याकूबको पत्र
याकूब २:१-१३
- पक्षपात हुनुहुँदैन (no favoritism) (२:१)
- समस्याको उदाहरण (Illustrating the problem) (२:२-४)
- किन पक्षपात मुर्खपूर्ण छ (why favoritism is foolish) (२:५-१३)
पक्षपात हुनुहुँदैन।
मेरा भाइ हो, प्रभु येशू ख्रीष्ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ। (१)
याकूबले भनिरहेका छन् कि जब हामी पूर्वाग्रही, जातिवादी, कट्टर वा अन्धविश्वासी र अरुको न्याय गर्ने बन्छौं भने हामीले कसरी येशूमा साँचो विश्वास भएको दाबि गर्न सक्छौं?
येशूलाई विश्वास गर्ने मानिसहरुमाझ पक्षपात हुनुहुँदैन। प्रियहरु! यथार्थ चाहिँ यहि हो कि संसार पक्षपात र भेदभावले भरिएको छ।
धेरै राष्ट्रहरुले अल्पसंख्यकहरुलाई मतदान गर्न अनुमति नदिई दमन गरेर पक्षपात देखाएका छन्।
दास व्यापार अफ्रिकीहरुको घृणित अपमान थियो, जसको कारण उनीहरुलाई जनावरहरुभन्दा पनि खराब व्यवहार गरिन्थ्यो।
वास्तवमा अफ्रिकी अमेरिकीहरुले कानुन अनुसार मतदान गर्ने अधिकार जितिसकेपछि पनि अमेरिकाका धेरै क्षेत्रमा उनीहरुका लागि मतदान गर्न धेरै गाह्रो थियो।
महिलाहरुले पनि अमेरिकी इतिहासको विस्तारित भागको लागि मतदान गर्न पाएनन्।
केहि राष्ट्रहरुले अझै पनि धनीहरुलाई मात्र मतदान गर्न अनुमति दिन्छ।
दक्षिण अफ्रिकामा, वर्णभेदले दशकौंसम्म गोरा शासक वर्ग र काला वर्गको बिचमा विभाजन राख्यो।
केहि देशका बहुसंख्यकले जातीको भिन्नताका कारण हजारौंको विरुद्धमा नरसंहार गरेका छन्।
रुवान्डामा सन १९९४ मा पक्षपातका कारण तीन महिनामा ८ लाख अल्पसंख्यकको निर्मम हत्या गरिएको थियो। र हिटलरले नाजी जर्मनी अन्तर्गत करिब ७० लाख यहूदीहरुको नरसंहार गरे।
मानव इतिहासमा पक्षपातले कहिल्यै असल परिणाम दिएको छैन। पक्षपातले केवल घृणा र तीत्ततालाई जगाउँछ।
येशूको पालामा, यहूदीहरु अत्यन्त पूर्वाग्रही थिए। तिनीहरुले स्त्रीहरु, सामरीहरु, कर उठाउनेहरु, अशिक्षितहरु र बाहिरका मानिसहरुलाई तुच्छ रुपमा हेर्ने गर्थे।
मध्य युगमा, क्याथोलिक चर्चले दश भन्दा बढी धर्मयुद्धहरु सुरु गर्यो, धेरै जसो अन्य जातीहरुलाई मार्ने उद्धेश्यका लागि थियो र मुश्लिमहरुले पनि आफ्नो क्षेत्र विस्तार गर्न काफिर विरुद्ध धेरै युद्ध लडे।
संसारले मानिसको बाहिरी आवरण, हैसियत, जात, रुप, पृष्ठभूमि र अन्य वाह्य मामिलाहरुको आधारमा व्यवहार र भेदभाव गर्छन।
"संसारमा कम्तिमा एउटा ठाउँ जहाँ हरेक मानिसहरुले समान व्यवहार पाउँछन त्यो ठाउँ मण्डली हुनुपर्छ।"
हितोपदेश २८:२१, "पक्षपात गर्नु राम्रो होइन....।"
मानिसहरुले मण्डलीमा सुरक्षित महसुस गर्नुपर्छ। व्यभिचारी स्त्रीलाई येशू ख्रीष्टले मानिसहरुको न्यायबाट जोगाउनुभयो। उहाँले तिनको विगतलाई हेर्नुभएन। उहाँले तिनको विगतको पापहरुलाई क्षमा दिनुभयो र हामी मण्डलीलाई महत्वपूर्ण उदाहरण छाडनुभयो। धेरै पटक हामी मानिसहरुको विगतको आधारमा न्याय गर्छौं। आज पनि कतिपय मण्डली र इशाईहरुबिच त्यहि पुरानो सोच र धारणा रहिआएको छ।
पृथ्वीमा रहँदा येशूले हरेकको निम्ति एक उदाहरणीय जीवन जिउनुभयो। येशूले आफ्नो अधिकांश समय कोसँग बिताउनुभयो? जब हामी प्रेरितहरुको बारेमा सोच्दछौं, तिनीहरु निक्कै साधारण मानिसहरु थिए। तिनीहरु उच्च सम्मान वा हैसियत भएका मानिसहरु थिएनन्। जब हामी भीडको बारेमा सोच्छौं, येशूले कर उठाउने र पापीहरुसँग यति धेरै समय बिताउनुभयो कि धार्मिक अगुवाहरुले उहाँको आलोचना गरे। येशूले मानिसहरुलाई तिनीहरुको शैक्षिक स्तर, सम्पत्ति, प्रतिष्ठा, वा हैसियतको आधारमा फरक व्यवहार गर्नुभएन। येशूले मानिसहरुसँग तिनीहरु एक मानवको रुपमा कस्तो थिए त्यसैको आधारमा व्यवहार गर्नुभयो।
साँचो विश्वासले तपाईलाई सबैलाई समान रुपमा प्रेम गर्न सक्षम बनाउँछ । तपाईले हरेकमा ख्रीष्टलाई देख्नुहुन्छ। साँचो विश्वासले हामीभित्रको रिसराग, घृणा र तीत्ततालाई मारिदिन्छ।
मदर टेरेसाले यसरी भन्नुभयो, "म हरेक मानिसमा येशू देख्छु। म आफैलाई भन्छु, यो भोकाएको येशू हो, मैले उसलाई खुवाउनु पर्छ। यो बिमारी येशू हो। उसमा कुष्ठरोग; मैले उसलाई धुनु पर्छ र उसको हेरचाह गर्नुपर्छ। मैले येशूलाई माया गरेकोले सेवा गर्नुपर्छ।"
समस्याको उदाहरण
२. यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने,
३. तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर, "यहाँ राम्रो ठाउँमा बस्नुहोस्" भन्छौ, र त्यस गरीबलाई चाहिँ "तँ त्यहीँ उभि" अथवा "मेरा पाउनेर बस्" भन्छौ भने,
४. के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्यायकर्ता भएनौ र?
अब हामी कल्पना गर्न सक्छौं कि यो पत्रको पाठकहरुले भन्न सक्थे, "ओहो! हामीमाझ त पक्षपात र भेदभाव छैन। हामी कसैलाई पक्षपात गर्दैनौं। "
याकूबले हामीलाई एउटा सामान्य तस्बिर प्रश्तुत गर्छन, कि यदि हाम्रो संगतीमा दुई मानिसहरु आए जसमा एक मानिस असल कपडा अहिलेको शब्दमा सुटेड बुटेड सहित औंलाहरूमा पनि सुनका औँठीहरु लगाएर आए।
सुनका औँठीहरू : यसले धनी मानिसलाई देखाउँछ। रोमी समाजमा धनी मानिसहरुले आफ्नो बाँया हातमा ठूलो औंठी लगाउँथे। धनको चिन्हको रुपमा औंठीहरु ठूलो दिखावाका साथ लगाइन्थ्यो। रोममा त्यहाँ पसलहरु पनि थिए जहाँ विशेष अवसरहरुको लागि औंठीहरु भाडामा लिन सकिन्थ्यो।
त्यसैगरी अर्को व्यक्ति झुत्रे-झाम्रे लुगा लगाएर आयो भने के यी दुवै व्यक्तिहरुलाई गर्ने हाम्रो व्यवहार समान होला? यदि हामीले यी दुई व्यक्तिहरुलाई उनीहरुको बाह्य आवरणको आधारमा फरक व्यवहार गर्छौ भने याकूबको शब्दमा हामी "कुविचार भएका न्यायकर्ता" (४) ठहरियौं।
पक्षपात (Favoritism): एक व्यक्ति वा समूहलाई अर्कोलाई भन्दा बढी प्राथमिकता दिने
भेदभाव (Discrimination): व्यक्तिको विभिन्न वर्ग, जाती, उमेर वा लिङ्गको आधारमा फरक व्यवहार
पूर्वाग्रही (Prejudice) : कारण वा वास्तविक अनुभवमा आधारित नभएको पूर्वकल्पित राय। मन नपराउने, शत्रुता, वा निराधार विचारहरुबाट उत्पन्न अन्यायपूर्ण व्यवहार। मानिसको वास्तविक यथार्थलाई बुझ्नु अघि नै न्याय गर्नु।
जातीवाद (Racism) : जातको आधारमा व्यवहार
लैंगिक विभेद (Chauvinism) : लिङ्गको आधारमा व्यवहार
कट्टरता (Bigotry) : आफूभन्दा फरक विचार राख्नेहरुप्रति असहिष्णुतापूर्ण व्यवहार।
यसलाई गलत रुपमा नबुझ्नुहोस्। त्यहाँ त्यस्ता समयहरु छन जहाँ तपाईंले मानिसहरुलाई तिनीहरु को हुन वा तिनीहरुको स्थान के हो भन्ने कुराको आधारमा फरक व्यवहार गर्न आवश्यक छ। त्यो पक्षपात होइन। यदि एउटा श्रीमानले आफ्नो श्रीमतीलाई अन्य महिलालाई भन्दा फरक र उत्तम रुपमा व्यवहार गर्छ, उसको ख्याल राख्छ, महत्व दिन्छ, बोल्ने तौरतरिका फरक छ भने उसले पक्षपात गरिरहेको छैन किनकि ऊ माथि अन्य महिलाहरुको बराबरीको दावि हुँदैन।
पक्षपातको पाप दुष्ट मनसायमा आधारित हुन्छ जुन निराधार विचार वा गलत धारणाहरुबाट आउँछ जुन परमेश्वको वचनको विपरित हो।
पक्षपात गलत छ किनकि यसले परमेश्वरको मनोवृत्तिको विरोध गर्छ। गलाती ३:२८
"उहाँले कसैको पक्षपात गर्नुहुन्न....।" - व्यवस्था १०:१७
"अब परमप्रभुको भय तिमीहरुमा रहोस्। तिमीहरु होसियारीसाथ न्याय गर, किनभने परमप्रभु हाम्रा परमेश्वर अन्याय, पक्षपात र घुस लिएको सहनुहुन्न।" - २ इतिहास १९:७
५. मेरा प्रियहरू, सुन, के परमेश्वरले संसारका गरीबहरूलाई विश्वासमा धनी तुल्याएर त्यस राज्यका उत्तराधिकारी हुनलाई चुन्नुभएन र? यहि राज्य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र?
६. तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ। के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन् र?
७. के तिनीहरूले त्यही आदरणीय नाउँको अपवाद गर्दैनन् र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ?
पक्षपात आत्मिक अपरिपक्कताको चिन्ह हो। येशूका चेलाहरुको रुपमा, हामीले हामीभन्दा फरक देखिने, फरक विचार बोक्ने, फरक जीवन बिताउने मानिसहरुलाई कस्तो व्यवहार गर्छौं भन्ने कुराले हामी कहाँ छौं र हामी आत्मिक रुपमा कस्तो छौं भन्ने कुरा देखाउँछ। साँचो विश्वासमा समानता र प्रेम हुन्छ। धेरै पटक हामी विभिदतालाई कुरुपताको रुपमा देख्छौं। धेरै पटक हामीमा अरुले पनि मैले जस्तो सोचोस, मैले जस्तो जीवन बिताओस्, मैले जस्तै गरोस भन्ने एक किसिमको जिद्दीपना हुन्छ र जिद्दीपना चाहिँ
अपरिपक्क मानिसमा हुन्छ। सानो बालकले जिद्दी गर्छ तर जब ऊ परिपक्व हुन्छ, उसले जिद्दीपनालाई छोड्नुपर्छ। हामी आत्मिक परिपक्कताको स्तरमा पुगेका छैनौं भने जिद्दी गर्न थाल्छौं।
किन पक्षपात मूर्खपूर्ण छ?
८. यदि "आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर" भन्ने पवित्र-धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।
९. यदि तिमीहरूले भेदभाव देखायौ भनेता तिमीहरू पाप गर्दछौ, र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ।
१०. किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने, व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ।
११. किनकि जसले "व्यभिचार नगर्" भन्नुभयो, उहाँले "हत्या नगर्" पनि भन्नुभयो। तसर्थ यदि तिमीले व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने, तिमी व्यवस्थाका अपराधी भएका छौ।
१२. यसकारण तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्थाबमोजिम न्याय पाउनेहरूका जस्तै होस्।
१३. किनकि जुन मानिसले कृपा गरेको छैन, त्यसको न्याय कृपाविना नै हुन्छ। कृपा न्यायमाथि विजयी हुन्छ।
यो "राजकीय व्यवस्था" (मत्ती २२:३६-४०) परमेश्वरको राज्यको लागि आधारभूत व्यवस्था हो। त्यो राज्य येशू मार्फत आएको हो र एक दिन स्वर्गमा जस्तै पृथ्वीमा पूर्ण रुपमा स्थापित हुनेछ। येशूका अनुयायीहरुको रुपमा, हामीले राजकीय व्यवस्था अनुसार जीवन बिताउनु पर्छ।
बाइबलले भन्दछ, "परमप्रभुले मानिसले झैँ हेर्नुहुन्न। मानिसले रुप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। " - शमूएल १६:७
परमेश्वरले सबै मानिसहरुलाई तिनीहरुको जात, धर्म, कर्म, पृष्ठभूमि, संस्कृति, उमेर, तौल, हैसियत, वा अन्य कुनै कुराको परवाह नगरी हरेकलाई ख्रीष्टमा बोलाउनुभएको छ। हरेक व्यक्तिसँग सुसमाचारको अवसर छ। प्रेममा पक्षपात हुँदैन।

Comments
Post a Comment