नम्रतामा जिउनु
मार्टिन लुथर, "मैल कहिल्यै येशूका चमत्कारहरु सिक्ने प्रयास गरेको छैन, म केवल उहाँको नम्रता सिक्न चाहन्छु।"
ख्रीष्टले नम्रता सिकाउनु मात्र भएन तर नम्रतामा जिउनुभयो। एउटा इशाईको निम्ति नम्रताचाहिँ मलिलो जमिन जस्तै हो जहाँ उसको विश्वासको बिऊ फक्रन्छ।
पावलको नम्रता :
१ कोरन्थी १५:९ प्रेरितहरुमध्ये म सबैभन्दा तुच्छ हुँ।
एफिसी ३:८ सबै सन्तहरुमा म अत्यन्त तुच्छ।
१ तिमोथी १:१५ "पापीहरुमा म सबैभन्दा मूख्य हुँ।"
नम्रताको परिचय:
तापेनोफ्रोसुने /Tapeinophrosune:ταπεινοφροσύνη (Greek word)
अर्थ : आफैले आफैलाई सानो सम्झने मानसिकता
यसकारण येशुले भन्नुभयो, "जसले यो सानो बालकजस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा महान् हुनेछ।" मत्ती १८:४
प्राचिन समयमा बालकको कुनै अधिकार वा प्रतिष्ठा/ओहदा हुँदैन थियो, तिनीहरु पूर्ण रुपमा अरुको हेरचाहमा निर्भर हुन्थे। ख्रीष्टले चेलाहरुलाई शक्ति र हैसियतको दाबी त्यागेर स्वर्गको राज्यमा महानताको रुपमा गनिन एक बालकझैं परमेश्वरमा पूर्ण निर्भर हुनुपर्ने कुरा बताउनुभयो।
- नम्रता भनेको हाम्रो घमण्ड, अहंकार, स्वार्थ उपलब्धि, आत्मनिर्भरता सबै थोक परमेश्वरको अधिनमुनि ल्याउनु।
- नम्रता "आफुलाई अरु मानिसहरुभन्दा उत्तम नठान्नुको गुणस्तर वा अवस्था" हो।
- नम्रता हाम्रो अभिमान र अनाज्ञाकारीतालाई परमेश्वरको इच्छाको अधिनतामा ल्याउनु हो।
- नम्रता "म र मेरो" धारणालाई मार्नु हो।
याकूब ४:६, परमेश्वरले नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।
हितोपदेश १५:३३ नम्र जवाफले क्रोधलाई शान्त पार्छ।
Dwight L. Moody, "नम्रताको सुरुवात सानो हुनु हो; नम्रताको वृद्धि कम हुनु हो; र नम्रताको पूर्णता केहि नहुनु हो।"
हामीमा जति नम्रता बढदै जान्छ, हामी त्यति घटदै जान्छौं। नम्रता कमजोरी होइन।
आत्मामा दीन हुनु :
बाइबलमा कोहि पनि नम्रताको अभ्यासबिना केहि भएका छैन। यदि तपाई परमेश्वरद्धारा शक्तिशाली रुपमा परिचालन गरिएको चाहनुहुन्छ भने तपाई नम्रतामा जिउनुपर्छ।
मीका ६:८
ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू।
नम्रतामा जिउनुहोस अनि परमेश्वरले तपाईलाई उचाल्नुहुनेछ। मलाई लाग्छ परमेश्वरअघि हामीले घमण्ड गर्ने हामीमा एउटै पनि थोक छैन तर पनि धेरै चोटी हामी अहंकारमा जिउँछौ।
येशू ख्रीष्टले भन्नुभयो, "धन्य आत्मामा दीन हुनेहरु, किनभने स्वर्गको राज्य तिनीहरुको हो।" मत्ती ५:३
- आत्मामा दीन हुनु भनेको चाहिँ तपाईले आफ्नो आत्मिक दरिद्रतालाई पहिचान गर्नु हो।
हामीसँग यस्तो एउटै पनि आत्मिक श्रोत र साधन छैन जसले हामीलाई परमेश्वरअघि धर्मी ठहराउन सकोस्। उहाँअघि हामी यति दरिद्र र गरिब छौं कि उहाँबिना हामीलाई बचाउन सक्ने अरु केहि छैन्।
के कुनै मानिसले एलन मस्क र बिल गेट्स अघि आफ्नो सम्पत्तिको घमण्ड गर्न सक्छ र? तपाई पाइलटलाई कागजको हवाइजहाज देखाएर आकर्षित पार्न सक्नुहुन्न। हामी सिद्ध परमेश्वरअघि हाम्रो केहि राम्रो कुराहरु लगेर घमण्ड गर्न सक्दैनौं। यदि तपाई आत्मामा भरिन चाहनुहुन्छ भने पहिला तपाई रित्तिनुपर्छ। आत्मामा दीन हुनु भनेको परमेश्वरसामु हाम्रो आत्मिक गरिबीपनलाई स्विकार गर्नु हो।
लूका १४:११ "किनकि हरेक जसले आफूलाई उच्च तुल्याउँछ, त्यो होच्याइनेछ, र आफूलाई होच्याउनेचाहिँ उच्च पारिनेछ।"
- आत्मामा दीन अर्थात कमजोर हुनु भनेको आफैलाई रित्याउनु र टुक्राउनु हो।
तपाई कुनै कुराको लागि आफैमा भर पर्नु हुन्न। बप्तिस्मा दिने यूहन्नाले भने, "उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ।" हन्नाह आत्मामा यति दीन भइन कि उनी बोल्न सकिनन तर उनलाई थाहा थियो कि परमप्रभुले उनको हृदयलाई सुन्न सक्नुहुन्छ।
मानिसको मानसिकता यस्तो छ कि हामी आफ्नो आत्मनिर्भरता र स्वतन्त्रतामा गर्व गर्छौं। धेरै पटक हाम्रो जीवनशैली र आचरणले भनिरहेको हुन्छ 'म स्वयम काफि छु र मलाई परमेश्वर चाहिँदैन'।
- आत्मामा दीन हुनु चाहिं हामी पापी छौं र हामीमा परमेश्वरलाई प्रशंसा गर्न आवश्यक एउटै नैतिक सदगुण पनि छैन भन्ने हाम्रो इमान्दार स्विकार हो।
- आत्मामा दीन व्यक्तिले आफैलाई पूर्ण रुपमा परमेश्वरमा समर्पण गरेको हुन्छ।
शैतान हामीलाई भ्रममा पार्न चाहन्छ। हामी आफैमा पर्याप्त छौं, जे जति उपलब्धिहरु हामीले हासिल गरेका छौं ती सबै हाम्रो परिश्रम र मेहेनतद्धारा भएको हो भन्ने भ्रष्ट विचार ल्याउन चाहन्छ। शैतानलाई राम्ररी थाहा छ, घमण्डले कसरी पतन गराउँछ। यो आफै पनि यसको अहंकार र घमण्डले गर्दा स्वर्गबाट फालियो।
यसले हाम्रो हृदयमा शंका उत्पन्न गर्छ र शंका अविश्वासमा परिणत हुने ठूलो जोखिम हुन्छ। अविश्वास आत्मिक अन्धोपना हो जहाँ तपाई आत्मिक कुराहरुलाई देख्न सक्नुहुन्न। नम्रतामा जिउनुको प्रशस्त फाईदाहरु छन। आज ती फाईदाहरु तपाईले देखेको म चाहन्छु।
नम्रताबाट पाइने आशिषहरु :
- "दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्छ, तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुनेछ।" भजन. १८:२७
- "उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्याउनुहुन्छ, र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ।" भजन. २५:९
- "किनकि परमप्रभु आफ्ना प्रजासँग प्रसन्न हुनुहुन्छ, नम्रहरूलाई उद्धारको मुकुट पहिराइदिनुहुन्छ।" भजन. १४९:४
- "अभिमानी गिल्ला गर्नेहरूलाई उहाँले गिल्लामा उड़ाउनुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।" हितोपदेश ३:३४
- "नम्रहरूले फेरि परमप्रभुमा आनन्द मनाउनेछन्...।" यशैया २९:१९
- "जो आत्मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्दछ, त्यसलाई म आदर गर्दछु।" यशैया ६६:२
- "धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।" मत्ती ५:५
- उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनुभएको छ, र दीनहरूलाई उचाल्नुभएको छ। लूका १:५२
- प्रभुको सामने आफूलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। याकूब ४:१०

Comments
Post a Comment