के पवित्र धर्मशास्त्रले महिलाहरुलाई एल्डर/पाष्टरीय सेवाकाई गर्ने अनुमति दिन्छ? (बाइबलीय दृष्टिकोण)


के पवित्र धर्मशास्त्रले महिलाहरुलाई एल्डर/पाष्टरीय सेवाकाई गर्ने अनुमति दिन्छ? (बाइबलीय दृष्टिकोण) 

के कुनै महिलाले एल्डर /पाष्टरीय सेवाकाई गर्न सक्छ भन्ने सवालमा दुई भिन्न दृष्टिकोणलाई पाउछौं :

१. समतावादी दृष्टिकोण (The Egalitarian View) : यस धारणाले १ तिमोथी ३:१-७ र तीतस १ :५-९ मा उल्लेखित आवश्यक योग्यताहरु पुरा गरेमा महिलाहरुले एल्डर/पाष्टरको रुपमा सेवाकाई गर्न सक्ने बताउँछ। 

२. पुरक दृष्टिकोण (The Complementarian View) : यसले ठिक विपरीत मण्डलीमा महिलाले एल्डर/ पाष्टरको रुपमा सेवा गर्न नसक्ने विचारलाई अघि सार्दछ।  यस धारणाले १ तिमोथी ३:१-७ र तीतस १:५-९ मा केवल पुरुषार्थ सर्वनाम ("He" & "His") १०औं पटकसम्म उल्लेख गरिएको विचारलाई अघि सारेको छ ।

मेरो व्यक्तिगत धारणा : मण्डलीले एल्डर/पाष्टर नियुक्ती अगाडि परमेश्वरको इच्छा र योजना बुझ्न आवश्यक हुन्छ। एउटा महिलाले सेवाकाइमा ठूलो टेवा पुर्याउन सक्छिन तर तिनलाई स्वयम परमेश्वरले नै एल्डर/पाष्टरीय सेवाकाइको निम्ति बोलाउनुहुन्छ भने त यसमा हामी प्रश्न गर्ने को हौ र। अवश्य पनि परमेश्वर मानिस हुनुहुन्न र मानिसले जसरी सोच्नुहुन्न। तर परमेश्वरको बोलावट, योग्यतार वरदान बिना त यो असम्भव छ।

      मलाई लाग्छ, नेपाली इसाई समाजमा "महिलाहरुले पाष्टरीय सेवाकाई गर्ने अनुमति छैन" भन्ने धारणा बाइबलीय भन्दा पनि हाम्रो पृष्ठभूमिको प्रभाव हो। हाम्रो नेपाली समाज पुरुष-प्रधान (Male-Domination) समाज जसमा हामी यस समाजले दिएको मूल्यमान्यता, धारणा, विचार, सिद्धान्तहरुमा हुर्कियौं जसको प्रत्यक्ष असर बाइबलीय सिद्धान्तमा देखियो। हाम्रो विचारलाई मत(Support) दिने पद र खण्डहरु टपक्क टिपेर, त्यसैलाई बाइबलीय सिद्धान्तको रुपमा प्रस्तुत गर्ने बानी बसेको छ

- प्रेरित १८:२६ मा प्रिस्किलाले आफ्ना पतिसँग मिलेर "शिक्षा दिने सेवकाइ" गरेकी उल्लेख गरिएको छ, तिनी पावलका एक "सहायक" वा "सहकर्मी" (रोमी १६:३) थिई, र कोरिन्थको मण्डली तिनको घरमा भेला हुन्थ्यो (१ कोरिन्थी १६:१९) । यसबाट यही बुझिन्छ कि त्यस सम्बन्धमा प्रिस्किलाको एक स्पष्ट सेवकाई थियो,  तिनले शिक्षा दिने गर्थिन्। 

प्रेरित यूहन्नाले २ यूहन्नाको पत्रमा चुनिएकी महिलालाई लेख्छन्। यो पत्रमा परमेश्वरको परिवारमा देखरेख गर्ने एक जना व्यक्तिलाई सम्बोधन गरिएको हो जस्तो लाग्छ।  तिनका आत्मिक छोराछोरीहरु छन्। स्पष्ट छ, तिनले आत्मिक देखरेख गर्थिन्, जुन एल्डर पदको एउटा योग्यता हो। 

युनियस जुन सायद स्त्रीको नाउँ हुनसक्छ त्यो नाउँ एक प्रेरितको रुपमा रोमी १६:७ मा उल्लेख गरिएको छ। 

रोमी १६:१ मा पावलले फिबीको प्रशंसा गर्छन् र तिनको सेवकाइ सफलतापूर्वक संचालन गर्नको निम्ति तिनलाई सबै किसिमको सहायता गर्नु भनी मण्डलीलाई सम्झाउँछन्।  तिनी मण्डलीकी एक सेविका हुन्। 

धर्मशास्त्र बाइबलमा केवल पुरुषहरुलाई संकेत गरिएको छ,  तर फेरि केही पत्रमा "भाइ हो" भनी सम्बोधन गरिएको छ (रोमी १२:१) । के यसबाट हामी मण्डली दाजुभाइहरुद्धारा मात्र बन्छ त्यसमा दिदिबहिनीहरु आउँदैनन् भन्ने मानिलिन्छौं र? के दिदिबहिनीहरु पनि "सन्तान" होइनन् र?  वरदानयुक्त सेवकाइहरुमा स्त्रीहरुले सेवकाइ गर्नुहुँदैन भनेर कहाँ लेखिएको छ? 


KR MINISTRY





Comments