याकूबको पुस्तक (३:१३-१८)

 याकूबको पुस्तक 



सोलोमनले बुद्धिको माग गरेका कारण परमप्रभु प्रसन्न हुनभयो र उनलाई सबैथोक दिनुभयो। पुरानो नियममा बुद्धिका पुस्तकहरु भनि पाँच पुस्तकहरुलाई हामी पाउँछौं : अय्यूब, भजनसंग्रह, हितोपदेश, श्रेष्ठगीत, उपदेशक। पुरानो नियममा बुद्धि र बुद्धिमान शब्द लगभग ३०० पटक उल्लेख गरिएको छ जसमध्ये हितोपदेशमा मात्रै लगभग १०० पटक उल्लेख छ। यदि हामी बुद्धिमान बन्न चाहन्छौं भने मुर्ख्याई गर्न छोड्नुपर्छ र बुद्धिको खोजि गर्नुपर्छ।
 
हितोपदेश २:४-५
यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस्, र गाड़धनझैँ त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। 

Action reveal wisdom (3:13)


याकूब ३:१३-१८

१३. तिमीहरूमध्ये बुद्धिमान् र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्। 

याकूबको प्रश्न यहाँ rhetorical अलंकारिक छ। बुद्धिमान र ज्ञानी एउटै शब्द जस्तो देखिएता पनि त्यहाँ भिन्नताको छाया छ जुन महत्वपूर्ण छ। "बुद्धिमान" शब्दलाई "मानव र ईश्वरीय, र तिनीहरुका कारणहरु" को बारेमा जानकार भएको रुपमा बुझिन्छ। यहूदीहरुले बुद्धिलाई परमेश्वरको गुण हो भनी बुझ्थे। त्यसैले बुद्धिमान मानिस विचारशील हुन्छ र उसले चीजहरु राम्रोसँग बुझ्छ। तिनीहरुको बुद्धि व्यावहारिक र नैतिक हुन्छ किनभने यो तिनीहरुको ईश्वरको चरित्रको ज्ञानमा आधारित हुन्छ। 
ज्ञानी अर्थात समझदार व्यक्ति त्यो हो जसले आफ्नो क्षेत्र वा अध्ययनको क्षेत्र मात्र जान्दैन; उनीहरुलाई त्यो ज्ञान कसरी वास्तविक जीवनमा लागु गर्ने भनेर पनि थाहा हुन्छ। यसले एक विशेषज्ञ वा पेशेवरको कुरा गर्छ जसले कुशलतापूर्वक आफ्नो विशेषज्ञता व्यववहारिक परिस्थितिहरुमा लागु गर्न सक्छ। 
तर यी दुवै बुद्धिको प्रकार हुन। 
बुद्धि भएको दाबि गर्न सजिलो छ तर याकूब भन्छन्, "त्यसले असल जीवनद्धारा बुद्धि देखाओस्।" हाम्रो कामहरुले "बुद्धिको नम्रता" देखाउनुपर्छ। 
यहाँ याकूबले हल्का सुझाव मात्र दिइरहेका छैनन् तर कडा आज्ञा दिइरहेका छन्। 
दोस्रो अध्यायको दोस्रो भागमा, याकूबले साँचो विश्वास भएको दाबि गर्नेहरुले आफ्नो जीवन बिताईका असल कामहरुद्धारा त्यो विश्वासको वास्तविकता देखाओस भन्छन्। त्यस्तै प्रकारले, याकूबले आफैलाई बुद्धिमान र ज्ञानी भनी दाबि गर्नेहरुले आफूले गरेको कामद्धारा यो प्रमाणीत गरोस भनी आज्ञा दिन्छन्। 
ज्ञान तथ्यहरु हुन। जब तथ्यहरूलाई एकसाथ राखिन्छ तब यसले सुचना प्रदान गर्दछ। जब तपाईले पत्रपत्रिका पढनुहुन्छ तब सुचना प्राप्त गर्नुहुन्छ किनकि त्यहाँ तथ्यहरु हुन्छ। तर बुद्धि ज्ञानभन्दा बढि हो।
बुद्धि हाम्रो जीवनशैली हो। यो परमेश्वरलाई मनपर्ने तरिकामा बाँच्ने क्षमता हो किनभने तपाईले उहाँको सत्यलाई बुझ्नुहुन्छ र त्यो सत्यलाई सम्पूर्ण जीवनमा लागु गर्दै तपाईं उहाँको आत्माको निरन्तर अधीनमा रहनुहुन्छ। बुद्धि हाम्रो जीवनले गर्ने प्रभाव हो। बुद्धि चाहिँ हामीलाई के थाहा छ र के बोल्छौं भन्दा पनि हामी कसरी जिउँछौं हो। हामी एकै छिन भाती पुर्‍याएर गहन-गहन शब्दहरुले भंयकर ज्ञानका कुराहरु बोलौला तर यदि हाम्रो जीवनशैली परमेश्वरले चाहनुभएको जस्तो छैन भने हामी उहाँको अघि मुर्ख ठहरिनेछौं। मुर्ख आफ्नै घमण्डमा जिउँछ। त्यसलाई परमेश्वरको भय नै हुँदैन। बाइबलले भन्छ, "मूर्खले आफ्नो मनमा भन्छ, "ईश्वर छँदैछैन।" भजन. १४:१
यदि हामी मुर्ख जसरी होइन तर बुद्धिमान मानिस जसरी जिउन चाहन्छौं भने बाइबलले भन्दछ,"परमप्रभुको भय मान्नु नै बुद्धिको सुरुआत हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो।" हितोपदेश ९:१०

असल जीवन : हामीले परमेश्वरलाई मनपर्ने जीवन अपनाउन आवश्यक छ। याकूबले असल शब्दलाई महान, प्रंशसायोग्य र आकर्षक भन्ने अर्थमा प्रयोग गर्छन्। र हामीले गर्ने कार्यहरुले परमेश्वरको आदर, र असल आचरणलाई प्रतिबिम्बित गर्नुपर्छ। 

बुद्धि सधैं नम्रतामा मार्फत प्रकट हुन्छ। परिस्थिति जस्तो सुकै भए पनि नियन्त्रणमा रहेको व्यक्ति यसको उदाहरण हो। हरेक अवस्थामा बुद्धिमान मानिसमा नम्रता, आत्म-संयमता र असल आचरण देखिन्छ। यो विशेषगरी मण्डलीको जीवन र स्वास्थ्यमा निक्कै महत्वपूर्ण छ किनभने मण्डलीमा प्राय सधैं मण्डलीका सदस्यहरुको घमण्ड र आत्म-केन्द्रित बुद्धिले मण्डलीको शरीरमा मतभेद सिर्जना गर्ने खतरा हुन्छ। 

१४. तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्या र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर, र सत्यतालाई झूटा नबनाओ। 
याकूबले जुन मण्डलीहरुलाई पत्र लेखेका थिए, ती मण्डलीहरुमा विवाद र एकअर्काप्रतिको ईर्ष्याले उग्र स्थान लिइरहेको थियो। याकूबले भविष्यमा उत्पन्न हुन सक्ने काल्पनिक अवस्थालाई सम्बोधन गरिरहेका थिएनन्, तर पहिले नै अवस्थित वास्तविक अवस्थालाई सम्बोधन गरिरहेका छन्। 
याकूबले विश्वासघाती बुद्धिका दुई विशेषताहरुमध्ये पहिलो भनेको "तीतो ईर्ष्या" हो। "कटु" शब्दलाई जनाउन ग्रीक शब्द  pikros प्रयोग गरिएको छ जसको अर्थ  नुनिलो पानी हुन्छ। यसको अर्थ तीखो र कठोर पनि हुन्छ। 
ईर्ष्या अबाइबलीय कुरा हो। कयिनको ईर्ष्याले उनले आफ्नो भाईको रक्तपात गर्न पनि उनी पछि परेनन्। 
एउटा रोचक कुरा चाहिँ याकूबले उल्लेख गरेका यी शब्दहरु अधिकांश ग्रीकमा राजनितीमा प्रयोग गरिने शब्दहरु हुन। 
उनले उल्लेख गरेका "स्वार्थी अभिलाषा" शब्द ("एरिट्रिया") को अर्थ "प्रतिद्वन्द्विता, महत्वाकांक्षा" हो। एरिसटोटले यो शब्द प्राचीन ग्रीक राजनीतिज्ञहरूलाई वर्णन गर्न प्रयोग गरेका थिए जसले भोट प्राप्त गर्न, शक्ति र पदको लागि आफ्नो महत्वाकांक्षालाई अगाडि बढाउन सम्भव भएसम्म सबै माध्यम प्रयोग गर्थे।

१५. यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्मिक र शैतानिक हो। 
याकूबले यस किसिमको विश्वासघाती बुद्धिलाई सांसारिक भनी घोषणा गर्छन। अर्को शब्दमा भन्नुपर्दा, यस प्रकारको बुद्धि पार्थिव क्षेत्रमा मात्र सीमित छ। यसमा संसारभन्दा पर टिक्ने त्यस्तो केहि पनि छैन। 
याकूब आफू पूर्ण रुपमा सचेत छन कि त्यहाँ आत्मिक क्षेत्र छ र त्यहाँ दुष्टहरु छन जसको उद्देश्य मण्डलीको संगती र एकतालाई हस्तक्षेप र हानी गर्नु हो। घमण्डी मानिसहरुको झुटो शिक्षाद्धारा प्रेतहरुले यो पुरा गर्छन्। 
१६. किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छ, त्यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ। 
हामी १४-१६ खण्डहरुमा एउटा प्रकियालाई देख्न सक्छौं :
- पहिला, त्यहाँ आत्म-केन्द्रितता (कटु ईर्ष्या र स्वार्थ) हुन्छ। 
- त्यसपछि, हामी त्यसलाई स्विकार्न चाहँदैनौं त्यसैले हामी घमण्ड गर्छौ र हाम्रो शारीरिक मनसायलाई अस्वीकार गरेर सत्यको विरुद्धमा झूट बोल्छौं। हामी प्राय: आफ्नो स्वार्थी इच्छा ढाक्न आत्मिक लुगा लगाउँछौँ। 
- अन्तमा, परमेश्वरका जनहरुमाझ त्यस्ता मनोवृत्तिले भाँड़भैलो सिर्जना गर्छ र सबै प्रकारका प्रलोभन र पापहरुको लागि ढोका खोल्छ। 
१७. तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ। 
किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ। त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन। हितोपदेश ३:१४-१५
बाइबलले भन्दछ, त्यहाँ दुई किसिमको बुद्धि छ माथिबाट आउने जुन परमेश्वरले दिनुहुन्छ र तलबाट आउने जसको प्रकृति मानविय हुन्छ। 
"किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्।" हितोपदेश २:६

परमेश्वरले दिनुहुने बुद्धिमा यी तत्वहरु हुन्छ :
शुद्ध : (ग्रीक: ख्यानी hagne) कुनै अशुद्धता मिश्रित नभएको, ईर्ष्या र अभिलाषाबाट स्वतन्त्र 
शान्तिप्रिय : भाँडभैलो, अराजकता, अव्यवस्था बाट स्वतन्त्र
कोमल : विलियम नार्कले, जो विभिन्न ग्रीक शब्दहरुको अर्थमा विशेषज्ञ थिए, उनी भन्छन्, "नयाँ नियमका सबै ग्रीक शब्दहरुमध्ये यो सबैभन्दा अनुवाद गर्न नसकिने शब्द हो।" उनी भन्छन्, कि यो गुण भएको मानिसले "कठोर न्यायले निन्दा गर्ने पूर्ण अधिकार दिँदा पनि कसरी क्षमा गर्ने भनेर जान्दछ।"
विचारशील : सतर्कता र सावधानीसाथ बोल्ने र व्यवहार गर्ने 
१८. शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।

Comments