परमेश्वरमा प्रतिक्षा गर्नुका फाइदाहरु

            

                                                                             

परमेश्वरमा प्रतीक्षा गर्नुका फाइदाहरु
Benefits of waiting on God 

परिचय :
प्रतीक्षा हाम्रो निम्ति कठिन शब्द हुन सक्छ किनकि हामी कोहि पनि पर्खन चाँहदैनौ। विशेष गरि अहिलेको एक्काइसौँ शताब्दीमा मानिसहरुको मगजमा पर्खनु चाँहि अपराध हो भन्ने धारणा हुन्छ। अहिलेको समय फास्टफुडको समय हो, अहिलेको समय इन्टरनेटको समय हो ।
टोनि इभान भन्छन्, "वास्तविक समस्या प्रतीक्षामा होइन, प्रतीक्षा गर्दा हाम्रो हृदयले के पैदा गर्छ त्यसमा हुन्छ"
धेरैपटक प्रतीक्षा गर्नुपर्दा हाम्रो हृदयले अधैर्यता, निराशा, स्वार्थ र क्रोधलाई पैदा गर्दछ। 
तथ्यले के पत्ता लगाएको छ भने हरेक व्यक्तिले कमसेकम दिनको एक घन्टा प्रतीक्षा गर्नुपर्दछ। चाहे त्यो बिजुलीको बिल तिर्न होस, चाहे त्यो ट्राफिक जाममा होस, चाहे त्यो सामान खरिदमा होस, हामीले हरेक दिन पर्खिरहेका हुन्छौं। 
हरेक दिनको प्रतीक्षाको समयलाई जोड्ने हो भने ७० वर्षको उमेरमा एक व्यक्तिले ३ वर्ष प्रतीक्षा गर्दछ। 
कत्तिपटक परमेश्वरले हामीलाई प्रतीक्षा गराउनुहुन्छ किनकि उहाँ केवल हाम्रो समस्यालाई समाधान मात्र गर्न चाहनुहुन्न तर यस प्रकृयाद्धारा हामीलाई रुपान्तरण गर्न चाहनुहुन्छ। 
यूहन्ना ५ अध्यायमा हामी एक लङ्गडा व्यक्तिको कथा पढ्न पाउँछौ जसले निको हुन ३८ वर्ष प्रतीक्षा गरेको थियो। यो धेरै लामो समय हो। यो व्यक्तिले आफ्नो सारा जिवन नै निको हुन पर्खेका थिए। यो मानिस जल-कुण्डको नजिकै बस्थ्यो जहाँ नियमित चमत्कार हुने गर्थ्यो तर उनी अपाहिस भएको कारण ऊ सधैं छोडिन्थ्यो। 
जब हामी लामो समयदेखि प्रतीक्षा गरिरहेका हुन्छौं र हामी सबैबाट छाडिन्छौं, तब हाम्रो अपेक्षा र आशाहरु मर्दै जान्छ र हामी निराश हुन पुग्छौं। 
जब हाम्रो जिवनमा आशिषहरु ढिलाई हुन्छ, र समस्याको कुहिरोले जिवन ढाकिन्छ, तब डरले हाम्रो आशालाई जितिदिन्छ। 
हामी पनि त्यस अपाहिस व्यक्तिको स्थानमा पुगेका छौ भलै हामी शारीरिक रुपमा स्वस्थ छौं। 
जब येशुख्रीष्टसँग त्यस लङ्गडाे व्यक्तिको भेट हुन्छ, तब उहाँले त्यस व्यक्तिको हृदयमा के चलिरहेको छ थाहा पाउनुभयो, र सोध्नुभयो, "के तिमी निको हुन चाहन्छौं?"
त्यस व्यक्तिले तुरुन्तै उत्तर दिन्छ र ३८ वर्षको पर्खाइको अन्त हुन्छ। त्यति लामो समयको पर्खाइमा पनि त्यस व्यक्तिको आशा डगमगाएको थिएन। उनमा अझै पनि महान अपेक्षा थियो जसले गर्दा उनी निको भयो। 

प्रतीक्षा गर्नु के हो? 
पर्खने समय निष्क्रिय(unproductive) समय होइन:
 
पर्खने समय हामी निष्क्रिय भएर चुपचाप बस्ने समय भने अवश्य होइन। पर्खदै गर्दा पनि हामीले गर्नुपर्ने जिम्मेवारीहरु पुरा इमान्दारसाथ गर्नुपर्छ। एउटा इशाई मेहनती सक्रिय किसानजस्तै हुनुपर्छ। जब किसानले परिश्रम र मेहेनत गरेर खेतमा बिऊ रोप्छ त्यसपश्चात उसले पर्खनुपर्छ। किसान धैर्यवान हुनुपर्छ। भोली बिहान बिऊ उम्रिएको छ या छैन भनेर खोतल्दैन। तर त्यो पर्खिने समयमा पनि किसान कहिल्यै निष्क्रिय बस्दैन तर कसरी फसललाई मौसमबाट,अन्य जिवजन्तुहरुबाट, किराफट्याङ्ग्राहरुबाट बचाउन सकिन्छ भनेर दिनरात सक्रियतासाथ खटिरहन्छ। 
यसकारण बाइबलले भन्दछ, "परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउनुपर्दछ" - २ तिमोथी २:६

प्रतीक्षा/wait : 
हिब्रू शब्द 'qavah'
Meaning: to bind together like a cord/डोरी जसरी एकसाथ बाँधिनु 
डोरीको हाँगा/सुतहरु एकअर्कामा मजबुतसाथ गासिँएजस्तै गासिँनु 
उपदेशक ४:१२ ले भन्दछ, "तीन सुतले बाटेको डोरी चाँडै चुँडिदैन"। जसरी एउटा डोरीको हाँगा/सुतहरु एकअर्कामा गाँसिएपश्चात चुडाँउन असम्भव हुन्छ, त्यसरी नै परमेश्वरमा प्रतीक्षा गर्नु भनेको उहाँसँगै गाँसिनु हो, अब तपाईलाई केहि कुराले उहाँदेखि छुटाएर लान सक्दैन। 
ग्रीक शब्द 'perimeno'
Meaning : to abide, to tarry, to continue to be present to last and endure/टिकिरहनु, उपस्थित रहनु, सहनशील हुनु, धैर्यवान हुनु

"युवक पनि दुर्बल र थकित हुन्‍छन्‌, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌। तर परमप्रभुको आशा गर्नेहरूको (they that wait upon the Lord/ तिनीहरुको जसले परमप्रभुमा पर्खन्छ - KJV ) बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्‌, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌। - यशैया ४०:३०-३१
कस्तो मानिसको बल नयाँ हुनेछ? तिनीहरुको जसले परमप्रभुमा प्रतीक्षा गर्दछ। तर हामीलाई अनुभव छ, पर्खाई अथवा प्रतीक्षा हामी धेरैको निम्ति त्यति उत्साहको कुरा भने होइन्। 
तर यस खण्डले भन्दछ, "जब हामी परमेश्वरमा गाँसिन्छौ र उहाँसँगको सम्बन्धमा बाँधिन्छौँ हामीभित्रको बल पुन नयाँ र ताजा हुँदछ। हामीलाई याद छ, मोशाको वृद्ध बुढेसकाल अवस्थामा पनि कुनै जवानमा भन्दा कम बल थिएन। बाइबलले भन्दछ, "मोशाको मृत्यु हुँदा तिनी एक सय बिस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन्"- प्रस्थान ३४:७
अवश्य पनि यस खण्डले शारीरिक बलको मात्र नभएर आत्मिकी बलको सन्दर्भमा पनि बोल्दछ। मोशा आत्मिकी रुपमा पनि उत्तिकै ताजा र उत्साहले भरिएका थिए। 

 "परमप्रभुको प्रतीक्षा (qavah) गर।  बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्‌,  र परमप्रभुकै प्रतीक्षा गर" - भजनसंग्रह २७:१४
सबैभन्दा पहिले हामीले बुझ्नुपर्छ, 'प्रतीक्षा: एकसाथ बाँधिनु' भनेको कुनामा बसेर धैर्यपूर्वक पर्खनु वा शान्त हुनु होइन। परमेश्वरले मलाई केहि दिन वा हप्तामा जवाफ दिनुहुन्छ भनेर पर्खनु भन्ने अर्थ पनि होइन्। यो उहाँसँगै सम्बन्धमा बाँधिनु हो। 

"प्रतीक्षा" भनेको परमेश्वरको नजिक जानको लागी एक सक्रिय अडान हो" - मेलिसा टुमिनो 

परमेश्वरमा पर्खनुका फाइदाहरु :
- परमेश्वर ठिक समयमा काम गर्नुहुन्छ। गलाती ६:९। परमेश्वर हाम्रो समयमा होइन तर उहाँको समय (ठिक समय)  मा कार्य गर्नुहुन्छ। हामीले त्यो समयसम्म पर्खनुपर्ने हुन्छ। हाम्रो समय, हामीले चाहेको समय गलत हुन सक्छ तर उहाँ सहि समयमा कार्य गर्नुहुन्छ ।

- प्रतीक्षाले आशिषको ढोकाहरु खोल्दछ। 
यशैया ३०:१८, "उहाँका प्रतीक्षा गर्ने सबै धन्यका हुन्! "
विलाप ३:२५, "परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरुप्रति परमप्रभु कृपालु हुनुहुन्छ"

- परमेश्वरमा पर्खनुले हामीभित्र धैर्यता निर्माण गर्दछ।कलस्सी १:११

- प्रतीक्षाले परमेश्वरको योजना स्पष्ट रुपमा थाहा गर्न सकिन्छ।
हितोपदेश २१:५ ले भन्दछ, "लगनशीलको योजनाहरुले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ"

- प्रतीक्षा गर्दैगर्दा हाम्रो विश्वास निर्माण हुन्छ। हामी विश्वासमा बलियो हुन्छौं। भजनसंग्रह २७:१४

- प्रतीक्षाले हामीलाई प्रतिज्ञाको निम्ति तयार गर्ने काम गर्छ। १ कोरन्थी १:७

- प्रतीक्षाले हामीलाई खतराबाट बचाउँछ। हामीले प्रार्थनामा माग्ने सबै कुराहरुले हामीलाई फाइदा दिँदैन। अवश्य पनि सानो नानीहरुले आफ्नो आमाबुबालाई चाक्कु खेलाउन माग्यो भने अभिभावकले त्यस मागलाई इन्कार गर्नेछ किनकि त्यसले हानीचोट पुर्याउन सक्छ। 

- प्रतीक्षाले परमेश्वरलाई कार्य गर्ने अनुमति दिन्छ। 
विलाप ३:२४, "मेरो प्राणले भन्छ, 'परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु"
प्रतीक्षाले समर्पतालाई पनि जनाउँदछ। परमेश्वरमा पर्खिएर हामीले परमेश्वरलाई भनिरहेका हुन्छौं, 'प्रभु मेरो बुद्धि, क्षमता, ज्ञान सामर्थ्यले होइन तर तपाईको स्व-इच्छाअनुसार मेरो जिवनमा काम गर्नुहोस्, मलाई तपाईको योजना अनुसार चलाउनुहोस्'।



Comments