याकूब ४ - भाग ९

 याकूब ४:११-१७



११. भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्नो भाइको विरुद्धमा खराब बोल्छ, अथवा आफ्नो भाइलाई दोष लाउँछ, त्यो व्यवस्थाको विरुद्धमा बोल्छ, र त्यसले व्यवस्थाको दोष देखाउँछ। तर यदि तिमीले व्यवस्थाको दोष देखाउँछौ भने त तिमी व्यवस्थाबमोजिम चल्ने भएनौ, तर व्यवस्थाको न्यायकर्ता पो भयौ। 
हामीले बोल्ने हरेक शब्द दया र प्रेममा आधारित हुनुपर्छ। अरुको हृदय दुखाएर हामी उसलाई सुधार्न चाहन्छौं भने त्यो गलत हो। 
यदि हामी कसैलाई प्रेम गर्छौ र ऊ गलत बाटोमा हिंडिरहेको छ भने उसलाई सुधार्ने हाम्रो तौर तरिका बाइबलिय हुनुपर्छ। 
"भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर।" गलाती ६:१
त्यसरी नै येशू ख्रीष्टले पनि मत्ती १८:१५-२० खण्डमा कसरी हामी आफ्नो भाइलाई सुधार्न सक्छौ भनि बताउनुभयो। 
याकूब भन्छन् अरुको बारेमा खराब बोल्नु अथवा आफ्नो भाईलाई दोष लगाउनु भनेको व्यवस्थाको विरुद्धमा बोल्नु हो। व्यवस्थाले भन्छ, "... तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्।" मत्ती २२:३९-४०
याकूबले यसलाई राजकिय व्यवस्था भनेका छन्। 
लूका ६:३७ ले भन्दछ, "अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।"
जब हामी अरुको न्याय गर्छौ, अरुलाई दोष्याउँछौ, अरुको कुरा काट्छौ र अरुको बारेमा खराब बोल्छौं तब अवश्य पनि हामीले उनीहरुलाई प्रेम गरिरहेका हुँदैनौ। तर यी सबै कुराहरु हामीले घृणामा गरिरहेका हुन्छौं। तब हामीले परमेश्वरद्धारा दिइएको राजकिय व्यवस्था र महान आज्ञालाई तोडिरहेका छौं। 


१२. व्यवस्था दिने र न्यायकर्ता त एउटै हुनुहुन्छ, जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ। तर आफ्नो छिमेकीलाई दोष लाउने तिमीहरू को हौ? 
परमेश्वर एक मात्र न्यायकर्ता हुनुहुन्छः जसले मोशालाई सिनै पर्वतमा व्यवस्था दिनुभयो। तरै पनि उहाँले हामीलाई हाम्रो पापहरुबाट बचाउन उहाँको क्रोधित न्यायमा पर्न दिनुभएन। तर हामीलाई हाम्रो पापको न्याय र दण्डबाट बचाउन, ख्रीष्ट हाम्रो खातिर क्रूसमा चढनुभयो। व्यवस्थाले भन्छ, "काठमा झुण्डिने हरेक श्रापित हुन्छ"। गलाती ३:१३
यसको अर्थ येशू ख्रीष्ट हाम्रो खातिर क्रूसमा श्रापित हुनुभयो। 
जसरी परमेश्वरले हामी पापी छँदै हामीलाई प्रेम गर्ने र क्षमा दिने निर्णय गर्नुभयो त्यसरी नै हामीले एका-अर्कालाई स्विकार्ने र प्रेम गर्ने छनौट गर्नुपर्छ। 
प्रेम भावना भन्दा बढि हाम्रो छनौट र निर्णय हो। यो हाम्रो प्रतिबद्धता हो। भावना सेलाएर जान्छ र त्यससँगै प्रेम पनि सेलाएर जान्छ। तर यदि हामी प्रतिबद्ध छौं र हामी हर परिस्थिहरूमा पनि प्रेम गरिरहने निर्णय र छनौट गर्छौ भने प्रेम गरिरहन सक्छौं। 

१३. "आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्यहाँ एक वर्ष बिताऔंला र व्यापार गरेर नाफा गरौंला" 
१४. भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइहाल्छ। 


हाम्रो जिन्दगीको कुनै भर छैन्। हाम्रो भोली चाहि अनिश्चित छ। हामीले म भोलीको दिनमा यस्तो गर्नेछु..म त्यस्तो गर्नेछु भनेता पनि भोली के हुनेछ हामीलाई थाहा छैन्। यसको अर्थ हामीले भोलीको निम्ति योजना कोर्नु हुँदैन भन्न खोजेको होइन्। वास्तवमा परमप्रभु स्वयम एक कुशल योजनाकार हुनुहुन्छ। जब उहाँले सृष्टि गर्नुभएको पहिलो मानव आदम र हब्बा चुके र पापमा फसे तब उहाँले त्यहि समयमा नै मानव जातीलाई पापको न्याय र दण्डबाट बचाउने योजना कोरिसक्नुभएको थियो। हामी उहाँको योजना उत्पत्ती ३:१५ मा देख्न सक्छौं, "...तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।" उत्पत्तिको ३:१५
हामी सुरुवाती चरणमा नै मानव जातीको उद्धारको निम्ति परमेश्वरको योजनालाई देख्न सक्छौं। 
जब इस्राएली जातीले परमप्रभुलाई त्यागेर विदेशी देवीदेवताहरुलाई पुजेर उहाँलाई क्रोधित तुल्याए तब उहाँले तिनीहरुलाई बेबिलोनीहरुको हातमा सुम्पिदिनु भयो। तर जब तिनीहरुले पश्चाताप गरेर आफ्नो हृदय उहाँतिर फिर्काए तब उहाँले तिनीहरुलाई छुटकारा दिने र तिनीहरुलाई उन्नति र प्रगति दिने योजना बनाउनुभयो। 
यर्मिया २९:११ मा उहाँ भन्नुहुन्छ, " किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु," परमप्रभु भन्नुहुन्छ। "ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। 
यसकारण याकूबको यो खण्ड योजनाको विरोधमा छैन तर त्यस्तो योजनाको विरोधमा छ जसमा परमप्रभुको संलग्नता र इच्छा छैन्। हामी योजना बनाउँछौ, र परमप्रभुमा होइन त्यस योजनामाथि भरोसा गर्छौ। हामी त्यस योजनालाई हाम्रो बल र क्षमताले पुरा गर्न खोज्छौं। हामी हाम्रो योजनाहरुमा घमण्ड गर्छौ र सोच्छौ '..ओहो...मसँग भविष्यको एउटा असल र सफल योजना छ। अब मलाई केहि कुराको खाँचो छैन्।'
येशु ख्रीष्टले लूका १२:१३-२१ मा यस्तै एक धनी मानिसको दृष्टान्त बताउनुभयो जसले आफ्नो भविष्यको निम्ति प्रशस्त धनसम्पत्ति थुपारे। उनले आफ्नो भबिष्यको सुरक्षाको निम्ति असल योजना बनाए। तर राती नै उनले आफ्नो प्राण गुमाए। 
प्रियहरु! हो, पृथ्वीमा हामी सफल हुनुपर्छ, हामी धनी पनि हुनुपर्छ र हामीले धेरै उन्नति प्रगति गर्नुपर्छ तर तपाईले सफलता प्राप्त गरेर परमेश्वरलाई गुमाउनुभयो भने तपाई सबै भन्दा असल व्यक्ति हुनुहुन्छ। तपाईले अथाह धन कमाएर ख्रिष्टलाई गुमाउनु भयो भने तपाई सबैभन्दा गरिब मानिस हुनुहुन्छ। प्रिय! मेरा जवानहरु भविष्य बनाउने होडबाजीमा ख्रीष्टलाई नगुमाउनुहोला।
हितोपदेशक भन्छन्, "तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।" हितोपदेशक १६:४
वास्तवमा परमप्रभु हामीबाट योजनाको माग गर्नहुन्छ। तर हाम्रो योजनाहरु उहाँमा समर्पित हुनुपर्छ। हाम्रो योजनाहरुले उहाँप्रतिको हाम्रो भरोसा र निर्भरतालाई बोकेको हुनुपर्छ। हाम्रो योजनाहरुले उहाँको इच्छालाई आदर गरेको हुनुपर्छ। 


१५. यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, "यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौंला र यस्तो-उस्तो गरौंला।" 
१६. तर अहिले तिमीहरू आ-आफ्ना शेखीमा धाक लाउँछौ। यस्तो सबै शेखी खराब हो। 
१७. यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ।

यसकारण हामीले निरन्तर परमेश्वरको योजना र इच्छाको खोजी गरी त्यसमा समर्पित हुनुपर्छ। प्रेरित पावललाई यो सिद्धान्त थाहा थियो यसकारण उनी भन्छन् ,"तर प्रभुको इच्छा भयो भने म तिमीहरूकहाँ चाँड़ै आउनेछु,.."  कोरन्थी ४:१९)। "प्रभुको इच्छा भयो भने, केही समय बिताउने आशा मैले राखेको छु"। (१ कोरिन्थी १६:७)
सेखी र धाकलाई जनाउन ग्रीक शब्द एलेजोनिया (alazoneia) प्रयोग गरिएको छ। यो शब्द एलेजोनबाट (alazon) आएको हो जसले एउटायस्तो बकवास र फर्जि चिकित्सकबारे बताउँदछ जसलाई तपाई ग्रीक शहरहरूको बजारहरुमा र भिडहरुमा ठूलो-ठूलो स्वरले चिच्याउँदै सबै बिमारीहरू र रोगहरु निको पार्ने दाबि गर्दै घमण्ड गरेको भेट्टाउनुहुन्थ्यो। तिनीहरु सहर-सहर घुम्दै बजार र भिडहरुमा आफ्नो स्टलहरु राख्थे र आफ्नो चक्की औषधीहरुले हरेक रोगहरु निको भएको घमण्ड गर्थें जुन वास्तवमा गलत हुन्थ्यो। न त उनीहरुको चक्की र औषधीहरु आधिकार हुन्थे न त उनीहरुले रोग बिमार नै निको पारेका हुन्थे। 
त्यसैले ग्रीकमा यो शब्दको अर्थ ढोंगी घमण्डी गर्नु हो।  प्लेटोनिक परिभाषाहरुले अलेजोनियालाई 'राम्रो र असल चिजहरुको दाबि गर्नु जुन मानिससँग हुँदैन' भनेर परिभाषित गर्दछ। 
एरिस्टोटलले अलेजोनलाई एक यस्तो मानिसको रुपमा परिभाषित गर्दछ, 'जसले प्रशंसनीय गुणहरुको बहाना गर्छ जुन ऊसँग हुँदैन्।' 





Comments