिरहेका हुन्छौं तर हामीलाई उहाँले दिनुभएको श्रोत,साधन, समय, वरदानहरुलाई असल र इमान्दारसाथ सदुपयोग र परिचालन गर्ने अधिकारचाहिँ हामीसँग छ। धेरैचोटी हामीसँग भएको श्रोत र साधनको हामी मालिक हौं भन्ने भ्रमको कारण परमेश्वरको थोक चाहे त्यो पैसा किन नहोस्, चाहे त्यो समय किन नहोस्, चाहे त्यो अन्य श्रोतहरु नै किन नहोस् हामीले दुरुपयोग गरिरहेका हुन्छौं। 
एन्ड्रयु मुरे भन्छन्, "संसारले तिमीलाई यसरी प्रश्न गर्दछ 'तिमीसँग के/कति छ?' तर परमेश्वर यसरी प्रश्न गर्नुहुन्छ 'तिमीसँग भएकोलाई कसरी प्रयोग गर्यौ?' "
परमेश्वरलाई दुरुपयोग पटक्कै मन पर्दैन। 
हामीलाई याद छ कसरी येशूख्रीष्टले बाह्र चेलाहरुलाई पाचँ हजार भीडले खाएर उब्रेको रोटी बटुल्ने आज्ञा दिनुभयो। सायद भीडले खाएर उब्राएको रोटी बटुल्न आवश्यक थिएन तर उहाँले आफ्ना चेलाहरुलाई भण्डारेपनको गहिरो सिद्धान्त सिकाउँदै हुनुहुन्थ्यो। भण्डारेपनमा दुरुपयोग हुँदैन केवल सदुपयोग मात्र हुन्छ। यसकारण हामीले परमेश्वरको श्रोतसाधनलाई दुरुपयोग गर्नदेखि आफैलाई सतर्क गराउनुपर्छ। 
एक असल बाइबलीय भण्डारेको चरित्र कस्तो हुन्छ? अथवा कस्तो हुनुपर्छ? 
हामी हरेकलाई परमेश्वरले भण्डारेको जिम्मेवारी सुम्नुभएको  कारण हामीलाई एक असल र इमान्दार बाइबलीय भण्डारेको चरित्र, स्वभाव, प्रकृति अथवा गुण कस्तो हुनपर्छ अथवा कस्तो हुन्छ भन्ने थाहा हुन आवश्यक छ। 
चरित्र एक महत्वपूर्ण जिवनको पाटो हो। 
चरित्रलाई ग्रीकमा charakter (χαρακτὴρ) भनिन्छ। यो शब्द मूल ग्रीक the verb charasso (χαράσσω) शब्दबाट आएको हो। यसको अर्थ निकै रोचक छ। यस 'कारासो' को अर्थचाहिँ 'सिक्कामा कुदिएको अथवा खोपिएको रचना वा आकृति' (in its technical sense means to engrave or inscribe, most often on coinsभन्ने हुन्छ। विशेषगरि येशूख्रीष्टको समयमा सिक्काहरुमा रोमन कैसर सम्राटको मुहार कुदिएको हुन्थ्यो र यदि कसे‌ैले कैसरलाई प्रत्यक्ष देखेको छैन भने पनि सिक्कामा कुदिएको आकृतिलाई देखेर 'ए रोमी सम्राट यस्तो पो देखिनुहुँदो रहेछ'भनि अन्दाजि गर्न सक्थे। जसरी सिक्कामा कुदिएको आकृतिले कसैरको पहिचान दिन्थ्यो त्यसरी नै हाम्रो चरित्रले हाम्रो पहिचान बोकेको हुन्छ। 
यदि हाम्रो चरित्र सफा छ भने यसैबाट हाम्रो पहिचान हुन्छ तर यदि हाम्रो चरित्र ठिक छैन भने त यसैको आधारमा मानिसले हामीलाई चिन्नेछ।
यसकारण एउटा भण्डारे जसलाई परमेश्वरले भरोसा गरेर विशेष जिम्मेवारी सुम्पनुभएको छ, उसको चरित्र कस्तो हुन्छ अथवा कस्तो हुनुपर्छ? आउनुहोस् बाइबलीय भण्डारेको केहि महत्वपुर्ण चरित्रहरुलाई हेरौं। 

१. बाइबलीय भण्डारेले जाचँ गरिएको जिवन जिउँदछ। 
दुई प्रकारको व्यक्ति हुन्छ :
आफैंलाई जाँच्ने र अरुको न्याय गर्ने 
आफैलाई जाँच्ने व्यक्तिले आफ्नो हरेक कदम र निर्णय जाँच्छ। उसले आफैलाई प्रश्न गर्ने गर्छ 'के मैले लिएको मार्ग ठिक छ? के मेरो निर्णयले परमेश्वर खुशी हुनुहुन्छ? मैले मानिसलाई खुशी पार्न खोजिरहेको छु कि परमेश्वरलाई प्रसन्न पार्न कोशिश गरिरहेको छु? के मैले पाएको जिम्मेवारी इमान्दारसाथ पुरा गरिरहेको छु? कतै मैले परमेश्वरको श्रोतलाई दुरुपयोग गरिरहेको त छैन? आफैलाई जाँच्ने व्यक्ति आफू र परमेश्वरबिचको सम्बन्धलाई लिएर गम्भीर हुन्छ। 
अरुको न्याय गर्ने व्यक्ति सधैं अरुको कमिकमजोरी र गल्तील‌हरुलाई कोट्याइरहन्छ। उसले त्यो किन गरेको? त्यसले त्यस्तो गर्नुहुँदैनथ्यो, मलाई चित्त बुझेको छैन। त्यो भाइको बोली कत्ति नमीठो, त्यो बहिनीको काम गर्ने ढङ्ग छैन।
बाइबलले हामीलाई अरुको न्याय गर्ने होइन तर आफैलाई जाँच्ने व्यक्ति हुनपर्छ भनि आज्ञा गरेको छ। 
विलाप ३:४० "हामी आफ्‍ना चाल जाँचेर हेरौं,  र हामी परमप्रभुतिर फर्कौ"
१ कोरन्थी ११:२८ "हरेक मानिसले आफूलाई जाँचोस्‌"
२ कोरन्थी १३: ५ "आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ भन्‍ने तिमीहरूलाई थाहा हुनुपर्ने हो"

हामी बाघजस्तो हुनुपर्छ। बाघले सधैं आफ्नो ३-४ कदमपछि आफूभन्दा बलियो शिकारी जनावर आफ्नो पछि छ कि, म अघि बढ्ने क्रममा कुनै गल्ति भएको छ कि भनेर पछाडी फर्किएर हेर्ने गर्छ। हामीले पनि आफ्नो पाइला र निर्णयहरुलाई बाघले जसरी नियाल्नुपर्छ र जाँच्नुपर्छ। एउटा असल भण्डारेले सधैं आफ्नो गल्तीलाई स्वीकार्छ र सुधार गर्दछ। खराब भण्डारेले सधैं आफ्नो गल्ती अरुमा थोपर्ने काम गर्दछ। जसरी तेस्रो नोकरले आफ्नो दुरुपयोग र गल्तीको कारण मालिक अरु कोहि नभएर मालिक आफै भएको बताए त्यसरी नै खराब भण्डारेले आफ्नो गल्ती स्विकार्दैन र सधैं अरुलाई दोष्याउने गर्छ। 

पाइलटहरु बताउँछन कि विमान आफ्नो मार्गभन्दा बाहिर जानुको ९५% कारणचाहिँ वायु प्रवाह, ब्यारोमेट्रिक दबाब र अन्य कारकहरु हो। यसकारण विमानलाई सहि गति र मार्गमा फर्काउन पाइलटले निरन्तर स-साना जाँच र सुधार गर्न चनाखो र सतर्क हुनुपर्छ।
एउटा असल भण्डारे पनि एउटा चनाखो पाइलट जस्तै हो,  जसले आफ्नो मार्ग ठिक छ कि ध‌छैन भनेर निरन्तर जाँच्नुपर्छ ।
शोक्रे्टसले एकपटक यसरी भनेका थिए, "जाँच नगरिएको जिवन बाँच्न लाय‌क छैन्"

२. भण्डारेले परमेश्वरको मन र हृदय चिनेको हुन्छ। 
मानिसको एउटा स्वभाव चाहिँ मानिस आफ्नो सृष्टिकर्तालाई चिन्न चाहन्छ। यहि कौतुहलता र चाहनाको कारण मानिसले विभिन्न धर्महरु स्थापना गरेको छ, विभिन्न सिद्धान्तहरु निकालेका छन्। जब एउटा भण्डारेले मालिकको मन र हृदय चिनेको हुन्छ, तब उसले श्रोत र साधनलाई मालिकको इच्छा र योजना अनुरुप सञ्चालनमा ल्याउँन सक्छ।
थाहा हुनु र चिन्नु फरक कुरा हो। हामीलाई परमेश्वरको बारेमा, उहाँको विषयमा भयकंर थाहा हुन सक्छ तर हामीले उहाँलाई नचिनेको हुन सक्छ। थाहा गर्नुले ज्ञानलाई जनाउँदछ तर चिन्नुले चाहिँ व्यक्तिगत सम्बन्धलाई जनाउँदछ। त्यहाँ कतिपय त्यस्ता इसाईहरु हुन्छन,जो वर्षौदेखि मण्डलीमा हाजिर त हुनुहुन्छ तर परमेश्वरलाई चिनेका भने हुँदैनन्। 
परमेश्वरसँग हाम्रो व्यक्तिगत सम्बन्ध असल छ भने मात्र मानिसहरुसँगको हाम्रो सम्बन्ध असल हुन्छ। 
म्यानलि बेसली (Manely Beasley) ले एकपटक यसरी भन्नुभयो, '१ कोरन्थी २ अध्याय बाइबलको सबैभन्दा महत्वपूर्ण खण्ड हो किनकि यसल खण्डले परमेश्वरको मन कसरी चिन्ने सहायता गर्छ'
१ कोरिन्थी 2 
 "मानिसभित्र रहेको आफ्‍नै आत्‍माबाहेक कसले मानिसका विचारलाई बुझ्‍न सक्‍छ? त्‍यसरी नै परमेश्‍वरका विचार परमेश्‍वरका आत्‍माबाहेक कसैले बुझ्‍दैन" (११)
 “किनकि कसले प्रभुको मनलाई जानेको छ?  र कसले उहाँलाई सिकाउन सक्‍छ?” तर हामीसँग त ख्रीष्‍टको मन छ। (१९)

३. एक बाइबलीय भण्डारे बलिदानी जिवन जिउँदछ।
हामी तबसम्म बाइबलीय भण्डारे बन्न सक्तैनौ, जबसम्म हामी बलिदानी हुँदैनौ। 
हामीले परमेश्वरको सेवाको निम्ति के बलिदान दिएका छौं? 
पावल रोमीको पत्रमा हामी 'जिउँदो बलिदान' (रोमी १२:१) हुनुपर्ने बताउँछन्। 
स्वयम येशू ख्रीष्टले उहाँलाई पछयाउन चाहने चेलाहरुलाई भन्नुभयो,   “कोही मपछि आउने इच्‍छा गर्छ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्‌, र दिनहुँ आफ्‍नो क्रूस बोकेर मेरो पछि लागोस्‌" - लूका ९:२३
एउटा रोचक कुराचाहिँ, त्यस समयमा क्रूस एउटै कुराको निम्ति प्रयोग हुन्थ्यो, 'कसैलाई मार्न'। 
यहाँ ख्रीष्ट र पावलले भन्न खोज्नुभएको कुराचाहिँ हामी हरेकले तबसम्म परमेश्वरको सेवाकाई गर्न सक्तैनौ जबसम्म हामीले आफ्नो चाहना, स्वार्थ, लोभलालच,मोह, सहजताहरुलाई बलिदान गर्दैनौं। 
जेम्स ब्रायन स्मिथले आफ्नो पुस्तक 'The Kingdom & the cross/ राज्य र क्रूस' मा सुझाव दिएका छन्, "यदि हाम्रो परमेश्वर बलिदानी हुनुहुन्छ, र अयोग्य व्यक्तिहरुलाई आशिष दिन खोज्नुहुन्छ भने, हामी पनि बलिदानी र अरुको निम्ति आशिष बन्न तयार हुनुपर्छ"
एउटा भण्डारे सधैं अरुको निम्ति आशिषको श्रोत बन्न तत्पर तयार हुँदछ। बाइबलीय भण्डारेले आफूसँग जे छ, त्यसैले अरुको सेवा गर्दछ। 
 "जसले जस्‍तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्‍डारेझैँ ती एक-अर्काको निम्‍ति प्रयोग गर" - १ पत्रूस ४:१०


    KR MINISTRY

Follow us on Facebook :

https://www.facebook.com/KR-Ministry-100603994682704/

Subscribe to our youtube Channel:

https://youtube.com/channel/UCrEdov-cW_27tu48OuQVXKQ




Comments