किन बाइबलमा परमेश्वरले बहुविवाहलाई अनुमति दिनुभयो? Why did God allow polygamy in the Bible?

 किन बाइबलमा परमेश्वरले बहुविवाहलाई अनुमति दिनुभयो?

Why did God allow polygamy in the Bible? 


- विवाह कुनै मानिसले नभएर परमेश्वरले रचना गर्नुभएको सुन्दर करार हो जसको आफ्नै मूल उद्देश्य, मूल्यमान्यता र नियम छ। पहिलो मानिस आदमलाई हव्वा दिनुहुने परमेश्वर हुनुहुन्थ्यो। 

उत्पति २:२४ "यसैकारण मानिसले आफ्ना आमा-बुबालाई छोड्छ र आफ्नी पत्नी (एकवचन/Singular) सँग मिलिरहन्छ, र तिनीहरु एउटै शरीर हुन्छन्" 

बाइबलले कहि पनि बहुविवाह र उपपत्नी राख्ने अभ्यासलाई परमेश्वरको सृष्टिको उद्धेश्यको रुपमा प्रस्तुत गरेको छैन। परमेश्वरको इच्छा अनुरुपको विवाहचाहिँ पवित्र करार हो जसमा दुई व्यक्तिहरु (पुरुष/स्त्री) परमेश्वरको साक्षीमा एकअर्काप्रति समर्पित हुने, सदा इमान्दार हुने र हरेक परिस्थितिमा साथ दिने प्रतिज्ञा गर्दछन् । सृष्टिमा यहि तस्बिरलाई देख्न सकिन्छ : 

"यसैकारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरुमध्येको एउटा निकाल्नुभई त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नुभएको थियो, त्यसबाट एउटी स्त्री बनाउनुभई मानिसकहाँ ल्याउनुभयो" - उत्पति २:२१-२२

तर मानिसले परमेश्वरविरुद्ध विद्रोह गरेको कारण त्यस करारलाई तोडेको हामी देख्न सक्छौं। 

किन बाइबलका धेरै परमेश्वरका जनहरुले बहुविवाहको अभ्यास गरे? 

बाइबलले बहुविवाहको बारेमा बोलेको छ तर यसलाई अनुमति दिएको छैन किनकि यो परमेश्वरको इच्छाभित्र पर्दैन्। 

परमप्रभुले अब्राहामलाई सन्तान दिने प्रतिज्ञा गर्नुभयो (उत्पति १५:४-५) तर उनले उहाँमाथि विश्वास गरेर भर पर्न सकेनन र उनको श्रीमती साराकी कमारीसँग सम्बन्ध राखे। 

दाऊदले आफ्नो स्वार्थको कारण बतशेबालाई विवाह गरे तर परमप्रभुको नजरमा उनी गलत ठहरिए (२ शमूएल ११-१२) ।

सोलोमनका धेरै पत्नीहरुका कारण उनको हृदय परमेश्वरबाट टाढियो (१ राजा ११:१-२५) ।

यी सम्पूर्ण पात्रहरु 'विश्वासका मानिस/Man of Faith' त थिए तर 'नैतिकताका मानिस/Man of Morality' भने थिएनन्। उनीहरुले गरेका सबै कार्यहरु नैतिकवान थिएन् तर यसलाई उतार्नु जरुरी थियो। यसकारण जब हामी बाइबलमा उनीहरुको बहुवैवाहिक जीवनको विषयमा पढछौं, यो कुरामा कुनै दुविधा हुनुहुँदैन कि यसले बहुविवाहलाई प्रचार गरेको होइन तर सचेत गराएको हो। 

"Description is not prescription"

नयाँ करारको धारणा :

दुवै पुरानो र नयाँ नियमले कडाईकासाथ 'एकविवाह/Monogamy' लाई मान्यताको रुपमा समर्थन गरेको छ। 

येशूख्रीष्ट आफैले मर्कूस १०:२-९ मा विवाहको सम्बन्धमा यस प्रकारको सम्पूर्ण बाइबल नैतिक तर्क प्रस्तुत गर्नुभयो :

फरिसीहरू उहाँकहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, “के कोही मानिसले आफ्‍नी पत्‍नीसँग विवाहविच्‍छेद गर्नु न्‍यायसङ्गत छ? उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो,  “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्‌।” तिनीहरूले भने, “एउटा त्‍यागपत्र लेखेर मानिसले आफ्‍नी पत्‍नीसँग विवाहविच्‍छेद गर्न सक्‍छ भनी मोशाले अनुमति दिएका छन्‌।” तर येशूले तिनीहरूलाई भन्‍नुभयो,  “तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए। तर सृष्‍टिको आरम्‍भदेखि परमेश्‍वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो। ‘यसैकारण मानिस आफ्‍ना बुबा र आमालाई छोड़ेर आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र ती दुई जना एउटै शरीर हुनेछन्‌।’ तिनीहरू फेरि दुई होइनन्‌, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोर्नुभएको छ, मानिसले नछुट्ट्याओस्‌"

हामीले यहाँ के देख्न आवश्यक छ भने, येशुले 'के' विषयमा  बहस गरिरहनुभएको छ होइन तर उहाँले 'कसरी' बहस गरिरहनुभएको छ । फरिसीहरु मोशाको व्यवस्था (Mosaic Law) बारे बहस गर्न चाहन्छन् तर ख्रिष्ट व्यवस्थाका कुरालाई छाडेर उत्पति २:२४ लाई आधार बनाई सृष्टिको सुरुवातमा के थियो उदृत गर्नुहुन्छ। जब विवाहको कुरा आउँदछ हामीले पनि कसले के गर्‍यो भन्नु भन्दा पनि सृष्टिमा परमेश्वरको विवाहप्रति के-कस्तो इच्छा र उद्धेश्य थियो, त्यसलाई बुझ्न आवश्यक छ।   येशु मोशाद्धारा दिइएको व्यवस्थालाई इन्कार गर्नुहुन्न; उहाँ त्यसमा टिप्पणी गर्न खुसी हुनुहुन्छ (मर्कूस १०:५) । तर उहाँ पुर्ण बाइबलीय कथा रेखाको प्रकाशमा त्यसलाई पढेर गर्नुहुन्छ, कुनै सानो टुक्रालाई लिएर होइन। 

त्यसैगरी, मण्डलीका एल्डरहरु जसको जीवन सबै इसाईहरुको लागी नैतिकताको उदाहरण हुन्छ (१ पत्रुस ५:३), एक पत्नी पुरुष हुनुपर्छ (१ तिमोथी ३:२) । 


KR MINISTRY


Comments