उद्धेश्य र समय
परमेश्वरले हाम्रो जीवनमा राख्नुभएको उद्धेश्यलाई समयमै पुरा गर्नु।
प्रियहरु! हामी हरेक यस पृथ्वीमा विशेष उद्धेश्य सहित राखिएका छौं। अर्को शब्दमा, परमेश्वर यस पृथ्वीमा एउटा यस्तो विशेष कार्य गर्न चाहनुहुन्छ जसको निम्ति तपाई आवश्यक व्यक्ति हुनुहुन्छ। तर चुनौतीपूर्ण कुराचाहिँ यसको निम्ति हामीसँग केवल सिमित अवधि मात्र छ।
प्रियहरु! जीवनचाहिँ कति लामो आयु बाँच्नु भयो भन्दा पनि कति अर्थपूर्ण रुपमा बाँच्नुभयो भन्ने कुरा हो।
अनि तपाईको जीवन त्यति बेला अर्थपूर्ण हुन्छ जतिबेला तपाई परमेश्वरले दिनुभएको उद्धेश्यमा बाँच्न थाल्नुहुन्छ।
रिक वारेन, "परमेश्वरबिना जीवनको कुनै उद्देश्य छैन, र उद्धेश्यबिना जीवनको कुनै अर्थ छैन। अर्थबिना जीवनको कुनै महत्व वा आशा छैन्।"
बाइबलमा सबैभन्दा लामो आयु बाँच्ने मानिस छ (मतूशेलह:९६९ वर्ष) जसको बारेमा हामीलाई एउटै कुरा मात्र थाहा छ- ऊ मर्यो। तर हामी चाहिँ ख्रीष्ट जसरी जिएको हुनुपर्छ, क्रूशमा उहाँले भन्नुभयो "अब सिद्धियो"। उहाँले 'अब म सिद्धि' भन्नुभएन। यहाँ उहाँले भन्न खोज्नुभएको कुराचाहिँ जुन उद्धेश्यको निम्ति उहाँ यस पृथ्वीमा पठाइनुभएको थियो र जुन भार पिताले उहाँलाई दिनुभएको थियो, त्यस उद्देश्यलाई उहाँले सिद्धयाउनुभएको थियो ।
उपदेशकले भन्दछ, "परमेश्वरले मानिसहरुमाथि राखिदिनुभएको भार मैले देखेको छु।" उपदेशक ३:१०
यस खण्डमा प्रयोग भएको "भार" शब्दलाई हिब्रूमा "इनयन" भनिन्छ जसको अर्थ उद्धेश्य हुँदछ।
वास्तवमा, परमेश्वरले सृष्टिमा कुनै पनि थोक बिनाउद्धेश्य बनाउनुभएन। उहाँले बनाउनुभएको हरेक थोक असल थियो किनकि हरेक थोकको उद्धेश्य थियो।
उद्धेश्यलाई ग्रीकमा "प्रोथेसिस/prothesis" भनिएको छ। नयाँ नियममा यो शब्द १२ पटक उल्लेख गरिएको छ। यसको अर्थ "पहिले नै स्थापना गरिएको योजना" हो। बाइबलले भन्दछ, "....संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो।" एफिसी १:४
"....हामी ती (उद्धेश्य)बमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको छ।" एफिसी २:१०
के तपाई कल्पना गर्न सक्नुहुन्छ, पृथ्वीको जग बसालिनुअघि, जब तपाईको कुनै नामनिशान नै थिएन, जब सृष्टिको कुनै थोक अस्तित्वमा थिएन, परमेश्वरको हृदयमा तपाई हुनुहुन्थ्यो, उहाँ तपाईलाई चिन्नुहुन्थ्यो, उहाँले तपाईलाई पहिलेबाटै चुन्नुभयो। यसकारण तपाई यहाँ हुनु चाहिँ कुनै दुर्घटनावश होइन तर नितान्त परमेश्वरको उद्धेश्य हो।
उद्धेश्य के हो?
- उद्धेश्य तपाईको जन्मको कारण र तपाईको अस्तित्वको अर्थ हो।
- उद्धेश्य तपाईको बोलावट र छनौट हो।
- उद्धेश्य तपाईको अस्तित्वको मूल कारण हो।
- उद्धेश्य तपाईको जिवनमा परमेश्वरको इच्छा हो।
- उद्धेश्य तपाईको जीवनको गन्तव्य हो।
- उद्धेश्य परमेश्वरले दिनुभएको काम हो।
उद्धेश्य र समय:
उदाहरण : शैतान र इशाईलाई भड्काउने यसको युक्ति
हामी सिमित छौं र हामीसँग उद्धेश्य पुरा गर्न सिमित समय मात्र छ। परमेश्वरले समय बनाउनुभयो र समयलाई सिमितताभित्र राख्नुभयो त्यसपश्चात परमेश्वरले मानिस बनाउनुभयो र मानिसलाई समयभित्र राख्नुभयो यसकारण समय आफै सिमितताभित्र भएको कारण समयले चाहेर पनि हामीलाई बढि समय दिन सक्दैन। अनन्तताको एक टुक्रा नै समय हो। यदि तपाईले ९० वर्षको उमेरमा आफ्नो उद्धेश्य थाहा गर्नुभयो भने अब धेरै ढिला भयो। यसकारण बाइबलले भन्दछ, "दुखको समय र वृद्धावस्था आउन अघि नै......आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर।" उपदेशक १२:१
नयाँ नियममा समयलाई जनाउन दुईवटा ग्रीक शब्द प्रयोग भएको छ: क्रोनोज र काइरोज। क्रोनोजले बितिरहेको समय दिन, घण्टा, मिनेट आदिलाई जनाउँदछ र काईरोजले अवसर, मौका, मौसमलाई जनाउँदछ।
प्राचिन ग्रीक सभ्यतामा, काइरोजको मूर्तिलाई चोकमा राखिएको हुन्थ्यो (लिसिपोस नामका एक ग्रीक मूर्तिकारद्धारा निर्मित)। यो मूर्तिको बनावट निक्कै अचम्मको हुन्थ्यो। यस मूर्तिको दुवै खुट्टामा पखेटा थियो, शिरको अगाडि पट्टिको भागमा लामो कपाल र पछाडिपट्टिको भाग पूर्ण रुपमा तालु थियो र त्यस मूर्तिको तलपट्टी यसरी खोपिएको वार्तालाप थियो,
"तिम्रो नाम के हो?"
- "मेरो नाम काईरोज अर्थात अवसर हो।"
"तिम्रो खुट्टामा पखेटा किन छ?"
- ताकि म छिट्टो उड्न सकु।
"तिम्रो शिरको अगाडि पट्टीको भागमा किन लामो कपाल छ?"
- ताकि म मानिसको सामु आउँदा उनीहरुले मलाई समात्न सकोस्।
"तिम्रो शिरको पछाडिको भाग किन तालु छ?"
- ताकि म गइसकेपश्चात मलाई कसैले समात्न नसकोस।
एकताका येशूले भन्नुभयो, "मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन।" यूहन्ना ९:४

Comments
Post a Comment