हामी मण्डलीको रुपमा कसरी आत्मिकी रुपमा परिपक्क हुने?
यदि हामी आफ्नो मण्डलीलाई परिपक्क बनाउन चाहन्छौं भने मण्डलीको परिपक्कताको लागि लेखिएको परमेश्वरको वचनमा फर्किएर जानुपर्ने हुन्छ।
आउनुहोस्...
हामी मण्डली विश्वासमा दरिलो होस रआत्मिकी रुपमा परिपक्क होस भन्ने उद्धेश्यले लेखिएको प्रेरित पावलको कलस्सीको पत्रलाई हेर्नेछौं।
प्रेरित पावल कलस्सीका मण्डली आत्मिक रुपमा आफ्नो विश्वासमा परिपक्क भएको चाहन्थे, यसकारण उनी भन्छन्,
"प्रत्येक मानिसलाई चेताउनी दिँदै, र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं।" कलस्सी १:२८
तिनले हरेक मानिसलाई ख्रीष्ट येशूमा सिद्ध भएको अवस्थामा उपस्थित गराउन चाहन्थे। पावलले यहाँ आफूलाई पूजाहारीको रूपमा चित्रण गर्छन्, जसले परमेश्वरका निम्ति बलिदानहरू चढ़ाउँछन्। अनि पावलले चढ़ाउने बलिदानहरू मुक्ति पाएका मानिसहरू हुन्थे। तिनले उनीहरूलाई प्रभुका निम्ति कुन अवस्थामा चढ़ाउन चाहे त? उनीहरू कमजोर र ख्रीष्टमा दूधे बालकहरू हुँदा के त्यो चल्थ्यो? होइन, तिनले उनीहरूलाई पाको, परिपक्व र प्रौढ़ इसाई भएका देख्न चाहन्थे। उनीहरू सत्यतामा बलियो गरी जग बसालेका र सुदृढ़ भएका हुनुपर्छ। जस-जसलाई हामीले ख्रीष्ट येशूकहाँ डोर्यायौं, के तिनीहरूका निम्ति हाम्रो बोझ पनि उस्तै छ कि?
आत्मिक परिपक्कताको प्रक्रिया:
आत्मिक परिपक्कता समुद्रमा डुंगा चलाउनु जस्तै हो। एक असल र अनुभवी नाविकले पूर्ण रुपमा हावाको प्रवाह र गतीको भरमा आफ्नो डुंगालाई समुद्रमा छोडदैन्। उसले हावा चलिरहेको छ भनी बुझदछ र तदनुसार पाल समायोजन गर्ने काम गर्दछ। तपाईले आत्मिक परिपक्कताको लागि आफ्नो स्थानबाट १००% दिनुहुन्छ र परमेश्वरले तपाईलाई अगि बढ्न सहायता गर्नुहुन्छ। यो आत्मिक रुपमा परिपक्क बन्ने प्रक्रिया हो।
परिपक्क विश्वास चाहिँ आत्मिक परिपक्कता हो।
परिपक्कता उमेरबारे होइन्। हामी ५० वर्ष पुरानो इशाई हुन सक्छौं र अझै पनि परिपक्क इशाई नहुन सक्छौं।
परिपक्कता बाहिरी रुप बारे होइन्। केहि मानिस आत्मिक रुपमा परिपक्क देखिन सक्छन्, तर तिनीहरु नहुन सक्छन्। कोहि भलादमी देखिनुको मतलब यो होइन कि तिनीहरु पवित्र हुन्छन्।
परिपक्कता उपलब्धी बारे होइन्। हामीले आत्मिकी परिपक्कताबिना पनि धेरै उपलब्धीहरु हासिल गर्न सक्छौं तर हाम्रो उपलब्धी र सफलताहरूले हाम्रो विश्वास मापन हुँदैन्।
आत्मिक परिपक्कता कस्तो देखिन्छ?
हामीले कसरी यसलाई परिभाषित गर्ने?
आत्मिक परिपक्कता तब हुन्छ जब तपाईले परमेश्वरबारे आफ्नो ज्ञान बढाउनुहुन्छ, तपाईको हृदय उहाँसँग प्रेममा बढ्छ, तपाई आत्मिक अनुशासनमा बढनको लागि आफ्नो हात प्रयोग गर्नुहुन्छ, तपाईको संगी इशाईलाई क्षमा गरि अंगालोमा स्विकार गर्न हात बढाउनुहुन्छ, र विश्वासमा चल्न आफ्नो खुट्टाद्धारा कदमहरु अगाडि सार्नुहुन्छ।
आत्मिक परिपक्कताको लागि त्यहाँ हामीले गर्नुपर्ने थुप्रै कार्यहरु छन्।
कलस्सी २
१. तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि कसरी तिमीहरू र लाउडिकियामा भएकाहरू, र मेरा मुखै नदेख्ने सबैका खातिर म कठोर परिश्रम गर्दछु,
तिनले यहाँ कहिल्यै नभेटेका विश्वासीहरूका निम्ति सङ्घर्ष गर्दैथिए। तिनले कलस्सी विश्वासीहरूको विषयमा प्रथम पल्ट सुनेको दिनदेखि नै तिनले उनीहरूका निम्ति, साथै लाउडिकिया त्यसको छिमेकी शहरमा हुनेहरूका निम्ति, साथै अरू अपरिचित ख्रीष्ट-विश्वासीहरूका निम्ति प्रार्थना गर्न थाले।
यी दुवै शहरहरुमा गम्भीर समस्या आइपरेको थियो। कलस्सीका मण्डलीहरुमाझ झूटो शिक्षा रधर्मशास्त्र विरुद्धको नयाँ शिक्षाहरुले उग्र रुप लिदैं थियो।
प्रकाशको पुस्तकमा लाउडिकियाका विश्वासीहरुबारे यस्तो लेखिएको छ, "किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।" - प्रकाश ३:१६
वास्तवमा लाउडिकियाको पानी मनतातो नै हुन्थ्यो। कलस्से लाओडिसियादेखि १६ कि.मी पूर्व र हिरापोलिसदेखि ९.६ कि.मीको दुरीमा अवस्थित थियो (कलस्सी ४:१३)। अनि एफेससदेखि कलस्सेअ लगभग एक सय माइल पूर्व परेको थियो। कलस्सेअ र हिरापोलिसबाट बगेको पानी लाउडिकियामा गएर मिसिन्थ्यो। त्यस दोभानमा हिरापोलिसबाट आएको तातो पानी पनि कलस्सेअबाट आएको चिसो पानीसित मिसिन्थ्यो, र यसले लाउडिकियाको पानी मनतातो तुल्याइदियो।
केवल लाउडिकियाको पानी मात्र होइन विश्वास पनि मनतातो थियो। जब रोमका शासक डोमिसियनले (८१-९६ इस्वी) साम्राज्यवादी पंथमा (सम्राटहरु र परिवारहरूको पुजा) भाग नलिनेहरुलाई सताए तब धेरै आफ्नो विश्वासबाट पछि हटे। लाउडिकिया शहर व्यापारिक केन्द्र भएका कारण धेरै धनाढय इशाईहरुले आफ्नो व्यापारलाई जारी राख्न आफ्नो विश्वाससँग सम्झौता गरे।
२. कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्साहित होऊन्, र पक्का समझका परिपूर्णताको सम्पत्ति र परमेश्वरका रहस्यको ज्ञान, अर्थात् ख्रीष्टलाई प्राप्त गरून्।
३. उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्।
४. म यो भन्दछु, कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्।
५. किनकि शरीरमा म अनुपस्थित भए तापनि आत्मामा त म तिमीहरूसँगै छु, र तिमीहरूका सुव्यवस्था र ख्रीष्टमा तिमीहरूका विश्वासको स्थिरतामा म रमाउँदछु।
६. यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ।
७. धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ।
८. ध्यान देओ, कि कसैले दर्शनशास्त्र (बुद्धि-परायन) खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्टकाअनुसार होइनन्, तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अड़िएका हुन्छन्।
शिर: पक्का समझ
प्रेरित पावल कलस्सीका मण्डलीका विश्वासीहरुसँग पक्का समझ भएको चाहन्छन। ३ खण्डले भन्दछ, ख्रीष्टमा नै ज्ञान र बुद्धिको सारा सम्पत्ति छ। साथै दुईपटक ४ र ८ खण्डमा, उनी भन्छन् कि इशाई बरु अन्य दर्शनशास्त्रहरुबाट धोकामा नपरुन।
कलस्सीहरूलाई लेखिएको यस पत्रबाट विदितै छ, कि कलस्सेअमा धेरै झूटो शिक्षाले त्यहाँको मण्डलीका विश्वासीहरूलाई सताउन थालेको थियो,
गूढ़ज्ञानवाद: गूढ़ज्ञानवादीहरूले आफ्नो ज्ञानमा पूरा घमण्ड गर्थे। तिनीहरूले आफुसँग प्रभु येशूका प्रेरितहरूभन्दा उच्च ज्ञान भएको दाबीमा गर्थे। तिनीहरूले मानिसहरूलाई आफ्नो त्यस झूटो पन्थका गहन-गहन रहस्यहरू नजानीकन कुनै पनि मानिस कहिल्यै साँच्चै सुखी हुन सक्दैन भन्ने झूटो आभास सृजना गर्थे।
कति गूढ़ज्ञानवादीहरूले ख्रीष्ट येशू साँचो मानिस हुनुभएको कुरा इन्कार गर्थे। तिनीहरूको शिक्षाअनुसार प्रभु येशूको बप्तिस्मामा ‘ख्रीष्ट’ भन्ने ईश्वरीय तत्त्व वा ईश्वरीय भाव परमेश्वरबाट आएर येशू भन्ने मानिसमाथि बस्न आयो अरे। अनि प्रभु येशूको क्रूसको मृत्यु हुनुभन्दा अगाड़ि त्यो ख्रीष्ट भन्ने तत्त्व फेरि उहाँलाई छोड्यो रे। तिनीहरूको गलत अर्थअनुसार येशूचाहिँ क्रूसमा मर्नुभयो, तर ख्रीष्ट भन्ने ईश्वरीय तत्त्वचाहिँ मरेन अरे।
कलस्सेअमा अरू दुईओटा झुटा शिक्षाहरू थिए:
अव्यवस्थावाद र यहूदीवाद।
अव्यवस्थावादको सिद्धान्त के हो? अनुग्रहको अधीनतामा जिउनेहरू आत्मसंयमी हुनुपर्दैन, तर तिनीहरूले आफ्ना शरीरका सबै इच्छा र अभिलाषाहरूको लगाम पूरा छोड्न सक्छन् र यी कुअभिलाषाहरू उपभोग गर्न पाउँछन् भनि विश्वास गर्थे।
अनि यता पुरानो नियमको यहूदीधर्मचाहिँ बिग्रेर-बिग्रेर केवल रीतिविधिहरू पालन गर्ने सिद्धान्तहरूमा सीमित रहेको एउटा क्रमबद्ध, तर व्यर्थ शिक्षा-समूह बन्यो, जसको आज्ञापालन गरेर मानिसहरूले परमेश्वरको सामु धर्मी हुन खोजे र उहाँको सामु गनिने धार्मिकता प्राप्त गर्ने आशा गरे।
यसकारण बाइबलको असल समझ र ज्ञान हुन आवश्यक छ। आज पनि अगमवाणी, चङ्गाइ र पवित्र-आत्माको नाउँमा गलत शिक्षा र व्यापारहरु प्रशस्त मात्रामा हाम्रो वरिपरि भइरहेको छ।
नक्कली मुद्रा पहिचान गर्ने प्रशिक्षण र तालिममा प्रशिक्षकले प्रशिक्षार्थीलाई कहिल्यै नक्कली मुद्रा दिदैन। प्रशिक्षार्थीहरुले हरेक पल्ट वास्तविक नोटको मात्र प्रत्येक इन्च-इन्च अध्ययन गर्छन ताकि तिनीहरुले नक्कली नोट देखेमा यो नक्कली हो भनेर पूर्ण रुपमा थाहा पाउनेछन।
हृदय: प्रेम
तपाई केवल ज्ञानमा बढेर आफ्नो शिरलाई ठूलो बनाउनुहुन्छ भने त्यो धेरै गह्रुँङ्गो हुनेछ। यसकारण प्रेरित पावलले हृदयसँग सम्बन्धित आत्मिक परिपक्कताको उदाहरणहरु पनि सूचीबद्ध गरेका छन्।
उनी प्रेममा एकसाथ बाँधिएर हृदयमा प्रोत्साहित होऊ भन्छन् (२)। यदि हामी एक-अर्कालाई प्रेम गर्न सक्दैनौं, क्षमा दिन सक्दैनौं, र स्विकार गर्न सक्दैनौं भने हाम्रो आत्मिकता ख्रोक्रो छ। हृदयलाई धर्मशास्त्रमा व्यक्तिको साँचो पहिचानको रुपमा परिभाषित गरेको छ। हृदय तपाईको साँचो एैना हो। यदि हाम्रो हृदयमा रिसराग, घमण्ड, द्धेष, छ भने हामी त्यो नै हौं। यदि हाम्रो हृदयमा क्षमा, प्रेम, स्वीकारोक्ति छ भने हामी त्यहि हौं।
येशूले मत्ती १२:३५ मा यहि कुरा बताउनुभयो,
"असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ।"
येशूले सिकाउनुभयो कि हृदय त्यो ठाउँ हो जहाँबाट हाम्रा शब्दहरु आउँछन र हाम्रा कार्यहरु उब्जिन्छन्।
यदि मण्डलीको रुपमा हामी आपसमा प्रेमको न्यानो सङ्गतिमा बाँधिएका हुन्छौं भने, हामीले शत्रुका हमलाहरूको विरोधमा आफ्नो वरिपरि सुरक्षाको घेरा र बलियो मोर्चा खड़ा गर्न सक्छौं।


Comments
Post a Comment