पश्चाताप के हो?

 पश्चाताप के हो? 


पश्चाताप निक्कै शक्तिशाली शब्द हो। साँचो पश्चाताप परमेश्वरबाट हो। 
योएल २:१२-१३
परमप्रभु घोषणा गर्नुहुन्छ, "अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ, र विपत्ति ल्याउनुहुँदा उहाँ दु:खित हुनुहुन्छ।"
पुरानो नियममा मानिसहरुले सामान्यतयाः आफ्नो लुगा च्यातेर ठूलो शोक र पीडा व्यक्त गर्थे।परश्वरले तिनीहरुको हृदयको साँचो पश्चाताप चाहनुभयो। साँचो पश्चातापले हामीले गुमाएको आशिषहरु फिर्ता ल्याउँदछ। 
दाऊद भन्छन्,
"तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न।" भजनसंग्रह ५१:१७
दाऊद राजालाई साँचो पश्चातापको शक्ति थाहा थियो। जब उनले परमप्रभुको विरुद्धमा आफुले गम्भीर पाप गरेको कुरा नातान अगमवक्ताबाट थाहा पाउँछन तब उनले ठूलो पश्चाताप गरेका छन् (२ शमूएल १२)। यहि पश्चातापको सिलसिलामा उनले भजनसंग्रह ५१ लेख्छन्। 
यस पश्चातापलाई देखेर परमप्रभुले दाऊदलाई क्षमा दिनुभएको छ। 
- पश्चाताप विनम्रता र परमेश्वरमाथिको निर्भरताको चिन्ह हो। 
येशूले आफ्नो पहिलो सार्वजनिक प्रचारमा भन्नुभयो,  "पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।"मत्ती ४:१७
साँचो सुसमाचार चाहिँ हामी हरेकले पश्चाताप गर्नु पर्छ किनकि हामी हरेकले परमेश्वरको विरुद्ध उहाँलाई चोट पुग्ने कार्यहरु गरेका छौं जसलाई हामी पाप भन्छौं। 
एक पल्ट बाल संगतीको शिक्षकले कक्षामा "पश्चाताप" शब्दको अर्थ के हो भनेर सोधे। एउटा सानो केटाले आफ्नो हात उठाएर भन्यो, "पश्चाताप भनेको आफ्नो पापको लागि दुखित हुनु हो।"
अर्को सानी केटीले पनि हात उठाएर भनिन, "पश्चाताप भनेको आफ्नो पापप्रति यति दुखित र पछुतो हुनु कि अब यसलाई पूर्ण रुपमा छोडनु हो।"
- पश्चाताप चाहिँ केवल दुखित हुनु मात्र होइन तर अब उसो पापलाई घृणा गर्नु हो। धेरै चोटी हामी आफ्नो पाप र अपराधको निम्ति दुखित हुन्छौ, पछुतो गर्छौ र परमेश्वरसँग क्षमा माग्छौं। यो राम्रो हो तर हामी छिट्टै ती पापहरुलाई दोहोर्याइरहेका हुन्छौं। साँचो पश्चातापले हामी भित्र पूर्ण परिवर्तन ल्याउँदछ। 
- पश्चाताप हाम्रो विचार, मानसिकता र जीवनको गम्भीर रुपान्तरण हो जसले हाम्रो अगाडिको दिशा परिवर्तन गर्दछ। 
ग्रीक शब्द मेटानोइया (metanoia) को अर्थ हृदयको पूर्ण परिवर्तन हो जबकि हिब्रू शब्दले दिशाको परिवर्तन भन्ने अर्थ दिन्छ। 
पश्चाताप केवल दुखित हुने बारे होइन यो त परिवर्तन बारे हो।
१ कोरिन्थी ७:१०
"किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चात्ताप उत्पन्न गर्छ, र त्यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ।"

प्रेरित १९:१९
"तिनीहरूमध्ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आ-आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामुन्ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्काको हिसाब लाग्यो।"
एफिससका मानिसहरुले जब ख्रीष्टलाई विश्वास गरेर पश्चाताप गरे तब तिनीहरुमा परिवर्तन भएको कुरा हामी देख्न सक्छौं। 
केन बेली ७०औं दशकको मध्यतिर अलास्का पाइपलाइनमा काम गर्ने मजदुर थिए। उनले एक वर्षसम्म चिसोमा काम गरे र घर फर्किए अनि मण्डली जाने निर्णय गरे। आराधना सेवामा ऊ ढोकाबाट हिंडयो र पछाडिको सिटमा बस्यो। उसको लामो दाह्री थियो, ग्रिजली भालु जस्तो देखिने मान्छे र हेर्दा इशाई बन्ला जस्तो नलाग्ने । तर अचम्म रुपमा केनले त्यस सेवामा आफ्नो जीवन ख्रीष्टलाई सुम्पिए । ख्रीष्टलाई आफ्नो जीवन दिंदा उनको अनुहारबाट आँशु झर्दै थियो। सायद उनले ख्रीष्टको विरुद्धमा जीवन बिताएर कति उहाँलाई चोट पुर्याएको रहेछु भन्ने कुरालाई महसुस गरि पश्चाताप गर्दै थिए । सेवा पछि सबै फर्किए र अर्को सेवामा उनी फर्किए। त्यस सेवामा उनी सिटमा थिए, उनको दारी चट्ट मिलाएर काटिएको थियो, कपाल कोरिएको एक भलादमी । कसैले उनलाई यसको कारण के हो भनेर सोध्दा उनले जवाफ दिए, "येशूले मलाई भित्रैबाट परिवर्तन गर्नुभयो र मानिसहरुले यो थाहा पाएको म चाहन्छु यसकारण मैले बाहिर परिवर्तन गरे।"
प्रेरित ३:१९
"यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्"

पाष्टरकहाँ आएर एक जवानले सोधे, "गुरुबा, मैले कहिले पश्चाताप गर्नुपर्छ?" पाष्टरले जवाफ दिए, "तिमीले आफ्नो जीवनको अन्तिम दिनमा पश्चाताप गर्नु..।" जवान युवकले भन्यो, "ओहो!गुरुबा तर मलाई मेरो अन्तिम दिन कहिले हो भनेर कसरी थाहा हुनेछ र?" पाष्टर मुस्कुराउँदै भन्छ, "त्यसो भए जवाफ सरल छ। तिमीले अहिले नै पश्चाताप गर्नुपर्छ।"
पश्चातापद्धारा मात्रै हामी बचाइन्छौं। 
लूका १३:३
"म तिमीहरूलाई भन्दछु, त्यसो होइन, तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।"
सि.एच.स्पर्जन, शक्तिशाली अंग्रेज प्रचारक पश्चातापको आवश्यकताको बारेमा निम्न कुरा भन्छन्,"मानिसहरु आजकल धेरै छिटो विश्वासमा हामफाले जस्तो देखिन्छ....मलाई आशा छ कि मेरो पुरानो साथी पश्चाताप मरेको छैन। म पश्चातापलाई असाध्यै प्रेम गर्छु, यो विश्वासको बहिनी जस्तो देखिन्छ।"

जब हामीले साँचो रुपमा ख्रीष्टलाई विश्वास गरेका हुन्छौं, हामीलाई उहाँले कति गहिरो प्रेम गर्नु भयो र हामीले केवल उहाँको हृदयलाई चोट पुग्ने कुराहरु मात्र गरेका छौं भन्ने कुरालाई बुझ्छौं अनि हामी आफैलाई पश्चातापदेखि अलग गर्न सक्दैनौ। 
विश्वास र पश्चाताप एउटै सिक्काको दुई पाटा हुन। 
पश्चाताप हामीले पहिले माया गरेको पापहरुलाई छोड्नु हो र अब उसो त्यहि पापलाई नदोहोर्याएर हामी गम्भीर शोकमा छौं भनि देखाउनु हो। 
किन हामीले पाप स्विकार गर्नुपर्छ?
१ यूहन्ना १:९ 
"यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।"

Comments